माओवादीमा तलैसम्म तीन धार

imageपालुङटार (गोरखा), ८ मंसिर

माओवादीका तीन शीर्ष नेताबीच केन्द्रमा रहेको मतभेदको असर तलैसम्म सरेको छ । पालुङटारमा जारी विस्तारित बैठकमा राज्यसमितिका समूहगत नेताहरूले धारणा राख्न थालेपछि मतभेदको असर तलसम्म देखिएको हो ।

बन्द सत्रमा बुधबार बोल्ने नेताहरूले खुलेर एक नेताको समर्थन र अरूको आलोचना गरेका थिए । यद्यपि, उनीहरूले नेताहरूलाई मिल्नुको विकल्प नभएको सुझाब पनि दिएका छन् । समूहगत नेताहरूले कार्यशैली र व्यवहार सच्याउँदै रूपान्तरणसहितको एकता कायम गर्न शीर्ष नेताहरूलाई सुझाएका छन् ।

बैठकमा अध्यक्ष प्रचण्ड तथा उपाध्यक्षद्वय मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईले पेस गरेका प्रतिवेदनमा मात्र केन्दि्रत नरही नेताहरूको कार्यशैली र आरचणको पनि उत्तिकै आलोचना भएको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

‘रूपान्तरणसहितको एकता र नेताहरूको कार्यशैली एवं आचरणमा सुधार हुनुपर्छ भन्ने धेरैको मत देखियो,’ बैठकमा सहभागी माओवादीका एक नेताले नयाँ पत्रिकासँग भने, ‘एक-अर्कालाई हिलो छ्याप्ने र खुइल्याउने गर्न हुन्न भन्नेमा पनि धेरैको मत समान थियो ।’

बैठकमा समूहगत नेताहरूले सामूहिक नेतृत्वमा पनि नेताहरूलाई प्राधिकार होइन अधिकार मात्र दिइएको भन्दै नेताहरूलाई प्राधिकार प्राप्त जस्तो गरी व्यवहार नदेखाउन सुझाब दिएका छन् । माओवादीभित्र वेलावेलामा प्रचण्डले प्राधिकार प्रयोग गरेको आरोप लाग्ने गरेको छ । किरणलाई अभिभावक बन्न र बाबुरामलाई प्रचारमा भन्दा पार्टी काममा जोड दिन पनि सुझाब दिइएको छ ।

विस्तारित बैठकमा देखिएको बहुमत सदस्यको समर्थनसँगै प्रचण्डलाई भने राहत मिलेको छ । उनले बन्दसत्रमा उपाध्यक्षद्वयको कडा आलोचना खेपेका थिए । उपाध्यक्षद्वय निकटका टोलीनेताले पनि अध्यक्षमाथि प्रहार जारी राखेका छन् ।

बैठकमा बाबुरामको पक्षमा बोलेकी कैलालीकी सभासद्समेत रहेकी लीला भण्डारीले प्रचण्डलाई दक्षिणपन्थी भएको आरोप लगाइन् । उनले भारतीय राजदूतसँग पटक-पटक अध्यक्ष प्रचण्डले गर्ने भेटका विषयवस्तु खुलाउन र खर्चको विवरण दिनसमेत माग गरिन् । ‘दक्षिणपन्थी बाबुराम होइन, प्रचण्ड हो,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रचण्ड पक्षधर नेताहरूले पार्टीको मूल नेतृत्वलाई खुइल्याएको भन्दै किरण, बाबुराम र उनका समर्थकहरूको आलोचना गरेका छन् । प्रवक्ता शर्माले आलोचना र आत्मालोचना स्वाभाविक भएको भन्दै बैठकमा विचारको भन्दा आचरणको आलोचना भएको बताए । ‘जति धेरै आलोचना हुन्छ त्यति राम्रो हुन्छ भन्ने हाम्रो मान्यता पनि हो,’ उनले भने ।

माओवादीले बैठकमा सहभागी करिब पाँच हजार राज्यस्तरका नेतालाई ३० वटा समूह बनाई समूहगत छलफल र समूहगत धारणा राख्न निर्देशन दिएको थियो । यस्तो समूहबाट तीनैजना नेताका पक्षका नेतालाई बोल्न दिने र तीनवटा पक्षभन्दा बाहिरबाट बोल्न चाहने स्वतन्त्र धारको एकजनालाई बोल्न दिने सहमति पनि भएको थियो । त्यसैअनुसार कतिपय समूहमा तीन र कतिपयमा चारजनाले विस्तारित बैठकमा आफ्ना धारणा राख्दै गएका छन् । यस्तो छलफलमा केन्द्रीय सदस्यहरूले बोलेका छैनन् ।

विस्तारित बैठकमा बुधबार माओवादीको सेती-महाकाली, भेरी-कणर्ाली, थारुवान, मगरात, तमुवान, नेवा, ताम्सालिङ, अवध, भोजपुरा र मिथिला राज्यका गरी ३४ जनाले आफ्नो धारणा राखेका छन् । बाँकी सदस्यले बिहीबारको बैठकमा बोल्ने माओवादी प्रवक्ता शर्माले बताए । हरेक समूहका नेतालाई दस मिनेटको समय दिइएको छ ।

धेरैजसो राज्यसमितिमा अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय किरण र भट्टराईको पक्षमा मात्र टोलीनेताहरू बोलेका छन् भने केही राज्यमा तीनवटै प्रतिवेदनभन्दा बाहिरबाट आफ्ना विचार राख्ने ‘स्वतन्त्र धार’ पनि देखापरेको छ । उनीहरूले अलग-अलग छलफल र लबिङले पार्टी विभाजन गराउने भन्दै एकीकृत प्रतिवेदनको माग गरेका छन् ।

‘स्वतन्त्र ढंगले बोल्नेहरूले पार्टीको एकतामा जोड दिनुभएको छ, एकीकृत प्रतिवेदनको माग गर्नुभएको छ,’ प्रवक्ता शर्माले भने, ‘उहाँहरू आरोप-प्रत्यारोप नभइदिए हुन्थ्यो भन्नेमा हुनुहुन्छ ।’

आरोप-प्रत्यारोपमा उत्रेका माओवादीका तीन शीर्ष नेतामाथि विस्तारित बैठकका सहभागीले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । बैठकको सुरुमा बोल्ने सेती-महाकाली र भेरी-कणर्ाली राज्यसमितिका सदस्यहरूले प्रचण्डको पक्षमा रहेको संख्यासमेत तोेकेका थिए । तर, पछि संख्या नतोक्न भनेपछि अन्य राज्यसमितिका नेताहरूले यस्तो संख्या नखुलाएको बैठकमा सहभागी एक सदस्यले बताए । भेरी-कणर्ालीमा राज्यसमिति सदस्य दुई सय ५६ रहेकोमा प्रचण्डको पक्षमा एक सय ४९ र सेती-महाकालीमा दुई सय १२ मा एक सय आठको समर्थन रहेको विवरण पेस गरिएको थियो ।

बैठकमा बोल्ने किरण पक्षधर नेताहरूले पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद बनाउनुपर्ने माग पनि गरेका छन् । माओवादीको सेती-महाकाली राज्यसमितिबाट किरणको पक्षमा बोल्ने नेता शरद भण्डारीले पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद बनाउन माग गरेका थिए । ०६५ पुसमा माओवादी र एकताकेन्द्र मसालबीच एकीकरण हुँदा माओवादीले पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद/माओविचारधारा बनाउने भनिएको थियो । माओवाद वा माओविचारधारा मान्ने भन्ने कुरा राष्ट्रिय सम्मेलन वा महाधिवेशनबाट टुंग्याउने भनिएको थियो । अहिलेसम्म विचाराधीन रहेको प्रचण्डपथ पनि महाधिवेशनबाटै नै टुंगिनेछ । ०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पारित गराउन भूमिका खेलेका किरण पक्षधर नेताहरू अहिले यसको विरुद्धमा लागेका छन् ।

चौथो धारमा को-को छन् ?

तीनवटा प्रतिवेदनको समर्थनमा रहेका राज्यसमितिका तीन नेताहरूले आ-आफ्नो पक्षका नेताको समर्थनमा बोले पनि केही राज्यमा भने तीनवटै प्रतिवेदनमाथि असन्तुष्टि राख्नेहरू पनि भेटिएका छन् । पार्टी नेताबीच एकता हुनुपर्ने र एकीकृत प्रतिवेदन आउनुपर्ने वा नयाँ दस्तावेज बनाएर जानुपर्ने उनीहरूको माग छ ।

उनीहरूले रूपान्तरण, एकता र विद्रोहको नीतिमा जोड दिएका छन् । ‘एकले अर्कालाई नंग्याउने खेलले पार्टी र क्रान्तिलाई हित गर्दैन भनेर तटस्थ विचार राखेको हुँ,’ चौथो धारको विचार राख्ने माओवादीका एक नेताले नयाँ पत्रिकासँग भने, ‘यसले पार्टी एकतालाई सहयोग पुर्‍याउने विश्वास लिएको छु ।’ सेती-महाकालीमा समर सिंह, थारुवानमा लेखराज रेग्मी, मगरातमा नेत्र पाण्डे, नेवामा भ्रुण गुरुङले स्वतन्त्र धारका रूपमा आफ्नो मत राखेका थिए । पार्टी र आन्दोलनमा तीनैजना नेताको भूमिका रहेको भन्दै यो समूहले एकले अर्कालाई छाडेर नजान नेतृत्वलाई आग्रह गरेको छ । त्यसअघि मंगलबार मात्र दार्चुला जिल्लाका २३ जना राज्यसमिति सदस्यले आफूहरूलाई कित्ताकाट गरिएको भन्दै बैठकमा हुने छलफलमा सहभागी नहुने चेतावनी दिएका थिए ।

के भन्छन् बैठकका सहभागीहरू ?

ठंकर पोखरेल, किरात राज्यसमिति

यो विस्तारित बैठकमा तीनवटा प्रतिवेदनबीच जुन छलफल भइरहेको छ, त्यो असाध्यै सौहार्दपूर्ण छ । यहाँ विचारको प्रतिस्पर्धा छ । प्रतिवेदन एक ठाउँमा समायोजन गरेर भोलिको क्रान्तिका लागि पार्टीको भावी कार्यनीति तय गर्ने कुरामा हामी आशावादी छौँ । बैठकले त्यो ठाउँमा पुर्‍याउँछ भन्ने लागेको छ ।

धनेश्वर पोखरेल, मगरात राज्यसमिति

पहिलो अपेक्षा पार्टी एकढिक्का हुनुपर्छ । पार्टी रूपान्तरण हुनुपर्छ र पार्टीले विद्रोहको लाइन पास गरेर जानुपर्छ । अहिले तीनवटा प्रतिवेदनमाथि छलफल भइरहेको छ । यो कुनै कित्ताकाट होइन र यसरी पनि बुभ\mनु पनि हँुदैन । कित्ताकाटको मानसिकताले एकढिक्का बनाएर लैजान सक्दैन । दुई लाइन संघर्षका रूपमा लिनुपर्छ यसलाई । कम्युनिस्ट पार्टीमा यस्तो हुन्छ ।

विवेक, ताम्सालिङ राज्यसमिति

यो बैठकले तीनवटा दस्तावेजलाई एउटै बनाएर जानुपर्छ । मुख्य दस्तावेज प्रचण्डको आएको छ, त्यसमा अरू दुईजना कमरेड समाहित भएर जानुपर्छ । मूल कुरा अहिले राष्ट्रिय स्वाधीनताको प्रश्न हो । राष्ट्रिय स्वाधीनताको लडाइँमा सबैलाई मिलाएर लैजानुपर्छ । आ-आफ्नो विचारको प्रतिस्पर्धामा विचारहरू आउन सक्छन् । स्वाभाविक रूपमा बृहत् छलफल र विधिसम्मत तरिकाबाट एउटै दस्तावेज बनाएर जाने कुरा नै मुख्य हो । तीनवटा दस्तावेज आउँदैमा अन्यथा लिन हुँदैन । छलफलपछि एउटा निकास आउँछ ।

लेखनाथ न्यौपाने, विद्यार्थी नेता

यो बैठकले केन्द्रीय समितिलाई सुझाब दिने मात्र हो । त्यसभन्दा बढी केही गर्न सक्दैन । सुझाब आवश्यक ठाने केन्द्रीय समितिले स्वीकार पनि गर्न सक्छ, नठाने अस्वीकार पनि गर्न सक्छ । यो सम्मेलन र महाधिवेशन नभएकाले प्रतिनिधिहरूको सुझाब आवश्यक ठाने लिने कुरा मात्र हो । दोस्रो विषय हाम्रो साझा बुझाइ क्रान्ति र शान्तिको मोर्चामध्ये दुवै मोर्चामा केही न केही अवरोधहरू आएका छन् । शान्तिको मोर्चाबाट पनि सही ढंगले अगाडि जान सकिएको छैन, क्रान्तिको मोर्चा त हामीले केही वर्षदेखि नै विराम गरेका छौँ । कुन प्रक्रियाबाट अगाडि जाँदा कम क्षतिमा छिटो सम्पन्न गर्न सकिन्छ भन्ने पहिलो बहस हो ।

अब शान्ति र संविधानको विषयवस्तु त हामीले छाड्न हँुदैन । शान्ति र संविधानको विषयवस्तुभित्र जनतालाई अथवा आधारभूत वर्गलाई राज्यको मालिक बनाउने योजनाका बारेमा हामीले बहस गर्नुपर्छ र त्यो दिशामा अगाडि बढ्नको विकल्प छैन ।

नैनसिंह वली, थारुवान राज्यसमिति

एउटा जीवन्त पार्टीभित्र दुई लाइन संघर्ष हुने गर्छ । यतिवेला हाम्रो पार्टीभित्र वैचारिक संघर्ष चलिरहेको छ । यो वैचारिक संघर्षले वैचारिक भावको एकता पैदा गर्नुपर्छ भन्ने सबैको एउटा सदासयता हो । यो गम्भीर वैचारिक बहस र छलफलद्वारा पार्टीलाई एकढिक्का बनाउने अभियान हो । बैठकले राष्ट्रिय जीवनका सवालहरू, पार्टीको जीवनमा देखापरेका समस्याहरू पनि समाधान गरोस् भन्ने चाहेका छौँ । र, त्यसमा हामी विश्वस्त छौँ । अहिले पार्टीभित्र देखापरेको संघर्ष वैचारिक संघर्ष हो । त्यसैले हाम्रो पार्टीले यही वैचारिक संघर्षको प्रक्रियाबाट एकता र रूपान्तरणको दिशामा अगाडि बढेको छ र यसलाई नै महत्त्वपूर्ण मन्त्रका रूपमा पार्टीले लिइराखेको छ ।

गंगा भुजेल, मगरात राज्यसमिति

तीनवटा प्रस्ताव आएका छन् । यी दस्तावेजहरूलाई समायोजन गरेर एउटै प्रस्ताव बनाएर लैजाँदा राम्रो हुन्छ भन्ने मेरो भनाइ हो । तीनवटा प्रतिवेदनबीच भएको छलफललाई दुई लाइनको संघर्षका रूपमा लिनुपर्छ । मानिसहरूले विभाजनदेखि आ-आफ्ना रूपमा बुझेका छन् । तर, यो दुई लाइनको संघर्ष भएकाले यसले पार्टीलाई आफ्नो लक्ष्यमा पुर्‍याउँछ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पार्टीमार्ग तय गरेर समस्या समाधान गर्नुपर्छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: