सेनामा तीन हजार मधेसी भर्ना लिइने

image

सेनालाई समावेशी बनाउने नीतिपत्र ०६८ पारित गर्दै छुट्टै इकाइ निर्माण गर्ने गरी मधेसका मधेसी, दलित, आदिवासी जनजाति, मुस्लिम र पिछडिएका समुदायलाई रिक्त दरबन्दीमा भर्ना गर्ने मन्त्रिपरिषद्को निर्णय, इकाइको नाम जुरेन

काठमाडौं, ५ पुस
नेपाली सेनालाई समावेशी बनाउन सरकारले तीन हजार नयाँ भर्ना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सेनामा मधेसी समुदायका लागि नयाँ भर्ना खोल्न रक्षा मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको हो ।
बैठकले सेनालाई समावेशी बनाउने नीतिपत्र ०६८ पारित गर्दै छुट्टै इकाइ निर्माण गर्ने गरी सेनामा नयाँ भर्ना लिन निर्देशन दिएको छ । नीतिपत्रअनुसार तराई मधेसका मधेसी, दलित, आदिवासी जनजाति, मुस्लिम र पिछडिएका समुदायलाई रिक्त दरबन्दीमा भर्ना गरिनेछ ।
बैठकपछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सेनालाई समावेशी बनाउन रक्षा मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । सरकार बन्नुअघि माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे सहमतिअनुसार सेनामा नयाँ भर्ना लिने निर्णय भएको हो । सेनामा हाल ९५ हजार सात सय ५३ जनाको दरबन्दी छ । दरबन्दीमै रहेर नयाँ भर्ना सुरु गर्न सरकारले सेनालाई निर्देशन दिएको छ ।
मोर्चासँग भएको चारबुँदे सहमतिमा १० हजारसम्म मधेसी समुदायलाई सेनामा भर्ना गर्ने उल्लेख थियो । तर, केही दिनअघि माओवादी र मोर्चाका शीर्ष नेताहरूबीचको बैठकमा दुई हजार मधेसी र एक हजार दलित, आदिवासी जनजाति, मुस्लिम र पिछडिएका समुदायका युवालाई सेनामा भर्ना लिने सहमति भएको थियो ।
मन्त्रिपरिषद्ले हिमाली क्षेत्रमा तीन, पाहाडी क्षेत्रमा पाँच र मधेसमा आठ ठाउँमा गरी १६ ठाउँबाट सेनामा नयाँ भर्नाको प्रक्रिया सुरु गर्ने निर्णयसमेत गरेको छ । नयाँ भर्ना गरी बनाइने छुट्टै इकाइको नामका विषयमा भने सहमति बनेको छैन । नयाँ इकाइको नाम ऐतिहासिक, संास्कृतिक वा भौगोलिक कुनै ठाउँको आधारबाट राख्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकमा अंगीकृत नागरिकताको विषयमा पनि छलफल भएको थियो । मधेसी मन्त्रीहरूले यस विषयमा मंगलबार नै निर्णय गर्नुपर्ने अडान राखेका थिए । तर, माओवादी मन्त्रीहरूले नागरिकताको विषय गृह मन्त्रालयको भएकाले गृहले नै टुंग्याउनुपर्ने अडान राखेका थिए । विवाद भएपछि यसबारे गृह मन्त्रालयले थप गृहकार्य गर्ने र अर्को मन्त्रिपरिषद्को बैठकमा निर्णय गर्ने सहमति भएको छ ।
‘अंगीकृत बाबुआमाका नाबालक छोराछोरीले नागरिकता पाउनुपर्ने विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने हाम्रो माग हो,’ बैठकपछि कृषिमन्त्री नन्दनदत्त रायले भने, ‘यो विषय माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे सम्झौतामा पनि उल्लेख छ । हामीले उक्त सम्झौता कार्यान्वयन हुनुपर्छ भनिरहेका छौँ ।’
मन्त्रिपरिषद्को बैठकले समावेशी विधेयकमा आरक्षण कोटा बढाउने निर्णय पनि गरेको छ । समावेशी कोटामा ४५ प्रतिशत कोटालाई बढाएर ४८ प्रतिशत पुर्‍याउने निर्णय गरिएको हो । समावेशी विधेयकलाई बुधबार विधेयक समितिमा प्रस्तुत गरेर व्यवस्थापिका संसद्मा लैजाने निर्णय पनि भएको छ । ‘समावेशी विधेयकलाई व्यवस्थापिका संसद्मा लैजाने निर्णय भएको छ,’ कृषिमन्त्री नन्दनदत्तले भने ।
यसैगरी बैठकले माओवादी नेताहरूले प्रयोग गर्दै आएका गाडी दर्ता गर्ने निर्णय पनि गरेको छ । माओवादीले शान्तिप्रक्रियामा आउँदा ९७ वटा गाडी अस्थायी रूपमा दर्ता गरी प्रयोगमा ल्याएकोमा ५७ वटा शान्ति मन्त्रालयअन्तर्गत र बाँकी माओवादीको स्वामित्वमा रहने गरी दर्ता गर्ने निर्णय भएको छ ।
त्यस्तै, प्रहरी वरिष्ठ उपरीक्षकहरू गोपालप्रसाद भण्डारी, हेमन्त मल्ल ठकुरी, केशवप्रसाद अधिकारी र प्राविधिकतर्फका नेत्र आचार्यलाई नायब महानिरीक्षकमा बढुवा गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सूचना प्रविधि परिषद् पनि गठन गरिएको छ । यसअघि सरकारले उच्चस्तरीय सूचना प्रविधि आयोग विघटन गरेको थियो ।
पिछडिएका समुदाय राष्ट्रिय उत्थान प्रतिष्ठानका विद्यमान पदाधिकारीलाई पदमुक्त गरी अजयशंकर नायकको उपाध्यक्षतामा नयाँ पदाधिकारी नियुक्ति गरिएको छ । प्रतिष्ठानमा नियुक्ति पाउने नयाँ सदस्यमा अमृतकुमार महतो, जयप्रकाश शाह र रोहित केबल हुनुहुन्छ । त्यस्तै, बैठकले ‘लगानी वर्ष २०१२-२०१३’ मनाउनेसम्बन्धी कार्यान्वयन प्रस्ताव पारित गरी प्रधानमन्त्रीको अध्यक्षतामा लगानी वर्ष राष्ट्रिय निर्देशक समिति गठन गरेको छ ।
सरकारका प्रवक्ता प्रकाशका अनुसार बैठकले केही सडकको नयाँ नामाकरण गर्ने निर्णयसमेत गरेको छ । लमही-तुल्सीपुर सडकलाई कृष्णसेन इच्छुक मार्ग, रूपनी-राजविराज सडकलाई गजेन्द्रनारायण सिंह मार्ग, नेपालगन्ज-बगौडा सडकलाई कमल गिरी मार्ग, मिर्चैया-सिराहा सडकलाई रमेश महतो मार्ग, बर्दिवास-जलेश्वर सडकलाई दुर्गानन्द झा मार्ग र द्रव्य शाह सडकलाई सुरेश वाग्ले मार्ग नामाकरण गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: