नाङि्गयो अमेरिका

―प्रकाश राई काठमाडौं। विकिलिक्स नामक वेबसाइटले अमेरिकी साम्राज्यवादलाई विश्वसामु नांगो वादशाहको रूपमा उभ्याइदिएको छ। आफूसँग भएको दुई लाख ५१ हजार २ सय ८७ वटा अमेरिकी गोप्य सूचनाहरूमध्ये १ हजार १ सय सूचनाहरू सार्वजनिक गरेर चर्चामा रहेको विकिलिक्सले विश्वभरका अमेरिकी दूतावास, सैनिक अधिकारीहरूले पठाएको अतिगोप्य सूचनाहरू सार्वजनिक गरेर अमेरिकी साम्राज्यवादको असली रुप उदांगो पारिदिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको गुप्तचरी गर्न लगाएकोदेखि अफगानिस्तानका तालिवानहरूलाई सहयोग गरेको र तिनीहरूसँगै लड्ने नाममा सरकारलाई पनि सहयोग गरेकोसम्मका सूचनाहरू सार्वजनिक गरी विकिलिक्सले चर्चा कमाएको छ। अमेरिकी विदेश मन्त्रालयले विकिलिक्सको सूचनाचुहावटले विश्वको ‘लोकतन्त्र’लाई कमजोर पार्ने र लोकतन्त्र, मानवअधिकार र शान्तिका लागि लडिरहेका व्यक्तिहरूका ज्यान र अभियान जोखिममा पर्ने हास्यास्पद र मुढे तर्क गरेको छ। संसारभर रहेका अमेरिकी दूतावास र अमेरिकी विदेश मन्त्रालयले सन् १९६६ देखि २०१० सम्म तयार पारेका ती अति गोप्य भनिएका सूचनाहरू सार्वजनिक भएपछि अमेरिका एक प्रकारले त्रसित भएर विकिलिक्सका प्रधान सम्पादक जुलियन असान्जमाथि आगो भएको छ। परिणामस्वरुप यौनअपराधको मुद्दामा बेलायतमा उनलाई पक्राउसमेत गरिसकिएको छ। कतिपय अमेरिकी सिनेटरले असन्जलाई आतंकवादको सूचीमा राख्नुपर्ने र उनलाई मृत्युदण्ड दिनुपर्ने मागसमेत गरेका छन्। यस कार्यबाट अमेरिकाको तथाकथित प्रेस स्वतन्त्रताको मुखुण्डोसमेत हटेको छ। विकिलिक्सको सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रसंघका महासचिवलगायत सुरक्षा परिषद्का प्रतिनिधि राष्ट्रहरू चीन, रुस, फ्रान्स र बेलायतका कूटनीतिज्ञमाथिसमेत जासुसी गर्ने आदेश दिएको थियो। विदेशमन्त्रीले राजनीतिक गुप्तचरी मात्र नभएर ती कूटनीतिज्ञको सम्पूर्ण कुराको गुप्तचरी गर्न लगाएकी थिइन्। साउदी अबरका राजा अब्दुल्लाहले इरानमाथि आक्रमण गर्न अमेरिकालाई बारम्बार उक्साएको जस्ता विवरण विकिलिक्सले सार्वजनिक गरेको छ। त्यसैगरी अफगानिस्तानमा आतंककारीहरूलाई अमेरिका स्वयंले हतियार उपलब्ध गराइरहेको, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइले इरानबाट आर्थिक सहयोग प्राप्त गरेका जस्ता सूचनाहरू सार्वजनिक भएका छन्। विकिलिक्सले सार्वजनिक गरेको अफगानिस्तानसम्बन्धी सूचनाहरू सर्वाधिक महत्वपूर्ण र अमेरिकी साम्राज्यवादको द्वैध चरित्रको पर्दाफास गर्ने प्रकारका छन्। अफगानिस्तानमा अमेरिकी सेनाले जसरी अतिवादीविरुद्धको लडाइँका नाममा हजारौं सर्वसाधारणको हत्या गरिरहेका छन्, त्यसको सम्पूर्ण जिम्मा अमेरिकाले लिनुपर्छ। आतंकवादीविरुद्ध लड्ने नाममा उसले जसरी दुवैतिर हतियारको कारोबार गरिरहेको छ, यो अपराधको हद हो। नेपालबारे विकिलिक्सले सार्वजनिक गरेका सूचनामा नेपालका माओवादीलाई भारतले पैसा दिएर शान्तिप्रक्रियामा ल्याएको तर त्यसपश्चात् आफ्नो चाहनाअनुसार माओवादीहरू नचलेको एक भारतीय अधिकारीको भनाइ र पाकिस्तानी अतिवादीहरूले नेपालबाट प्रवेश गरी भारतविरुद्ध गतिविधि गरेकोसम्म छन्। त्यति मात्र नभएर नेपालका मुख्य राजनीतिक दलहरू माओवादी, कांग्रेस, एमालेको मुख्य नेतृत्वसम्बन्धी विवरणसमेत तयार गरिएको सूचना पनि सार्वजनिक भएका छन्। नेपालका लागि अमेरिकी राजदूतले यी धारणाहहरू कूटनीतिज्ञको भएको र यसले राज्यको नीतिको प्रतिनिधित्व नगर्ने विज्ञप्तिमार्फत् बताएका थिए। यी विषयहरूका दुईवटा पक्ष छन्। एक, माओवादीलाई पैसा दिएर शान्तिप्रक्रियामा ल्याएको भनिएको गलत रिपोर्ट। र, दोस्रो नेताहरूको व्यक्तिगत विवरण बनाएको अराजनीतिक र गैरकूटनीतिक क्रियाकलाप। निश्चित रुपले यसले अमेरिकी सरकारको प्रतिनिधित्व नगर्ला तर त्योभन्दा सत्य के हो भने यही र यस्तै रिपोर्टको आधारमा अमेरिकी नीतिनिर्माण हुन्छ। कूटनीतिज्ञहरूको रिपोर्ट नै अमेरिकी विदेश नीतिको मेरुदण्ड हुन्छ। त्यो अमेरिकी नीतिनिर्माणमा मात्र होइन, अन्य देशको नीतिनिर्माणमा पनि लागु हुन्छ। त्यसैले यस्ता रिपोर्टको अर्थ नरहने होइन, सबैभन्दा धेरै अर्थ रहन्छ। तर यस्ता रिपोर्ट सार्वजनिक हुनेबित्तिकै नेपालका मन्त्रीले जे भए पनि दुई देशबीचको सम्बन्धमा असर पर्दैन भनी अमेरिकाको टाङमुनि छिर्नु चाहिँ नेपालको राजनीतिक नेतृत्वको लाजमर्दो व्यवहार हो। अमेरिकाले आफूलाई विश्वसामु नंग्याउने विकिलिक्स र त्यसका प्रधान सम्पादक, संस्थापक जुलियन असान्जलाई सबैभन्दा ठूलो दोषीको रूपमा प्रस्तुत गरिरहेको छ। विदेशी नेताहरूको जासुसी गर्ने, गलत आधारमा रिपोर्ट तयार गर्ने र आमजनताको नरसंहार गर्ने विदेशी कूटनीतिज्ञहरूमाथि गालीगलौज गर्ने अमेरिका अनि त्यसको पर्दाफास गर्ने विकिलिक्स र असान्ज अपराधी हुनसक्छ र? त्यसो त असान्जले अमेरिकी कूटनीतिक केवलबाट सूचना चोरी गरेका पनि होइनन्। विकिलिक्सलाई अमेरिकी सूचनाहरू प्रदान गर्ने एक अमेरिकी सैनिक नै भएको बताइएको छ। प्राप्त सूचनालाई सार्वजनिक गर्नु कसरी अपराध हुन्छ? यस विषयमा असान्ज होइनन्, अमेरिकी साम्राज्यवाद दुई प्रकारले दोषी छ : एक, गैरकूटनीतिक विषयमा नचाहिंदा र जथाभावी सूचनाहरू तयार गर्नु, कूटनीतिज्ञहरूको जासुसी गर्नु र दोस्रो सूचना सार्वजनिक भएपछि त्यसको दोष अरुलाई दिनु र प्रेस स्वतन्त्रताविरुद्ध खनिनु। नेपालमा एउटा उखान छ, ‘आफ्नो थैली कसिलो राख्नु तर साथीलाई चोट नलगाउनु।’ तर अहिले अमेरिकी साम्राज्यवाद चाहिँ आफ्नो थैली खुला छाड्ने र त्यो थैलीमा यो कुरा छ है भन्नेलाई दोषी देखाउने अचम्मको नीति अँगालिरहेको छ। विकिलिक्सले अहिले जे काम गरेको छ, त्यसले अमेरिकी साम्राज्यवादी हस्तक्षेपकारी नीतिलाई उदांगो बनाइदिएको छ। उसको विश्वप्रतिको दृष्टिकोण, अवधारणा र गतिविधिलाई समेत खुला गरिदिएको छ। बरु अब अमेरिकी साम्राज्यवाद र उसका पिछलग्गुहरूले विश्वलाई जवाफ दिनुपर्नेछ कि अमेरिकाको यो गैरकूटनीतिक, द्वैधचरित्र र ढाँटको नीतिलाई कसरी प्रजातान्त्रिक भन्न सकिन्छ? उसका यस्ता नीतिको सार्वजनिक गर्ने कुरा कसरी दोषपूर्ण हुन सक्छ?
चावेजद्वारा प्रशंसा

विकिलिक्सले अमेरिकी गोप्य सूचना सार्वजनिक गरेर साहसिक काम गरेको भन्दै भेनेजुयलाका राष्ट्रपति ह्युगो चावेजले उसको प्रशंसा गरेका छन्। अमेरिकी साम्राज्यवादको साँचो अनुहार विश्वसामु खुला गरिदिएको भन्दै चावेजले विकिलिसक्सको प्रशंसा गरेका हुन्। विश्वमा हिंस्रक युद्धद्वारा प्रभुत्व कायम गरिरहेको अमेरिकी साम्राज्यवाद कति झुट र असत्यमा टिकेको रहेछ भन्ने यस सूचनाले प्रस्ट पारेको बताउँदै उनले प्रशंसा गरेका हुन्। त्यसैगरी अस्ट्रेलियाले अमेरिकी गोप्य सूचनाहरू सार्वजनिक हुनुमा दोषी असान्ज र विकिलिक्स नभएर अमेरिका स्वयं भएको बताएको छ। अस्ट्रेलियन विदेशमन्त्री केमिन रडले यस कार्यका अमेरिका नै दोषी भएको बताएका हुन्। उनले भनेका छन् कि ‘अमेरिकी कूटनीतिक केबुलबाट असान्जले सूचना चोरी गरेका होइनन्। त्यसैले उनीमाथि दोष थोपर्न मिल्दैन।’ असान्जले पनि आफूले कहिल्यै पनि स्रोतहरूसँग सम्झौता नगरेको र सूचना जस्ताको तस्तै सार्वजनिक गरेको बताएका छन्। असान्ज पक्राउ पर्नुभन्दा पहिला उनका समर्थकहरूले उनको सुरक्षाका लागि अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डलाई पत्रसमेत लेखेका थिए। अहिले विकिलिक्सका साइटमाथि विभिन्न मुलुकमा प्रतिबन्ध लगाउने असफल प्रयास सुरु गरिएको छ। चीनमा लोकतन्त्र र मानवअधिकार खोज्ने अमेरिकी साम्राज्यवाद, क्युबामा स्वतन्त्रता र प्रजातन्त्र खोज्ने अमेरिकी साम्राज्यवाद विकिलिक्समाथि चाहिँ कुन प्रजातान्त्रिक मूल्यमान्यताका आधारमा प्रतिबन्ध लगाउन खोज्दैछ? कुन प्रजातन्त्रको नाममा विकिलिक्सलाई आतंकवादी ‘साइट’का रूपमा राख्नुपर्ने बताइरहेका छन्, त्यहाँका अधिकारीहरू? बुझिनसक्नुभएको छ। विकिलिक्सले के सत्यलाई चाहिँ उजागर गरिदिएको छ भने विश्वमा सबैभन्दा ठूलो आतंकवादी कुनै छ भने त्यो अमेरिकी साम्राज्यवाद नै हो। उसले आफ्ना जनतालाई र विश्व समुदायलाई नै गुमराहमा राखेर साम्राज्यवादको खुनी नङ्ग्रा विश्वमा फैलाइरहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: