नेकपा स्थापनाको डायरी


image

पुष्पलालले तयार पारेका दुईवटा दस्ताबेज दोहोर्‍याएर पढ्यौँ र पार्टी गठनको घोषणा मात्रै गर्‍यौँ । बैठक सकेपछि खाजा खायौँ । खाजामा हरेकलाई एक कप चिया, एउटा पाउरोटी र एउटा अन्डा थियो ।

 

नरबहादुर कर्माचार्य
संस्थापक, नेपाल कम्युनिस्ट पार्टी

१९४९ अपि्रल २२, लेनिन दिवस

कलकत्ता, भारत

पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, म, नारायणविलास जोशी र देवेन्द्र श्रेष्ठ ‘काइँलाबा’ले आठ/दश दिनअघिदेखि नै योजना बनाएका थियौँ- लेनिन दिवसको दिन नेपाली कम्युनिस्ट पार्टी स्थापना गर्ने । केही दिनअघि हामीले सातदिने माक्र्सवादी प्रशिक्षण लिएका थियौँ । भारतीय कम्युनिस्ट पार्टीका नेता कमरेड वेदीले हामीलाई प्रशिक्षण दिनुभयो । त्यतिवेला भाकपाका महासचिव कमरेड रनडिवे हुनुहुन्थ्यो । प्रशिक्षणको लगत्तैपछि हामी सँगै बसेर लेनिन दिवस -२२ अपि्रल) कै दिन पार्टी स्थापना गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुग्यौँ ।

त्यतिवेला नेपालमा राणाशासन थियो । यहाँ बोल्न, लेख्न, भाषण गर्न पाइँदैनथ्यो । स्कुल खोल्नसमेत पाइँदैनथ्यो । संगठन गर्न पाउने त धेरै परको कुरा भयो । राणाशासनकै कारण हामी यहाँबाट विस्थापित भएर कलकत्ता पुगेका थियौँ । अन्तर्राष्ट्रिय स्थितिमा तेलंगानामा त्यतिखेरै किसानले हजारौँ बिघा जमिन कब्जा गरेर गरिब किसानलाई बाँडेका थिए । चीनमा च्याङ काइसेकले सत्ता छाडेर भाग्नका लागि खुट्टा उचालिसकेको थियो । उता सोभियत संघमा कमरेड स्टालिन हुनुहुन्थ्यो । चेकोस्लोभाकियाको प्रागबाट पत्रिका निकालेर विश्वभरिकै कम्युनिस्टहरूलाई निर्देशन दिइन्थ्यो ।

भारतीय कम्युनिस्ट पार्टीका बंगाली साथीहरूले ‘चीनको बाटो लिनु छ, चीनको बाटो लिनु छ’ भन्ने नारा लगाउँदै ठुल्ठूला जुलुस निकाल्थे । त्यस अवस्थाले पनि हामीलाई नेपालमा जनवादी क्रान्ति गर्नका लागि कम्युनिस्ट पार्टी स्थापना गर्नुपर्छ भन्ने प्रेरणा दिन्थ्यो ।

कलकत्तामा हामी चारैजना अलगअलग ठाउँमा बस्थ्यौँ । म लोअरचितपुर रोडमा बस्थेँ । वैद्य र नारायणविलास अन्तै बस्थे । सबै साथीलाई पुष्पलालले व्यवस्था मिलाएर फरकफरक ठाउँमा राख्नुभएको थियो । सन् १९४७ सालमा भारतमा कम्युनिस्ट पार्टी पूरै खुला भइसकेको भए पनि १९४९ ताका कलकत्तामा कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो । पुष्पलाल पनि त्यहाँ भूमिगत रूपमै बस्नुहुन्थ्यो । त्यो दिन बिहान हामी फरकफरक ठाउँबाट श्यामबजारको नवीन-सरकारलेन भन्ने गल्लीको एउटा सानो घरमा जम्मा भयौँ । त्यो भारतीय कम्युनिस्ट पार्टीका सदस्य पंकजकुमारको डेरा रहेछ । कोठा निकै साँघुरो थियो । दिउँसो १२ बजे पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र म त्यही कोठामा भेला भएर बैठक सुरु गर्‍यौँ । बैठकमा काइँलाबा (देवेन्द्र श्रेष्ठ) पनि आउने सल्लाह भएको थियो । उहाँलाई बोलाउन निरञ्जनगोविन्द वैद्य जानुभएको थियो । तर, काइँलाबा कम्युनिस्ट पार्टी स्थापनाको त्यो ऐतिहासिक दिनमा बैठकमै आउनुभएन । उहाँ त्यतिवेला ट्रलिगन्जको काली स्टुडियोमा स्टोरकिपरको जागिर खाइरहनुभएको थियो ।

काइँलाबा र हामीले १९९८ सालदेखि नै आफूलाई कम्युनिस्ट भन्थ्यौँ । नेपालमै सूर्यबहादुर भारद्वाजसहित कामाक्षादेवी, शम्भुराम, भैरवबहादुरलगायत बसेर प्रजातन्त्र संघको स्थापना भएको थियो । त्यसमा हुँदा पनि हामीले आफ्नै साम्यवादी भावको गीत बनाएर गाउँथ्यौँ । कलकत्तामा बस्दा भने काइँलाबाले काम गर्ने घरको माथिपट्ट िएउटी राम्री बंगाल्नी केटी पनि थिइन् । काइँलाबाको उनीसँग केही सम्बन्ध -प्रेम सम्बन्ध) थियो जस्तो मलाई लाग्छ । तर, त्यो दिन उहाँ कुन कारणले आउनुभएन, थाहै भएन । काइँलाबा मलाई एकदमै सहयोग गर्ने मान्छे, कतिपटक खाँचो पर्दा पैसासमेत दिनुहुन्थ्यो । स्टोरका सामान बेचेर पनि मलाई सहयोग गर्नुहुन्थ्यो । पार्टी स्थापनाको दिन उहाँ आएको भए हामीलाई निकै खुसी लाग्थ्यो । काइँलाबा नआएकै कारण मोतीदेवी पनि संस्थापक हुन् भन्नेलगायतका कुरा पछि उठे ।

बैठकका लागि कमरेड पुष्पलालले ‘नयाँ जनवादी क्रान्ति घोषणा गर्ने’ भन्ने एउटा हस्तलिखित दस्ताबेज ल्याउनुभएको थियो । त्यो घोषणापत्र हामी चारैजनाले दुईपटकसम्म पढ्यौँ । त्यो सँगसँगै एउटा राणाशासनविरोधी पर्चा पनि दुईपटकसम्म पढेर पास गर्‍यौँ (त्यो पर्चा पछि नेपाली मितिअनुसार २००६ वैशाख १२ गते नेपाल कम्युनिस्ट पार्टीको नामबाट प्रकाशित भएको थियो) । यसरी हामीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना र घोषणा गर्‍यौँ । पार्टी स्थापना गरेपछि मैले एकदमै खुसीको अनुभूति गरेँ ।

मध्याह्न १२ बजेदेखि अपराह्न पौने चार बजेसम्म लम्बिएको थियो हाम्रो बैठक । चार घन्टा लामो बैठकमा हामीले पार्टीको संगठन निर्माण, आगामी कार्यभार आदि कुनै विषयमा पनि छलफल गरेनौँ । बाँकी काम आगामी दिनमा गर्ने सल्लाह गरी त्यो दिन पुष्पलालले तयार पारेका दुईवटा दस्ताबेज दोहोर्‍याएर पढ्यौँ र पार्टी गठनको घोषणा मात्रै गर्‍यौँ । बैठक सकेपछि खाजा खायौँ । खाजामा हरेकलाई एक कप चिया, एउटा पाउरोटी र एउटा अन्डा थियो ।

‘मोतीदेवी पछि थपिएकी हुन्’

कमरेड निताइ भन्ने नृपेन्द्र चक्रवर्ती नामका बंगालका कम्युनिस्ट नेता हाम्रो पार्टीलाई त्यतिवेला गाइड गर्थे । उनले डेढ महिनापछि ‘तपाईंहरू चारजना मिलेर नेकपा स्थापना गर्नुभयो, राम्रै भयो तर पाँजजना सदस्य भएको भए अझै राम्रो हुन्थ्यो’ भनेर हामीलाई सुझाब दिए । अनि उनैले लाल कम्युनिस्टको गंगालाल हलुवाईलाई बोलाएर ल्याए । गंगालाल र मोतीदेवी त्यतिवेला सँगसँगै आएका थिए । मोतीदेवी एकदमै झगडालु र र्झकने स्वभावकी थिइन् । श्रीमान्सँग पनि नमिल्ने, अरूसँग पनि झगडा मात्रै गर्ने तर केटी साह्रै तगडा । छोरीमान्छे भए पनि एकदमै जन्ड स्वभावकी थिइन् । गंगालाल र उनीबीच पनि धेरै झगडा भयो । पुष्पलालले मिलाएर राखेका थिए । पछि मात्रै हामी चारजना (संस्थापकहरू) र निताइसहित गणेशटकी भन्ने ठाउँमा बसेर गंगालाल र मोतीदेवीसँग कुरा गरेको हो । गंगालाल र पुष्पलालको नेपालमै १९९८ सालदेखि मेल थिएन । ‘तिमीले बनाएको पार्टीमा म बस्दिनँ’ भनेर गंगालाल बैठकबाट हिँडेपछि पाँचजना सदस्य बनाउनका लागि निताइले मोतीदेवीलाई पार्टीमा राखिदिएका हुन् । मोतीदेवीले ०४५ सालमा गिरिराजमणि पोखरेलले सम्पादन गरेको ‘गर्जन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा पनि यो कुरा स्वीकार गरेकी छिन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: