बुबा धनी, लोग्ने धनी, छोरो पनि धनी, आमै पाटीमा भोकै

निशा राई

resize_imageझण्डै ७ महिनाअघिको कुरा हो। म दिउँसो १ बजेतिर काठमाडौंको विशालनगर नजिकैको धूमबाराही मन्दिर पुगेँ। टन्टलापुर घाम छिचोल्न मन्दिरछेउको पिपलबोटमुनि बसेँ। पछाडिबाट स¥याकसुरुक आवाज सुनियो। मुन्टो फर्काएर यताउति नियालेँ। सेताम्मै कपाल फुलेकी झण्डै ७० वर्ष नाघेकी बूढी आमै पो! बढार्दै रैछिन्। देख्नेबित्तिकै फुक्लेको दाँत देखाउँदै फिस्स हाँसिन्। हाँस्दा तिनका निधार र गालामा टन्नै मुजा परेका हुन्थे। तिनका खैरो आँखा, होचो कद अनि बूढ्यौली हाँसो मोहनी लाउने खालका थिए। आमैले बढार्न भ्याएपछि म छेउतिर आइन् र भनिन्, ‘मन्दिर घुम्न आ हो?’ मैले टाउको हल्लाएर ‘हजुर हो’ मात्र भनेँ।
मैले आमैलाई ‘घर कता हो? हजुरको’ भनेर सोधें। आमैले मन्दिर छेउको भत्केको पाटी देखाउँदै भनिन्, ‘ऊ त्यो कुनामा उत्तानो परेर सुत्छु, त्यही घर हो मेरो। हेर्छ्यौ बा?’
म आमैसँगै पछि लागेँ। माटोले बनेको भत्किन लागेको पाटीको एउटा कुनामा तिनको बास रहेछ। सम्पत्तिको नाउँमा एउटा बर्नर फुटेको स्टोभ, एउटा स्टिलको थाल, सिसाको ग्लास र एउटा कुच्चिएको डेक्ची रैछ। कुच्चिएको पुरानो डेक्ची देखाउँदै भनिन्, ‘म त यसैमा चिया पकाउँछु, खन्याउँछु अनि यसैमा भात नि पकाउँछु। ऐले त ३, ४ दिन भो भात नखा। बर्नर फुट्या छ, पकायो, कालै हुन्छ। यो उमेराँ भाँडा मस्काउने जाँगर चल्दैन।’
आमैको कुराले मन कटक्क खायो।
आमैले आफ्नो कथा यसरी सुरु गरिन्, ‘मेरो नाउँ बिष्णु बस्याल हो। बाउनकी छोरी हुँ। खै सत्तरी लागेर ६ जोडेसी जति उमेर भो, त्यति नै वर्षकी भइँ। माइत चाँहि बुटवल हो। मेरा बुवा त बुटवलका रैथाने हुन्। हाम्रो जग्गाजमिन सम्पत्ति त कति हो कति। म जेठी छोरी थिएँ। हाम्रो बाउलाई तराईका जिमिनदार भनेर सप्पैले चिन्थे। उनका त्यतिका सम्पत्ति भए नि म छोरी भइकन धेरे दुख भोगेँ। मध्यरातमै उठेर सारा काम घरधन्दा भ्याउनुपथ्र्यो। उतिबेला पढ्नी उढ्नी चलन थिएन। छन त दाजुभाइ नि थिए। उनीहरुको त कार्य चलाउने, निर्णय गर्ने र पढ्ने मात्रै काम हुन्थ्यो। घरका सप्पै छोराहरु बनारस गएर पढ्या हुन्।
हामी छोरीबुहारी हुने जातले कहाँ पढ्न पाउनु र भन्या बाबु। अझ बाउनकी छोरीले त बोल्न नि हुन्थेन। घरको कामले जीउननी फुर्सत नहुनी। रातरातै जंगल पसेर दाउराका भारी बोकेर बजारमा बेच्न ल्याउनुपर्थ्यो। उसै गरी १५ वर्षमा टेकियो। एउटा काठमान्डुको तामाङ केटोले मन पराउँथ्यो। सुख पाइन्छ कि भनेर उसैसँग भागेर काठमान्डु आएँ। १७ वर्षको उमेरमै पहिलो सन्तान छोरी जन्मी। पैलेपैले त सुख लाग्यो। कम्तीमा माइतमा घोट्टिएको जस्तो काम गर्नुपरेन तर सुख भाग्यमा लेख्या रैनरैछ। बूढोले विस्तारै हेला गर्न थाले, छोरो जन्माउन नसकेर। बच्चा पेटमा आएपछि लोग्ने मान्छेले माया गर्दैनन् पो त। पैसा त माटोसरी कमाउँथे। महाराजगंज चक्रपथमा जग्गा किनेर ठूलो घर बनायो बूढोले। ठेक्कापट्टाको राम्रै काम जानेको थियो उसले। पछि उसले कान्छी ल्याए। सुत्केरी हुँदा न गतिलो खान पाइयो, न स्याहार नै पाइयो। कान्छी र म चक्रपथकै घरमा बस्थ्यौँ। बूढो जाँडरक्सी औधि मन पराउने। भनेको मानेनौ भने कान्छी र मैले रातभर कुटाइ खानुपर्थ्यो। पछि मबाट अरु २ छोरा जन्मिए। बूढाले मण्डिखाटारमा जग्गा किनेर फेरि अर्को घर ठड्याए। त्यति धेरै सम्पत्ति भए पनि हाम्रो नाउँमा केही जोडेनन्। हुन पनि हामी नपढेका आईमाईको हातभरी पैसा राख्ने आँट त हुन्नथ्यो,सम्पत्ति जोड्नु त कता हो कता झन। बिजातकोसँग विहेबारी भए पनि कमाउने लोग्ने छ भन्ने खुशी लाग्थ्यो। तिनले सम्पत्ति कुस्तौँ जोडे पनि बानी सुध्रिएन। बिहानबेलुका २ छाक खान आँसु झार्नु नपरेको दिन हुन्नथ्यो। उसले मनपरी मुख छोडेर गाली गरुन्जेल सुन्नुपथ्र्यो अनि उसले खाएर फ्याँकेको जुठो नै मिठो मानेर खानुपथ्र्यो। रिस उठेसी गोरु चुटेझैँ चुट्थे। कान्छीपट्टिको ३ जना र मेरो ४ जना बच्चाहरु सँगसँगै हुर्के। छोराछोरीहरुलाई भन्या जस्तो स्कूलमा पढायौँ। छोरोहरु कमाउन सक्ने भएपछि बुहारी ल्याएर छुट्टै भान्छा चलाएर बसे। बूढो नि विस्तारै रोगी हुँदै गयो। छोरोहरु जवान भएपछि आफ्नो हुँदो रैनछन् बाबु। बुहारीको किचकिचले कलह मच्चिन्थ्यो। मै बूढीलाई पाल्न छोरोलाई सकस भएछ क्यारे। त्यसैले यो बूढेसकालमा घर छोडेर हिँडे। ऐले ६ वर्ष भयो, यही पाटीमा सुत्छु, यही मन्दिर बढार्छु अहिले भगवान् नै मेरो परिवार। अब पढेको छैन न हातमा राम्रो सीप। ऐले बाबुहरु जस्तो पढ्न जान्या भए आफैँ पालिन सक्थे होला। जिन्दगीभरि लोग्नेको कुटाइ खाएर बाँच्नुपर्थेन होला, न छोराकै भरमा सपना साँच्नुपर्थ्यो।
हामी छोरी मान्छेका लागि सम्पत्ति हैन, शिक्षा कत्ति खाँचो रैछ भन्ने ज्ञान मैले त्यही आमाबाट थाहा पाएँ। कम्तीमा शिक्षा मात्रै उनका बाबुले दिएका भए जीवनभरि २ छाक पेट भर्न उनले लोग्नेको कुटाइ खानुपर्थेन।
बोल्दाबोल्दै आमैका बलिन्द्र धारा आँसु झरे।
चिन्दै नचिनेका बूढी आमैका कथाले मेरो मन रोयो। यति कुरा सकेर मैले आमा नरुनुस् है भनेर हिँडे। आमा खुशी भइन्। परसम्म हात हल्लाएर ‘आउँदै गर्नु है बाबु’ भनिन्। बाटोभर आमाको कुरा याद आइरह्यो। सानी छँदा तिनी जमिन्दार बाउकी छोरी, तरुनी भएपछि धनी लोग्नेको श्रीमती, बूढेसकालमा लक्का जवानको आमा। सुख पाउँछु भन्ने त तिनलाई पक्कै लाग्या थियो होला। मनमा अर्को प्रश्न उब्जियो, तिनी जस्तै कति धेरैले लोग्नेकै खटनमा बाँच्नुपरेको होला? अनि छोरोले पछि पाल्छ भन्ने आशमा बसेका होलान्? बिष्णु आमैलाई हेरौँ। आखिरमा हामी आइमाई मान्छे त आफ्नै भरमा पालिनुपर्दो रैछ। हुन पनि तिनका बाउ, लोग्ने र छोरा धनी भएर पनि उनी सधैँ गरिब भइन्। साँच्चिकै हामी छोरी मान्छे बाउ धनी भएर धनी हुँदैनौ, लोग्ने धनी भएर पनि धनी हुँदैनौं, न त छोरा भएर नै धनी हुन्छौँ। हामी धनी हुन हामी आफै धनी हुनुपर्दो रहेछ। त्यो धन भनेको शिक्षा रहेछ।
आमैको कथाले मलाई यही ठूलो पाठ सिकाएको छ। एकपल्ट आफ्नै व्यवहारलाई फर्केर हेरौ न। हामी यही शहरबजारका शिक्षित वर्ग हौँ, तर सधैँ अनपढ जस्तो व्यवहार गर्छौँ। हामी ठूलाठूला कुरा गर्छौँ। छोरीको बिहे गर्न सधैँ हतारिन्छौँ, अझ केटो अमेरिका जाने टन्न पैसा भएको हुनुपर्छ। हामी छोरीको पूरा शिक्षाका बारेमा सोच्दै नसोची अर्कामा निर्भर बनाउने बाटो रोज्छौँ, हामी छोरीलाई धनी बनाउने भनेर कहिल्यै सोच्दैनौँ बरु धनी लोग्नेको स्वास्नी चाहिँ कसरी बनाउने भन्ने मात्र सोच्छौँ। तर अब हामी छोरीहरु पनि आफँै आत्मनिर्भर हुन जान्नुपर्छ, त्यसका लागि आफँै पढ्नुपर्छ, कम्तीमा अरुको सपनाका लागि हैन, आफ्नै सपनाका लागि बाँच्नुपर्छ। अनिमात्र हामीले बिष्णु बस्याल आमाजस्तै जिन्दगीभर अरुको भरमा बाँचेर दुख भोग्नुपर्दैन।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: