हिमाल शर्माले फर्काए छात्रवृत्तिमा पढ्न गएका छोरा

भवानीश्वर गौतम/नयाँ पत्रिका

image

 

काठमाडौं, २५ असार
अनेरास्ववियु -क्रान्तिकारी)ले दुई महिनाअघि चलाएको स्कुल जाउँ अभियानबाट अरू दलका कुरा त परै, माओवादी नेताका पनि छोराछोरी महँगा विद्यालय खोजी-खोजी भर्ना भएका भेटिए, तर अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले छात्रवृत्तिमा पढ्न चीन गएका छोरालाई नेपाल फिर्ता बोलाएका छन् ।
हिमालका छोरा सरल छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि पाँच महिनाअघि चीन गएका थिए । तर अखिल क्रान्तिकारीका अध्यक्ष शर्माको आग्रहमा उनी गत बिहीबार राति नेपाल फर्केका हुन् ।
‘हाम्रो नेटवर्क प्रयोग गरेर सबै सार्वजनिक -सरकारी) स्कुलमा गयौँ, कतै पनि प्रभावशाली नेताका छोराछोरीले अध्ययन गरेको पाइएन,’ क्रान्तिकारीका अध्यक्ष शर्माले भने, ‘सार्वजनिक स्कुलमा पढेको मेरो छोरा पार्टीको फ्याक्सन कमिटीबाट निर्णय भएर छात्रवृत्तिमा पढ्न गएको थियो, नैतिक दबाब पुगोस् भनेर मैले फिर्ता बोलाएँ ।’
अखिल क्रान्तिकारीले नेताका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउन माओवादी केन्द्रीय कमिटीबाट निर्णय गराउन दबाब दिन तीनबुँदे प्रस्ताव पेस गरेको छ । पहिलो बुँदामा नेताका छोराछोरीलाई निजी विद्यालयबाट झिकेर सार्वजनिकमा पढाउनुपर्ने उल्लेख छ । माओवादी जनताको पार्टी भएकाले जनताका छोराछारीले पढ्ने ठाउँमा पढाउनुपर्छ भन्ने मान्यता राखेर दबाब सिर्जना गरिएको बताए ।
‘नेताले मर्न जाभन्दा हामी पढाइ छाडेर युद्धमा होमियौँ, यो सम्भव थियो कि थिएन ?’ उनले प्रश्न गरे, ‘अहिले केही नेताले छोराछोरी निजी स्कुलबाट झिक्न सम्भव छैन भन्ने पनि गरेका छन्, मर्न तयार हुने र जनताको पार्टी हुन सबै कुरा सम्भव छ ।’
गत वर्ष माओवादीले १५ बुँदे आचारसंहिता बनाएको र कतिपयले त्यसलाई ‘भ्रष्टीकरण’ गरेर व्याख्या गर्ने गरेको बताए । ‘संहितामा आफ्ना छोराछोरीलाई पार्टीको पैसाले निजी विद्यालयमा पढाउन नपाइने भनेको थियो,’ शर्माले भने, ‘निर्णय सकरात्मक थियो, तर त्यसलाई भ्रष्टीकरण गरेर कसैले निजी विद्यालयले निःशुल्क पढाएको नाममा त कसैले आफन्तले पढाइदिएको भन्दै निजीमा पढाइदिएको भन्न थालेका छन् ।’ उनले प्रश्न गरे, ‘सहिदका परिवारलाई निःशुल्क पढाइदेउभन्दा नमान्ने निजीले किन पढाउँछन् नेताका छोराछोरीलाई निःशुल्क ?’
कतिपय निजी विद्यालय जनताका छोराछोरीलाई ठगेर नेताको चाकडीमा लाग्ने गरेको गुनासो गरे । उनले भने, ‘माओवादीले पनि जनताको पार्टी भनेर देखाउनुपर्ने अवसर भएको बताए ।’
अध्यक्ष शर्माले आफूले कसैको दबाबविना छोरा सरल शर्मालाई फिर्ता बोलाएको दाबी गरे । ‘छात्रवृत्तिमा अध्ययनका लागि मेरिट लिस्टमा नाम निकाले पनि मैले बाहिर पठाउन मानेको थिइनँ’, उनले भने, ‘पार्टीको फ्याक्सन कमिटीले छात्रवृत्तिमा पढाउन पठाउने निर्णय गरेपछि छोरा चीन गएको थियो । मैले विदेशमा छात्रवृत्तिमा पढ्न गएकालाई फर्काएपछि यहाँ निजी विद्यालयमा पढाएकालाई सार्वजनिकमा पढाउन असम्भव छ भन्नेलाई चुनौती हो ।’
उनले परिवार र आफन्तको दबाबलाई बेवास्ता गरेर छोरालाई फिर्ता बोलाएको बताए । छोराले आफ्नो अनुरोधलाई स्विकारेर एमबिबिएसको पढाइ छाडेर आएपछि नैतिक दबाब दिनलाई थप बल मिल्ने बताए ।
सरल शर्माले नेपालमा सरकारी स्कुल र क्याम्पसमा अध्ययन गरेका थिए । हिमालकी छोरी सपनाले कक्षा ११ मा र अर्का छोरा जटिलले १० कक्षामा बालुवाटरको सामुदायिक विद्यालय शिवपुरी उच्च माविमा अध्ययनरत छन् ।

मेरो धेरै मिहिनेत खेर गयो
सरल शर्मा
मैले शिक्षा मन्त्रालयबाट छावृत्तिमा एमबिबिएस अध्ययनका लागि परीक्षा दिएको थिए । चाइनिज एम्बेसीबाट छात्रवृत्ति पाएर फेब्रुअरी २७ मा गएको थिएँ । साउथ इस्ट युनिभर्सिटीमा छात्रवृत्ति पाएँ । चाइनिज एम्बेसीमार्फत सिएससी बोर्डले कलेज शुल्क तिर्ने र खान लाउन दिन्थ्यो ।
मैले एक वर्षको तयारी गरेपछि नेपालमा नाम ननिस्के पनि चाइनामा पढ्न नाम निस्कियो । नेपालको निजी कलेजमा एमबिबिएस पढ्न सकिँदैन । धेरै मिहिनेत गरेर गरेर एमबिबिएस पढ्ने मौका पाएको थिएँ । चीन गएर पढ्दै थिएँ । 
पढाइ भइरहेको थियो । पाँच महिनामै बुबाले बोलाउनुभयो, नैतिकताका लागि म आएँ । म छात्रवृत्तिमा पढ्न गए पनि फर्के तर, यहाँ नेताका छोराछोरी बोर्डिङ स्कुलमा पढिरहेका छन् । मलाई नरमाइलो लागेको छ । अब के गर्ने अन्योलमा छु । कुनै निर्णय गरेको छैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: