जापान, नेपाली र रोजगारी

गणेश पाण्डे

सुर्योदयको देश जापान । संसारमा नेपाललाई अतिप्रेम गर्ने एउटा देश पनि हो, जापान । जहाँ मानव सभ्यताको एक अनुपम नमुना देखिन्छ, नागरिक सभ्य भए, देश कसरी अनुशासनमा चल्छ भन्ने एउटा गतिलो उदाहरण जापानले देखाएको छ ।

तर, नानी देखि लागेको बानी भनेझैं नेपालीहरुले जापानमा पुगेर पनि आफ्नो बानी परिवर्तन गर्न सकेका छैनन । त्यहीकारण जापानमा रहेका नेपालीबाटै नेपाली ठगिने गरेका छन् । ठगीको एउटा माध्यम बनेको छ, जापानको आकर्षक रोजगारी । रोजगारी दिलाइदिने नाममा अहिले पनि जापान र नेपालमा ठगी भइरहेको छ ।

जापान भन्ने बित्तिकै खुट्टा उचाल्नेहरु नेपालमा धेरै छन् । बाहिरबाट हेर्दा जापानमा रुखबाटै पैसा टिप्न पाइने गरी ठूला ठूला सपना बोकेर जापन उड्नका लागि लालायित देखिए पनि जापानकै वास्तविकता भने भिन्न छ । झण्डै १५ हजार नेपाली रहेको जापानमा औंलामा गन्न सकिने केहीबाहेक धेरै नेपालीका सपना तुहिरहेको छ । विद्यार्थी बनेर जाने अनि पढने पनि, पैसा पनि कमाउने सपना जोडेर र भाषा नै नजानेर, भूगोल र व्यवस्था नै नबुझेर जानेहरुको पीडा असाध्यै निराशा लाग्दो छ, जापानमा ।

जापानमा नेपालीहरुको थरीथरी रुप देखिन्छ । पहिलो, विद्यार्थीका रुपमा धेरै नेपाली जापान पुगेका छन् । दोस्रो, कुक या यस्तै प्रकृतिको रोजगारीमा लाखौं रुपैंया बुझाएर पुग्नेहरु छन । तेस्रो प्रशिक्षार्थी कामदार, प्रशिक्षार्थी रुपमा न्यून नेपालीमात्रै पुगेका छन्, जापानमा ।

कम्तीमा १२ लाख रुपैंया तिरेर जापान गएको विद्यार्थी, जब जसले गाउँको घरखेत बन्दकी राखेको सोच्छ, तब उसको दुर्दशा सुरु हुन्छ । हप्तामा २८ घण्टा मात्रै काम गर्न पाउने नियम र हरेक दिन कक्षामा उपस्थित हुनैपर्ने अर्को नियमका बीच उसले सोचिरहेको हुन्छ, कसरी पैसा कमाउँ र नेपाल पठाउँ । जुन असम्भव जस्तै सत्य हो । सबैभन्दा बढी यहीं पक्ति ठगी र कष्टको चपेटामा परेको छ ।

कुकका लागि पुगेका धेरै नेपालीको पनि अवस्था त्यति राम्रो छैन । अधिकांश नेपाली इन्डियन रेष्टुरेण्टमा काम गर्छन । नेपालीले नै खोलेका रेष्टुरेण्टको बाहिर नाम ‘इन्डियन रेष्टुरेण्ट’ राख्नुपर्ने अवस्था छ । किनकी इन्डियन नभनेसम्म उनीहरुको खानेकुरा बिक्दैन, या पसल ग्राहकमा छिर्दैनन । नेपालको अस्मितालाई भारतमा विलय गराएर भएपनि केही नेपालीले रोजीरोटी चलाएका छन । आफ्नै रेष्टुरेण्ट खोल्ने नगन्य नेपालीको अवस्था त राम्रै छ, तर कामदारको रुपमा काम गर्ने धेरैको अवस्था कष्टकर छ ।

पछिल्लोपटक जापानमा प्रशिक्षार्थी कामदार पनि पठाउन थालिएको छ, नेपाल उद्योग वाणिज्य महासंघ र बैदेशिक रोजगार व्यवसायीबाट पठाइएका केही प्रशिक्षार्थी कामदार त्यहाँको कपडा उद्योग र घर बनाउने स्काफोलिडिङ लगायतका काम गरिरहेका छन्, तुलनात्मक रुपमा तिनीहरुले ठीकै खालको काम र दाम पाइरहेका छन् ।

अर्को पनि एउटा त्यस्तो वर्ग छ, जापानमा । जो जापानका ज्वाईं साहेब बनेका छन् । थुप्रै नेपालीले जापानी युवतीसँग विवाह गरेर जापान बसाईलाई सुरक्षित बनाएका छन् । तर, उनीहरु रित्ता छन्, किनकी जापानमा सम्पत्तिको अधिकार महिलाको हातमा छ, अनेक रुपमा पुगेकाले भिसाको आयु लम्बाउन मात्रै उनीहरु बिहेको विकल्प समाउन बाध्य भएको तितो यथार्थ छ, जापानमा । जापानमा नेपाली नेपालीबीचको राजनीति पनि गज्जब छ, विदेशमा समेत एकले अर्कालाई जुधाउने, फुटाउने र भर्खरै जापान पुगेकालाई अनेक बाहनामा फसाउने कार्य नेपालीबाटै भइरहेको छ ।

व्यापार गरी बस्ने स्थापित व्यवसायीहरु, जापानमै घरजम गरी बसेका र स्थायी भिसा प्राप्त गरी बसेकाबाहेक नवप्रवेशी नेपालीले सुरुमा धेरै कष्ट भोग्नुपर्ने निश्चित छ । यसैले जापान जानुपूर्व धेरैपटक सोचेर लिनुपर्ने आवश्यक सूचना तथा जानकारीहरु लिएर मात्र जापानको यात्रा तय गर्नुपर्ने आवश्यकता छ ।

काम नपाइनु, पाइए पनि त्यससम्बन्धी ज्ञान र सीपको अभाव हुनु, भाषा ज्ञानको अभाव हुनु र अर्कोतिर ठूलो धनराशीको चपेटा एवं चर्को ब्याजको तनावले जस्तोसुकै जोखिम मोलेर पनि अन्यत्र काम गर्न तयार हुनु जस्ता कारणले नेपालीहरुको दैनिकी कष्टकर बनेको हो ।

हुन त जापानमा अधिकांश त्यस्ता व्यक्ति ठगिन्छन्, जो व्यक्तिगत भिसामा जापान छिर्छन । म्यानपावर कम्पनीबाट पठाइएका प्रशिक्षार्थी कामदारको अवस्था तुलनात्मक ठीकै छ । तर, प्रशिक्षार्थी कामदार नगन्यमात्रामा मात्रै जापान पुगेका छन् । जापानको रोजगारी खाडी र मलेसिया जस्तो सजिलो छैन । पहिलो त भाषाको समस्या, दोस्रो जापानले भनेजस्तो दक्ष कामदार समेत दिन सकेको छैन, नेपालले । यहीकारण आठ बर्षसम्म करिब दुई सय प्रशिक्षार्थी कामदार जापान पुगेका छन् । जापानमा कामदार पठाउने विषय केवल मिठो गफ मात्रै बनिरहेको छ ।

जापान इन्टरनेशनल टे्रनिङको अपरेसन अर्गनाईजेशन -जिट्को) मा सूचीकृत म्यानपावर कम्पनीहरु आशातित रुपमा नेपाली पशिक्षार्थी कामदार पठाउन अक्षम भएपछि जापानको बजारप्रतिको नेपाली अपेक्षा समेत अन्योलमा परेको छ । सन् २००३ मा जिट्को र श्रम मन्त्रालयबीच नेपाली प्रशिक्षार्थी कामदार जापान पठाउने बिषयमा द्विपक्षीय सम्झौता भएतापनि ६ बर्षसम्म १ जना पनि प्रशिक्षार्थी कामदार जापान जान सकेनन । त्यसबेला नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने जिम्मा नेपाल उद्योग बाणिज्य महासंघलाई दिइएको थियो । तर जिट्कोको जटिल प्रक्रिया र नेपाली कामदारको कागजात लगाएको समस्याका कारण उद्योग वाणिज्य महासंघले नेपाली प्रशिक्षार्थी कामदार पठाउन त्यत्ति इच्छा व्यक्त गरेन ।

सन् २००९ मा आएर श्रम मन्त्रालयले नेपालका म्यानपावर कम्पनीहरुलाई जापानमा प्रशिक्षार्थी कामदार पठाउने जिम्मा दिने तयारी सुरु गर्‍यो । तर बैदेशिक रोजगार व्यवसायीहरु आफुहरुले मात्र जापानको काम गर्न पाउने अभिलाषाका साथ श्रम मन्त्रालयका कर्मचारी र श्रम मन्त्री समेतलाई प्रभावित पार्न तिर लागे, जसको कारण श्रम मन्त्रालयले खासै निर्णय गर्न सकेन । पछि श्रम मन्त्रालयले जिट्कोको अडान भन्दै २० वटा संस्थालाई मात्र जिट्कोमा प्रशिक्षार्थी कामदार पठाउने सूचीमा सूचीकृत गर्ने तयारी गर्‍यो । त्यसमा समेत ठूलै चलखेल भएपछि श्रम मन्त्रालयले १ सय ७० वटा म्यानपावर कम्पनी र उद्योग वाणिज्य महासंघलाई कामदार पठाउन स्वीकृत दिएको छ । वैदेशिक रोजगार व्यवसायीले अधिकार पाएपछि जापानमा कामदार पठाउने क्रमले केही गति लिएको तर जति अपेक्षा व्यवसायी तथा अन्य सरोकारवालाहरुले गरेका थिए, त्यो अनुसार हुन सकेको छैन । म्यानपावर कम्पनीमार्फत १ सय ६९ जना मात्रै जापान पुगेका छन्, उद्योग वाणिज्य महासंघले पठाएको छ, ६ जना । अहिलेसम्म १३३१ जनाका लागि माग आएको देखिन्छ, तर ती कामदार पनि कहिले उड्ने हुन निश्चित छैन ।

जापानमा कामदार पठाउने विषयमा अन्यौलता छाएपछि केही महिना अघि प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्चको नेतृत्वमा व्यवसायीहरुको प्रतिनिधिमण्डल जापान पुग्यो । प्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष टंकबहादुर राउतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सकारात्मक तरंग त ल्याइएदिएको छ, तर कामदार पठाउने कार्यले अझै गति लिन सकेको छैन । जापान भ्रमणका क्रममा व्यवसायीहरुले जापानी रोजगारदाता कम्पनी र जिट्कोलाई नेपाली कामदारलाई प्राथमिकता दिन आग्रह गरेका थिए । व्यवसायीको त्यो आग्रहमा रोजगारदाता कम्पनी पनि इच्छुक देखिएका थिए । पहिलोपटक यसरी व्यवसायीहरु पुग्दा रोजगारदाता कम्पनी टीकेकेले ५ सय जना नेपालीलाई तत्कालै रोजगारी दिने प्रतिबद्धता समेत जनाएको थियो । तर, उनीहरुको कामको नतिजा आइसकेको छैन ।

नेपाली कामदार जापान जान नसक्नुमा केही कारणहरु छन् । पहिलो त भाषा मिल्दैन । जापानीहरु नेपाली वा अंग्रजी दुवै बोल्न नसक्ने भएका कारण पनि म्यानपावर कम्पनीहरुले जापानको बजार प्रबर्द्धन गर्न सकेका छैनन । त्यसका लागि जापानमा रहेका नेपालीहरुसंग आश्रति हुनुपर्ने बाध्यता छ । तर, जापानमा रहेका नेपालीहरुले यहाँका म्यानपावर कम्पनीकै रकम फसाइदिएका छन् । अर्कोतिर, जापानको मार्केटिङ खर्चिलो छ । कामदारबाट कानुनी रुपमा ५० हजार मात्र लिन पाउने भएकाले व्यवसायीहरुले यसलाई त्यति आकर्षणका रुपमा लिएका छैनन् ।

अहिले जापानले चीनबाट मात्र बाषिर्क ६० हजारको हाराहारीमा प्रशिक्षार्थी कामदार लैजाने गरेको छ । जुन कुल जापान जाने प्रशिक्षार्थी कामदारको ८० प्रतिशत हो । र, जापानी कम्पनीहरु चीनको यो हिस्सालाई घटाउने तयारीमा छन् । तर नेपाली कम्पनीहरुले त्यो अवसरलाई सदुपयोग गर्न सकेका छैनन ।

जापानको रोजगारी नेपालीका लागि एउटा सुनौलो अवसर हो । किनकी जापानबाट नेपालमा सीप र पुँजी दुवै भित्राउन सकिन्छ । त्यसका लागि राज्यले एउटा खास नीति बनाउन जरुरी देखिएको छ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: