भ्रष्टचारले जरा गाडेको गोरुसिङ्गे–सन्धिखर्कको ज्यानमारा सडक

  • -मुक्तिनाथ भुसाल 

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क पुग्ने एक मात्र पक्की सडक भ्रष्टचारीहरूको कमाउने भाँडो बनेको छ। यो सडकखण्डका आधिकारिक कागजातहरू र के–कति बजेट भित्रिरहेको छ भन्नेबारे सबै अनभिज्ञ छन्। सडक कामै नलाग्ने गरी भत्किएको कारण दुर्घटना बढ्ने क्रमले निरन्तरता लिइरहेको छ भने सडक सुधारका लागि खासै जागरुकता देखाइएको छैन। कुनै समयमा वोटासिल कालोपत्रे गरिएको यो सडक वर्षदिनभित्रैबाट उप्किन सुरु भयो। वर्षेनी यो सडक सुधार र मर्मतका लागि मोटो रकम हात परे पनि बिग्रिएको सडकका खाडलहरूमा काँचो माटो हालेर सडक विभाग कार्यालय गोरुसिङ्गे सेतोहात्तीजस्तै बजेट पचाउने काममा वर्षौंदेखि सक्रिय रहँदै आएको छ। यो सडक–खण्डअन्तर्गत परेका बजेटहरू कसरी कार्यान्वयन भएका छन् भन्ने कुरा आफूहरूलाई थाहा नभएको राजनीतिक दलका नेताहरू बताउँछन्।
दलका नेताहरूको भनाइ
एनेकपा माओवादीका पूर्वजिल्लाइन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल सडक विभाग कार्यालय गोरुसिङ्गेले यो सडकखण्ड एकलौटी ढङ्गले चलेको र पुरानै शैलीको भूत दिमागमा रहेको कारण जिल्लावासीले दुःख पाउनु परेको गुनासो व्यक्त गर्छन्। यस्तै, नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष कमलप्रसाद भुसाल सडक विभाग गोरुसिङ्गेले जनताको आँखामा ठग्ने काम गरिरहेको, जिल्लामा बोलाउँदा जिम्मेवार व्यक्तिहरू नआउने गरेको र यो सडकखण्डको बजेट कामै नगरी भ्रष्टचार गर्ने गरेको धारणा व्यक्त गर्छन्। त्यसैगरी नेकपा एमाले जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरेले पटक–पटक बद्नाम भएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिई सडक विभाग कार्यालय गोरुसिङ्गे भ्रष्टाचारमा संलग्न रहेको बताएका छन्।
नेपाली काङ्ग्रेसका जिल्लासचिव वासुदेव आचार्य पनि सडक विभाग कार्यालय गोरुसिङ्गे भ्रष्टाचारमा संलग्न रहेको र जिल्लामा समन्वय नगरी जिल्लावासीलाई लुटिरहेको धारणा व्यक्त गर्छन्। नेकपा–माओवादीका जिल्ला सेक्रेटरी भुवनको भनाइअनुसार राज्यपक्षको फितलो नीतिका कारण सडक विभागले मनोमानी गरेको हो।
सडक विभाग कार्यालय गोरुसिङ्गेको अधिकारभित्र रहेको यो केन्द्रीय स्तरको सडकका लागि के–कति बजेट परिरहेको छ र कसरी कार्यान्वयन गरिँदै छ भन्ने कुरामा जिल्लामा रहेका ठूला राजनीतिक दलहरू अनभिज्ञ बन्नु विडम्बनाको विषय मात्र नभई अज्ञात षड्यन्त्रको पाटो पनि हो भन्ने आशङ्का बढेको छ।
सडक विभागको भनाइ
सडक विभाग कार्यालय गोरुसिङ्गेका डिभिजन प्रमुख रविन्द्रलाल दासले कुराकानीका क्रममा बिग्रिएको सडकमा माटो हाल्ने काम गरेको र जे–जति काम भए ती आफूहरूले हेर्न नगएको गैरजिम्मेवार अभिव्यक्ति दिए। सम्बन्धित प्रसङ्गमा जिल्लाका राजनीतिक दलहरूलाई बजेटसम्बन्धी जानकारी किन गराउनुहुन्न भनी जिज्ञासा राख्दा दासले भने, ‘उहाँहरूलाई थाहा हुनुपर्ने हो, सबै कुरा पत्रपत्रिकामा पनि त आउने गर्दछ,’ भन्ने रुखो जवाफ दिएर राज्य र समाजका यावत् निकायलाई ठाडो चुनौती दिएका थिए।
जनगुनासो
सन्धिखर्क–६ तारामार्गनिवासी गोपाल पन्थीको भनाइअनुसार यो सडक यात्रा गर्ने क्रममा आफ्ना हरहिसाब र तालाचाबी घरमा बुझाएर हिँड्नुपर्ने बाध्यता छ। लु.१ख ४९६६ नम्बरको ट्रकका चालक शिशिर घिमिरेले चाहिँ धेरैजसो ठाउँमा साइड दिनुपर्दा गाडीको एउटा टायर कालोपत्रेभन्दा बाहिर हाल्नुपर्ने र नाली, कजवेहरू भत्किँदा कठिनाइ हुनुको साथै सुपादेउरालीमाथिको उकालोमा कहिलेकाहीँ ब्रेकले समेत काम नगर्ने गरेको जानकारी गराए। लु.१च ४४६९ जिपचालक खेम रानाका अनुसार घुम्तीहरूमा आधा गाडी कुदाएपछि मात्र अगाडि बाटो देखिने र घुम्तीहरू पनि अत्यन्तै साँघुरा भएका कारण जतिबेला जे पनि हुनसक्ने अवस्था छ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कदेखि गोरुसिङ्गेसम्मको ६८.२ किलोमिटर सडक आजभन्दा सात वर्ष अगाडि पाईलट प्रोजेक्टको रूपमा वोटासिल कालोपत्रे गरिएको भनिए तापनि सम्झौताअनुसारको काम त्यतिबेला नै सम्पन्न गरिएन। सम्झौताअनुसार ६८.२ किलोमिटर लम्बाइ सडक कालोपत्रे गर्नुपर्ने, आवश्यक पर्खाल, नाली निर्माण र कजवे गर्ने सम्झौतामा १० करोड ९२ लाख ८७ हजार नौ सय ४७ रुपैयाँ बजेटमा तीनवटा कम्पनी नेपाल सिङ्गा, सीसीईसीसी र गौरा जेभीले काम सम्पन्न गरेका थिए। जे–जस्ता सम्झौता ठेकेदारहरूसँग भए पनि सडक विभाग कार्यालय गोरुसिङ्गे र ठेकेदारको मिलेमतोमा सम्झौताविपरीतको काम गरी बजेट पचाउने काम भयो र यो मोटो रकम कसरी कार्यान्वयन भयो भन्ने कुरा राजनीतिक दलका नेताहरूलाई जानकारी हुन सकेन।
१० करोड ९२ लाख ८७ हजार ९ सय ४७ रुपैयाँ बजेटमा ६८.२ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता भए तापनि कन्सलटेन्ट, सडक विभाग गोरुसिङ्गे र ठेकेदार कम्पनीको मिलेमतोमा कडा चट्टान भएको र कालोपत्रे सम्भव नहुने कारण देखाउँदै नरपानीमा १.६ किलोमिटर र बसेरी जङ्गलमा १०० मिटर सडक कच्ची छाडियो र त्यसबापत खर्च हुने रकम तत्कालीन सडक विभाग गोरुसिङ्गेका कर्मचारीको मिलेमतोमा भ्रष्टचार गरियो। लगातार जिल्लावासीको दबाबको कारण ०६७ वैशाकमा नरपानीमा रहेको १.६ किलोमिटर कच्ची सडकमध्ये एक किलोमिटर कच्ची सडक ५६ लाख १४ हजार आठ सय २० रुपैयाँ ६५ पैसाको नयाँ बजेटमा एसियाटिक र सागर कम्पनीले प्रिमिक्स नामको कालोपत्रे सम्पन्न गरियोे। प्रिमिक्स कालोपत्रे अर्थात् सबैभन्दा स्तरीय कालोपत्रे सम्पन्न गरेको चार महिनाभित्रै सडकको अवस्था बिग्रिन पुग्यो। तर, विरोधस्वरूप जिल्लास्तरीय राजनीतिक दललगायत यहाँका प्रशासनिक क्षेत्रहरूले आवाज उठाएनन्।
विश्व बैंकको ऋणमा यो सडकले प्राप्त गरेको १० करोड ९२ लाख ८७ हजार नौ सय ४७ रुपैयाँको बजेट र दुई वर्षअघि ५६ लाख १४ हजार आठ सय २० रुपैयाँ ६५ पैसाको नयाँ बजेटको अलावा सदरमुकाम सन्धिखर्कदेखि गोरुसिङ्गे सडक मर्मत र सम्भारका लागि वर्षेनी बजेट पर्दछ तर सडक विभाग कार्यालय गोरुसिङ्गेले एकलौटी ढङ्गबाट सडकको खाडलमा काँचो माटो हाली, सडक निर्माण गरेको फाइल तयार पारी भ्रष्टचार गरिरहेको छ। जुन कुरा जिल्लास्तरीय नेताहरूले पनि स्वीकार गरेका छन्। सडक विभाग कार्यालय गोरुसिङ्गेले हिउँदमा सडक निर्माण गर्नुको साटो सडकको माझमा रहेका खाडलहरू माटोले पुरी अर्घाखाँचीवासीलाई लामो समयदेखि ठग्दै आएको छ।
सडक विभाग कार्यालय गोरुसिङ्गेले सडक विस्तार र मर्मत नगरिदिएकै कारण यो सडक खण्डमा धेरै सवारीसाधन र जनताले ज्यान गुमाइसकेका छन्। फुदवाडीदेखि सालारुख, घुम्टी हँुदै नरपानीबजारसम्मको सडकखन्ड अत्यन्तै साँघुरो अनि मिनट मिनेटका घुम्ती र भताभुङ्ग अनि लथालिङ्ग बनिरहेको यो सडकमा यातायातका साधनका लागि सास्ती बनेको छ। अर्घाखाँचीमा चल्ने सुविधायुक्त हायस, फोर्स र जिपमा यात्रा गर्दा यहाँनिर ट्याक्टरमा चडेको अनुभव हुने गर्दछ। गएको आर्थिक वर्षमा जति पनि दुर्घटना भए, त्यसमा सडकको अवस्था पक्की १० र कच्ची ११ रहेका थिए, जसबाट पनि बढी दुर्घटना गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नै हुने गरेको पाइन्छ। पहाडी जिल्लामा सुगम मानिने अर्घाखाँचीमा दुर्घटना हुनुको कारण सडकको अवस्था पनि एक हो। अर्घाखाँचीमा करिब सयवटा बस, चारवटा हाइस, चारवटा फोर्स र ९६ वटा सवारी जिपलाई मानिस ओसारपसारमा सञ्चालन गराइएको छ।
पत्थरकोटदेखि चाक्ला र नरपानीदेखि फुदवाङसम्म मिनेट–मिनेटको यात्रामा घुम्तीहरू पर्छन््। अत्यन्तै साँघुरा, घुम्ती र बिग्रिँदो सडकको अवस्थाका कारण गाडीहरू दुर्घटनाका सिकार बन्दै गएका छन्। गएको तीनवटा आार्थिक वर्षदेखि ०६७  असार मसान्तभित्र १४ वटा बस, १८ वटा जिप, १९ वटा ट्रक, सातवटा ट्याक्टर र १९ वटा मोटरसाइकल दुर्घटना भइसकेको अर्घाखाँचीमा ४६ जनाले ज्यान गुमाइसकेका थिए भने एक सय २० भन्दा बढी गम्भीर घाइते बनिसकेको यथार्थता अर्घाखाँचीवासीले बिर्सिसकेका छैनन्। अर्घाखाँचीमा गएको आर्थिक वर्षमा मात्र साना–ठूला गरी ३० वटा सवारीसाधन दूर्घटना हुँदा ११ ज्ाना पुरुष र एकजना बालकको मृत्यु भएको थियो भने १४ पुरुष, तीन महिला र ३ बालक गम्भीर घाइते भएका थिए। त्यसैगरी १८ पुरुष, आठ महिला र एक बालक सामान्य घाइते भएका थिए। यसबीचमा सवारी नियम उल्लङ्घनबापत ०६७/६८ मा रु.२,५९,४५०।– राजस्व असुली गरेको जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले ०६८/६९ मा ११,८८,९५० राजस्व असुली गर्दै ८,५८० वटा सवारीसाधनलाई कारबाही गरे पनि सडक मर्मत र सुधार नगरिँदा दिनहूँ साना–ठूला दुर्घटनाका खबर सुन्न जिल्लावासी विवश बनेका छन्।
बुटवलदेखि सन्धिखर्क सदरमुकाम आउँदै गरेको बा.२ख ७९४८ नम्बरको फोर्स गाडी ०६९ साउन ७ गते साँझ पाँच बजे दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भनेे पाँचजना गम्भीर घाइते भएका थिए। सदरमुकामदेखि सात किलोमिटर टाढा रहेको दहखोलामा भएको उक्त दुर्घटना हुनुको कारण पनि सडकको बिग्रिँदो अवस्था नै थियो।
नरपानी अनि बसेरी जङ्गलमा छाडिएको काममा लाग्ने रकम सडक विभाग गोरुसिङ्गेको मिलेमतोमा भ्रष्टचार नगरिएको भए किन दुई वर्षअघि नरपानीमा एक किलोमिटर सडक कालोपत्रे गर्दा रु. ५६ लाख १४ हजार आठ सय २० रुपैयाँ ६५ पैसाको नयाँ बजेट तर्जुमा गरियो त? यस विषयमा छानबिन हुन जरुरी देखिन्छ। व्ाास्तवमा अर्घाखाँचीवासीले यो सडक निर्माणमा प्रसस्त बजेट प्राप्त गरे पनि सडक विभाग गोरुसिङ्गेको लापरबाही र भ्रष्टचारको कारण अर्घाखाँचीवासी मर्कामा परिरहेका छन् र यो सडकखण्ड यात्रा गर्नेक्रममा गन्तव्यमा पुगिन्छ कि पुगिँदैन वा फर्केर सकुशल घरमा आइन्छ वा आइन्न डराउन बाध्य बनाएको छ। सडक विभाग कार्यालय गोरुसिङ्गेले यो सडकको नाममा जिल्लावासीलाई बह्मलुट गरिरहेको छ।
विकास निर्माणमा आउने बजेट कुनै व्यक्तिविशेषको रजाइँका लागि नभई समग्र जनताको जीवनपद्धतिसँग जोडिएको हुन्छ। कुनै पनि व्यक्तिले आफ्ना लागि बनाउने चिजहरू सयौँ वर्ष टिक्छ तर विकास निर्माणका लागि बनाइएका चिजहरू वर्ष दिन पनि टिक्दैन। यो परिपाटीको अन्त्य हुनु नै पर्दछ र विकास निर्माणमा जिम्मा लिने ठेकेदारहरूलाई निश्चित मापदण्डमा राखी कारबाही पनि गर्न सक्नुपर्छ। सन्धिखर्कदेखि गोरुसिङ्गे सडकखण्डलाई अब बजेट दिनुअघि आजसम्मको बजेटका उपलब्धिहरूलाई अध्ययन गरी सम्पूर्ण दोषीलाई कानुनको घेरामा ल्याउन आवश्यक देखिन्छ। सरकारले यसको पहलकदमी तत्काल उठाउन जरुरी रहेको अर्घाखाँचीवासीको आवाज रहेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: