नेपाली किशोरीमाथि अमेरिकामा शोषण

imageभारत दोषीलाई जोगाउने पक्षमा

अमेरिका २७, भदौ

अमेरिकामा नेपाली किशोरी शान्ति गुरुङमाथि चरम श्रमशोषण गर्ने भारतीय वरिष्ठ अधिकारीलाई बचाउन भारतको परराष्ट्र मन्त्रालय लागिपरेको छ । तर, अन्तर्राष्ट्रिय मिडियामा भयानक विषय बन्दा पनि नेपाल सरकार भने शान्तिमाथि भएको ज्यादतीबारे मौन छ ।

सन् २००६ को मार्चमा १७ वर्षकी थिइन् शान्ति । तर, उनलाई संयुक्त राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधिको कार्यालयकी तत्कालीन कन्सुलेट नीना मलहोत्राले अपहरणको शैलीमा अमेरिका ल्याइन् । शान्तिको वास्तविक उमेर १७ वर्ष भए पनि नीनाले शान्तिको उमेर १८ वर्ष पुगेको विवरणसहितका नक्कली कागजपत्र बनाएर उनलाई भारत हुँदै अमेरिका ल्याएकी हुन् ।

हरेक महिना पाँच हजार तलब दिने र प्रत्येक ६ महिनामा तलब बढाइदिने प्रलोभन देखाएर शान्तिलाई अमेरिका ल्याइएको हो । कक्षा ८ सम्मको मात्र अध्ययन गरेकी शान्तिलाई अंग्रेजी भाषाको साधारणमात्र ज्ञान थियो । त्यसैले उनले अंग्रेजी भाषामा तयार पारिएका कागजपत्रहरू पढ्न र बुझ्न सक्ने कुरै भएन ।

तर, राष्ट्रसंघकी स्थायी प्रतिनिधिको कार्यालयकी कर्मचारी नीनाले भारतमा नै यस्ता नक्कली कागजपत्रमा शान्तिलाई हस्ताक्षर गराएकी थिइन् । कागजपत्रको प्रतिलिपिसमेत शान्तिलाई नदिइएकाले उनलाई कस्ता कागजपत्रमा हस्ताक्षर गराइयो भन्नेसमेत पत्तो भएन ।

नीनाले आफू र आफ्ना श्रीमान्का लागि खाना बनाउने र सामान्य घरायसी काममा सघाउने भन्दै कागजपत्र बनाएर शान्तिलाई अमेरिका पुर्‍याएकी थिइन् ।

अमेरिका पुर्‍याएपछि शान्तिलाई न्युयोर्कस्थित ४३ स्टि्रटको पूर्वको २३५ नम्बर घरको १० नम्बर अपार्टमेन्टमा रहेको नीनाको निवासमा काममा लगाइयो । खाना बनाउने र हलुका घरायसी काममा सघाउने भनेर अमेरिका ल्याए पनि शान्तिलाई दैनिक १६ घन्टा काममा मात्र लगाइएन, चरम मानसिक यातनासमेत दिइयो । शान्तिले दुईजनाका लागि मात्र होइन, नीनाको निवासमा दिनहुँ जमघट हुने कूटनीतिज्ञहरूका लागि सबै परिकार पकाउनुपथ्र्यो भने सबै भाँडा पनि एक्लैले सफा गर्नुपथ्र्यो ।

दैनिक सबै कोठा सफा गर्नेलगायतका काम गर्दा शान्तिको १६ घन्टा बित्थ्यो । १६ घन्टाको कामपछि पनि शान्तिले आनन्दसँग सुत्न पाउँदिनथिन् । मध्यरातमा नीनालाई मसाज गरेपछि मात्र शान्तिको दिनभरको काम पूरा हुन्थ्यो ।

शान्तिलाई सुत्नका लागि उपयुक्त विस्तारासमेत दिइएको थिएन । दिनभरको थकानपछि भुइँमा सुत्नुपर्ने बाध्यता थियो । शान्तिलाई सामान्य किनमेलका लागि रासन पसलमा जानबाहेक अरू ठाउँमा जान प्रतिबन्ध लगाइएको थियो ।

शान्तिको पासपोर्टसमेत नीना मलहोत्राकै कब्जामा रहेकाले शान्तिले बाहिर जाने हिम्मतसमेत गरिनन् । बाहिर गयो भने प्रहरीले समातेर दुःख दिन्छ भन्दै नीनाले तर्साउने गरेकीले पनि शान्तिले बाहिर जाने हिम्मत गरेकी थिइनन् ।

नेपाली युवतीमाथि श्रमशोषण गर्ने भारतीय परराष्ट्र मन्त्रालय ‘साउथ ब्लक’की निर्देशक डा. नीना मलहोत्राविरुद्ध अमेरिकी अदालतमा मुद्दा चलेपछि भारतीय अधिकारीहरू सक्रिय भएका छन् । तर, नेपाली चेलीको बारेमा बोल्ने नेपालमा कोही छैन ।

नीनाको अपराधको विषयमा स्थानीय मानवअधिकारवादीहरूको पहलमा अमेरिकी अदालतमा मुद्दा चलिरहेको छ । अमेरिकी अदालतमा मुद्दा चलिरहेको वेला भारतीय परराष्ट्र मन्त्रालयले भने नीनालाई अमेरिकी सरकारले सफाइ दिइसकेको भन्दै भारतीय सञ्चारमाध्यमहरूमार्फत प्रचारबाजी गरिरहेका मात्र छैनन्, मलहोत्रालाई पूर्ववत् जिम्मेवारीमा फर्काएका छन् ।

तर अमेरिकी अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई निलम्बन गरेर कानुनी प्रक्रियालाई सघाउनुको साटो भारतीय परराष्ट्र मन्त्रालयले नीनालाई पूर्ववत् काममा लगाएको छ । राष्ट्रसंघका लागि न्युयोर्कस्थित भारतीय स्थायी प्रतिनिधिको कार्यालयकी पूर्वकन्सुलेट नीनालाई बचाउन भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता विष्णु प्रकाशले सञ्चारमाध्यमहरूमार्फत प्रचारबाजी गरिरहेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार नीना भारत र्फकनु एक दिनअघि शान्ति गुरुङ बेपत्ता भएकी हुन् । तर, श्रम गर्न अमेरिका गएकी सामान्य मजदुर किशोरी शान्ति भारतीय अधिकारीलाई अप्ठ्यारो पार्नेगरी बेपत्ता भइन् ? पत्याउन गाह्रो छ । त्यसमाथि बेपत्ता भएकी भनिएकी शान्ति नीनाकै घरमा भेटिएकी थिइन् ।

अहिले न्युयोर्कको युनाइटेड स्टेट डिस्टि्रक्ट कोर्टमा भारतीय वरिष्ठ कूटनीतिज्ञ नीना मलहोत्रा र उनका श्रीमान् इन्जिनियर जोगेश मलहोत्राविरुद्ध मुद्दा चलिरहेको छ । तर, एउटी नेपाली किशोरीले आफूमाथि श्रमशोषण भएको भन्दै लगाएको आरोपमाथि अमेरिकी अदालतमा मुद्दा चलिरहेको वेला भारतीय परराष्ट्र मन्त्रालय किशोरीविरुद्ध लागेको छ । दासत्व र श्रमशोषणको विषयमा मानवअधिकारवादीले चलाएको यो मुद्दामा नाबालिग शान्ति गुरुङलाई नीनाले मानसिक र शारीरिक यातना दिएको उल्लेख छ ।

मासिक तलब प्रतिमहिना तीन डलर

अमेरिकी कानुनअनुसार न्युयोर्कमा हरेक कामदारलाई प्रतिघन्टा सात डलर २५ सेन्टभन्दा कम पैसामा काममा लगाउन पाइँदैन । न्यूनतम ज्यालाभन्दा कममा काम लगाउने जोकोही पनि कानुनी कारबाहीको भागीदार हुन्छन् । तर, शान्तिलाई भने प्रतिघन्टा एक सेन्ट अर्थात् महिनाको तीन डलर (दुई सय २२ नेपाली रुपैयाँ) दिइयो ।

दैनिक १६ घन्टा काम गर्ने शान्तिले नियमअनुसार त हरेक दिन कम्तीमा ११६ डलर पाउनुपर्ने थियो, तर शान्तिलाई भने दिइयो, जम्मा १० सेन्ट । अर्थात् हरेक महिनाको दुई लाख ५७ हजारको सट्टा जम्मा दुई सय २२ रुपैयाँ । कहाँको दुई लाख ५७ हजार, कहाँको दुई सय २२ रुपैयाँ । नेपाली रुपैयाँमा नेपालीमाथि भारतीयले अमेरिकामा यस्तै अन्याय गरे । त्यसमाथि राष्ट्रसंघकी स्थायी प्रतिनिधिले ।

यस्तो चरम आर्थिक शोषणमा परेकी शान्ति सन् २००९ को जुलाईमा नीनाको घरबाट भागेर एकजना नेपाली महिलाको घरमा शरण लिन पुगेकी थिइन् । तर, पैसाको अभावमा शान्तिले एक वर्षसम्म अदालत जाने हिम्मतसमेत गरिनन् ।

शान्तिलाई सघाउँदै नेपाली अधिकारकर्मी र अमेरिकी कानुनविद्

एक वर्षसम्म अदालत जान नसकेकी शान्ति केही समय पहिले नेपाली महिलाको सहयोगमा हारगुहार गर्दै अमेरिकामा रहेको नेपाली अधिकारवादी संगठन अधिकारमा पुगेकी हुन् । अधिकारको आग्रहमा अमेरिकी कानुनविद् मिकेल कर्नाल शान्ति गुरुङको पक्षमा सघाउन राजी भए ।

त्यसपछि शान्ति गुरुङको तर्फबाट कर्नालले अमेरिकी अदालतमा नीना मलहोत्राविरुद्ध मुद्दा दायर गरे । अदालतमा मुद्दा दायर भएको केही समयपछि नै मुद्दा चलिरहेकै अवस्थामा भारतीय सरकारले मलहोत्रालाई सफाइ दियो । अमेरिकी अदालतमा मुद्दा चलिरहेको वेला भारत सरकारले आफ्नै अधिकारीलाई सफाइ दियो । यो विषयले अमेरिकी कानुनविद् कर्नाल पनि अचम्म परेका छन् ।

शान्ति गुरुङमाथि श्रमशोषण गरेको र अमेरिका ल्याउँदासमेत अध्यागमनलाई उमेर ढाँटेकाले मलहोत्रामाथि कानुनी कारबाही भएरै छाड्ने कर्नालको विश्वास छ । अमेरिका ल्याउँदा शान्ति १७ वर्षकी भए पनि नीनाले परराष्ट्रको पहुँच प्रयोग गरेर १८ वर्षकी वालिग नागरिक देखाएकी थिइन् । तर, अनपढ शान्तिसँग अमेरिका जाने सपना मात्र थियो, नीनाको यातना थाहा थिएन ।

भारतले नीनालाईर् कूटनीतिक संरक्षण दिन खोजेकोमा पनि अमेरिकी वकिल कर्नालले विरोध गरेका छन् । भारतीय सरकारले नीनालाई संरक्षण दिन खोजे पनि अमेरिकामा रहेका नेपाली महिला अधिकारकर्मीहरू भने श्रमशोषण गर्ने नीनालाई कारबाहीको दायरामा ल्याउन प्रयत्नशील रहेका छन् । अधिकार संस्थाका तर्फबाट डाइरेक्टर लुना रञ्जितले नीनालाई कानुनी कारबाहीको भागीदार बनाउन पीडित शान्तिलाई सघाइरहेकी छिन् । अधिकारकी कम्युनिटी वर्कर नर्वदा क्षेत्री भन्छिन्, ‘शान्तिलाई मानसिक यातना दिने र श्रमशोषण गर्ने नीना एक दिन अवश्य पनि कारबाहीको भागीदार हुनेछिन् ।’

नीनाविरुद्धका नौ आरोप

नीनादम्पतीले शान्ति गुरुङलाई गैरकानुनी हिसाबले घरमा नै बन्धक बनाएको ।

कानुनमा व्यवस्था भएभन्दा अत्यन्तै धेरै घन्टा काममा लगाएको ।

काम गरेअनुसार ज्याला नदिएको र ४० महिनाको अवधिमा शान्तिलाई जम्मा १२० डलरमात्र दिएको ।

नीनाले शान्तिको पासपोर्टसमेत कब्जा गरी घरबाहिर जानमा प्रतिबन्ध लगाएको र घरमा भोजभतेर हुँदासमेत सबै काम शान्तिलाई नै लगाएको ।

शान्तिलाई उपयुक्त विस्तारासमेत नदिई भुइँमा सुत्न बाध्य पारेको ।

शान्तिलाई दैनिक मसाज गर्न लगाएर नीनाले घरेलु हिंसाको सिकार बनाएको ।

नीनाको निवासमा लगातार हुने कूटनीतिक पार्टीमा अत्यन्तै धेरै काम लगाएको ।

शान्तिलाई राम्रोसँग खाना पनि नदिएको, एकपटक पाउरोटीको टुक्रा खाँदा अनुमति नलिई खाएको भन्दै निर्घात कुटेको र शान्तिले भात माग्दा पनि नदिएको ।

साना कुरामा पनि ठूलो धम्की दिने गरेको र पटकपटक मानसिक यातनासमेत दिने गरेको

Advertisements

One Response to “नेपाली किशोरीमाथि अमेरिकामा शोषण”

  1. BHAKTA GURUNG Says:

    kura nikai gairo rahechha,ma pani sayog gharna chahanchhu,tara malai pani idea bhane chaina,yesko lagi ke gharnu parla,

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: