वैचारिक बहस कि व्यक्तित्वको टक्कर ?

माओवादी विवाद

चित्रबहादुर केसी

अध्यक्ष, राष्ट्रिय जनमोर्चा

उनीहरूले सुरुमै उग्रवामपन्थी क्रियाकलाप गरे । लेनिनवादी संगठनात्मक पद्धति छाडे । पाँचाँै महाधिवेशनमै गएका छैनन् ।  त्यति धेरै मानिस मारे, भौतिक संरचना ध्वस्त भए । उनीहरूसँग लेनिनवादी संगठनात्मक पद्धति छैन । अरू पार्टीले कारबाही गरेर फालेका मान्छेहरू बटुलेका छन् । प्रचण्डपथ मानेपछि जस्तो मान्छे पनि अटाएको छ । उनीहरूको कम्युनिस्ट सिद्धान्तमा विचलन आएको छ । व्यक्तिगत महत्त्वाकांक्षा र पद-प्रतिष्ठामा सबैको ध्यान केन्दि्रत छ । एकातिर सत्तातिर लाग्ने प्रवृत्ति छ भने अर्कोतिर उग्रवामपन्थी संकीर्णता छ । अहिलेको वस्तुगत परिस्थितिको ठीक मूल्यांकन गर्न सकेका छैनन्, उनीहरूले । उनीहरू अलमलमा छन् । पुँजीवादी प्रणालीमा विकास गर्न नसकेको ठाउँमा जनवादी संविधानका कुरा गर्छन् । शान्ति र संविधानको राजनीति लाइनमा प्रचण्ड, बाबुराम एकातिर छन् भने कुर्सीका लागि किरण, बाबुराम एकातिर छन् । राजनीतिमा विचार मिल्नेसँग सहकार्य हुनुपर्छ । प्रचण्डले बाबुरामलाई विश्वास गरेका छैनन् । उनले इमानदारी देखाएका छैनन् । व्यक्तिगत टक्कर बढेको छ । संसद्मा आएपछि संसदीय प्रणाली मान्नुपर्ने हो । नमान्ने भए किन आउनुपर्‍यो । सामन्तवादको पकड भएका वेला संसद्, संविधान र सरकार केही होइन, विद्रोह नै सबैभन्दा ठूलो कुरा हो भन्छन्, उनीहरू । सबै झारपात जम्मा गरेका छन् । यसले कम्युनिस्ट आन्दोलनकै बदनाम गर्‍यो ।

 

नरहरि आचार्य

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

माओवादी विवादको मुख्य चुरो नेतृत्वको प्रतिस्पर्धा नै हो । लामो समयदेखि माओवादीको अधिवेशन भएको छैन । संघर्षको अवधिमा अधिवेशन नहुनु स्वाभाविक हो । तर, माओवादी शान्तिप्रक्रियामा आएको पाँच वर्ष भइसक्यो र यसबीचमा अरू प्रतिस्पर्धी पार्टीहरूका अधिवेशन पनि भइसके । शान्ति र संविधानसँग जोडिएका विभिन्न मुद्दा नटुंगिनु र अधिवेशनद्वारा नेतृत्वको अनुमोदन वा नयाँ नेतृत्व चयन नहुनुले पनि यो विवाद चर्किएको हो ।

यतिखेर माओवादीभित्र नेतृत्वप्रतिको असन्तुष्टि र नेतृत्वको आकांक्षा दुवै तीव्र भएको देखिन्छ । तत्कालको व्यक्तित्वको टकराव वा प्रतिशोधले मात्रै माओवादीले अन्तरद्वन्द्वको समाधान खोज्न सक्दैन । वैचारिक मिलनबिन्दु खोज्नु र पार्टी अडिने वैचारिक जमिन तय गर्नुको सट्टा नेतृत्वलाई ठेगान लगाउन मात्रै गुटबन्दीहरूको पुनर्संरचना भएको हो भने त्यो समाधान होइन । माओवादी नयाँ ढंगले लोकतान्त्रिक रूपान्तरणमा जानुपर्छ । विचारधारात्मक मिलनबिन्दु खोजेर नेतृत्वको प्रश्न अधिवेशनबाट हल गर्दा राम्रो हुन्छ ।

 

रेखा थापा

अभिनेत्री

एमाओवादीमा तीव्र गुटबन्दी भइरहेको समाचार सुन्दा दुःख लाग्छ । सबैको आशा र भरोसा बोकेको सबैभन्दा ठूलो पार्टीका नेताहरू गुटबन्दीमा लाग्नु सबैका लागि दुःखद् समाचार हो । यसरी लामो समय गुटबन्दी जारी रहे पार्टीको गति रोकिन्छ र अन्य पार्टीले ‘ओभरटेक’ गरेर जान्छन् । माओवादी नेताहरूले अरूलाई ‘ओभरटेक’ गर्न दिइरहेका छन् । घरमा झगडा भएपछि पराइले सुन्दर घरलाई कुरूप बनाइदिन पनि सक्छन् । यसमा सबै माओवादी नेताले ध्यान दिन जरुरी छ । जिम्मेवारी बाँडफाँडले पनि माओवादीमा बढी विवाद भएको भन्ने कुरा सुनेकी छु । आखिर जो, जुन जिम्मेवारीमा भए पनि पार्टीकै हितका निम्ति हो । जसरी जे गर्दा पार्टी समृद्ध बन्छ, त्यहीअनुसार जिम्मेवारी बाँडफाँड गर्न माओवादी अध्यक्ष प्रचण्ड र अन्य नेतालाई मेरो सुझाब छ ।

को प्रधानमन्त्री बन्ने ? भन्ने विषयमा पनि विवाद हुने गरेको छ । सबै नेता प्रधानमन्त्रीका लागि योग्य हुनुहुन्छ । तर, बढी डा.बाबुराम भट्टराईको चर्चा छ । सुजाता दिदी -कोइराला), विद्या भण्डारीलगायतले पनि ‘बाबुराम दाइ’ लाई बनाउनुपर्छ भन्नुभएको थियो । उहाँले आफू अर्थमन्त्री भएका वेला पनि राम्रो काम गर्नुभएको थियो । सबैलाई मान्य हुँदा एकपल्ट माओवादीले उहाँलाई किन अवसर नदिने ? ‘ह्वाई नट ?’ एकपल्ट उहाँलाई दिऊँ न ! अझै पनि माओवादीप्रति जनताको आशा र विश्वास टुटेको छैन । यसलाई कायम राख्न गुटबन्दी रोकेर अघि बढ्नुपर्छ ।

 

प्रदीप ज्ञवाली 

एमाले प्रचार विभाग प्रमुख

माओवादीभित्रको विवादले संक्रमणकालीन नेपाली राजनीतिक व्यवस्थापनलाई गहिरोसँग प्रभावित गरेको छ । विग्रह बढ्दै जाँदा माओवादीभित्रको एकता भत्के त्यसले चालू शान्तिप्रक्रिया र संविधान निर्माणलाई नकारात्मक असर पार्छ । एकता भत्केन र विवाद मात्रै कायम रह्यो भने पनि शान्तिप्रक्रियाको निरन्तरतामा शंका बढ्दै गएको छ । राजनीतिलाई कुन कोर्समा अगाडि बढाउने भन्ने विषयमा माओवादीभित्र विवाद भएको हो । त्यसैले माओवादी विवादले शान्तिप्रक्रियालाई प्रभावित पारेको हो ।

माओवादीभित्र राजनीतिक, वैचारिक, व्यक्तित्वको टक्कर र अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली विवादका विषय हुन्जस्तो लाग्छ । शान्तिप्रक्रियामा प्रवेश गरेको पार्टी भए पनि पार्टीलाई कुन राजनीतिक कोर्स दिने र कुन बाटोमा हिँडाउने भन्ने विषयमा मुख्य विवाद देखिन्छ । त्यसमाथि अध्यक्ष प्रचण्ड आफूलाई सधैँ पावरमा राखिराख्न चाहन्छन् । अन्य राजनीतिक दलमा विग्रह ल्याउन माओवादी अरू पार्टीमा खेल्दै आयो । अर्का पार्टीमा एउटालाई क्रान्तिकारी अर्काेलाई प्रतिक्रियावादी, एउटालाई राष्ट्रवादी र अर्कालाई विदेशी दलाल भन्ने, हरेक एकलाई दुईमा विभाजन गर र त्यहीँ प्रहार गर भन्ने गैरराजनीतिक दाउपेचलाई मात्र माओवादीले आफ्नो शक्तिको आधार बनाउँदै आयो । छिमेकीको घरमा आगो झोस्नुअघि त्यो आगो आफ्नो घरमा पनि सल्किन्छ भन्ने सोच्नुपथ्र्याे ।

 

हरिवंश आचार्य 

वरिष्ठ हास्यकलाकार

सरकारको मुख्य घटक तथा संविधानसभाको सबैभन्दा ठूलो पार्टीभित्र बढेको विवादले सिंगो नेपाली राजनीतिलाई प्रभावित बनाएको छ । मुलुकले संविधान पाउने समय घर्किंदै गएका वेला एमाओवादीभित्रको गुटबन्दीले राम्रो सन्देश दिँदैन । उनीहरूको सैद्धान्तिक मत-मतान्तरको सिकार जनता बनाइनुहँुदैन । फेरि, सिद्धान्त पनि संसारमा हामी मात्रै मान्छौँ पनि भन्नु हुन्न । अहिलेको माओवादी गुटबन्दीले उनीहरूकै लोकपि्रयता घट्छ । त्यसैले मतान्तर घटाउनेतिर लाग्नु जरुरी छ । अहिले पार्टी अध्यक्ष प्रचण्डले जुन शान्ति र संविधानका लागि अडिग हुने लाइन लिनुभएको छ त्यो जायज छ । मुलुकको आवश्यकता र जनचाहना पनि त्यही हो । एकपक्षीय-बहुपक्षीय सहमति अपनाएर त्यो पथलाई मजबुत बनाउनुको विकल्प छैन । ठूलो परिवार भएपछि ठेलम-ठेल हुनु सामान्य हो, तर त्यो घरबाहिर छताछुल्ल भयो भने हानि हुन्छ । यो माओवादीले नबुझेको पनि होइन । अब बुझ्ने तर बुझ पचाउने कुरा सोच्नु हुन्न । पार्टी एक व्यक्तिको मतबाट मात्रै चल्दैन, त्यसमा सबैको साथ र सहभागिता जरुरी हुन्छ । शान्तिपक्रियामा आएपछि पनि माओवादीको वैचारिक रूपान्तरण जुन रूपले हुनुपर्ने हो त्यो हुन सकेको छैन । त्यसको परिणाम वेला-वेला खटपट र चर्को विवाद झेल्दै छ, पार्टी । मेरो विचारमा यो बेमौसमी बाजा बजाइरहेका छन्, माओवादी नेताहरू । अहिलेको वेला फुट्ने होइन, जुटेर संविधान ल्याउने हो ।

 

रवीन्द्र अधिकारी 

युवा नेता, नेकपा एमाले

माओवादीभित्रको अन्तरकलह बेमौसमको बाजा हो । शान्ति र संविधानको काम पूरा गर्नुपर्ने महत्त्वपूर्ण दायित्व बोकेको पार्टी आफँै झगडामा अल्मलिनु मुलुककै लागि दुर्भाग्य हो । माओवादीभित्रको अन्तरकलहले नेतृत्व हल्लाउनेगरी आफ्नो भूमिकाको खोजी गरेको देखिन्छ । नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धाले अन्ततः पार्टीलाई विभाजनमा पुर्‍याउँछ । पार्टीको लोकतन्त्रीकरणको माध्यमबाट यसलाई हल गर्न सकिन्छ ।

अहिलेको विवाद हेर्दा अन्ततः अप्राकृतिक देखिन्छ । बाबुरामजी र मोहन वैद्य वैचारिक हिसाबले दुई ध्रुवमा देखिन्छन् । शान्ति र विद्रोहका फरक ध्रुवमा उभिएकाहरू एउटा ठाउँमा उभिँदा बाबुरामजीको शान्तिप्रतिको प्रतिबद्धता र वैद्यजीको क्रान्तिप्रतिको कुरा उछालिएको छ । वैचारिक एकताविनाको गठबन्धन एकप्रकारको अवसरवाद नै हो ।

माओवादीको द्वन्द्वले शान्तिमा टिकिरहन कहिले कता, कहिले कता गर्ने प्रचण्ड प्रवृत्ति पनि यो परिस्थिति नियति हुन कम जिम्मेवार छैन । राजनीति छलछाम र दाउपेचबाट मात्र चल्दैन । स्पष्ट राजनीतिक दृष्टिकोणका आधारमा पार्टीलाई लोकतन्त्रीकरण गर्ने, सामूहिक नेतृत्व र विकेन्दि्रत जिम्मेवारीको आभासले मात्र माओवादीलाई रूपान्तरण गर्न सक्छ र आजका चुनौतीलाई सामना गर्न सक्छ । नेतृत्वले आफ्ना आकांक्षा पूर्ति गर्न विचारको सिरानी हाल्ने यो कुनै नयाँ कुरा होइन । माओवादीभित्र चुलिँदै गएको व्यक्तिवादी आकांक्षाले यसको पुष्टि गर्छ । जे होस् आज पार्टीभित्रका द्वन्द्व र झगडामा अल्झिने वेला छैन ।


भाष्करराज राजकणिर्कार

वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

माओवादीभित्र देखापरेको विवाद भनेको देशकै लागि दुर्भाग्य हो । जुन वेला सबै दल शान्ति र संविधानतर्फ केन्दि्रत भएर देशमा शान्ति र समृद्धि ल्याउन लाग्नुपथ्र्यो, त्यहीवेला संविधानसभाको सबैभन्दा ठूलो दलमा यसप्रकारको विवाद देखिनुले सबैमा निराशा छाएको छ । यसले राष्ट्रिय सहमतिमा जान अप्ठ्यारो पार्नुका साथै सहमतिको वातावरणसमेत धमिल्याउन सक्छ । राजनीतिक दल नै कमजोर भएपछि नेतृत्व पनि कमजोर बन्छ र यसका निर्णय लागू हुन गाह्रो हुन्छ । यस्तो नेतृत्व र दलले देशलाई सही बाटोमा लैजान सक्दैन । यसले अर्थतन्त्र, राजनीति, अन्तर्राष्ट्रिय छविलगायत हरेक क्षेत्रमा नकारात्मक असर पार्छ । जसकारण मुलुकमा दण्डहीनताले मौलाउने अवसर पाउँछ ।

यसलाई समाधान गर्नका लागि सर्वप्रथम नेताहरूले नै आफूलाई सच्याउनुपर्छ । अल्पमतले बहुमतलाई नमान्ने र बहुमतले अल्पमतलाई दबाएर जाने काम रोक्नुपर्छ । त्यसका लागि दलका नेताहरूले त्याग गर्न सक्नुपर्छ । कसले कति त्याग गर्ने भन्ने होडमै विवादको टंुगो लाग्न सक्छ ।

 

 दिनेश सत्याल (सौरभ)

स्तम्भकारमाओवादी पार्टीमा बढेको गुटबन्दीले उनीहरूलाई पक्कै हानि पुर्‍याउँछ । यसलाई माओवादी नेताहरूले राम्ररी बुझेका छैनन् । तैपनि, आफ्नो प्रवृत्ति छाड्न सक्दैनन् र पटक-पटक झट्का दिइरहन्छन् । यो पुरानै रोग हो, माओवादीभित्रको । जुन रूपमा बाहिर माओवादी फुट्छ भन्ने हल्ला छ, त्यो निराधारजस्तो लाग्छ । प्रचण्ड गुटविरुद्ध अहिलेको समीकरण अन्ततः दिगो हुने देखिन्न । किनभने वैद्यको सैद्धान्तिक धारले समन्वय गर्नेभन्दा पनि दूरी बढाउने काम बढी गर्छ । जहाँसम्म मान्छेहरू गुटका कारण माओवादी लोकपि्रयता घट्ने कुरा गरिरहेका छन्, त्यो कदापि होइन । क्याडर बेस माओवादी न लोकपि्रयता थियो न त बढ्ने सम्भावना नै देखिन्छ । तर, दुई/तीन वर्षअघि माओवादीले केही गर्छ भन्ने थियो । अहिले त्यो विश्वास पनि गुमाइसकेको छ । सरकारमा पुगेपछि भारतलाई चुनौती दिने प्रचण्ड गुट अहिले पुनः भारतलाई नजिक्याउने दाउमा छ, किनकि बाबुरामलाई उनीहरूले बाबुरामलाई जसरी पनि पछार्नु छ, यसकै पछि-पछि छ, वैद्य गुट । यसरी गुजि्रएको छ, माओवादी पार्टीको रणनीति । सामान्य नागरिकको दृष्टिले उनीहरूका यस्ता छलछामे भेष बुझ्नै सक्दैन । यिनीहरूको किचलोले संविधान निर्माणमा ढिलाइ गर्छ भन्ने कत्ति पनि लाग्दैन । संविधान बनाउने विषयलाई दलहरूले कम प्राथमिकता दिएकाले तोकिएको अवधिमा बन्ने सुरसारै देख्दिनँ, म ।

 

दीपक श्रेष्ठ

साफका स्वर्णपदक विजेता

संविधानसभाको ठूलो राजनीतिक दल माओवादीभित्र देखिएको विवाद गुटबन्दी कारण भएको हो । प्रजातान्त्रिक मुलुकमा सबै दल स्वतन्त्र रूपमा चल्नुपर्छ । र, माओवादी दलका नेता पनि आ-आफ्ना तरिकाले चल्ने कोसिस गरिरहेका छन् । कुनै पनि व्यक्ति कसैको अधीनमा रहेर काम गर्न चाहँदैन । अध्यक्ष प्रचण्ड तथा उपाध्यक्षद्वय मोहन वैद्य तथा बाबुराम भट्टाराई पनि स्वतन्त्र रूपमा चल्ने कोसिसमा लागेका छन् ।

हालका दिनमा ठूलो राजनीतिक दलभित्र उत्पन्न आन्तरिक द्वन्द्व तथा विवाद पनि तिनै फरक सोचका कारण भएको मलाई लाग्छ । जब एउटा पार्टीभित्र फरक-फरक सैद्धान्तिक मत राख्ने व्यक्ति हुन्छन्, त्यो अवस्थामा दलभित्र खिचातानी भइरहन्छ । र, अर्को शब्दमा विश्लेषण गर्दा सत्ता प्राप्तिका लागि पनि माओवादीभित्र विवाद बढेको हो । यसैगरी, प्रचुर गुटबन्दीका कारण पनि माओवादीभित्र समस्या उत्पन्न भएको हो ।

कुनै एक पक्षलाई समातेर सत्तामा जाने चलखेल चलेको देखिन्छ । नेपाली राजनीतिमा यो संस्कार राम्रो होइन । संविधान बनाउनुपर्ने वेलामा सत्तापक्ष माओवादी दलभित्र विवाद भइरहँदा अन्य दललाई फाइदा पुग्छ । र, वर्तमान अवस्थाको द्वन्द्वले नेपाली राजनीतिमा बेफाइदा मात्र पुर्‍याएको छ । र, विवादले देशलाई पनि हानि पुर्‍याउँछ । अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय वैद्य तथा भट्टाराईले आपसी समझदारीमा वर्तमान विवाद टंुग्याउनुपर्छ । एकआपसमा गुटबन्दी नगरी माओवादी मुलुक निर्माणमा लाग्नुपर्छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: