अरबको कमाई

अरबको कमाइ- रित्तो रातो सुटकेस

Posted by 

काठमाडौं, चैत ४ – उनी छवटा कन्टेनरमाथि थिए। एउटै कन्टेनर नौ फिट अग्लो। भुइँतिर हेर्दा जीउभरि काँडा उम्रिएर आउँथ्यो। आँखा तिर्मिराउँथे। बानी नपरेकाहरू कहालिएर त्यसै धर्मराउँछन्। उनी पनि धर्मराएका थिए, सात महिनाअघि। अहिले बानी परिसक्यो। खाडी देश ओमनको सललह बन्दरगाहमा चौबीसै घन्टा जहाजबाट कन्टेनर झारेको झार्‍यै गर्नुपर्छ। कामदारहरू अग्लाअग्ला कन्टेनरमाथि ठिङ्ग उभिन्छन्। दायाँबायाँ हेर्छन्। खुट्टा र मुटु दरो पार्छन्। एउटा मोटो फलामको डन्डाजस्तो साँचो हातमा हुन्छ। कन्टेनरको ताल्चा खोल्छन्। फुत्त अर्को कन्टेनरतिर फड्किन्छन्। ठूलो क्रेनले पहिलो कन्टेनर च्याप्प अँठ्याएर लैजान्छ। त्यसपछि अर्को कन्टेनर। फेरि अर्को। फेरि अर्को।

बाह्र घन्टाको सिफ्टमा कति कन्टेनरको ताल्चा खोलिन्छ, हेक्कै हुन्न।
सास तालुसम्मै आइपुग्ने यति उचाइमा सर्कसझैं चटक देखाउने यी कामदार जम्मैजसो विदेशी हुन्, गरिबीले घचेटेर त्यहाँ पुर्‍याएका। कोही भारतीय छन्, कोही पाकिस्तानी, कोही बंगलादेशका।
उनी नेपाली हुन्।
रमेश परियार।
वर्ष ३८।

क्यापिटल हस्पिटल, पुतलीसडक
दोस्रो तल्ला
बेड नम्बर १०
निधार चौडा छ। आँखा गढेका छन्। आँखाका डिलमुनि हल्का कालो दाग छ। राम्ररी निन्द्रा नपरेको धेरै दिन भयो, सायद। दाह्री झ्याप्प छ। भर्खरै मुख धोएकाले होला, अनुहार भने चम्किलै देखिन्छ।
देव्रेतिर आडैमा ह्यान्डल भाँच्चिएको रातो नयाँ सुटकेस ठडिएको छ, जसमा पुराना लुगाफाटोबाहेक केही छैन। दुइटा नयाँ ब्ल्याङ्केट थिए, एउटा उनैले अस्पतालको सिरकमाथि खप्ट्याएर ओढेका छन्। अर्कोमा कुरुवा दाजुहरू पालैपालो गुट्मुटिन्छन्।
दाहिनेतिर दुई तख्तावाला ‘क्याबिनेट’ छ, जसमा थर्मस, हर्लिक्स, एक्सरेका चाङ, औषधी, किरिङमिरङ डाक्टरी अक्षरले लेखिएका ‘प्रेस्त्रि्कप्सन’हरू छन्।
बीचमा पसारिएका छन् उनी।
एक महिना भयो, अर्काको भरमा दिसापिसाब गर्न जानुबाहेक पूरै समय यहीँ ढलेका ढल्यै छन्। देब्रेतिर भित्तामा टेलिभिजन झुन्डिएको छ। दिनभरि नेपाली च्यानलहरू हेरिरहन्छन्। डिस्टर्ब गर्ने कोही छैन। दस बेडको कोठामा बिरामी उनी एक्ला हुन्। बाहिर नोटिस बोर्डको अन्तिम क्रम संख्यामा रातो साइनपेनले उनको मात्र नाम लेखिएको छ :
रमेश परियार।
वर्ष ३८।

भनिन्छ, चौडा निधार भएका मान्छेको भाग्य पनि चौडा हुन्छ। तर, रमेशको कुरा सुन्दा लाग्छ, उनको निधार मात्रै चौडा छ।
उनी छवटा कन्टेनरमाथि थिए। एउटै कन्टेनर नौ फिट अग्लो।
सात महिनादेखि त्यो उनको रोजको काम थियो। उनी कत्ति धर्मराएका थिएनन्। त्यस दिन पनि थुप्रै कन्टेनरका ताल्चा खोलिसकेका थिए। मोटो फलामको डन्डाजस्तो साँचो हातमै थियो। एउटा ताल्चा खोलेर दायाँबायाँ हेरे। खुट्टा र मुटु दरो पारे। दाहिने हातमा च्याप्प समातेको डन्डा फुनफुन घुमाए। खुट्टा तिनिक्क तन्काए। बुर्लुक्क उफ्रेर अर्को कन्टेनरमा फड्किए।
उतापट्टि ग्रिज पोखिएको रहेछ।
पहिलो खुट्टा ग्रिजमा पर्नेबित्तिकै उनी सुलुत्त चिप्लिहाले। दोस्रो खुट्टाले कन्टेनर छुनै पाएन।
उनी बन्दरगाह थर्किने गरी चिच्याए। सबैको सास रोकियो।
सानो आकाशको सपना बोकेर नेपालदेखि आएका उनी चराझैं आकाशबाट बेतोडले तल खसे।
दुई कन्टेनर तल झरेपछि अचानक वेग थामियो। देब्रे हातमा लगाइरहेको नाडी घडी एउटा कन्टेनरको लकमा अड्किएछ। नाडीघाडीले मान्छेको भार के थाम्न सक्थ्यो! एक निमेष टिकेनन्। अर्को हातले भर लिन खोजेका थिए, भ्याएनन्।
उनी कन्टेनरका काप-कापमा ठोक्किँदै तल झर्न थाले। उनको चित्कारले बन्दरगाह थर्किरहेकै थियो। सारा आँखा च्यात्तिएकै थिए। सास रोकिएकै थियो।
अलिकति तल फेरि अड्किए। यसपालि पनि भर लिन भ्याएनन्।
पटकपटक अड्किँदै-फुत्किँदै उनी भुइँमा ड्याम्म पछारिए।
कुनै चिच्चाहट थिएन। बन्दरगाहमा समुद्री छाल र एकोहोरो जहाजको इन्जिन कराएको आवाज मात्रै सुनिन्थ्यो। सबैका अनुहार भावशून्य। डरले फुस्रो।
एकैछिनमा कोलाहल मच्चियो। साथीहरू गुटुटुटुटु घेर्न आए। उनको शरीरमा हलचल बाँकी थियो। जुरुक्क उठ्न खोजे। सकेनन्। बङ्लङ्ग पछारिए। मसिनो स्वरमा पानी मागेका थिए रे, त्यसपछि त आँखाअगाडि कालो छाइहाल्यो।
होस खुल्दा खापुस अस्पतालको बेडमा थिए।
वरिपरि हेरे। बुटवलका छविलाल सुवेदी सँगै थिए। अरू साथीहरू पनि पालो मिलाएर आउनेजाने गरिरहेका रहेछन्। उनको पूरै ज्यान दुखिरहेको थियो। कुन अंग के भयो, उनलाई पत्तो थिएन।
सोधे, ‘मलाई के भयो छवि?’
छविले अक्मकाउँदै जवाफ दिए, ‘तेरो ढाड भाँच्चिएछ।’
सुन्नेबित्तिकै उनले जिउ तन्काउन खोजे। टाउको हल्लियो। खुट्टा पनि चल्यो। जिउ डेग चलेन। सहनै नसक्नेगरी दुखेर आयो।
उनले बररर आँसु झारे।
‘धन्न पुठ्ठो बजारियो,’ छविले सान्त्वना दिन खोजे, ‘टाउकोतिरबाट बजारिएको भए तँ फिनिस्ड। तेरो भाग्य बलियो रैछ।’

‘त्यही भाग्य बलियो भ’र त होला नि, यस्तरी कुँजो भएर बस्नुपर्‍या छ,’ क्यापिटल हस्पिटलको बेडमा मुख अमिलो पार्दै रमेशले भने।
गोरखा धुवाँकोट- १ का रमेश खापुस अस्पतालमा २ महिना ४ दिन बिताएर यही फागुन १ गते क्यापिटलमा भर्ना भएका हुन्।
यहाँ आएपछि भाँच्चिएको ढाड अप्रेसन गरेर फलामको रड हालिएको छ। पेच कसेर ढाडको हड्डीसँग जोडिएको छ। दाहिने नाडी पनि भाँच्चिएको थियो। उतै अप्रेसन गराएर चलाउन सक्नेसम्म भएका छन्। तर, गतिलो अप्रेसन नभएकाले नाडीहड्डी मज्जाले जोडिएको छैन। पुट्ट बाहिर निस्केको प्रस्टै देखिन्छ।
यही अप्रेसन चित्त नबुझेर हो, उनलाई खापुसको भर लागेन।
‘त्यहाँका डाक्टरहरूले मस्कट (राजधानी) लगेर उपचार गराउँछौं भन्दै थिए, मैले नेपालै फर्किने जिद्धि गरेँ,’ रमेशले भने, ‘हातको ताल देखेर विश्वासै लागेन। बरु मरे पनि नेपालमै मरुँ भन्ने भयो।’
थला पर्दा पानी पिलाउने मान्छे नभएकाले पनि उनलाई कतिखेर नेपाल फर्कूँ भएको थियो। नेपाली साथीहरू त बारम्बार आइरहन्थे, तर सधैं उनीसँगै बसिरहने फुर्सत कसैसँग थिएन।
‘सुरुको तीन दिन त राम्ररी खान पनि पाइनँ, साथीहरू जम्मै ड्युटीमा गएका हुन्थे, म दिनभरि भोकले रन्थनिन्थेँ,’ भाँच्चिएको हातले आँखाभरि टिल्पिल आँसु पुछ्दै उनले भने, ‘कतिचोटि त भोक सहनै नसकेर अरू बिरामी र कुरुवाहरूको जुठोधरी खाएँ।’
नेपालीहरू सबैले कराएपछि उनी काम गर्ने ‘पोर्ट अफ सललह’ कम्पनीले अस्पतालमै खाना खुवाउने व्यवस्था गर्‍यो। दिउँसो बिर्‍यानी, बेलुकी दुइटा रोटी र तरकारी। अर्काले जतिसुकै फिक्री देखाए पनि आपतबिपत पर्दा मान्छेले परिवार र आफन्तकै भर खोज्छ। रमेशलाई त्यस्तै भयो। खालि ‘नेपालै जान्छु, नेपालै जान्छु’ भन्न थाले।
खापुसमा अमन लुल्ला भन्ने भारतीयमूलका डाक्टर थिए। उनले सोधे, ‘नेपालमा कोही डाक्टर चिनेको छ?’
ठ्याक्कै त्यही बेला बाग्लुङका एकजना युवा टिचिङ अस्पतालमा पत्थरीको अप्रेसन गराएर फर्किएका रहेछन्। रमेशले त्यही डाक्टरको नाम भने।
टिचिङसँग सम्पर्क भयो। हड्डीको उपचारनिम्ति क्यापिटलका डा. अशोक बज्राचार्यलाई देखाउनू भनी रेफर गरियो। अमन लुल्लाले आफैं फोन गरेर डा. बज्राचार्यसँग कुराकानी गरे। इमेलमा एक्सरे रिपोर्टहरू पठाइयो। अप्रेसनको व्यवस्था भएपछि कम्पनीले नै रमेशको टिकट हालेर नेपाल पठाइदिने चाँजो मिलायो। एकजना नेपालीलाई आतेजाते हवाई टिकट दिएर साथी पठाउने प्रबन्ध पनि गर्‍यो। उनै बुटवलका छविलाल सुवेदीले यो जिम्मेवारी उठाए।
त्यतिबेला उनी ओमन पुगेको सात महिना मात्रै भएको थियो। नेपालबाट उड्दा फिरन्तेजस्तो एकदुइटा लुगा पोको पारेर हिँडेका थिए। उतै कमाउँला, उतै किनमेल गरूँला, अनि सुटकेस भरी सामान ल्याउँला भन्ने योजना थियो। भनेको भन्दा थोरै तलबमा काम गर्नुपरेकाले खासै पैसा जम्मा गर्न सकेनन्। तैपनि पेट काटेर ७० हजार रुपैयाँजति पठाए। साथीभाइसँग ढुकुटी खेलेर उबारेको पैसा अस्पतालमा तिरोतारो गर्दै सकियो। भाग्यले ठगेपछि फर्कने बेला हात रित्तो भयो।
बरु साथीहरूले नै ठूलो मन देखाए। कसैले पाँच रियाल, कसैले दस गर्दै डेढ लाख रुपैयाँजति जम्मा भयो।
रातो सुटकेस र दुइटा ब्ल्याङ्केट किनेको त्यही पैसाले हो।
उनका आँखा घरिघरि छेउमै ठड्याएर राखेको त्यही सुटकेसतिर गइरहेका थिए।
‘जाने बेला’नि के लाहुरे भ’र जानू भनेर खाली ग’को थेँ, आउने बेला झन् चाउरे भ’र आउनुपर्‍यो,’ ओढिराखेको ब्ल्याङ्केटको फेर दाँतले टोक्दै हाँसे उनी।
‘छोराछोरीको निम्ति कत्रो सपना बोकेर ग’को थिएँ, जिउँदो लासजस्तो फर्कनुपर्‍यो। यस्तो भाग्यलाई नि के बलियो भन्नू।’

रमेश परियारको जिन्दगी आमनेपाली जिन्दगीको प्रतिबिम्ब हो, जो दिनरात पसिना बगाउँदा पनि माथि उठ्न सक्दैन।
अरू धेरै निम्न वर्गीय नेपालीजस्तै उनी हातखुट्टा लागेदेखि कामको खोजीमा भौंतारिएका छन्। सुरुमा दाजुहरूको पछि लागेर गोरखाबाट पोखरा छिरे। त्यहाँ एउटा भाँडा कारखानामा काम पाए। सुरु तलब महिनाको १ हजार ५ सय रुपैयाँ थियो। झन्डै ११ वर्ष काम गर्दा पनि महिनावारी कमाइ तीन हजार नाघेन।
यसैबीच बिहे गरे। छोराछोरी थपिए। जिम्मेवारी बढ्यो।
चिनेजानेका धेरै अरब गएको देखेका उनलाई पनि विदेश जाने रहरले समात्यो। एक लाख रुपैयाँ ऋण लिए। पासपोर्ट बनाए। कतार उडे। त्यहाँ घर बनाउने काममा लागे। १६ महिनाको कतार बसाइमा डेढ लाख रुपैयाँजति बचाए।
फर्केर आएपछि पोखरामै घर बनाउने काम थाले। दिनको तीन सय रुपैयाँ ज्यालादारी। ठूलो परिवार, ठूलो खर्च, कमाइ थोरै। कतारको कमाइ कति दिन टिक्थ्यो!
‘घरको खर्च बढेपछि स्वास्नीको कचकच बढ्यो,’ उनले भने, ‘फेरि विदेश जाने तयारीमा लागेँ।’

२०६७ वैशाख १८ गते।
पिरामिड म्यानपावरबाट तेस्रो खेपमा ओमन उड्दै गरेका ३२ जना नेपाली सबैका आँखामा सपनाको चमक थियो।
रमेश तिनैमध्ये एक थिए।
उनीहरू ओमान एअरवेजमा पाँच घन्टा उडेर मस्कट ओर्लिए। पाँच घन्टा कुरेर डेढ घन्टाको अर्को उडानमा राति साढे तीन बजे सललह पुगे।
‘पोर्ट अफ सललह’ पुग्नेबित्तिकै पहिलो झट्का लाग्यो। कम्पनीले ‘ओभरटाइम’ समेत गरेर महिनाको ३० हजार हाराहारी कमाइ हुने बाचा गरेको थियो। त्यहाँ जति हाड घोट्दा पनि २० हजारभन्दा बेसी कमाइ हुन्थेन। बस्ने-खाने व्यवस्था कम्पनीले गर्थ्यो, अरू जम्मै आफ्नै। आठ घन्टाको काम भनेर लगेका थिए, बाह्र घन्टाभन्दा बढी खटिनुपर्थ्यो।
दोस्रो झट्का त्यतिखेर लाग्यो, जब उनीहरूले आफ्नो निम्ति भिसा खर्च, आतेजाते हवाई टिकट जम्मै कम्पनीले उतैबाट पठाइदिएको चाल पाए। जब कि भिसा र टिकट भनेरै एक लाख रुपैयाँ यहाँको म्यानपावर कम्पनीलाई बुझाउनुपरेको थियो।
‘कम्पनीले अलिअलि कमिसन लिनु ठिकै हो, तर जम्मै खर्च उतैबाट बेहोर्दा नि हामीसँग एक/एक लाख उठाएको रैछ,’ रमेशले भने, ‘भनेजति कमाइ नि हुन्थेन, हामी नेपालीहरूलाई त साह्रै हेपेर पैसा दिँदा रैछन्। हामी ९०-१०० रियालसम्म कमाउँथ्यौं, भारत र पाकिस्तानबाट आ’काहरूको डबल थियो।’
नेपाली कामदारहरू आन्दोलित भए। उनीहरू ‘कि म्यानपावर एजेन्सीलाई भनेर पैसा फिर्ता दिलाऊ, कि तलब बढाऊ’ भन्दै दुई दिन काममा गएनन्। ‘हामी हाजिर गरेर मूलढोकाबाट भित्रै नछिरी फर्कन्थ्यौं,’ उनले भने।
त्यसपछि उताको कम्पनीले यता एजेन्सीसँग सम्पर्क गर्‍यो। पिरामिड म्यानपावरका प्रतिनिधि सललह नै पुगे। वार्ता भयो। प्रतिव्यक्ति ३० प्रतिशतका दरले पैसा फिर्ता गर्ने सहमति भयो।
रमेशले ३० हजार रुपैयाँ फिर्ता पाए।
यति गर्दा पनि मासिक पारिश्रमिक उही थियो। त्यसमाथि चार महिनापछि कम्पनीले ‘पालो प्रणाली’ लागु गर्‍यो। काम गर्ने ठाउँ पुगेपछि मात्र पालो परेको छ कि छैन, थाहा हुन्थ्यो। ‘सुनामी आए सबभन्दा पहिला छोप्ने’ समुद्री किनारमा बसेको क्याम्प काम गर्ने ठाउँबाट २० मिनेट पैदल दूरीमा थियो। उनीहरू बिहानै क्याम्पबाट निस्कन्थे। सूचीमा आफ्नो नाम परेको छ कि छैन, हेर्थे। छ भने नाइकेसँग फलामको डन्डा लियो, अनि उक्ल्यो कन्टेनरका खातमाथि। नाम छैन, त्यो दिनको पैसा पनि छैन।
‘कहिले त १०-१२ दिन ड्युटी पर्थेन,’ उनले भने, ‘बिरामी भएर गयल हुँदा पनि तलब काटिन्थ्यो, हाम्रो कमाइ स्वात्तै घट्यो।’
एकदमै जोखिमपूर्ण काम गर्नुपरे पनि तलब थोरै भएकाले नेपालीहरूले खासै पैसा जोगाउन नसकेको उनी बताउँछन्। पैसा जोगाउन भनेरै उनीहरूले ढुकुटी खेल्न थालेका हुन्। उनका अनुसार मिल्ने साथीहरू ६/६ जनाको समूह बनाएर ढुकुटी खेलिन्छ। प्रत्येक महिनाको ५० रियाल उठाउँछन्। एकचोटिमा ३ सय रियाल हात पर्छ। चिठ्ठा खोलेर पैसा खाने पालो तय हुन्छ। कसैलाई अपर्झट परेको छ भने सहमतिमा उसैलाई पालो पारिन्छ।
‘विदेश गएर धेरै कमाउँछन् भनेर सप्पै आँखा ठूला पार्छन्, तर अरबतिर त कमाइ जिरो छ,’ तीन छोरा र एक छोरीका बाबु रमेशले भने, ‘म त सकभर आफ्ना छोराछोरी विदेश नपठाउन सल्लाह दिन्छु।’

रमेश अब चाहेर पनि विदेश जान सक्दैनन्।
एक महिनाअघि ओमनबाट फर्कंदा स्ट्रेचरको स्ट्रेचरै काठमाडौं आइपुगेका हुन् उनी। साथमा रातो सुटकेसबाहेक केही थिएन। दुईजना दाइ मंगल, पदम र भिनाजु केशव परियार बिहानैदेखि एयरपोर्टमा कुरेर बसेका थिए। उनी अघिअघि क्यापिटल हस्पिटलको एम्बुलेन्समा आए। सुटेकस दाजु-भिनाजुले पछिपछि आफूसँग ल्याए।
रड हालेर अड्याएको ढाड उठाउनसक्ने नभएसम्म उनी काम गर्ने अवस्थामा छैनन्। डाक्टरहरूले डेढ-दुई वर्ष गाडीधरी नचढ्नू भनेको छ। केही संस्थाले आर्थिक सहयोग त गरिरहेका छन्, तर अस्पताल खर्च र दाजु-भिनाजुसँग लिएको ऋण यति धेरै भइसक्यो, त्यो निखन्ने पिरलोले उनको छाती भारी भइरहन्छ।
एउटै आस छ, म्यानपावर एजेन्सीबाट पाइने ५ लाख रुपैयाँ बिमा रकम। त्यो हात परे आफू र परिवारलाई आडभर हुने उनी बताउँछन्। ‘त्यसको लागि कति समय लाग्ने हो थाहा छैन,’ उनले भने, ‘आफू हिँडडुल गर्न सक्दिनँ, केटाकेटी सानै छन्।’
उज्ज्वल भविष्यको सपना साँचेर विदेश गएका रमेश परियार आफ्नो अगाडि अन्धकार भविष्य देखिरहेका छन्।
खासमा त्यो दिन ओमनको पोर्ट अफ सललहको कन्टेनरबाट उनी एक्लै चिप्लिएका थिएनन्, श्रीमती र चार सन्तानको भविष्य पनि सँगसँगै चिप्लिएको थियो। अर्को एउटा पिरले पनि उनको मुटु कुँडिइरहेको छ, ‘७० वर्षका वृद्ध आमालाई रेखदेख गर्नुपर्ने बेला आफैं यस्तरी थला परेर बस्नुपर्‍यो।’
रमेशले सकी-नसकी हात तन्काएर उही रातो सुटकेस हल्लाए। ओमनबाट ल्याउँदा जहाजमै ह्यान्डल भाँच्चिएको सुटकेस लिख्रीलिख्री हल्लियो।
‘लाएर गएका थोत्राथोत्री लुगा छन्, अरू केही छैन, कर्मले ठग्यो मलाई,’ उनले अनुहार मलिन पारे, ‘अरब गएका सप्पैको जिन्दगी मेरो जस्तै धरापमा छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: