कारागारमै कुटिएका पौडेलको मृत्यु

image

– आज देवघाटमा अन्त्येष्टि -१० लाख क्षतिपूर्ति दिइने – कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा -सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन, कांग्रेसको छुट्टै समिति

बालकृष्ण अधिकारी/काठमाडौं,
विष्णु पौडेल/चितवन
२ पुस
चितवन कारागारभित्रै आक्रमणबाट घाइते थुनुवा तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा शनिबार बिहान निधन भएको छ । हत्या आरोपमा पुर्पक्षका लागि थुनामा परेका पौडेलमाथि सुतिरहेको अवस्थामा २० मंसिरमा आक्रमण भएको थियो ।
काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पौडेलको शनिबार बिहान तीन बजे निधन भएकोे हो । तर, अस्पतालले बिहान नौ बजे मात्र उनको .निधन भएको आधिकारिक घोषणा गरेको थियो । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार हुन नसकेपछि पौडेललाई २८ मंसिरमा काठमाडौं ल्याइएको थियो ।
उपचारको क्रममा निधन भएका पौडेलको शवको शनिबार नै पोस्टमार्टम गरिएको छ । उनको आइतबार देवघाटमा अन्तिम संस्कार गरिने भएको छ । अन्तिम संस्कारमा कांग्रेसका शीर्ष नेताहरू चितवन जाने भएका छन् । पौडेलको निधन भएको खबरपछि अस्पतालमा कांग्रेसका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो ।

सरकारद्वारा न्यायिक छानबिन समिति गठन
उपचारका क्रममा पौडेलको शनिबार मृत्यु भएपछि सरकारले घटनाको छानबिनका लागि न्यायिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णयसमेत गरेको छ ।
पूर्वन्यायाधीश मोहन सिटौलाको संयोजकत्वमा गठन गरिएको समितिमा नेपाल प्रहरीका डिआइजी विज्ञानराज शर्मा र सहन्यायाधिवक्ता कृष्णप्रसाद पौडेल छन् । यसअघि सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा शनिबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सरकारकै निगरानीमा जेलभित्रै आक्रमण भई पौडेलको मृत्यु हुनु षड्यन्त्रपूर्ण रहेकोे भन्दै उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग सरकारसँग गरेको थियो ।
बैठकले पौडेललाई सहिद घोषणा गर्न आग्रह गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको थियो । सरकारले मृतकका आफन्तलाई १० लाख क्षतिपूर्ति दिने निर्णय सकारात्मक भएको एक कांग्रेस नेताले बताए ।

कांग्रेसको छुट्टै छानबिन समिति
कांगे्रसले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न पार्टीका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, कृष्णचन्द्र नेपाली, चन्द्र भण्डारी र शंकर भण्डारी छन् ।

कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा
कांग्रेस केन्द्रीय समितिको शनिबार बसेको आकस्मिक बैठकले मृतक पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले सोमबार नेपाल बन्दको आह्वान गरेको छ । संसद्मा पनि सशक्त विरोध गरिने कांग्रेसले जनाएको छ । पौडेलको निधन भएको सार्वजनिक भएलगत्तै कांग्रेसका भ्रातृ संगठन तरुण दल, नेविसंघका कार्यकर्ताले शनिबार देशभर प्रदर्शन गरेका छन् ।
कांग्रेसले बन्दका कार्यक्रम सञ्चालन तथा समन्वयका लागि केन्द्रीय सदस्य दीपक गिरीको संयोजकत्वमा नवीन्द्रराज जोशी र महेन्द्र यादव सदस्य रहेको समिति गठन गरेको छ । आइतबार साँझ राजधानीसहित सबै जिल्लामा मसाल जुलुस र कोणसभा गर्ने कार्यक्रम तय गरेको छ ।
कांग्रेस बैठकले पौडेलमाथि लागेका सबै मुद्दा फिर्ता लिनसमेत सरकारसँग माग गरेको छ । उसले पौडेलसँगै हिरासतमा रहेका अन्यको पनि मुद्दा फिर्ता लिन माग गरेको छ । केन्द्रीय सदस्य भीष्मराज आङदम्यले मृतक पौडेललाई लागेका सबै मुद्दा फिर्ता लिनुपर्ने बताए ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले घटनामा सरकारको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाए । घटना हुँदा चितवनमा नै रहेका महामन्त्री कृष्णप्रसाद सिटौलाले चितवनका तत्कालीन प्रहरी प्रमुखको घटनामा संलग्नता रहेको आशंका गरेका थिए । स्रोतका अनुसार कतिपय केन्द्रीय सदस्यले पौडेलको हत्या गर्ने योजनाअनुसार गृहमन्त्रीले चितवनमा नयाँ एसपी पठाएको आरोपसमेत लगाएका थिए ।
बैठकमा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री सिटौला, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, खुमबहादुर खड्का, बालकृष्ण खाँण, सुजाता कोइराला, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली, चन्द्र भण्डारी, महेन्द्र यादव, शंकर भण्डारी र राजनप्रसाद पन्तले बोलेका थिए । बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा चितवन तरुण दलका अध्यक्ष शिवप्रसाद पौडेललाई षड्यन्त्रपूर्ण ढंगले ज्यान मुद्दा लगाई जेलमा लगेर योजनाबद्ध रूपमा हत्या गरिएको उल्लेख छ ।
‘सरकाररचित हत्याकाण्डको घोर भत्र्सना गर्दछ,’ पौडेलको निधनले कांग्रेसलाई दुखित बनाएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सयौँ मानिसका माझ नेपाल महिला संघको तिजको कार्यक्रममा सहभागी रहेका निर्दोष पौडेललाई सोही समयमा अन्यत्र भएको घटनामा मुछी जेलमा लगेर नियोजित रूपले उज्यालो हुनुअघि प्रशासनले नै ४ः३० बजे नै जेलका कोठा खोली हत्या गर्न लगाएको यो घटनाबाट सिंगो सरकार उम्किन सक्दैन ।’
पौडेलको निधनपछि नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष प्रदीप पौडेल, नेपाल तरुण दलका निवर्तमान अध्यक्ष महेन्द्र यादवसहित कांग्रेसका विभिन्न भ्रातृ संगठनका नेताहरूले विरोध गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

को हुन पौडेल ?
चितवन भरतपुर-१२ का स्थायी बासिन्दा शिव पौडेल -३४) तीन भाइमध्येका माहिला हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी चितवन क्षेत्रका निर्माण व्यवसायी पनि हुन् । पौडेल र उनका साथीहरूको समूहले चितवनमा ढाँट, सडक र स्थानीय निकायमा हुने अधिकांश ठेक्कापट्टाको काम गर्ने गरेका थिए ।
०५५ मा तरुण दलको जिल्ला सदस्य, उपाध्यक्ष हुँदै दुई वर्षअघि उनी तरुण दल चितवनका अध्यक्ष भएका हुन् । उनका भाइ गोपी उनीसँगै ठेकेदारी गर्थे । चार वर्षअघि अर्को समूहसँग ठेक्कापट्टाको विषयमा कुरा नमिल्दा उनका भाइ गोपीको भरतपुरमै हत्या भएको थियो । भाइको हत्या अभियोगमा त्यतिवेला एमालेनिकटको भ्रातृ संगठनका करिब २४ जना युवा आरोपी थिए । तीमध्ये केही युवा कारागारमै सजाय भोग्दै छन् । शिवका दाजु तारा चितवनका पुराना पत्रकार हुन् ।
गत भदौमा चितवनकै केराबारीमा मारिएका युवा संघका सदस्य सञ्जय लामाको हत्या अभियोगमा तरुण दल चितवनका अध्यक्ष पौडेलसहित सातजना पुर्पक्षका लागि थुनामा थिए । कारागार स्रोतका अनुसार गोपीको हत्या अभियोगमा थुनामा रहेका अर्को समूहका युवालेे शिवसहित पाँचजना कैदीमाथि पानी तान्ने पम्पको ह्यान्डिल, तावा, पन्युलगायत औजारले आक्रमण गरेर घाइते बनाएका थिए । ‘ग’ ब्लकमा सुतिरहेका उनीहरूलाई ‘क’ ब्लकका कैदीले आक्रमण गरेका हुन् ।

‘पौडेलले कारागारमै असुरक्षित छु भनेका थिए’
सञ्जय लामा हत्याका आरोपी पौडेलले चितवन कारागारमा आफू असुरक्षित भएको तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई जानकारी गराएको कारागार स्रोतले बतायो । ‘मलाई अन्तै कारागारमा पठाइदिनुस् भनेर शिवले भनेका थिए, तर कुनै वास्ता नै भएन,’ स्रोतले भन्यो, ‘कारागारमा सम्भावित दुर्घटना हुनसक्छ भनेर उनलाई छुट्टै ब्लकमा राखिएको थियो ।’

आक्रमण योजनाबद्ध ः छानबिन प्रतिवेदन
नवराज मैनाली/
काठमाडौं, २ पुस 
चितवन कारागारमा थुनामा रहेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेेलमाथि योजनाबद्ध रूपमा आक्रमण भएको छानबिनमा देखिएको छ । गृह मन्त्रालयका सहसचिव शंकर कोइरालाको संंयोजकत्वको गठित छानबिन समितिले हत्या योजनासहित पौडेलमाथि आक्रमण भएको प्रतिवेदन तयार पारेको हो ।
समितिले बिहीबार गृहसचिव सुशीलजंग राणालाई छानबिन प्रतिवेदन बुझाएको छ । स्रोतका अनुसार प्रतिवेदनमा लामो समयदेखि पौडेलमाथि आक्रमण गर्ने योजना बनेको र २० मंसिरमा हत्याकै योजनासहित आक्रमण भएको उल्लेख छ । घटना गुन्डागर्दीको परिणाम भएको दाबीसमेत छानबिन समितिको छ ।
प्रतिवेदनमा कारागार प्रशासनको चरम लापरबाही रहेकोसमेत उल्लेख छ । कारागारको १ नम्बर ब्लकका कैदीहरूले प्रहरीसँग साँचो खोसेर पौडेललाई राखिएको ३ नम्बर ब्लकको ताला खोली आक्रमण गरेका थिए । उनीमाथि आक्रमण हुनुमा केही प्रहरीको मिलेमतो रहेको आशंकासमेत छानबिन समितिले गरेको छ ।
कांग्रेसले पौडेलमाथिको आक्रमण घटना प्रहरीको समेत मिलेमतोमा भएको दाबी गर्दै आएको छ । घटनाकै दिन गृह मन्त्रालयले चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी खिनु आचार्य, जेलर चूडामणि शर्मा र जेल सुरक्षामा कार्यरत सइ शिवराज खत्रीलाई निलम्बन गरेको थियो । घटनाको भोलिपल्ट चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी नन्दीकिशोर त्रिपाठीलाई समेत निलम्बन गरिएको थियो ।
स्रोतका अनुसार प्रतिवेदनमा विभिन्न पक्षको बयानका आधारमा चितवनका तत्कालीन एसपी आचार्यको शंकास्पद भूमिका देेखिएको छ । पौडेलको आक्रमण गर्ने समूहसँग पुरानो रिसइबीसमेत औँल्याइएको छ । शिवका भाइ गोपीलाई हत्या गर्ने समूहले नै उनीमाथि आक्रमण गरेको पनि प्रतिवेदनमा उल्लेख छ । स्रोतका अनुसार हत्या अभियोगमा जेल परेका शिवको मुद्दामा पुनरावदेनबाट आदेश हुने केही दिनअघि मात्र उनीमाथि आक्रमण भएको हो ।
छानबिन प्रतिवेदनमा मृतक पोडेलका आफन्त, कांग्रेसका जिल्लानेताहरू, कैदी-बन्दी तथा प्रशासनका अधिकारीसँगको बयान पनि संलग्न गरिएको छ । गृहप्रवक्तासमेत रहेका छानबिन समितिका संयोजक कोइरालाले अनुसन्धान गरी प्रतिवेदन बु्झाइएको उल्लेख गर्दै विस्तृत जानकारी दिन चाहेनन् । कोइरालाको संयोजकत्वको छानबिन समितिमा राष्ट्रिय अनुसन्धान विभागका डिआइजी नवराज थापा, नेपाल प्रहरीका एसएसपी मधु पुडासैनी र कारागार व्यवस्था विभागका निर्देशक दीपक नेपाल सदस्य थिए ।
चितवन कांग्रेसभित्रको विवाद मिलाउन कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला चितवनमा रहेकै वेला पौडेलमाथि आक्रमण भएको थियो । आक्रमणको अघिल्लो दिन सिटौलाले विवाद मिलाउनका लागि जेलमै पौडेलसँग भेटघाट गरेका थिए । आफूले चितवनका तत्कालीन एसपी आचार्यलाई पटक-पटक भेट्न खोज्दा पनि उनले नमानेको सिटौलाले बताएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: