साइबर नशा

शुषमा मानन्धर

“तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी ? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू ।” कृषुले फोनमा भनेको थियो । मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो । अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले ‘हुन्छ’ त भनेँ, स्क्यान गर्न नजिकैको साइबर बन्द थियो । खोज्दै जाँदा अलिपर मोडमा अर्को साइबर भेटेँ तर त्यहाँ निकै भीड थियो । भर्खरका तन्नेरीहरुले अखडा नै जमाएका देखिन्थे । हरेक कम्प्युटरमा ठिटाठिटीहरु झुम्मिएका थिए । अधिकांशहरु च्याट गर्नमा नै व्यस्त देखिन्थे । एउटा कम्प्युटरमा अलि पाकी महिला हेडफोन लगाई वेबक्याममा सम्भवतः आफ्नो छोरोसँग कुरा गर्न व्यस्त थिई । उनीहरुको कुराकानी धेरै दिनपछि मात्र भएको झँै बुझिन्थ्यो । निर्देशन दिइएको जस्तो लाग्ने उसको आवाज बेलाबेला चर्को सुनिन्थ्यो, केटाहरु फर्केर हेर्थे । छोरासँग कुरा गर्ने धूनमा उसलाई अरु केही ख्यालै थिएन । क्याबिन बनाइएको कुनाको कम्प्युटरमा भने एउटा अधबैँसे जमेको थियो । ऊ घोप्टिएरै टाइप गरिरहेको थियो । उसले घरिघरि टाउको नउठाउने हो भने, ऊ त्यहाँभित्र भएको नभएको थाहा पाउन गाह्रै थियो ।

साइबरभित्र मैले संचालकलाई सर्सती खोजेँ । काउन्टरमा बसिरहेको उन्नाइस बीस वर्षको केटो आफै पनि कम्प्युटरमा व्यस्त थियो ।

“भाइ, एउटा स्क्यान गर्नु थियो ।” मैले फोटो निकालेर टेबुलमा राखेँ । “हस्, हुन्छ एकैछिन पर्खनुस् न है ? यो सकाइ हालुँ ।” उसले व्यावसायिक मुस्कान सहित मलाई बस्न आग्रह ग¥यो । कुर्न भनेपछि कम्ती झिँझो लाग्दैन मलाई । बाहिर पनि के गैहाल्नु ? कम्मरमा हात लाएर सोच्दै थिएँ, एउटा केटो मोबाइलमा कुरा गर्दै हतारमा पेमेन्ट गरेर बाहिरियो । ऊ बसेको कम्प्युटर खाली भयो । स्क्यान गर्ने भाइ, अझै पनि व्यस्त नै थियो । समय कटाउने उद्देश्यले त्यो खाली कम्प्युटरमा बसेँ । स्क्रीन अन नै थियो र स्क्रीनको बटम लाइन ब्लीप गर्दै थियो । जिज्ञासाबस् मैले त्यहाँ क्लिक गरेँ, कम्प्युटर स्क्रीनमा च्याटबक्स देखाप¥यो ।

“हाइ स्वीटी, किन नबोलेकी ?” च्याट लाइनमा अर्कोतर्फबाट कोही सोधिरहेको थियो । यो कम्प्युटरमा भर्खरै एकजना केटो बसेको थियो, ऊ स्वीटी कसरी भयो, मैले अनुमान लाउन सकिनँ । कुनै सन्देश टाइप नगरीकनै मैले इन्टर हानेँ ।

“ब्ल्यान्क मेसेज किन नि ?” उसले सोध्योे । “मलाई चिन्नुहुन्छ र ?” मैले आश्चर्य मान्दै प्रश्न टाइप गरेँ । “त्यही त चिन्न खोज्दैछु । तपाईको ए.एस.एल. प्लीज ।” उसले लेखेको प्रश्नसँगै स्क्रीनमा कालो गगल्स लाएर हाँसेको कार्टूनको इमोटिकन देखियो ।

म छक्क परेँ, “के हो यो ए.एस.एल. भनेको ?” मेरो प्रश्नमा कम्प्युटरमा उत्तर आइपुग्यो, “एज, सेक्स एण्ड लोकेशन ।” ए, ए । मैले टाउको हल्लाएँ र टाइप गरेँ, “जि.सि. ।” अब उतापट्टि उसको छक्क पर्ने पालो थियो, “के हो नि यो जि.सि. भनेको ?” मैले छोटो जवाफ लेखेँ, “गर्ल फ्रम कम्प्युटर ।”

“हाउ फन्नि, उमेर चैँ खै लेखेकी ?”

त्यहीबेलामा काउन्टरको भाइले मलाई लक्षित गर्दै सोध्यो, “हजुरले स्क्यान गर्ने भन्नुभएको हैन ?”

“हो, आइहालेँ ।” तर म उठिहालिनँ । उसले एकैछिन मैले च्याटिङ्ग गर्दै गरेको हेरिरह्यो, फर्केर आफ्नो रजिस्टरमा केही टिप्यो र ऊ पुनः आफ्नो कम्प्युटरमा व्यस्त भयो । अगाडि गई मैले काउन्टरमा फोटो छाडेँ र स्क्यान गरिएको फोटो पेनड्राइभमा सेभ गरेर ल्याइदिन अनुरोध गरेँ । म एकछिन त्यहाँ ऊसँग अल्मलिँदा स्क्रीनमा एउटा अर्को प्रश्न देखा परिसकेको थियो, “रिसायौ कि ?” उसको प्रश्नले बास्तवमा मलाई रीस उठाएकै थियो । कुरा गर्न पनि खोज्ने अनि उमेर पनि सोध्ने ।

“म जति नै उमेरकी भए पनि तिमीलाई के ?” मैले सबै अक्षर क्यापिटल फन्टमा टाइप गरेर उसलाई हपारेँ ।

“कूल डाउन, त्यसरी नरिसाउन । भैगो तिमीसँग उमेर सोध्दिन तर उमेर सोध्दैमा केटीहरु किन झनक्क रिसाइहाल्छन् हँ ? उमेर सोध्नु अपराध पनि त हैन, हो र ?”

“त्यो त हैन । तैपनि शुरुमै उमेरको कुरा उठाउने, त्यो पनि अपरिचितसँग । रीस उठ्दो हुँदैन र ? ”

“हो,हो हुन्छ, मैले पनि मानेँ । यो प्रसङ्गमा तिम्रो र मेरो कुरा मिल्यो ।” उसको उत्तरसँग यो चोटि ताली पिट्दै गरेको इमोटिकन देखाप¥यो । काउन्टरको भाइले पेनड्राइभ मेरो टेबुलमा ल्याइदियो, “थ्याङक्यु ।” म ऊतिर हेरी मुस्काएँ । च्याटिङको साइटसँगै मैले आफ्नो ईमेल खोलेँ र कृषुलाई फोटो अट्याच गरी पठाएँ ।

मसँग च्याट गर्ने मान्छे मलाई रमाइलो लाग्यो । ऊसँगको वार्तालाप रोचक बन्दै गैरहेको थियो ।

“अनि आफू चैँ कहाँबाट नि ?” मैले उसको लोकेशन जान्न चाहेँ । यो पालि उसले मेरै शैली चो¥यो, “तिमी कम्प्युटरबाट, म पनि कम्प्युटरबाट । हा हा ।” आफू हाँसेको जनाउन उसले दुई शब्द बढी थप्यो ।

“मैले त तिमी मोबाइलबाट भन्ठानेकी थिएँ, तै कम्प्युटरबाट पो रहेछौ । गूड, अरु के गर्छौ ?”

“यो सोध न, के गर्दिन ?”

“यसो भन्नुको तात्पर्य ?”

“कलेज पढ्छु, घुम्छु मस्ती गर्छु । कुनै पीरै छैन ।” उसको जवाफले म कतै आफूभन्दा निकै सानोसँग च्याट गरिरहेकी त छैन, भन्ने शंका लाग्यो । यो साइबरभित्र पनि धेरैजना मभन्दा कम उमेरका नै थिए । अन्त पनि कमबेसी यही स्थिति होला । साइबरमा के कामले आएकी, धत्तेरीका, केमा भुलेर बसेछु । दोधारमा माउस क्लिक गर्दै बसेथेँ, उसले स्क्रीनमा दुईतीन वटा प्रश्नहरु एकैपटक फाल्यो,“हेलो, आर यु देयर ? हेलो ? हेलो ?”

“अँ, यतै छु ।” मैले जवाफ फर्काएँ ।

“तिमीले साइन आउट गरी हिँड्यौ कि भन्ने लागेको थियो । एकछिन त बस्छौ हैन ? तिमीसँग कति रमाइलो कुरा भैरहेको छ ।”

“एकछिन चैँ बस्छु । सायद अर्को आधाघण्टा । त्योभन्दा बढी बस्दिन । तिमी चैँ कतिबेर बस्छौ ?”

“म पनि लगभग आधाघण्टा बस्छु होला तर तिमी भन्छौ भने दुईचार घण्टा बढी बसुँला । स्वीटी, तिमीलाई एउटा कुरा थाहा छ ?” उसले मलाई सम्बोधन गर्दै भन्यो ।

“स्वीटी ? तर मेरो नाम स्वीटी कहाँ हो त ?” उसले अघिदेखि स्वीटी भनेको मलाई चित्त बुझेको थिएन ।

“तिम्रो लगिङ नेममा यही नाम डिस्प्ले भैरहेको छ, त्यसैले पो । ठीकै छ, तिम्रो रियल नेम भन न त ।” मैले बल्ल ख्याल गरेँ, म स्वीटी नामबाट सागरसँग च्याट गर्दै रहिछु ।

“ठीकै छ सागर, तिमी यो च्याटमा मलाई स्वीटी नै भन्न सक्छौ । अघि के सोध्दै थियौ मलाई ?”

“आज न्युरोडमा भूतको बवाल भा’थ्यो नि, थाहा पायौ ?”

“त्यही भएर त्यत्रो ट्राफिक जाम भा’को थियो ? मान्छेहरु कुरै नबुझि कत्रो हल्ला फैलाउँछन् हगि ?”

“त्यही त । कागले कान लग्यो भन्दा कान छाम्नुभन्दा कागको पछि दगुर्छन् । हात्ती आयो, फुस्सा । स्वीटी, तिम्रो र मेरो बिचार किन यतिविघ्न मिलेको ?” अप्रत्यासित रुपमा उसले अनौठो प्रश्न ग¥यो ।

तत्काल कुनै उत्तर दिन नै आएन मलाई । मैले सिर्फ ङिच्च दाँत देखाइ हाँसेको स्माइली प्रेषित गरेँ । ऊसँगको कुराकानीले मन झङक्रित भएर यो परिचय निकै गाढा र नजिकको झैँ लाग्न थालेको थियो ।

 

कीबोर्ड नजिक साइलेन्टमा राखेको मेरो मोबाइल झललल बल्यो । अघि दिउँसो साइलेन्टमा राखेकी मोबाइलमा साइलेन्स अफ गर्न बिर्सेँ । कृषुको फोन थियो । मैले उठाइनँ । ‘म साइबरमा छु, फोटो स्क्यान गरी पठाइसकेँ । आफ्नो ईमेल चेक गर ।’ मैले उसको मोबाइलमा मेसेज पठाएँ । मभन्दा अगाडिको लहरमा बसेकी पाकी महिलाले छोरासँग कुरा गर्न सकाएकी जस्तो छ, उसले काउन्टरमा बस्ने भाइलाई बोलाई । हेडफोन निकालेर ऊ काउन्टरमा उभिई । साइबर संचालक अगाडि आएपछि ऊसँग कुरा गरेर त्यो महिला बाहिर निस्की । यसो हेर्दा संचालक भाइ र त्यो महिला परिचित हुन् कि जस्तोे लाग्यो ।

“तिमीलाई टाइप आउँदैन र ? जवाफ लेख्न किन यति ढिला ? म यहाँ कु¥याकु¥यै छु । ” सागर भन्दै थियो ।

“तिमीभन्दा फास्ट छु, कम्प्युटर नै स्लो छ, के गरुँ ?” मैले गुनासो लेखेँ ।

“त्यसो भए, अर्को कम्प्युटरमा सिफ्ट होऊ न त । कम्प्युटर अर्को खाली छैन ?” सागर मलाई अर्को कुनै फास्ट कम्प्युटरमा बस्न अनुरोध गर्दै थियो । चारैतिर नजर डुलाएँ, भर्खर खाली भएको कम्प्युटरमा एउटी केटी बसिसकेकी थिई ।

“सब हाउसफूल छन् सागर । केही छैन, केही मिनेट त हो ।” घडी हेरेँ, एक घण्टा हुन दश मिनेट बाँकी थियो । दश मिनेटपछि उठ्छु भन्ने सोचेँ । एकछिनसम्म सागरले कुनै प्रतिक्रिया जनाएन ।

“कता हरायौ, आफू चैँ हिँडेउ कि के हो ?” मेरो प्रश्नमा उसले लेख्यो, “तिम्रो कम्प्युटरलाई लागेको रोग मेरोमा स¥यो जस्तो छ । सीट्, क्या स्लो !”

“त्यसोभए कम्प्युटर किन चेन्ज गर्दैनौ ?” म आफ्नो बाँकी भएको दश मिनेटको भरपुर मजा लिन चाहन्थेँ ।

“यार, यहाँ पनि हाउसफूल छ ।” उसको पनि गुनासो उस्तै थियो ।

त्यहीबेला एउटी बच्ची साइबरभित्र पसी र कुनामा अड्डा जमाइरहेको अधबैँसेलाई तान्न थाली, “ड्याडी जाउँ न ?”

“तिमीहरुको किनमेल सकियो ?” ऊ बच्चीलाई सोध्दैथियो ।

“मम्मी बाहिर हुनुहुन्छ ।” छोरीको भनाइमा उसले आश्वस्त ग¥यो, “ल ल बाहिर बस्दै गर, म आइ हालेँ ।”

“यद्यपि मैले तिमीलाई देखेको छैन, तर तिमी निकै आत्मीय लागिरहेछौ । स्वीटी, के हामी आजपछि पनि सम्पर्कमा रहिरहन सक्दैनौँ ?” सागरका यी शब्दहरुले मनभित्र कताकता काउकुति लगायो । कसैले स्पर्श गरेझैँ रोमान्चित भएँ, भित्र कतै तातो सललल बग्यो । आँखा अगाडि अग्लो, छरितो, युवक याचना गरिरहेझैँ लाग्यो ।

“किन नसक्नु, मित्रता यसरी नै गाँसिने त हो नि ।”

“९८४१……………. मैले आफ्नो मोबाइल नम्बर दिएको छु, मलाई मीसकल गर । म पनि मोबाइलमा तिम्रो नम्बर सेभ गर्छु ।”

सागरले दिएको नम्बर आफ्नो मोबाइलमा सेभ गरेँ र टेबुलमै राखी मीसकल गरेँ ।

“ल, मैले पनि तिम्रो नम्बर सेभ गरेँ स्वीटी, फोन गर्नेछु तिमीलाई । तिमी पनि फोन गछ्र्यौ त ? ”

“गरिहाल्छु नि ।” मैले यो उत्तरसँग जिब्रो निकालेको इमोटिकन पनि सेन्ड गर्न चाहेँ तर जानिनँ । अल्मल गर्दै थिएँ, सागरले बडेमान्को अक्षरमा प्रश्न ग¥यो, “फेरि गायब ? ”

“हैन, म इमोटिकन खोज्दै थिएँ क्या !”

“यत्ति छोटो समयमै तिमीले के ग¥यौ, ग¥यौ स्वीटी, कुछकुछ होता है, भैरहेछ । आइ एम स्योर, आज रातभरी तिमीले मलाई सुत्न दिने भइनौ ।” उसका शब्दहरु मात चढाउने खालका थिए । मैले उसबाट प्रेषित शब्दहरु मार्फत् उसलाई हेरिरहेँ । कहाँबाट होला, कस्तो देखिँदो हो, सागरको कल्पनामा तरंगित र उत्तेजित, मैले लेखेँ, “मैले के गरुँला र तिमीलाई ?”

“सबथोक ।” उसको छोटै जवाफले पनि सिरिङ्ग भएँ । लाज मानीमानी प्रत्युत्तरमा लेखेँ, “हा हा ।”

अहिले बच्चीसँग एउटी महिला पनि भित्र पसी, “छिटो जाउँ न ढिला भैसक्यो ।” उसले अधबैँसेको अघि उभिएर अलि आजित भएर भनी । अधबैँसे केही नबोली कम्प्युटरबाट उठ्यो । ऊ सँगसँगै छेउछाउका अरु दुईतीन केटाहरु पनि उठे । साइबर खाली जस्तै देखियो । बच्चीको हात समाउँदै निस्कँदै गरेको अधबैँसे भुँडे पनि थियो । यस्तालाई पनि के साइबर आउनु परेको होला, छक्क र दिक्क मानी सोच्दै थिएँ, ऊ आफ्नी श्रीमतीलाई स्पष्टिकरण दिँदै थियो, “आज ईमेल हेर्न आएको फाइदै भा’छ । ”

मेरो कम्प्युटर ह्याङ्ग भयो । मैले काउन्टरको भाइलाई बोलाएँ । “दिदी, कम्प्युटर रिस्टार्ट गर्नुपर्ला जस्तो छ ।” समय हेरेँ, एकघण्टा त बितिसकेछ । “भैहाल्यो ।” म पनि कम्प्युटरबाट उठेँ । सागरलाई ‘बाई’सम्म पनि भन्न पाईनँ, साह्रै थकथक लाग्यो । बिचरा उता साइबरमा पर्खँदै कति मेसेज पठाइसकेको होला । माया लाग्दो उसको अनुहार सोचेर खल्लो भएँ, तै हामीले मोबाइल नम्बर आदानप्रदान गर्न चैँ भ्याएछौँ । काउन्टरमा गई पैसा तिरेर बाहिर निस्केँ । अघि साइबरभित्र बसेका दुई केटाहरु ढोकैछेउ उभेर भर्खरै हेरेका वेबसाइटका कुरा गर्दै थिए ।

ममा सागरको नशा अझ बाँकी नै थियो । हिँड्दाहिँड्दै उसको मोबाइलमा कल गरेँ । उसले उठायो । “कहाँ छौ ?” मैले सोधेँ । “न्यूरोड, साथीहरुसँग ।” लाइन डिस्कनेक्ट भयो । ऊ पनि साइबरबाट हिँडिहालेछ होला, मैले सोचेँ । मैले मीसकल मात्र गरेँ । अलि पर गाडी कुरिरहेको मान्छेले मोबाइल उठायो, नम्बर हे¥यो र फोन राख्यो । मैले पुन मीसकल गरेँ, यो पालि पनि उसैले फोन उठायो । उसले कुरा गर्नुभन्दा अघि नै मैले लाइन डिस्कनेक्ट गरेँ । सशंकित उसले चारैतिर हे¥यो । मोबाइल चलायो र कानमा टाँस्यो । मेरो मोबाइलमा सागरको नम्बर डिस्प्ले भैरहेको थियो । मैले साइलेन्टमा रहेको आफ्नो मोबाइल डिस्कनेक्ट गरी स्वीचअफ गरेँ ।

गाडी कुर्दै गरेको साइबरभित्रको अघिको अधबैँसे, मोबाइल कानमा राखी फन्फनी घुम्दै थियो ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: