मधेसवादी काँधमा माओवादी सरकार

बद्रीनरसिंह केसी

image

प्रधानमन्त्री भट्टराईको लक्ष्य र लगावमा कसैको शंका छैन । तर ‘मधेसवादी’को खाओवादी आचरण र माओवादीभित्रबाट देखाइएको विरोधले डा. भट्टराईको सफलतामा तगारो तेर्सिने निश्चित छ । कन्टेनरको साँचो प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समितिलाई बुझाउँदा वैद्य पक्षले गरेको चक्काजाम, राँकेजुलुस उनका लागि पहिलो गाँसको ढुंगो हो ।

 

विषयवस्तुको राजनीतिक पक्षमा जानुअघि चर्चित ‘अर्जुनदृष्टि’ र ‘एकलव्य चरित्र’बारेको महाभारत कथाको रोचक सन्दर्भ कोटयाऔँ— अर्जुनका गुरु द्रोणाचार्यले अर्जुनलाई धनुर्विद्या सिकाउँदै लगेर पारंगत हुँदै गएपछि चराको मूर्ती बनाई त्यसका आँखामा ताकेर धनुर्वाण चलाउन लगाए । चरा नहेर्ने, चराको आँखो मात्र हेरेर ताक्नुलाई ‘अर्जुनदृष्टि’ भनिएको हो । अर्कातिर ‘एकलव्य’ नामका अर्का शिष्यले पनि अश्वत्थामाका बाबु, भारद्वाज ऋषिका छोरा धनुर्विद्यामा अत्यन्त निपुण यिनै ब्राम्हण द्रोणाचार्यलाई नै गुरु बनाएर धनुर्विद्या सिक्न चाहे, तर उनले एकलव्यलाई सिकाउन चाहेनन् । त्यसपछि एकलव्यले द्रोणाचार्यको मूर्तलाई गुरू मानेर आफैँ धनुर्विद्याको अभ्यास गर्न थाले । गर्दागर्दा एकलव्य धनुर्विद्यामा अर्जुनलाई पनि जित्नसक्ने हुनपुगे । आफू यसमा पारङ्गत भएको खुसीयाली बोकेर एकलव्य, द्रोणाचार्यलाई खुसीको खबर सुनाएर गुरूको आशीर्वाद लिन गए । उनले सबै विवरण बताएर द्रोणाचार्यलाई विनम्रता र कृतज्ञतासाथ गुरुभेटी के चढाउ“m भनेर सोधे । तर, गुरु द्रोणाचार्यको मन अर्जुनमै एकोहोरिएको थियो । उनले एकलव्यलाई अर्जुनजति जान्ने हुन नदिने नियतले गुरुभेटीका रूपमा एकलव्यको बूढीऔँला काटेर मागे, ताकि एकलव्य अर्जुनजति निपुण हुन नसकून् । एकलव्यले बूढीऔँला काटेर द्रोणाचार्यलाई गुरूभेटी चढाए । निवर्तमान प्रधानमन्त्री झलनाथ खनालले शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएर संविधान निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारीमा ‘अर्जुनदृष्टि’को नारा लगाएका थिए भने नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिनै कामका लागि ‘एकलव्य’ भएर लाग्ने बताए । यी दुवै कम्युनिस्ट नेताको प्रेरणाको स्रोत महाभारत नै रहेछ ।

एउटा अनौठो गठबन्धनका आधारमा माओवादी नेतृत्वको सरकार गठन भइरहेको छ । अनौठो यसकारण कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लोपटक प्रधानमन्त्रीका लागि उम्मेदवार भएर सातचोटीसम्म हार्दा पनि ‘मधेसवादी दलहरू’ बरु खुच्चिङ बजाएर बसे, तर अध्यक्ष प्रचण्डलाई मत दिने कल्पना पनि गरेनन् । आज मधेसवादी दलहरूको समर्थनको सुविधा डा. बाबुराम भट्टराईलाई एकैपटकमा सजिलै दिएर प्रचण्डलाई उनीहरूले देखाइदिए । प्रधानमन्त्री निर्वाचित भएकै राति ९ बजे भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले शुभकामना दिँदै भारत भ्रमणको निमन्त्रणा पनि दिइहाले । भारतका पत्रपत्रिकाले यी प्रधानमन्त्रीका पक्षमा सम्पादकीय लेखिरहेका छन् । सल्लाह दिँदै लेखिएका आलेख प्रो. एसडी मुनीहरू छपाइरहेका छन् । मधेसवादी दलहरूले प्रधानमन्त्री डा. भट्टराईको डोला बोकिदिएकै छन् । यिनै गतिविधिलाई देखाएर यो सरकारको कन्ट्रोल स्वीचबोर्ड बाहिरै छ कि भनी आशङ्का गर्नेहरूलाई बाटो मिलेको छ । हो, यही यथार्थलाई लिएर प्रधानमन्त्री डा. भट्टराईलाई आफ्नै पार्टीबाट सबभन्दा बढी खतरा हुनसक्छ । खासगरी पार्टी महाधिवेशनका वेलामा ‘भारतपरस्त’ भनेर बाबुरामलाई खुइल्याउने मसला पुगेको छ ।

अर्कातिर यो सरकारको एउटा मूख्य घटक मधेसी मोर्चाभित्र सत्ताको विषयलाई लिएर कलह सुरू भइसक्यो । जबजब सत्तामा जाने वेला हुन्छ, आफूलाई मधेसी समाजको ठेकेदार वा मसिहा ठान्ने यी मधेसी दल फुट्न थालिहाल्छन् । हालै सद्भावना पार्टी -आनन्दीदेवी) फेरि फुटयो । ‘लोकतान्त्रिक’ गोत्रको फोरमले उपप्रधानमन्त्री तथा गृहमन्त्री पाएपछि ‘गणतान्त्रिक’ गोत्रको फोरम उपप्रधानमन्त्री नपाए सरकारलाई साथ नदिने भनेर बटारिन थाल्यो । मधेसी मोर्चाभित्र मात्र तीनथान उपप्रधानमन्त्री चाहियो । अहिल्यै चार उपप्रधानमन्त्री हुने भइसके । यो मन्त्रिपरिषद् ‘उपप्रधानमन्त्री परिषद्’ हुन लागेको छ । यदि यसै हुँदै जाने हो भने यो सरकार पनि गणतन्त्रको अर्को मजाक हुनेछ ।

अशान्ति, असुरक्षा, कुशासन, जताततै फोहोरी राजनीतिको प्लेग, राजनीतिक अस्थिरता, बेरोजगारी, महँगीजस्ता समस्याबाट आक्रान्त भइरहेका जनताका लागि प्रधानमन्त्री डा. भट्टराई विश्वासको होइन, आशा वा भरोसाको प्रधानमन्त्री भएका छन् । उनी अर्थमन्त्री हुँदा बनेको जनभरोसा हो यो । तर, प्रधानमन्त्रीका हैसियतबाट उनले जनविश्वास कमाउन बाँकी नै छ । त्यसकारण यो उनको जीवनकै सबभन्दा ठूलो परीक्षाको वेला हो । संविधान लेखनको काम कसरी अगाडि बढ्ने हो, कि डा. बाबुरामद्वारा पार्टीका लागि तयार गरेर पोहोर १५ जेठमा प्रकाशित गरेको १९ भाग र २७४ धारा भएको ‘जनताको संघीय गणतन्त्र नेपालको संविधान, २०६७’ लाई संविधानसभामा छिराउन खोजिएको हो ? शान्तिप्रक्रिया र संविधान लेखनबारे माओवादीका आप\mनै मान्यता छन्, जो अरू पार्टीका मान्यतासँग प्रायः मिल्दैनन् ।

वास्तवमा नेपाली जनताले भाषण भटयाउने सरकार होइन, काम गरेर देखाउने सरकारको खोजी गरेका हुन् । सरकारको काम भटयाउँदै हिँड्ने मात्र होइन, हेर्ने, सुन्ने र गर्ने हो । भाषण, नाराबाजी, आश्वासन, कार्यक्रम, कार्यसूची धेरै सुनियो, तर जनताले महसुस गर्ने कुनै काम भएनन् । सरकारले साँच्चिकै कानुनको शासन लागू गर्ने हो भने ‘कानुन उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनेछ’ भनेर जनतालाई सुनाइरहनुपर्दैन, जेजे गर्ने हो खुरूखुरू गरेर देखाए हुन्छ । जनता राजनीतिक दलहरूलाई नारा वा भाषणबाट होइन, कामबाट चिन्न चाहन्छन् । जनतालाई बोल्ने सरकार होइन, गर्ने सरकार चाहिएको हो ।

डा. बाबुरामको सरकारले आप\mनै पार्टीको सरकार भएर पार्टीको काम गर्ने कि मुलुकको सरकार भएर जनताको उच्चतम् हितका लागि काम गर्ने हो ? उनले पनि फगत पार्टीको प्रधानमन्त्री भएर काम गर्न थाले भने यिनी पनि यसअघिका प्रधानमन्त्रीभन्दा कुनै मानेमा फरक हुने छैनन्, आफ्नो पार्टीलाई एमालेकरण गर्ने मात्र हुन् । तर जब उनी मुलुकको प्रधानमन्त्री भएको प्रमाणित हुन जनताका आवश्यकता प्राथमिकताका क्रममा राखेर निरन्तर खट्नेछन्, तब उनी पार्टीको नेता होइन, मुलुकको राजनेता हुनसक्छन् । यो उनैमा निर्भर रहने कुरा हो । सरकार बहुमतीय प्रकृतिको भए पनि जनताले बाबुरामजीमाथि गरेको भरोसा र समर्थन हेर्दा जनतामा सहमतिको मनोभाव र वातावरण बनेको छ भन्ने प्रमाणित हुन्छ । जनसहमतिमा टिकेको सरकार नै वास्तबिक सहमतिको सरकार हो । चाहे ‘अर्जुनदृष्टि’ लिएर होस् वा ‘एकलब्य’ बनेर, सरकारले जनताको हितमा काम गरेकै हुनुपर्छ । बहाना बनाएर दोष अन्यत्रै थोपर्दै उम्किने छुट सरकारले पाउँदैन ।

जनताले भोगिरहेका समस्या सर्वत्र प्रायः एकै प्रकृतिका छन् । समस्यामा विविधता प्रायः छैन । यस्तो अवस्थामा के गर्ने भन्ने निक्र्योल गर्न घोत्लिरहनु पर्दैन, फटाफट एक्सनमा जान सक्नुपर्छ । बलियो सरकार भएमा दुस्साहसी तत्त्वहरू आफैँ क्रमशः गलेर जान्छन् । सरकार प्रचारमुखी, पि्रयतावादी, नारावाज, एकाङ्गी, खुद्रामसिना काममा केन्दि्रत, दूरगामी महत्त्वका काम गर्नमा उदासीन भयो भने क्रान्तिबाट आएको होस् कि स्वर्गबाट, जनतालाई त्यस्ता टपरटुइयाँ सरकारको काम छैन ।

प्रधानमन्त्री भट्टराईको लक्ष र लगावमा कसैको कुनै शङ्का छैन । तर ‘मधेसवादी’ को खाओवादी आचरण र माओवादीभित्रबाट देखाएको विरोधले भट्टराईको सफलतामा तगारो तेर्सिने निश्चित छ । लडाकुका हतियार राखेका भाँडाहरूको साँचो प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समितिलाई बुझाउँदा वैद्य पक्षले चक्काजाम, राँकेजुलुस आदि विरोध गतिविधिका बखेडाबाजी नाटक देखायो । साँचो बुझाउने काम देब्रे खल्तीको झुत्तो दाहिने खल्तीमा सारेजस्तो हुनुहुँदैन । पार्टीभित्रको ‘क्रान्तिकारी’ वितण्डा, जनतालाई चाहिएको शान्ति र संविधानका बीच सरकारले कसरी काम गर्ला ? माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उल्लेखनीय काम के गर्‍यो ? माधव नेपालको सरकार किन बनाइयो र किन हटाइयो ? झलनाथ खनाल सत्तामा किन उदाए र किन अस्ताए ?

संविधानसभाको निर्वाचनपछि बनेका कुनै सरकारले पनि सत्तामा आपनो औचित्य र आवश्यकता प्रमाणित गर्न नसकेको पृष्ठभूमिमा बाबुरामको सरकार पनि कतै बबुरो सरकार हुन नपुगोस् । कांग्रेस र एमालेजस्ता दुई ठूला पार्टीलाई सत्ताबाहिर राखेर सरकार चलाउनु फलामको चिउरा चपाउनुजस्तै हो । तसर्थ मुलुकका सबै राष्ट्रिय शक्तिहरूसँग हेलमेल, मेलमिलाप, सहयोगात्मक सम्बन्ध र सामाजिक सद्भावको विकास गर्न सकेमा मात्र बाबुराम नेतृत्वको सरकारको औचित्य स्थापित हुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: