कोसी बाँध भत्कने खतरा

image

भदौ २ दोहोरिने खतरा :

from nayapatrika..
२०६५ साल भदौ २ मा कोसी बाँध भत्कदा सुनसरीका पश्चिम कुशाहा, श्रीपुर, हरिपुर र लौकहीका १५ हजार बासिन्दा विस्थापित भए, बालुवा भरिएको खेतमा अहिलेसम्म खेती भएको छैन, तर जनताले त्यत्रो विपत्ती भोगे पनि नेपाल र भारत सरकारले मर्मतमा ध्यान नदिँदा बाँध फेरि भत्कने खतरा

क्षतीग्रस्त राजमार्ग :

तीन वर्षअघिको बाढीले पूर्वपश्चिम राजमार्गको सुनसरी सदरमुकाम इनरुवादेखि कोशी ब्यारेजसम्म विभिन्न ठाउँमा गरेर दुई किलोमिटर बढी सडक बगायो । जुन आजसम्म पनि बनिसकेको छैन । सामान्य ग्राभेल मर्मतको भरमा सडकमा सवारीका साधन गुडिरहेका छन् ।

बाँध भत्कन सक्ने कारण :

कोशीले सुनसरीको प्रकाशपुरमा पश्चिम तर्फ वालुवा थुपारेको छ । सर्वाधिक वालुवा बोक्ने विश्वको दोस्रो नदीका रुपमा रहेको कोशी नदीले आफ्नो पश्चिम किनारमा वालुवा थुपारेको कारण पानी सिधा पुर्वी तटबन्ध तर्फ हान्निएको छ । यो अत्यन्त खतरनाक अवस्था हो ।

ठेकदारलाई पैसाकै चासो : 

कोशी सन्धि अनुसार नेपालले आफ्नै भुभागको नदीमा भारतको अनुमती विना सिन्को पनि राख्न पाउँदैन । सन्धी अनुसार जिम्मेवारी भारतको हो तर दुर्घटना हुँदा नेपाली गाउँ डुवानमा पर्छन् । नेपालमा भन्दा बढी क्षती विहारमा हुन्छ । पैसा कमाउन भारतीय ठेकेदारले कमसल सामग्री प्रयोग गर्दै आएका छन् ।

सुनसरी, २४ असार : वर्षायाममा सप्तकोसी करिडरका बासिन्दा चैनले सुत्दैनन् । कुशाहा बाँध -पूर्वीतटबन्ध) भत्काएर कोसीले २ भदौ ०६५ मा मानवबस्तीमा गरेको विनाश दोहोरिने त्रास छ उनीहरूको मनमा । तीन वर्षअघि कोसीले १५ हजारभन्दा बढीको बिचल्ली र हजारौँ बिघा खेतीयोग्य जमिन खण्डहर बनाएको थियो ।

०६५ भदौ २ गते कोसीको कुशाहा बाँध (पूर्वीतटबन्ध) फुट्दा तीन महिनासम्म राष्ट्रिय राजमार्ग अवरुद्ध भयो । यो घटनाले त्यसवेला राष्ट्रिय चर्चा पायो र बिस्तारै सेलाउँदै गयो । बाँध भत्किएपछि भारत र नेपालले पाठ सिक्नुपर्नेमा सुधारको कामै गरेनन्, दुवै टालटुले नीतिमै छन् ।

कोसीले तटबन्ध भत्काएर फेरि मानवबस्तीतिर पस्ने खतरा टरेको छैन । यस वर्ष पनि कोसीले प्रकाशपुरको राजाबासस्थित २६.४० देखि २५.५७ स्परबीचको बाँध कमजोर बनाउँदै लगेको छ । पश्चिमी भागमा बालुवाको टापु बनाउँदै कोसीको बहाव पूर्वी तटबन्धतर्फ मोडिएको छ ।

कोसीले तटबन्धमा कटान गरिरहेको छ भने तटबन्ध मर्मतकार्य प्रभावकारी हुन सकेको छैन । वषर्ायाम सुरु भएपछि कमजोर तटबन्ध मर्मत सुरु हुने भएकाले कोसीले फेरि समस्या उत्पन्न गराउने त्रास देखिएको हो । बाँध मर्मतमा प्रयोग गरिएका सामग्री पनि गुणस्तरहीन छन् । टालटुले मर्मत भइरहेको र वषर्ायामसँगै यस वर्ष पनि कोसीमा पानीको बहाव घट्ने-बढ्ने भइरहेकाले तटबन्ध भत्किएर कोसीले ताण्डव मच्चाउने त्रासदी सप्तकोसी करिडरका बासिन्दामा छ । सप्तकोसी किनारका महेन्द्रनगर, श्रीपुर, हरिपुर तथा पश्चिम कुशाहाका बासिन्दा यस वर्ष पनि त्रसित छन् ।

वषर्ासँगै सप्तकोसीले गरेको स्पर कटान रोक्न भइरहेको मर्मतकार्यप्रति स्थानीय बासिन्दा विश्वस्त छैनन् । तटबन्ध मर्मत गर्दै आएका नेपाली ठेकेदार पनि तीन वर्षअघिको संकट दोहोरिन सक्ने बताउँछन् । भन्छन्, ‘कोसीको संकट बल्भिmन सक्छ ।’

भारतमा पनि त्रास

पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले यतिवेला कोसीमा पानीको बहाव थपघट भइरहेको छ । कोसीमा पानीको बहाव थपघटसँगै स्पर कटान तीव्र भइरहेको छ । पानीको बहाव एक्कासि बढेर घट्दा कोसीको कटान तीव्र हुन्छ ।

०६५ सालको वषर्ायाममा जस्तै यस वर्ष पनि कोसी कटान र त्यसले ल्याउन सक्ने खतराका विषयमा नेपालका स्थानीय तथा राष्ट्रिय मिडियामा खबर आउँदा नेपालीभन्दा बिहारको वीरपुरवासीमा कोलाहल मच्चिन्छ । यसपटक पनि त्यस्तै भयो । सुनसरीको प्रकाशपुरस्थित कोसीको पूर्वीतटबन्ध जतिवेला पनि फुट्न सक्ने चेतावनी नेपाली प्राविधिकले दिएको खबरले पनि बिहारको वीरपुर आतंकित भयो ।

भदौ २ गते बाँध फुट्दा नेपालमा भन्दा भारतको बिहार राज्यको वीरपुर डुबानमा परेको थियो । त्यसकारण यसपटक पनि भारत सरकारभन्दा बिहारका जनता कोसीको बाँध फुट्ने डरले बढी चिन्तित छन् । आफ्ना जनता वर्षेनी आतंकित भए पनि भारत सरकार तटबन्ध मर्मतमा सक्रिय भएको छैन ।

कोसीमा गुणस्तरहीन मर्मत भइरहेको र कोसीको बाँध फुट्ने सम्भावना ज्यादा छ भन्दै ०६५ जेठ अन्तिम साता नै कोसीटप्पु वन्यजन्तु आरक्षले कोसी परियोजनालगायत सम्बन्धित निकायलाई पत्र पठाएको थियो । तर, सुनुवाइ भएन । फलस्वरूप तीन महिनापछि कोसीको तटबन्ध फुट्यो ।

ढुंगा जाली लगाएर मर्मत गर्नुपर्ने स्पर तथा बाँधमा बालुवाको बोरा राखिएपछि बाँधको मर्मतमा लापरबाही भएको ठहर गरिएको थियो । सोही समयमा बाँध निर्माणमा हेलचेक्र्याइँ गरेको आवाज उठाउँदा तीनजना मजदुरलाई ठेकेदारले यातनासमेत दिएको खुलासा भएको थियो ।

इन्जिनियर र ओभरसियर भारतीय भए पनि बाँध तथा स्पर मर्मतमा मजदुरको रूपमा खट्ने नेपाली मजदुर नै छन् । जो कोसीसँग प्रत्यक्ष सरोकार राख्छन् र कोसी फुटेमा त्यसका असर भोग्छन् । त्यसैले कोसीबाँध निर्माणमा हुने अनियमितताबारे स्थानीय मजदुर तथा श्रमिक परिचालकले समयसमयमा विरोधसमेत गर्ने गरेका छन् । तर, सुनुवाइ नै नहुने बताउँछन् उनीहरू ।

बाँधक्षेत्रमा हाल पाँच दर्जन मजदुर खटिरहेको नेपाली पक्षका सुपरभाइजरहरू बताउँछन् । तर, त्यति मजदुर बाँधक्षेत्रमा भेटिँदैनन् । बिहान बढीमा आधा दर्जन श्रमिकले काम गर्छन् भने बेलुका करिब दुई दर्जनले मात्र काम गरिरहेको डुबान-कटान संघर्ष समितिका बाबुराम कार्की बताउँछन् । ‘सबै पक्षबाट लापरबाही भइरहेको छ,’ उनले भने, ‘चाँडै भरपर्दो काम नहुने हो भने कोसीको पानीको दबाबले बाँध फेरि भत्काउन सक्छ ।’

सन् १९५४ मा नेपाल-भारतबीच भएको कोसी सम्झौतामा कोसी ब्यारेजदेखि ३२ किलोमिटर उत्तरसम्मको बाँध बचाइराख्ने काम भारतीय पक्षको हुने उल्लेख छ । तर, सम्झौताअनुसार काम भएको छैन । कोसी सम्झौताअनुसार भारतले तटबन्ध निर्माणमा चासो नदिएको कोसीबारे विश्लेषण गर्दै आएका डम्बर खतिवडाले पनि बताए । कोसीक्षेत्रका समस्याप्रति नेपाल सरकारले महत्त्व नदिएको उनको भनाइ छ ।

‘नेपाल पक्षले भारत रिसाउने डरले कोसी सम्झौताअनुसार काम भए/नभएको अनुगमन गर्न सकेको छैन, त्यसैले ५५ वर्षदेखि नेपाली जनताले आफ्नै देशको नदीबाट अनेकौँ समस्या भोग्नुपरेको छ,’ खतिवडाले भने ।

जानकारहरूका अनुसार ०२२ सालयता सप्तकोसीमा १४ वटा ठूला बाढी आएका छन् । तर, राज्यको तर्फबाट २ भदौ ०६५ को घटनाका पीडितलाई मात्र राहत दिइएको छ ।

कोसी उच्चबाँध

सन् १९५४ मा नेपाल र भारतबीच एक सय ९९ वर्षका लागि कोसी आयोजनाका नाममा लिजमा दिने सम्झौता भएको थियो । सम्झौताको ५६ वर्ष मात्र पूरा भएको छ । भारतीय पक्षले भने सम्झौताअनुसार आफ्नो दायित्व बिर्सेर आफ्नै ढंगले तटबन्ध निर्माणलगायतका काम अगाडि बढाइरहेको छ ।

विश्लेषकहरूका अनुसार भीमनगर ब्यारेजले बिहारको बाढी नियन्त्रण हुने अपेक्षाका साथ भारतले कोसी सम्झौता गरेको थियो । तर, भारतले सम्झौताअनुसार कोसीबाँध र स्परहरू मर्मत-निर्माणमा टालटुले नीति लिएको स्थानीय केशव दाहालले बताए । उनले कोसी उच्चबाँधको विरोध गर्दै आएका छन् ।

समय-समयमा चर्चामा आउने र सेलाउने गरेको प्रस्तावित उच्चबाँध पनि नेपाल र नेपालीका लागि अर्को ठूलो समस्याका रूपमा देखापरेको छ । सन् १९४६ देखि १९३५ सम्म पहिलोपटक गरिएको सर्वेक्षणअनुसार कोसीको उच्चबाँध धनकुटाको आहालेमा २६९ मिटर अग्लो निर्माण गर्ने भनिएको थियो ।

सन् १९८५ मा तयार पारिएको तेस्रो कोसी वेसिन गुरुयोजनाले प्रस्तावित कोसीबाँध बन्ने पुष्टि गर्‍यो । सन् १९९१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संयुक्त अध्ययन टोली गठन गरी कोसी सर्वेक्षणको कार्य अगाडि बढाउने सहमति भारतसँग गरेका थिए । पछि राजाकै पाला एमालेको सहयोगमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले उच्चबाँधको काम अघि बढाए । उनको कामलाई प्रचण्ड, माधव नेपाल र झलनाथ सरकारले निरन्तरता दिएका छन् ।

करिब ९ जिल्लाका ८३ गाविस डुबानमा पर्ने अनुमान गरिएको यो विवादास्पद योजना स्थानीय जनतासँग छलफल नै नगरी किन अगाडि बढाइँदै छ ? भन्ने प्रश्नको उत्तर राज्य सञ्चालकसँग नभएको विज्ञहरूको ठहर छ ।

भदौ २ लाई फर्केर हेर्दा

०६५ साल साउनमै स्थानीय जनता आतंकित थिए, किनकि सप्तकोसीमा पानीको बहाव रोक्न बनाइएका स्परहरू धमाधम कटानमा पर्दै थिए ।

भारतले आफ्नो अधीनमा राखेर प्रयोग गर्दै आएको कोसी ब्यारेजका ढोकाहरू नखोलिँदा नदीले चारवटा स्परको कटान सुरु गरेको  समाचार पत्रिकाले साउनमै पनि लेखेका थिए । कोसीमा बाढी आएको तर पानी निकासीका लागि भारतले ब्यारेजका पूरै ढोका नखोल्दा पानीको सतह बढेपछि सुनसरीको पश्चिम कुशाहा र हरिपुरमा पर्ने चारवटा स्परमा कटान हुन थालेको समाचार थियो । तर, नेपाल र भारत सरकारका कुनै पनि निकायले यो विषयमा ध्यान दिएनन् ।

कटान रोक्न भारत सरकारबाट कुनै पहल भएन न नेपाल सरकारले नै तदारुकता देखायो । बिहारको बाढी रोक्न कोसी ब्यारेजको ढोका थुनेको भारत पानीलाई निकासा दिन तयार थिएन । किनकि बिहारमा ठूलो क्षति ल्याउने त्रासमा थियो भारत ।

अन्ततः कोसीले बाँध फुटायो र गाउँ पस्यो । सुनसरीको पश्चिम कुशाहा-४ स्थित आरक्ष कार्यालयनजिकै सप्तकोसी नदीको पूर्वीतटबन्ध भत्कियो र सुनसरीका चार गाविस पूर्णरूपमा डुबानमा परे । पश्चिम कुशाहा हुँदै श्रीपुर, हरिपुर र लौकही गाविसमा प्रवेश गरेको कोसी नदीबाट सोही दिन मात्र १० हजारभन्दा बढी स्थानीयवासी विस्थापित भए ।

भदौ ३ देखि उद्धार सुरु गरियो । नेपाली सेना, सुरक्षा निकायलगायत सामाजिक संघसंस्थाहरू उद्धार तथा राहत वितरणमा जुटे । सुनसरीभरिका मठमन्दिर र विद्यालय कोसीपीडितहरूले भरिए ।

बितेका तीन वर्ष …

बनेन क्षतिग्रस्त राजमार्ग 

बाढीले महेन्द्र राजमार्गमा क्षति पुर्‍यायो । राजमार्गको सुनसरी सदरमुकाम इनरुवादेखि कोसी ब्यारेजसम्म विभिन्न ठाउँमा गरेर दुई किलोमिटरभन्दा बढी सडक बगायो । जुन आजसम्म पनि बनिसकेको छैन । सामान्य ग्राभेल मर्मतको भरमा सडकमा सवारीका साधन गुडिरहेका छन् ।

बारम्बार ताकेता गर्दा पनि विभागले सडक बनाउन रकम नदिएको सडक विभाग विराटनगरका प्रमुख राजकुमार मण्डल बताउँछन् । गत वर्षको भदौमा आफूहरूले दुई करोड ९० लाखको बजेट अनुमान गरी विभागलाई रकमका लागि पत्र पठाए पनि सुनुवाइ नभएको उनले बताए । ०६८ जेठको पहिलो साता संासदको टोलीले क्षतिग्रस्त सडक अनुगमन गरेको थियो । टोलीले संसद्मा कुरा उठाउने आश्वासन दिएको छ । उता, भारत सरकारले राजमार्ग बनाएकोले मर्मतको आशा पनि उसैसँग गरिरहेको छ नेपाल सरकार ।

पीडित उद्योगी 

०६५ को भदौमा आएको बाढीका कारण सुनसरी-मोरङ औद्योगिक करिडरमा सञ्चालनमा रहेका खाद्यान्न उद्योगहरूमध्ये पचास प्रतिशतभन्दा बढीले तत्कालीन रूपमा उद्योग नै बन्द गरे । लोडसेडिङ र बन्दका कारण आक्रान्त उद्योगी राजमार्ग नै बन्द भएपछि कच्चा पदार्थ आयात गर्न र तयारी सामान निर्यात गर्न नपाएका व्यवसायीले उद्योग बन्द गर्नुको विकल्पै रहेन । सोही समयमा बन्द गरिएका तीन दर्जनभन्दा बढी उद्योगका व्यवसायीले भारतमा उद्योग सारे, उनीहरू उतै छन् ।

हरिविजोग कृषि

बाढीले पूर्वको हजारौँ बिघा खेतीयोग्य जमिन नाश पार्‍यो । बालुवाले पुर्‍यो भने लगाइएको लाखौँ टन खाद्यान्नसमेत बगायो । बाढीले पुरेका जमिनमा आजसम्म पनि खेती हुन सकेको छैन । बाढीले कम प्रभाव पारेको २० प्रतिशत भूभागमा मुस्किलले मकै, फर्सी, आलुलगायतका खेती लगाइएको छ ।

प्रभावित क्षेत्रमा त्यहाँको माटो सुहाउँदो खेती गर्ने भनिए पनि गरिएका प्रयासहरू निरर्थक सावित भइसकेका छन् । सिँचाइसहितको खेतीका लागि स्थानीय परिवारका लागि बनाइएको पाइपसहितको पूर्वाधार बालुवाभित्र पुरिइसकेको छ ।

अवरुद्ध सेवा 

सप्तकोसी नदीको बाढीले राजमार्गसँगै बिच्छ्याएको अप्टिकल फाइबर बगायो । जसको कारण पूर्वको टेलिफोन सेवामा लामो समयसम्म समस्या देखियो । बाढीकै कारण भदौको दोस्रो साता एक सय ३२ केभी विद्युत् प्रसारण हुने कटैया प्रसारण लाइनको एउटा पोल लडायो । विद्युत् टावर बगाएका कारण लोडसेडिङ झन् बढ्यो । करिब चार महिनासम्म पूर्वीनेपाल अन्धकारप्रायः भयो । विद्युत् अभावले उद्योग र देशको राजस्वमा प्रभाव पार्‍यो ।

बाढीका कारण विद्युत्का पोलहरू अझै पनि जीर्ण अवस्थामै छन् । वेलावेलामा मर्मत गरिरहनुपर्ने हुँदा पूर्वमा विद्युत् आपूर्ति तीन वर्षपछि पनि नियमित र सहज बन्न सकेको छैन । बाढीले कमजोर बनाएका कारण कुनै पनि वेलामा पोल भत्केर विद्युत् अवरुद्ध हुने सम्भावना आज पनि यथावत् छ ।

पीडितहरू नै फुटेपछि 

कोसीपीडितको पक्षमा संघर्ष गर्ने भन्दै बनेको कोसी बाढीपीडित संघर्ष समिति तीन वर्षमा चार चिरा परेको छ । प्रारम्भमा पञ्चनारायण मण्डलको अध्यक्षतामा बनेको समितिका पदाधिकारी आफ्नो स्वार्थमा लागेको भन्दै देवनारायण बहरखेरको अध्यक्षतामा नयाँ कमिटी बन्यो । पछि विभिन्न समयमा फुट्दै जुद्दिन मियाँ र सत्रुघ्न शाहले समेत आफ्नै समिति बनाएका छन् । अधिकारका लागि भन्दै संगठित भएका पीडित फुट्न थालेपछि अहिले बाढीपीडितका संगठनको भूमिका प्रेस विज्ञप्ति जारी गर्नमै सीमित छ । तीन वर्ष बितिसक्दा पनि पूरा राहत नपाउनेहरूको आवाज पनि झिनो भइसकेको छ ।

प्रभावित कोसीटप्पु 

बाढीका कारण चरा र अर्नाको राजधानी मानिने कोसीटप्पु वन्यजन्तु आरक्षका कतिपय पोखरी तथा जलक्षेत्र डुबानमा परे । ओभाएपछि ती ठाउँमा बालुवा मात्र देखियो । कोसीले भत्काएको पूर्वीतटबन्धको मर्मतका लागि बनाइएको पाइलट च्यानलको निर्माणकार्यले गर्दा टप्पुमा बस्ने चरा तथा पशुहरूलाई नकारात्मक असर गर्‍यो । जीवजन्तुको वासस्थानमा सवारीका साधन र मेसिन चल्न थालेपछि जीवजन्तुहरू भारततर्फ पलायन भए भने मौसमी रूपमा बसाइँ सरेर आउनुपर्ने चराहरू तीन वर्ष बितिसक्दा पनि टप्पुमा पहिलाको अनुपातमा नआएको चराविद्हरू बताउँछन् ।

बाँध पुनः फुट्ने कारणहरू 

प्रकाशपुरमा कोसी नदीमा थुपि्रएको बालुवा :

कोसी नदीले सुनसरीको प्रकाशपुरमा पश्चिमतर्फ बालुवा थुपारेको छ । सर्वाधिक बालुवा बोक्ने विश्वको दोस्रो नदीका रूपमा रहेको कोसी नदीले आफ्नो पश्चिम किनारमा बालुवा थुपारेको कारण पानी सीधा पूर्वीतटबन्धतर्फ हान्निएको छ । यो अत्यन्त खतरनाक अवस्था हो ।

पानीको वेगले पूर्वीतटबन्धलाई कमजोर बनाउँदै गएको छ । कटान र पानीको बहाव रोक्न ‘प्रकोपाइन’ लगाइएका छन्ा् । तर, कोसीको पानीले ‘प्रकोपाइन’हरू डुबाइसकेको छ । ती सबै निरर्थक सावित भइसकेका छन्ा् ।

ठेकदारलाई पैसाकै चासो

कोसीलाई भारतको बिहारमा दुःख दिने नदीका रूपमा चिनिन्छ । त्यसैले बिहारवासीलाई कोसीको बाढीबाट जोगाउन भारत सरकारले कोसी ब्यारेजको प्रस्ताव पुर्‍याएको थियो । कोसी ब्यारेज बनाउँदाताका नेपाल र भारतबीचमा भएको सन्धिअनुसार नेपालले आफ्नै भूभागको नदी सप्तकोसीमा भारतको अनुमतिविना सिन्कोसमेत भाँच्न पाउँदैन । सन्धिअनुसार जिम्मेवारी भारतको हो तर दुर्घटना हुँदा नेपाली गाउँ डुबानमा पर्छन् ।

कोसी तटबन्ध फुटे नेपालका आधा दर्जन र भारत बिहारका दर्जनौँ गाविस प्रत्यक्ष प्रभावित हुन्छन् । नेपालमा भन्दा बढी क्षति बिहारमा हुन्छ । तर पनि भारतीय ठेकेदार र इन्जिनियरलाई मतलब छैन । पैसा कमाउन उनीहरूले कमसल सामग्री प्रयोग गर्दै आएका छन् ।

नेपाली पक्षको चरम बेवास्ता

कोसीको तटबन्ध खतरामा छ भनेर यो वर्ष पनि सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेको दुई महिनाभन्दा बढी भइसक्यो । तर, सरकारी निकायको होस कोसीमा पानीको बहाव बढेपछि मात्र खुलेको छ । जब कि अब मर्मत र रोकथाम हुन सक्दैन । कोसी तटबन्धमा भइरहेको कटान र डुबानलाई टुलुटुलु हेर्नबाहेक केही गर्न सक्ने हैसियतमा छैनन् नेपाली अधिकारी ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले कोसीबाँधको अवस्था कमजोर रहेको र बाढीअनुसार मर्मत नभएको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गरेका थिए । लगत्तै त्यसको भोलिपल्टै गृहसचिव लीलामणि पौडेललगायत सुरक्षा निकायका प्रमुखहरूले कोसीको कटान भइरहेको क्षेत्र प्रकाशपुरको निरीक्षण गर्दै अवस्था नाजुक नै रहेको जनाएका थिए । उनीहरूले सम्बन्धित निकायमा तटबन्धको भरपर्दो मर्मत गर्न पहल गर्ने आश्वासन दिएका थिए । तर, भारत सरकारले नै मर्मतको बेवास्ता गरेपछि समस्या चुलिएको छ ।

कोसीको पूर्वीतटबन्ध जोगाउन सातबुँदे सहमति

सुनसरी, २४ असार

नेपाली उच्चस्तरीय प्राविधिक टोलीले सुनसरीको प्रकाशपुरस्थित कोसीको पूर्वीतटबन्ध जुनैसुकै वेला पनि फुट्न सक्ने चेतावनी दिएको दुई सातापछि शुक्रबार कोसीको अल्पकालीन र दीर्घकालीन समस्या समाधान गर्न नेपाल र भारतीय अधिकारीबीच बैठक सम्पन्न भएको छ । सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटारमा सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारी र जलस्रोत क्षेत्रका प्राविधिकको सहभागिता थियो ।

कोसीले पूर्वीतटबन्ध क्षेत्रमा रहेका स्परलाई कटान गर्ने कार्य जारी राखेकाले नियन्त्रणका लागि सातबुँदे सहमति पनि भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी चूणमणि शर्माले बताए । सहमतिपत्रमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी शर्मा र भारतको तर्फबाट सुपौल जिल्लाका डिएम कुमार रभीले हस्ताक्षर गरेका छन् ।

बिहान ९ बजेबाट कोसी ब्यारेजबाट स्थलगत निरीक्षण गर्दै मध्याह्न भेडेटार पुगेका दुवै देशका अधिकारीबीच ३ घन्टासम्म बैठक बसेको सुनसरीका प्रहरी प्रमुख राजु मानन्धरले बताए । स्थलगत निरीक्षणमै देखिएका समस्या, कोसीको खतरा र मर्मतमा भएको ढिलाइबारे बैठक बढी केन्दि्रत भएको उनले बताए । बैठकमा कोसी फुटिहाल्यो भने कसरी दुवै देशका जनतालाई जोगाउने भन्ने विषयमा पनि गम्भीर छलफल भएको थियो ।

प्रमुख जिल्ल्ाा अधिकारी शर्माका अनुसार सहमतिपत्रमा भारतीय पक्षबाट पूर्वीतटबन्ध क्षेत्रमा भइरहेको पुनर्निर्माणको काम छिटो गर्ने, आपतकालीन र दीर्घकालीन समस्याका लागि दुवै पक्षका प्राविधिकको टोलीले समाधान गर्न पहल गर्ने, पुनर्निर्माणको काममा खटिएका मजदुर र कोसी ब्यारेजमा नेपाली पक्षबाट पूर्ण रूपमा सुरक्षाको व्यवस्था गर्ने उल्लेख छ ।

त्यसैगरी, भारतीय पक्षबाट २४ घन्टै पूर्वीतटबन्ध क्षेत्रको निगरानी गर्ने, नेपाली पक्षले निर्माण सामग्री उपलब्ध गराउन सहजता प्रदान गर्ने सहमति पनि भएको प्रजिअ शर्माले बताए । बैठकमा यसअघि कोसीबाँध मर्मतका लागि दुवै देशले गरेका कमीकमजोरीलाई सच्चाएर अगाडि बढ्ने सहमति पनि भएको छ ।

बैठकमा नेपालका तर्फबाट सुनसरीका प्रजिअ शर्माको नेतृत्वमा सप्तरीका प्रमुख जिल्ला अधिकारी गोकर्ण दवाडी, सशस्त्र प्रहरीका डिएसपी रामकुमार राई, पूर्वाअञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका प्रमुख मनिकलाल श्रेष्ठ, सुनसरी-मोरङ सिँचाइ आयोजनाका प्रमुख राजेश झालगायतका अधिकारीहरूको सहभागिता थियो ।

भारतको तर्फबाट सुपौल जिल्लाका डिएम कुमार रभीको नेतृत्वमा उच्च सुरक्षा अधिकारी, कोसी परियोजना बिहारका पदाधिकारीहरू र चिफ इन्जिनियरको सहभागिता रहेको थियो ।

‘स्थलगत निरीक्षणपछि कोसीको अवस्था देखेर भारतीय पक्ष गम्भीर बनेको छ । अब भने कोसीको बाँध जोगाउन बनाइएको स्पर तथा पूर्वीतटबन्धलाई जोगाउन दु्रतगतिमा काम हुनेमा म विश्वस्त छु,’ प्रजिअ शर्माले भने ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: