हेलम्बु अब ‘गुम्बा गाउँ’

image

सिन्धुपाल्चोक, ८ असार

कुनै वेला स्याउका लागि प्रख्यात सिन्धुपाल्चोकको हेलम्बु गाउँ अहिले गुम्बा गाउँका रूपमा चिनिन थालेको छ । केही वर्षअघिदेखि स्याउ फल्न छाडेपछि गुम्बाहरूले भरिएको हेलम्बुलाई ‘गुम्बा गाउँ’ भन्न थालिएको हो ।

‘हेलम्बुलाई स्याउको गाउँ होइन, अब गुम्बाको गाउँ भन्नु ठीक हुन्छ’ हेलम्बुका बासिन्दा भन्छन् । यहाँ साना-ठूला ३० भन्दा बढी गुम्बा छन् । एक वर्षमा मात्र यहाँ आठवटा गुम्बा थपिएका छन् । स्याउ फल्न छाडेपछि नयाँ परिचय बनाउन गाउँलेले गुम्बा निर्माणमा जोड दिएको स्थानीयवासी बताउँछन् । ‘अब हेलम्बुलाई गुम्बाहरूको गाउँ भनेर चिनाउने अभियानमा छौँ,’ तार्केघ्याङ गुम्बा संरक्षण समूहका अध्यक्ष कुइसाङ लामाले, ‘ह्योल्मो समुदायको बाहुल्य रहेको हेलम्बुमा गुम्बालाई सुरुमा धर्म र संस्कारसँग जोडिन्थ्यो भने अहिले धार्मिक पर्यटनसँग जोड्न थालको छौँ ।’ तिब्बतीयन संस्कृति रहेको हेलम्बुमा बुद्धिस्ट पर्यटकलाई आकषिर्त गर्न सकिने सम्भावना रहेको उनले बताए ।

अहिले गाउँमा आएको बजेट पर्यटक लोभ्याउन स्थानीयबासीले गुम्बामा खर्च गर्न थालेका छन् । गुम्बाभित्रका बुद्धका मूर्ति तथा आकृति मन लोभ्याउने खालका छन् । हालै मात्र यहाँको पुरानो चिरी गुम्बा जीर्णोद्धार गरेर आकर्षक बनाइएको छ । राष्ट्रपति रामवरण यादवले दुई साताअघि यहाँ आएर गुम्बाको उद्घाटन गरेका थिए । चन्दा संकलन गरेर सामूहिक प्रयासमा मात्र होइन, व्यक्तिगत लगानीमा समेत गुम्बा बनाउने क्रम सुरु भएको छ ।

पछिल्लो समयमा यहाँका युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले आर्थिक स्तर राम्रो भएका कारण निजी स्तरमा पनि गुम्बा निर्माण हुन थालेको हो । यहाँका एउटै गुम्बामा पाँच लाखदेखि एक करोड रुपैयाँसम्म लगानी भएको छ । स्थानीय ह्योल्मो भाषामा गुम्बालाई ‘घ्याङ’ भनिन्छ । हेलम्बुको मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङगुल, नाखाते गाउँ गुम्बाले भरिन थालेका छन् । एकै टोलमा तीनवटासम्म गुम्बा छन् ।

यहाँका केही गुम्बा अत्यन्तै पुराना छन् । चिरिघ्याङ हेलम्बुको सबैभन्दा पुरानो गुम्बा हो । यो गुम्बा ६ सय ७५ वर्ष पुरानो भएको बताइन्छ । त्यतिवेलै ५० लाख रुपैयाँभन्दा बढी खर्चेर बनाइएको तार्केघ्याङ गुम्बाको ०२८ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको स्थानीयबासी बताउँछन् । शाहीकालमा गुम्बा निर्माणका लागि राजपरिवारबाट जग्गा उपलब्ध गराइएको थियो । हेलम्बुका केही पुराना गुम्बामा बौद्ध शिक्षासमेत सञ्चालन गरिँदै आएको छ ।

गुम्बा संरक्षणका लागि भने सरकारबाट खासै सहयोग नपाएको स्थानीयवासीको गुनासो छ । सरकारले सहयोग नगरेपछि निजी खर्चमा गुम्बा संरक्षण गरिँदै आएको छ । ‘यहाँका गुम्बा हामीले नै संरक्षण गर्दै आएका छौँ । सरकारले कुनै सहयोग गरेको छैन,’ संरक्षण समूहका अध्यक्ष लामाले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: