के छ, के छैन – अंग्रेजी नाममा ?

भन्छन्- ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् !’ नामका लागि मानिसहरू किन यतिसार्‍हो मरिहत्ते गर्छन् ? हाम्रो बुझाइ फरक-फरक हुनसक्छ। कसैलाई लाग्दो हो- ‘नाममा दाम छ, दाममा दम छ- त्यसैले, कदम कदममा ‘नाम’ राख्नु जरुरी छ।’ केही ठान्दा हुन्- ‘मान्छे मरे पनि ‘नाम’ जीवित रहन्छ, त्यसैले ‘नाम’लाई अमर राख्नका लागि ‘बदनाम’ हुनबाट बँच्नुपर्छ।’ यी दुवै तर्क ठीकै होलान्, तर नाम राख्ने ‘आधुनिक शैली’का बारेमा भने संवाद गर्नु जरुरी छ।

नेपाली कलेजका केही नामहरू सुन्नुहोस्- ‘ह्वाइट हाउस’, ‘पेन्टागन’, ‘नासा’, ‘कोलम्बस’ ! यी त उदाहरणमात्र हुन्, अरू कति-कति ! नाम सुन्दा यस्तो लाग्छ- सिंगो अमेरिकी प्रशासन नेपालको ‘पेन्टागन’ एकेडेमीबाट सञ्चालित छ, सारा विज्ञानका खोजहरू काठमाडौंस्थित ‘नासा’ कलेजले गर्छ र अमेरिका पत्ता लगाउने ‘क्रिष्टोफर कोलम्बस’को जन्म पनि यहीं भएको थियो !

तर जसरी ‘पेन्टागन’मा पढ्ने विद्यार्थीले अमेरिकी रक्षा मन्त्रालयमा काम पाउँछन् भन्ने निश्चित छैन, त्यसैगरी ‘नासा’मा अध्ययन गर्ने सबै वैज्ञानिक नै बन्छन् भन्ने कुनै ठेगान छैन। काठमाडौको ‘क्याम्बि्रज कलेज’मा ‘स्टडी’ गर्ने सबै ‘नलेज’ले भरिपूर्ण मानिंदैनन, ‘पाठशाला नेपाल’मा ‘अध्ययन’ गर्नेजति सबै ‘नेपाली’मा निपूर्ण मानिंदैनन्— बुझ्नु जरुरी छ। ‘जेभियर इन्टरनेसल’ वा ‘जेम्स कलेज’जस्तै ‘बृहस्पति’ वा ‘बुढानिलकण्ठ’पनि उत्तिकै चलेका ‘ट्रेडमार्क’ हुन्। अंग्रेजी नाम राख्दैमा व्यापार बढ्ने भए भानुभक्त मा.वि. वा पद्मोदय उच्च मा.वि.मा विद्यार्थीहरूको खडेरी परिसक्नु पर्ने हो !

आखिर के छ त अंग्रेजी नाममा ? हुनसक्छ- यसबाट युवाहरूको सपना ‘क्याँस’ गर्न सकिएला, उनीहरूको भावनालाई बहकाउन सकिएला, विद्यार्थीको भीड जुटाउन सकिएला, ‘टपटेन’का रूपमा कलेजलाई माथी उठाउन सकिएला ! ‘भिसा चाँडो लाग्न’ सक्ला, त्यही भिसा देखाएर फेरि विद्यार्थी तान्न सफल भइएला, विश्व बजारमा यो ‘म्यान पावर’ बिकाउन पनि सकिएला— तर उनीहरूमा नेपालीपन र नेपाली मन टिकाउन निकै गार्‍हो हुनेछ।

नामको खडेरी हाम्रा चलचित्रमा पछि कम छैन ! रेखा थापाको ‘किस्मत’, जेनी कुँवरको ‘घायल’, बिराज भट्टको ‘दोस्ती’, सोभित बस्नेतको ‘धुम’, रेश मरहठ्ठाको ‘च्यालेन्ज’, सिमोस सुनुवारको ‘फष्ट लभ’ इत्यादि ! नेपाली सिनेमाका यी दर्जनौं नाम सुन्दा, कतै हाम्रो शब्दकोश नै छैन कि जस्तो भान हुन्छ। यस्तो लाग्छ— यो देशको सिनेमा उद्योग ‘हलिउड’को ‘काया'(शरीर) हो, ‘बलिउड’को छायाँ मात्र हो !

आजकाल थुप्रै कलाकार राष्ट्रियताप्रति सचेत देखिन्छन्। परिवर्तनका लागि धेरै स्रष्टा ‘क्रान्तिकारी क्याम्प’मा समाहित भेटिन्छन्। उनीहरू भन्छन्- ‘नेपालमा भारतीय हस्तक्षेप बढ्यो— यसमा हाम्रा नेताहरूको दोष छ।’ तर, ‘अरूलाई चोर औंलो ठड्याइरहँदा बाँकी चारवटा औंलाले आफैंलाई संकेत गरिररहेको हुन्छ’ भन्ने उक्ति कसैले बिर्सनु हुँदैन। स्वदेशको राजनीति मिलाउन विदेशी गुहार्ने राजनीतिकर्मी र फिल्म चलाउन छिमेकी शब्द, शैली पछ्याउने चलचित्रकर्मीबीच भिन्नता देखिनु जरुरी छ।

नेतामा विदेशी गन्ध पस्यो भने अर्को स्वदेशी नेता जन्माउन सकिएला, तर गलत संस्कृति मान्छेको दिमागमा घुस्यो भने त्यसले जुगौं जुंगौंसम्म समाजलाई विकृत बनाउँछ। यो कुरा ‘विद्वान् फिल्मकर्मीहरू’ ले बुझ्नुपर्छ।

हामी आधुनिक अविभावकहरू हाम्रा बच्चाहरूको ‘अत्याधुनिक नाम’ राख्ने होडमा जोडले लागेका छौं। डेनिस राई, एञ्जिला भट्टराई, शाहरुख शर्मा, सलमान बर्मा, फिडेल खरेल, मेमोरी गजुरेल इत्यादि ! यसरी ‘युनिक’ नामको धुनले हाम्रो भाषामा घुन मात्र लागेको छैन, सुनजस्तो महँगो ‘नेपालीपन’लाई पनि नुनजस्तो सस्तो बनाइरहेका छौं।

कामभन्दा नामतिर लाम लागेका यी ठामतिर कुन निकायले ध्यान दिने हो, तपाईंलाई ज्ञान छ भने बताउनुहोस्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: