एसएसबीले भत्काए नेपालीका घर

image

एसएसबीले भत्काएका घर देखाउँदै पीडित अजित पाल

हतियारसहित नेपाल प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले सोमबार नेपालीहरूका घर भत्काएको छ । सोमबार दिउँसो नेपाल प्रवेश गरेका एसएसबीले स्थानीय बासिन्दालाई धम्क्याउँदै घर भत्काएको हो ।

नेपाल-भारत सीमाक्षेत्रनजिक पर्ने कञ्चनपुर भीमदत्त नगरपालिका-११ भुजेलामा प्रवेश गरेर एसएसबीको टोलीले नेपालीका तीन घर भत्काएको हो । उनीहरूले भुजेलाका अजित पाल, कल्याण लुहार र भक्तबहादुर रानाको घर भत्काएका हुन् ।

एसएसबीका हतियारसहित आएका २५/३० जनाले नेपाल प्रवेश गरेर एकाएक घर भत्काउन थालेको पीडितले बताए । ‘घरमा बसिरहेका थियौँ । एकाएक आएर घर भत्काउन थाले,’ पीडित अजित पालले भने ।

स्थानीय बासिन्दाले किन भत्काउन लागेको भन्दा उल्टै बन्दुक देखाएर धम्क्याएका थिए । ‘धेरै बोल्यौ भने मारिदिन्छौँ भन्न थाले,’ एसएसबी हतियारधारीले बन्दुक तेस्र्याएपछि घर छोडेर भागेका अजितले भने, ‘नभत्काउ भन्दै थिएँ, बन्दुक ताकेपछि ज्यान जोगाउन भागेँ ।’

भत्काइएका घर सीमास्तम्भ नम्बर ७ र ८ को बीचमा छन् । एसएसबीले दसगजा क्षेत्रमा निर्माण गरिएको भन्दै घर भत्काएको स्थानीय बासिन्दाको भनाइ छ । ‘दसगजामा किन बनाएको भन्दै भत्काए,’ घर भत्काएपछि बिचल्लीमा परेका कल्याण लुहारले भने ।

आफूहरूसँग लालपुर्जा भएको र करसमेत तिर्दै आएको उल्लेख गर्दै लुहारले ३० वर्षदेखि सो ठाउँमा बस्दै आएको पनि बताए । ‘यहाँ बस्न थालेको ३० वर्ष भयो,’ अजितले भने, ‘नेपालको लालपुर्जा छ, कर तिर्छौँ । दसगजा क्षेत्र भए किन लालपुर्जा दिइयो ?’

एसएसबीको टोलीले धम्क्याउँदै घर भत्काउन थालेपछि स्थानीय बासिन्दा भेला भएका थिए । चारैतिरबाट स्थानीय बासिन्दा आएपछि अन्य घर जोगिएको उनीहरूले बताएका छन् । टनकपुर क्षेत्रमा भारतले गर्न लागेको विद्युतीकरणको नेपाली पक्षले विरोध गरेपछि एसएसबीले नेपालीको घर भत्काएको स्थानीय बासिन्दाको आरोप छ ।

एसएसबीको टोलीले नेपाल प्रवेश गरेर घर भत्काएको प्रति स्थानीय प्रशासनले आपत्ति जनाएको छ । ‘हामीलाई कुनै जानकारी दिएको छैन । यो सरासर गलत कुरा हो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने, ‘यसमा हाम्रो आपत्ति छ, उनीहरूलाई भेटेर कुरा गर्छौँ ।’

यसअघिका नेपाल र भारतमा भएका सीमा बैठकमा दसगजा क्षेत्रको अतिक्रमण खाली गर्ने र भत्किएका, हराएका सीमास्तम्भ पुनर्निर्माण गर्ने दुई देशका अधिकारीहरूबीच सहमति भएको थियो । ‘दसगजा क्षेत्रको अतिक्रमण खाली गर्ने सहमति भएको थियो,’ प्रजिअ दाहालले भने, ‘यसरी एकलौटी रूपमा होइन । दुवै पक्षको संयुक्त टोलीले हटाउने भन्ने भएको हो ।’

तर, दसगजा क्षेत्रमा पर्ने यकिन नभए पनि शारदा बाँधको पूर्वी किनारमा रहेको एसएसबीको क्याम्पबाट आएको टोलीले नेपालतर्फको क्षेत्रका घरहरू भत्काएको हो । हतियारसहित उनीहरूले धम्क्याउँदै घर भत्काएर गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

दसगजा क्षेत्रमा भएको अतिक्रमणमा पनि नेपालतर्फको दसगजामा नेपाली प्रशासनले र भारततर्फको दसगजा क्षेत्रमा भारतीय प्रशासनले अतिक्रमण हटाउने सीमा बैठकमा सहमति भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: