दसवर्षपछि नयाँ संरचनामा आउँदैछ साझा बस

 

ललितपुर । अस्तित्व नै समाप्त भइसकेको अवस्थामा पुगेको साझा यातायात अब नयाँ संरचनामा आउने भएको छ ।
आफ्नो स्थापनाको ४० वर्षपछि पुनः सञ्चालनमा आउन लागेको सो सेवा चाँडै सेवा सुरु गर्नका लागि नयाँ सञ्चालक समिति गठन गरी आवश्यक प्रशासनिक र व्यवस्थापकीय काम अगाडि बढाउन थालिएको छ ।
पुरानो साझाको सेवाभन्दा फरक ढङ्गले सेवा सञ्चालन गर्न विशेष तयारी भइरहेको बताइए पनि यसले स्थापनाकालकै हरियो रङ्को बस नै सञ्चालनमा ल्याउने तरखर गरिरहेको छ । यद्यपि साझाले बीचमा निलो रङ्को बस पनि सञ्चालन गरेको थियो ।
अर्धसरकारी संस्था साझालाई गएको जेठ ६ गते सम्पन्न यसको विशेष साधारणसभाले गैरसरकारी अवधारणामा रूपान्तरण गरेको थियो ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित साझालाई आधुनिक, व्यवस्थित र पारदर्शी तथा समाजप्रति उत्तरदायी हुने ढङ्गले सञ्चालन गर्न कुनै कसुर बाँकी नराखिने बताउनुहुन्छ ।
साझा बसलाई सेवा प्रभावकारी बनाउन सरकार, नागरिक समाज, दातृ निकाय सबैको उल्लेख्य सहयोग चाहिने खाँचो औँल्याउँदै उहाँ भन्नुहुन्छ–‘यसलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि स्रोत परिचालनबाट कर्मचारीलगायतको व्यवस्थापकीय कार्य मिलाइने छ ।’
तर संस्था बचाउने र टिकाउने मुख्य चुनौति नै राजनीतिक हस्तक्षेप रहेकाले त्यसको अन्त्यका लागि आफूहरू लाग्दै आएको र लागिरहने अध्यक्ष दीक्षितको भनाइ छ ।
साझा यातायातको पुँजीका रूपमा ललितपुरको पुल्चोकमा रहेको २२ रोपनी जग्गालगायत संस्थाको चल–अचल सम्पत्तिको फरकफरक र सञ्चालनको योजना तर्जुमा लगायतका काम भएका छन् ।
वीरगन्जमा रहेको जग्गा बेचेर आएको रु ६ करोड बस किन्न छुट्याइएको छ भने अहिले न्यूनतम् व्यवस्थापन कार्य सञ्चालनका लागि एक प्रशासन प्रबन्धकसहित केही कर्मचारी नियुक्त गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत छनौट हुनासाथ सेवा सुरु गर्ने गरी व्यवस्थापकीय काम भइरहेको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डे बताउनुहुन्छ ।
पुरानो साझालाई नयाँ ढङ्गबाट व्यवस्थापन गरी नयाँ बस खरिद गरेर सेवा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको भन्दै उहाँ पहिलोचरणमा उपत्यकामा २० देखि ३० वटा बस खरिद गरी सञ्चालन गरिने जानकारी दिनुहुुुन्छ ।
पाण्डेका अनुसार साझाका पुराना बस लिलाम–बिक्री गरिएको छ भने बहुमूल्य पुराना मेसिनरी सामान कार्यालयमा स्टोर गरी राखिएको छ, जसलाई पछि आवश्यकताबमोजिम प्रयोग र बिक्री गरिनेछ ।
साझा यातायातले सेवा सञ्चालनका लागि स्रोतको रूपमा केही कार्यालय, भवन, पार्किङ् क्षेत्र र खाली जग्गा भाडामा लगाएर आएको आर्यआर्जनबाट कर्मचारीको तलब–सुविधाको प्रबन्ध गर्ने जनाएको छ ।
बस सञ्चालनार्थ तत्काल आफ्नै स्रोत र पछि पुनः अन्य सरोकारवाला निकायमा आवश्यक पहल गरी आर्थिक प्रबन्ध मिलाउने साझाको योजना छ ।
साझाको हाल हरिहरभवनमा रहेको २२ रोपनी जग्गा मात्र आफ्नो नाममा छ । वीरगन्जको १६ कठ्ठा बिक्री गरी बस खरिदका लागि जम्मा गरिएको छ भने लगनखेलको छ रोपनी जग्गा २०६० सालमा नै कर्मचारी सञ्चय कोषलाई बिक्री गरिसकिएको छ ।
विसं २०१८ मा राजा महेन्द्रका पालामा स्थापित साझा यातायातका तत्कालीन अध्यक्ष विश्वबन्धु थापा हुनुहुन्थ्यो । यसको तेस्रो साधारणसभा २०२३ मा भएको थियो भने २०६१ सालमा भएको चाँैथो साधारणसभाले संस्थाको विनियम बनाएर साझालाई नयाँ ढङ्गले सञ्चालन गरेको थियो ।
विसं २०६७ फागुन २० गते सम्पन्न भएको सातौँ साधारणसभाले संस्थाको विनियम पुनः संशोधन गरी पूर्ण सहकारीकरण गर्ने पहिलो पाइला चालेको थियो ।
यसअन्तर्गत सेयर सदस्यबाट निर्वाचित पाँचजना सञ्चालक रहने र नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहकारी विभागका रजिस्ट्रार र यातायात विभागका सदस्य गरी दुईसहित जम्मा सातजनाको सञ्चालक समिति रहने कानुनी व्यवस्था गरिएको छ । सोहीअनुरूप २०६८ साल जेठ मा सम्पन्न विशेष साधारणसभाले कनकमणि दीक्षितको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरेको थियो ।
यसअघि विनियम संशोधनपूर्व श्रम तथा यातायात व्यवस्था मन्त्रालयको प्रतिनिधि साझाको सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था थियो ।
सरकारले वि.स.२०५८ माघ ११ देखि औपचारिकरूपमा सोको विघटन गरेको थियो । केही सेयर लगानीकर्ता र कर्मचारीको पहलमा पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता भई वि.सं २०५९ को अदालतको फैसलाबमोजिम साझालाई वि.स. २०६२ देखि पुनः सञ्चालनमा ल्याइएको थियो ।
पुनःसञ्चालनपश्चात साझाले काठमाडौँदेखि वीरगञ्ज, भैरहवा, स्याङ्जा, पाल्पा, गोरखालगायतका स्थानमा बससेवा सञ्चालन गरेको थियो । त्यतिबेला उपत्यकामा मात्र साझाका ५० वटा बस सञ्चालनमा थिए ।
राजा महेन्द्रको अग्रसरता र निजीक्षेत्रको संलग्नतामा सुरु गरिएको साझा स्थापनादेखि वि.सं २०२६ साल र वि.स. २०५८ सालमा बन्द भई पुनः सञ्चालन हुँदैआएको थियो । २०३७ सालमा जापान सरकारले सहयोग गरेपछि साझा यातायातका एक सय ८३ वटासम्म बस थिए ।
देशका विभिन्न ठाउँबाट काठमाडौँसम्म चल्ने साझा यातायात लोकप्रिय हुँदाहुँदै राजनीतिक हस्तक्षेप र कर्मचारी आन्दोलनलगायतका कारण पूर्णरूपमा बन्द हुँदैआएको थियो । सीवी अधिकारी

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: