विवाहः रोजी गर्ने की खोजी गर्ने?

WEDNESDAY, 13 FEBRUARY 2013 12:28 नागरिक

शिशिर वैद्य- बिहे गर्न साइत हेर्ने, महिना मिल्नुपर्ने, चिनो देखाउने, जात, विरादरी, तीन पुस्ते हेर्ने आदि सामाजिक संस्कारमा आजभोलि निकै कमी आएको छ। युवा पुस्तामा आएको चेतनाले केटो वा केटी नहेरी वा नचिनी, अझ, प्रेम बसेपछि मात्रै बिहे हुन सक्ने सोचले समाजलाई रूपान्तरण गर्दै गएको छ। पहिले-पहिले लमीले केटा वा केटी खोजेर, फोटो हेरेको भरमा वा लमीको विश्वासमा बिहे गर्ने चलन थियो। आजभोलि केटाले केटी र केटीले केटा आफैँ खोज्ने वा भेट्ने चलन बढ्दै गएको छ। थुप्रै युवा पुस्तामा अन्तर्जातीय बिहे गर्नुपर्छ भन्ने मानसिकता पनि बढ्दो छ। अन्तर्जातीय वा अन्तर्राष्ट्रिय विवाहले प्रेमको प्रतिफल ‘सन्तान’को ब्रेन सार्प हुने विश्वास युवा पुस्तामाझ रहेको पाइन्छ। त्यसैले पनि यस्ता विवाह र सम्बन्धप्रति युवाहरू अझ बढी आकर्षित हुने गरेका छन्। तर, सर्वमान्य यथार्थ के हो भने माया-प्रेमले जात, विरादरी, धन, यश केहीलाई पनि वास्ता गर्दैन। त्यसैले भन्ने गरिन्छ- ‘प्रेम अन्धो हुन्छ।’ प्रेम वा लभ आजभोलिको फेशन वा युवाहरूमाझ ट्रेन्डको रूपमा स्थापित भइरहेको छ। ब्वाईफ्रेन्ड वा गर्लफ्रेन्ड नहुने युवायुवतीलाई अनसोसियल वा अनफिटको बिल्ला भिराउन थालिएको छ।

माया-प्रेमको कुनै अन्त्य हुँदैन। तर, माया-प्रेमको लामो सम्बन्धलाई सामाजिक नाम वा स्ट्याटसको आवश्यकता पर्छ। प्रेमको उत्सर्गलाई स्ट्याम्प लगाउने विन्दुका रूपमा युवा पुस्तामाझ बिहे एउटा सामाजिक आवश्यकतामात्र हुन पुगेको छ। लिभिङ टुगेदरको स्ट्याटस रुचाउँदै गएको युवा पुस्ताले बिहेलाई बन्धन ठान्नु अनौठो होइन। तर, समाज र कानुनले नदिएका यस्ता स्ट्याटस रजिस्टर्ड वा सर्टिफाइड हुन केटाकेटीमाझ बिहेको सम्बन्ध स्थापना हुनु कानुनी वा सामाजिक रूपमा जरुरी हुन्छ। बढ्दो प्रेम विवाह र उल्लेखित सम्बन्धलाई सर्टिफाई गर्न हुने विवाहले साइत, दिन, बार, नक्षत्र केहीको वास्ता गर्दैन। कात्तिक र पुसजस्ता महिनाले पनि नछेक्ने उनीहरूका विवाहलाई माघको साइतको वास्ता हुने कुरै भएन। तन र मन मिलिसकेपछि साइत र दिनको वास्ता नहुनु स्वाभाविकै हो।

प्रेम विवाहको बढ्दो ट्रेन्डले अभिभावकलाई पनि सजिलो भएको छ। न केटा खोज्ने झन्झट, न केटी खोज्ने चटारो। उमेर पुगेका छोरा वा छोरीलाई केटा वा केटी खोज्नुपूर्व नै अभिभावकको पहिलो प्रश्न नै हुने गरेको छ- ‘तैँले आफैँ रोजेको छस् कि, पहिल्यै भन्?’ खुलेर बाबुआमासामु आफ्ना कुरा राख्न हिचकिचाउने सन्तान साथीभाइ, आफन्तको सहारा लिन्छन् भने कोही हाकाहाकी आफ्ना प्रेम पस्किदिन्छन्। यसले हाम्रो समाज उदार हुँदै गएको संकेत दिएको छ। यसो भन्दैमा समाजमा सबैले अन्तर्जातीय विवाहलाई स्वीकार गरिसके भन्ने आशय प्रकट गर्न खोजिएको होइन। अथवा, सबै युवाको प्रेम विवाह हुन थाल्यो भन्न खोजिएको पनि होइन। लमीले जुराइदिने खोजी विवाहको चलन पनि हाम्रो समाजमा अझै विद्यमान नै रहेको छ। तर, यसमा व्यापक कमी आएको छ।
प्रेम विवाह वा प्रेम सम्बन्धको समर्थन र विरोध गर्ने, दुवै थरी युवा पुस्ता हाम्रो समाजमा रहेका छन्। प्रेम विवाहका असफलताका उदाहरण दिनेहरू पनि उत्तिकै सार्थक तर्क गर्न सक्छन् भने मागी विवाहको विरोध गर्नेहरू पनि उत्तिकै सक्षम विवाद गर्न सक्छन्। प्रेमको वयान गर्दै लाखौँ गीत रचिएका छन्। हजारौँ उपन्यास र कथा छापिएका छन्।
प्रेम विवाह होस् वा मागी विवाह, दुवै विवाह सफल र सार्थक हुन दुवैमा प्रेम अत्यावश्यक तत्व हो। प्रेम, माया, लभ, इश्क जे भने पनि यसले नै एक अर्काको विश्वासलाई दृढ बनाइराख्न र वैवाहिक जीवन सफल पार्न मद्दत गर्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: