लोकतन्त्र पक्षधरमाथि सबैको नजर

 

राष्ट्रिय सहमति जुटाउन नसकेको मात्र होइन सहमतिको वातावरण झन्–झन् खलबल्याइरहेको भनी भट्टराई नेतृत्वको सरकार चौतर्फी रूपमा आलोचित बनिरहेको छ।

सरकार, सत्ताधारी दल या सत्ताको लाभ उठाइरहेकाहरूको दृष्टिमा यो पूर्वाग्रहप्रेरित आलोचना ठहरिन सक्छ, तर यथार्थ भने त्यस्तो होइन। वास्तवमा वर्तमान सरकार मुलुकको राजनीतिक समस्या निकासको सवालमा जब्बर बाधक नै बनेर उभिएको अब आमतहसम्म अनुभूति हुन थालेको छ।
कुनै पनि देशलाई त्यसको राजनीतिक परिवेशले निकै हदसम्म प्रभावित तुल्याएको हुन्छ। विशेषगरी हाम्रोजस्तो मुलुकमा त आर्थिक, सामाजिक, स्वास्थ्य, शैक्षिकलगायतका सबै क्षेत्र नै राजनीतिक अवस्था या परिस्थितिबाट निर्देशित रहँदै आएको छर्लङ्गै छ। यो यथार्थबीच दिनानुदिन बिग्रँदै गएको राजनीतिले राष्ट्रको मेरुदण्ड मानिने आर्थिकलगायत उल्लेखित यावत् निकायहरूलाई पङ्गु तुल्याउँदै लगेको छ र ओरालो लाग्ने क्रममा पछिल्लो कालखण्ड निकै वेगवान बनेर देखापरेको छ। देशको राजनीति दुर्नियतपूर्ण उद्देश्य बोकेकाहरूको मुठ्ठीमा कैद भएकै कारण यस्तो परिस्थिति हुर्किएकोमा अब सन्देह पाल्नुपर्ने स्थान नै देखिन्न। तथापि, यो स्वीकार गरी निकासको बाटो खुला गरेर कसरी देशलाई सङ्कीर्ण राजनीतिको घेराबाट उम्काई आर्थिक विकास र समृद्धिको मार्गमा लगाउने भन्ने पाटोबाट सोच्न वर्तमान सरकारको नेतृत्वकर्ता एवम् सहयात्री दलका हर्ताकर्ताहरूले पटक्कै रुचि देखाएनन्। फगत असामयिक राजनीतिक विषयवस्तुको कुहिरोमा मुलुकलाई रुमल्याउन र त्यही अँध्यारोको आडमा सत्ताको पकड मजबुत तुल्याउनका लागि अनेकौँ प्रोपगण्डा सिर्जना गर्न सत्ताधारी गठबन्धन उद्यत् रहेको देखिएपछि यस्तो निराशानुभूति गरिएको हो।
सरकार देश र जनताको पक्षमा कुनै रचनात्मक काम गर्नभन्दा आफ्नो कुर्सीको टेको दरिलो पार्न नै उद्यत् रहेको पुष्टि हुने पछिल्लो एक ज्वलन्त उदाहरण बनेको छ राष्ट्रपतिद्वारा दुई अध्यादेशलाई अस्वीकृत गरिदिएपछि सरकार तथा गठबन्धनकारी दलहरूबाट उत्पन्न प्रतिक्रिया। कामचलाउ प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएका निर्वाचनसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिले अस्वीकार गरी फिर्ता पठाइदिएको सन्दर्भले यतिबेला मुलुकको समस्त राजनीति नै उष्ण तुल्याएको छ। यस विषयलाई केन्द्रमा राखेर मुलुकको राजनीति नै दुई ध्रुवमा विभक्त हुँदै गएको देखिन्छ। र, सर्वसत्तावाद लाद्ने विगतदेखिको प्रपञ्च पनि राष्ट्रपतिको यही कदमलाई आधार बनाएर सिद्ध गर्न लागिएको आशङ्कासमेत सचेत तप्काले गरेको छ।
सहमतिबाट विमुख हुँदै गएको सरकार वास्तवमा अध्यादेशकै भरमा मनखुसी शासन गर्न उद्यत् रहेको त उसका पछिल्ला कतिपय क्रियाकलाप या काम–कदमले आभास दिलाएकै हो। सहमतिको सवाललाई उपेक्षा गर्दै एकपछि अर्को अध्यादेश ल्याएर शासन अनिश्चितकालसम्म अनियन्त्रित शासन गर्न खोज्ने प्रवृत्तिविरुद्ध लोकतन्त्रप्रति प्रतिबद्ध दलहरूले आवाज उठाउनु वर्तमान सन्दर्भमा स्वाभाविक पनि हो। यस्तोमा निर्वाचन आयोगले समेत सरकारको योजनाअनुरूप अब निर्वाचन गराउन सकिन्न भनी स्पष्ट पारिसकेको परिवेशबीच राष्ट्रपतिले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत नगरेर के गल्ती गरे? आमप्रजातन्त्रप्रेमीले अहिले उठाएको प्रश्न यत्ति मात्र हो। एउटा–दुइटा वा केही व्यक्तिविशेषको चाहनामा गरिन लागेको निर्वाचन के सबैका लागि स्वीकार्य हुनसक्छ? निर्वाचन गराउने नै हो भने के
सबै दलहरूको सहमति आवश्यक पर्दैन आजको सङ्क्रमणकालीन अवस्थामा? सहमति जुटाएर मात्र चुनावमा जाऊ भनी पुकारा गरिरहेका राष्ट्रपतिमाथि प्रहार गर्ने निकृष्ट प्रयत्न फेरि किन गरिन्छ?
भनिन्छ, हतास मानसिकताले मानिसलाई विक्षिप्त र अरूप्रति अस्वाभाविक किसिमले आक्रमण गर्ने मानसिकतामा पुर्‍याइदिन्छ। केही दिनयता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईका बोली र व्यवहारसमेत यस्तै विक्षिप्त र असामान्य बन्न पुगेको अनुभूति गरिएको छ। 145माओवादी नेतृत्वको सरकार २०–२५ वर्ष टिक्छ, आफूले भनेजस्तो नभए सत्ता छोडिन्न बरु कब्जा नै गरिन्छ146 भन्नेजस्ता प्रचण्ड–अभिव्यक्ति हतास मानसिकताबाटै प्रकट भएकोमा अब शङ्का छैन। 145सङ्घीयताका पक्षधर146 भन्ने जबर्जस्त बहाना बनाएर सत्ताधारी दलहरूबीच गरिएको गठबन्धनको तात्विक अर्थ पनि सत्तामा टाँसिइरहनेबाहेक अरू केही हुन सक्दैन। यो चेत आफूलाई लोकतान्त्रिक मूल्य–मान्यताप्रति समर्पित भनी दाबी गर्ने राजनीतिक दलहरूले राम्रैसँग बुझिसकेकै छन्। सत्तासीन दलहरूको यस्तो सर्वसत्तावादी, अलोकतान्त्रिक र निरङ्कुश सोच–शैलीको प्रतिकार अब यिनले कसरी गर्ने हुन्, प्रतीक्षाको विषय बनेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: