नेपाली मिडियाको आपत्तिप्रति ‘भारतीय दूतावास आश्चर्यचकित’

image

१३ भदौ

कूटनीतिक मर्यादा नाघेर नेपाली मिडियामाथि आक्षेप लगाउने भारतीय दूतावासले तीन दिनमा दोस्रो विज्ञप्ति निकालेको छ । पूरक विज्ञप्तिमा दूतावासले सफाइ दिन खोजे पनि गोलमटोल रूपमा नेपाली मिडियामाथिको आक्षेप फिर्ता लिएको छैन ।

भारतीय संयुक्त लगानीका कम्पनीका कम गुणस्तरका उत्पादनबारे समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यमले विज्ञापन नपाएको प्रतिशोधमा समाचार छापेको दाबी गर्दै भारतीय दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेको थियो । दूतावासजस्तो कूटनीतिक नियोगले आफ्नो हैसियतबाट तल झरेर विनाप्रमाण आक्षेप लगाएपछि सार्वभौम नेपालका स्वतन्त्र मिडिया संगठनहरूले कडा आपत्ति जनाएका थिए ।

‘नेपालका सम्पूर्ण सञ्चारमाध्यमहरूका तर्फबाट हामी भारतीय दूतावासको आपत्तिजनक हस्तक्षेपको घोर निन्दा एवं भत्र्सना गर्छौं, साथै भारतीय दूतावासलाई आफ्नो गल्ती महसुस गर्दै तत्काल क्षमायाचना गर्न र अबउप्रान्त त्यस्तो कार्य नगर्न सचेत गराउँछौं,’ नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकास्टर्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्षहरूद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको थियो ।

प्रतिउत्तरमा आइतबार विज्ञप्ति जारी गर्दै दूतावासले नेपाली मिडिया संगठनहरूको आपत्तिप्रति आश्चर्य व्यक्त गरेको छ । नेपालका सबै मिडियालाई होइन, केही मिडियालाई मात्रै आरोप लगाएको भन्दै दूतावासले सफाइ दिन खोजेको छ । ‘विज्ञापन नपाएकोमा नकारात्मक समाचार लेखेको भनेर दूतावासले आममिडियालाई भनेको होइन, केही मिडियालाई मात्र हो,’ प्रवक्ता अपुर्वा श्रीवास्तवका नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर नेपाली मिडिया संगठनहरूले विज्ञप्तिमाथि दिएको प्रतिक्रियाले दूतावास आश्चर्यमा परेको छ ।’

कूटनीतिक मर्यादा नाघेर अव्यावसायिक व्यापारीको शैलीमा विज्ञप्ति जारी गर्ने दूतावासले नेपालका मिडिया संगठनहरूले सम्बन्धित मुद्दामा छलफल नगरी विज्ञप्ति जारी गरेकोमा गुनासो गरेको छ । ‘आचारसंहिताविपरीत अभ्यास गर्ने मिडियालाई निन्दा गरेको भए तथा सम्बन्धित कम्पनीसँग यो विषयमा छलफल गरेको भए ती मिडिया संगठनको प्रतिक्रिया विश्वसनीय हुन सक्थ्यो,’ विज्ञप्तिमा भनिएको छ ।

तर विज्ञापन नपाए नकारात्मक समाचार लेख्छु भनेर कुन मिडियाले धम्क्याएको हो र कुन कम्पनीले त्यसको सिकायत गर्‍यो भन्ने खुलाउन नसकी हचुवाको भरमा अर्को विज्ञप्ति जारी गरेर भारतीय दूतावासले आफ्नो विश्वसनियता र कूटनीतिक मर्यादा थप गुमाएको छ ।

दूतावासको विज्ञप्ति विश्वव्यापी मान्यताविपरीतः प्रेस काउन्सिल अध्यक्ष

नेपाल प्रेस काउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्माले नेपालस्थित भारतीय राजदूतावासले नेपालका सञ्चारमाध्यमविरुद्ध वक्तव्यबाजी गरेर विश्वव्यापी प्रेस स्वतन्त्रतालाई चुनौती दिएको टिप्पणी गरेका छन् । ‘कुनै पनि देशमा रहेको दूतावासले त्यहाँको स्वतन्त्र मिडियालाई यो लेख, त्यो नलेख भनेर आदेश दिने चलन संसारमा कहीँ पनि छैन । कूटनीतिक मर्यादा नाघेर अभिव्यक्ति दिने भारतीय दूतावाससँग सरकारले स्पष्टीकरण माग्नुपर्छ,’ जनसञ्चार अभियान नेपालले आइतबार गरेको कार्यक्रममा उनले भने ।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष विष्णुहरि ढकाल र सामुदायिक रेडियो प्रसारक संघ, नेपालका कोषाध्यक्ष सुवास खतिवडाले सरकारले नै भारतीय राजदूतावासलाई क्षमा मगाउन पहल गर्नुपर्ने बताए । ‘कूटनीतिक मर्यादा नाघेर भारतीय दूतावासले सार्वभौम देशको मिडियामाथि हस्तक्षेप गर्ने कोसिस गरेको छ, उसलाई माफी मगाउन सरकार गम्भीर हुनुपर्छ,’ उनीहरूको भनाइ थियो ।

यसैबीच नेपाल पत्रकार महासंघका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले पनि भारतीय दूतावासले कूटनीतिक मर्यादा नाघेर नेपाली मिडियालाई धम्क्याएको भन्दै विरोध जनाएका छन् । ‘यो नेपाली सार्वभौमिकतामाथिको सोझो हस्तक्षेप हो, हस्तक्षेपकारी दूतावासले माफी माग्नुपर्छ,’ तीनै जिल्लाका सभापतिद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्र प्रेसमा हस्तक्षेपः माओवादी

भारतीय दूतावासले नेपाली सञ्चारमाध्यममाथि ठाडो हस्तक्षेप गरेको भन्दै माओवादीले आपत्ति जनाएको छ । माओवादीको जारी केन्द्रीय समिति बैठकले दूतावासले गरेको हर्कतलाई प्रेस स्वतन्त्रतामाथिको नांगो हस्तक्षेप भनेको छ ।

‘दूतावासबाट कूटनीतिक मर्यादा र विश्वव्यापी प्रेस स्वतन्त्रतामाथि नांगो हस्तक्षेप भएको ठहर गरेका छौँ,’ माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भने । माओवादीले सञ्चार संगठनहरूप्रति ऐक्यबद्धता पनि जनाएको छ ।

माओवादीले दूतावासको अभिव्यक्तिप्रति सरकारको धारणासमेत माग गरेको छ । यसअघि भारतीय दूतावासका कर्मचारीले माओवादी सभासद् एवं केन्द्रीय सदस्यलाई ज्यान मार्ने धम्की दिएपछि माओवादीले दूतावासमा विरोधपत्रसमेत बुझाएको थियो ।

कूटनीतिक हिसाबले बेठीकः कूटनीतिज्ञ भेषबहादुर थापा

भारतका लागि पूर्व नेपाली राजदूत भेषबहादुर थापाले नेपाली मिडिया र भारतीय दूतावासबीच झगडाको वातावरण सिर्जना हुनु कूटनीतिक हिसाबले राम्रो नभएको बताएका छन् । ‘भारतीय दूतावास र नेपालका मिडियाहरूबीच आपसमा झगडा र वैमन्यस्यता हुनु राम्रो भएन,’ उनले भने, ‘यसले कसैको पनि हित गर्दैन ।’ उनले विस्तृत आफूलाई थाहा नभएको र पछि बुझेर मात्रै प्रतिक्रिया दिने उल्लेख गरे ।

उद्योग बन्द गर्ने डाबरको भनाइ

भारतीय संयुक्त लगानीको डाबर नेपालले लगानी फिर्ता लैजाने चेतावनी दिएको छ । डाबरले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार पत्र पठाएर उद्योग बन्द गरी लगानी फिर्ता लैजान लागेको जानकारी गराएको हो ।

डाबरले उद्योगलाई दुःख दिन नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरेको छ । मन्त्रालयलाई पठाएको पत्रमा आफ्नो लगानीलाई निरुत्साहित पार्न नियोजित रूपमा आक्रमण भइरहेको उल्लेख छ । ‘चन्दाआतंक, श्रमिक समस्या, लगानीको असुरक्षाका कारण उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन, लगानीको वातावरण बनाई संरक्षण नगर्ने हो भने लगानी फिर्ता लैजान बाध्य हुनेछौँ,’ मन्त्रालयलाई दिइएको पत्रमा उल्लेख छ ।

डाबरले लगानी फिर्ता लैजाने चेतावनी दिएपछि मन्त्रालयले डाबर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार छलफल गर्दै छ । ‘लगानीको सुरक्षा नहुने हो भने फिर्ता जानेे भन्दै डाबरले आइतबार पत्र पठाएको छ,’ मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले आइतबार साँझ नयाँ पत्रिकासित भने ।

लगानी फिर्ता लैजान्छु भन्ने डाबरको पत्रले सरकार गम्भीर भएको सचिव ओझाले बताए । ‘विदेशी लगानी नआइरहेको अवस्थामा ठूलो लगानी भएको उद्योगले लगानी फिर्ता लैजान्छु भनेकाले सरकार गम्भीर छ । त्यसैले सरोकारवालासँग सोमबार छलफल गर्न लागिएको हो’, उनले भने ।

‘भारतविरुद्ध नेपाली मिडियाद्वारा युद्ध-घोषणा’

भारतीय दूतावासको हस्तक्षेपविरुद्ध नेपाली मिडियाको प्रतिक्रियाविरुद्ध भारतीय मिडियाले नकारात्मक टिप्पणी गरेका छन् । नेपाली मिडियालाई कारबाही गर्न नेपाल सरकारलाई दबाब दिने भारतीय दूतावासको प्रयासलाई भारतीय मिडियाले जायज भनेका छन् भने नेपाली मिडियाको प्रतिक्रियालाई भारतविरोधी र विज्ञापन हत्याउने अभियान भनेका छन् ।

‘नेपाली मिडियाद्वारा भारतविरोधी युद्ध-घोषणा’ टाइम अफ इन्डियाको अनलाइन संस्करणमा आइतबार लेखिएको छ । नेपाली मिडियाले विज्ञापनका लागि भारतीय कम्पनीविरुद्ध समाचार लेखेको भन्दै विज्ञप्ति जारी गरेपछि नेपाली मिडिया संगठनहरूले दूतावासलाई आक्षेप प्रमाणित गर्न अथवा माफी माग्न चेतावनी दिँदै शनिबार विज्ञप्ति जारी गरेका थिए । यो विज्ञप्तिलाई टाइम्स अफ इन्डियाले युद्धको घोषणा भनेको छ ।

टाइम्स अफ इन्डियाले ६ वर्षअघि (वास्तवमा १० वर्षअघि) ऋत्विक रोशन काण्ड पनि नेपाली मिडियाले गराएका हुन् भनेको छ । ‘त्यतिवेला पनि भारतविरोधी भावनालाई बढावा दिने गरी नेपाली मिडियाहरू प्रस्तुत भएका थिए, अहिले पनि भारतविरोधी भावनालाई मलजल गर्न ताजा र नयाँ मिडिया क्याम्पेन सुरु भएको छ,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।

नेपालस्थित भारतीय दूतावासले ‘नेपाली मिडियाहरूबाट आएको चेतावनी’लाई गम्भीर रूपमा लिएको भन्दै धम्कीपूर्ण सन्देश पनि दिइएको छ । ‘विज्ञापन नपाएकै निहुँमा विरोध गर्ने नेपालका केही मिडियाहरूका कारण उत्पन्न एउटा मूर्ख नाटक हेरेर भारतीय दूतवास चुपचाप बस्ने छैन, भारतीय संयुक्त लगानीका कम्पनीहरू बन्द हुने अवस्था आउन दिने पनि छैन, भारतीय दूतावासले यही सन्देश दिन खोजेको छ,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।

नेपाली मिडियाहरूले गरेको यो ‘क्याम्पेइन’ नौलो नभएको उल्लेख गर्दै टाइम्स अफ इन्डियाले यसलाई विगतकै निरन्तरता भनेको छ । विगतमा भारतसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सम्झौता तुहाउन मूलधारका सञ्चारमाध्यमहरू लागेको पनि समाचारमा उल्लेख छ ।

त्यस्तै टेलिभिजनहरूको नेटवर्क आइबिएनको अनलाइन संस्करणमा पनि नेपाली सञ्चारमाध्यमहरूका समाचारलाई हल्ला भनिएको छ । ‘आज राति आकाशबाट गाई खस्दै छ, पाताल जाने बाटो भेटियो, दुई सय किलोको दैत्य घरमा घुस्यो, मूर्दा रेल चढेर दिल्ली जाँदै’ भन्ने समाचार दिएर दुनियाँ हसाउने भारतीय टेलिभिजन च्यानलहरूले सरकारी कार्यालयको अभियोगपत्र र उपभोक्ताको गुनासोसहित छापिएका नेपाली सञ्चारमाध्यमका समाचारलाई हावा भनेका छन् । सो अनलाइनले नयाँ पत्रिका दैनिक, कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनले भारतीय संयुक्त लगानीका कम्पनीका उत्पादनबारे भ्रामक हल्ला फैलाइरहेको आरोप लगाएको छ ।

अर्को भारतीय दैनिक हिन्दुस्तान टाइम्सले भने हस्तक्षेप नगर्न भारतीय दूतावासलाई नेपाली मिडिया संगठनको अनुरोध शीर्षकमा समाचार प्रकाशन गरेको छ । ‘आफूले प्रकाशन तथा प्रसारण गर्ने समाचार सामग्री छान्न हामी स्वतन्त्र छौँ भनेर नेपाली सञ्चारमाध्यमले भारतीय दूतावासलाई सचेत गराएका छन्,’ हिन्दुले लेखेको छ । उसले लेखेको छ, ‘यति ठूलो विषयमा नेपाल पत्रकार महासंघ भने मौन छ ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: