नक्कली नागरिकतामा कारबाही भएन

 

imageभारतीय नागरिकलाई नेपाली नागरिकता दिएको सम्बन्धमा यथाशीघ्र कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंले पाँच महिनापहिल्यै जिल्ला प्रशासन कार्यालय सप्तरीलाई निर्देशन दिए पनि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन । सञ्चारमाध्यममा समाचार प्रकाशन/प्रसारण भएपछि ४ जेठ, ०६७ मा राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंको चलानी नम्बर २७४ को पत्रमा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई यथाशीघ्र कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो  ।

केन्द्रको पत्रसँगै सात महिनाअघि नयाँ पत्रिकामा प्रकाशित समाचारको कटिङसमेत जिल्ला प्रशासन कार्यालय सप्तरीमा पठाइएको थियो । तर, सतर्कता केन्द्रले दिएको निर्देशनको पाँच महिना बित्दा पनि स्थानीय प्रशासनले अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको भनी आवश्यक प्रमाण रहँदा पनि स्थानीय प्रशासनको कमजोरीले दोषी अहिले खुलेआम घुमिरहेका छन्  ।

जिल्ला प्रशासन कार्यालय सप्तरी र इलाका प्रशासन कार्यालय कञ्चनपुरका कर्मचारीकै मिलेमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गरिएका कारण स्थानीय प्रशासनले हालसम्म कुनै कारबाही प्रक्रिया अगाडि नबढाएको स्रोतको दाबी छ । इलाका प्रशासन कार्यालय कञ्चनपुरले आठ महिनाअघि एकजना भारतीयमूलका व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरेको थियो । यससम्बन्धमा एकजना सचेत नागरिक भनेर दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले तत्काल अनुसन्धान सुरु गरेको थियो । तर, अनुसन्धान सुरु भएको महिनाँै बित्दा पनि यस प्रकरणका दोषीलाई प्रशासनले कानुनी कठघरामा उभ्याउन सकेको छैन  ।

१ चैत, ०६६ मा सप्तरीको भारदह गाविस-६ निवासी श्यामसुन्दर दासको छोरा भनेर भारदहका गाविस सचिवले गरिदिएको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय कञ्चनपुरले भारतीय नागरिक भोला दासलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेका थिए । तर, त्यसको दुई दिन पनि नबित्दै भारदह गाविसका एक सचेत नागरिक भनेर आएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले उक्त नागरिकतासम्बन्धी सम्पूर्ण कागजात झिकाई अनुसन्धान थालिएको थियो  ।

यस प्रकरणमा त्यतिवेला जिल्ला प्रशासन कार्यालय सप्तरीस्थित मुद्दा फाँटका सुब्बा प्रेम भट्टराईले घटनाको छानबिन भइरहेको र नक्कली नागरिकता पाउने भोला दास र उसलाई आफ्नो नक्कली छोरा बनाएर फर्जी जानकारी दिने भारदह-६ निवासी श्यामसुन्दर दासमाथि पक्राउपुर्जीको आदेश जारी गरिएको बताएका थिए । तर, झुटो सिफारिस गर्ने भारदह गाविसका सचिव कवितलाल यादवमाथि भने कुनै कारबाहीको प्रक्रिया त्यतिवेला अघि सारिएको थिएन । यसका अतिरिक्त नक्कली नागरिकता प्रदान गर्ने इलाका प्रशासन कार्यालयका कर्मचारीलाई पनि छानबिनको दायराभित्र ल्याइएको छैन  ।

स्रोतका अनुसार, पैसाको प्रलोभनमा श्यामसुन्दर दासले भारतीय नागरिक भोलालाई आफ्नो छोरा हो भनेर नागरिकता दिलाउन सघाएका थिए  । त्यतिवेला नै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उनले दिएको बयानमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउनमा भारदहका गाविस सचिव कवितलाल यादव, मुखिया महेन्द्र मुखियालगायत स्थानीय केही व्यक्तिको मिलेमतो रहेको उल्लेख छ  ।

नेपाली नागरिकता प्राप्त गर्न भोलाले स्थानीयलाई मात्रै नभई इलाका प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख बालकृष्ण ढुंगानालगायतका कर्मचारीलाई समेत मोटो रकम बुझाएका थिए । श्यामसुन्दर दासले नै जिल्ला प्रशासन कार्यालयमा दिएको बयानमा समेत उक्त तथ्य उल्लेख रहेको स्रोतको दाबी छ । तर, दोषी आफैँले आफ्नो अपराध कबुल गरे पनि जिल्ला प्रशासन कार्यालयले किन कारबाही गर्न नसकेको भन्ने प्रश्न उब्जिएको छ ।

नेपाली नागरिकता पाएका भोला दास भारतीय नागरिक भएको भनी एक सचेत नेपाली नागरिकले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा उनी सीमावर्ती भारतीय जिल्ला मधुवनीको ठाढी पञ्चायतका निवासी भएको उल्लेख छ  ।

यता, राष्ट्रिय सतर्कता केन्द्रले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई यस प्रकरणको कानुनी कारबाही अगाडि बढाउन निर्देशनसहित पठाइएको पत्रको एक महिनापछि प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ  । २ असार, ०६७ मा जिल्ला प्रशासन कार्यालय सप्तरीले दोषीलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको प्रशासन कार्यालयका सुब्बा प्रेम भट्टराईले जानकारी दिए  । तर, प्रशासनले प्रहरीलाई पठाएको पत्रको चार महिना बित्न लाग्दा पनि कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: