फुटबलको गोर्खाली इतिहास

– मनोज गजुरेल-
अमेरिकामै ‘फुटबल’ चिन्दैनन् ‘सकर’ भन्नु पर्दछ- भने फुटबलको जन्म अंग्रेजले गरे भनेर कसरी पत्याउने ! मलाई लाग्छ ‘फुटबल’ विशुद्ध नेपाली खेल हो र कुनै नेपाली भाषीले नै यसको नामाकरण गरेको हुनु पर्दछ । यदी बेलायतबाटै यसको शुरुवात भएको मान्ने हो भनेपनि श्री ३ जंगबहादुर लण्डन गएको बेला पहिलो पटक उनकै मुखबाट यसको उच्चारण र तिनकै हातबाट खेलको उद्घाटन भएको हुनुपर्दछ- अस्पष्ट इतिहासकार श्री हनुमान शाहको अनुमान छ !

श्री हनुमानको अनुमान अनुसार जंगबहादुरलाई बेलायतकी महारानीले एउटा भकुण्डो उपहार दिएकी थिइन् । त्यसको प्रतिकृयामा जंगबहादुरले ‘थ्यांक्यू गुडगर्ल !’ भन्न खोज्दा कमजोर अंग्रजीज्ञानका कारण ‘ठ्यांक्यू फुटबल !’ भने होलान् । त्यसैदिनदेखी महारानीले त्यो बेनामे भकुण्डोको नाम ‘फुटबल’ राख्न आदेश दिएको हुनसक्छ । उनको अर्को अनुमान अनुसार बकिम्घम प्यालेसले आयोजना गरेको एउटा खेलमा जंगबहादुर स्वयम् खेलाडी बनेका थिए । उनले जमाएर हानेको भकुण्डो पर्खालमा बज्रियेपछि आत्तिएका उनको मुखबाट निस्किएको शब्द ‘ला, फुट्यो वाल!’ सुनेर रेफ्रीले त्यसबेलासम्मको उक्त बेनामे खेलाको नाम ‘फुटबल’ राखेको हैन भन्ने आधारपनि छैन !

‘Foot, फुट’ फुटमाने पैताला । पैतालालेमात्रै खेल्ने भए पो यॊ अंग्रेजीबाटै आएको हो भनेर बिश्वास गर्नु ! टाउकोको ‘हेडिङ’देखी कुर्कुच्चाको ‘किकिङ्ग्’सम्म यस खेलमा नियमससङ्गत मानिन्छ ! ढाडले रोक्नेपनि सही, छातीले छेक्नेपनि सही, हातबाहेक शरीरका अधिकांस अंग चलाएमान हुने खेल कसरी ‘फुटबल’मात्र भयो यो त ‘सर्वांगबल’ पो भयो त’- श्री हनुमानको अनुमान छ । यदी यो शब्द अंग्रेजीबाट आएको हो भने फुटबल हैन ‘फुडबल’ हुनुपर्छ । सम्पन्नहरुले खाना पचाउन खेलिने भएकोले अथवा बिपन्नहरुले खाना जुटाउन प्रतिपर्धामा उत्रिने कारणले यसखेललाई ‘Foodसङ्ग जोडेर ‘फुडबल’ भनिएको हनुमानको अनुमानलाई पनि अन्यथा मान्दैनन् ।

हनुमानमात्रै किन, अनुमान त जसको मनले गरेपनि भयो । खप्परध्वजको तर्क छ- आमा अर्जेन्टिनाको पक्षमा, बाबु ब्राजिलको बिपक्षमा ! दिदी डेनमार्कतिर, भिनाजु भेनेजुयलातिर !छोरी पाराग्वेले जिते लुत्रिने, बुहारी बेलायतको बिजयमा उफ्रिने ! कोही कोरियाको हारमा कराउने, कोही जर्मनीको जीतमा डराउने ! खेललाई खेलमात्रै नमान्ने, जिन्दगीको रेल नै ठानेर झुण्डिइ रहने !युरोपका बिरुद्ध एसिया लडाउने, अफ्रिका भर्सेज अमेरिका भिँडाउने ! मान्छेको एकाग्रता टुटाउने, परिवारिक एकता मेटाउने, जितमा श्रीसंपती लुटाउने, हारमा आफ्नै टाउको फुटाउनेजस्ता कारणले यो खेलको नाम ‘फुट बल’ रहन गएको हो !

खुला अर्थतन्त्रको सुपरमार्केटमा आफ्नो तर्कको बजार थाप्न सबै स्वतन्त्र छन् । खप्परध्वजको माथीको तर्कसंग मेरो तर्क प्रतिपर्धामा उत्रन चाहान्छ । फुटबलले फुटाउने हैन, जुटाउने गर्दछ । युद्धमा हराउनेसरदार राष्ट्रहरुदेखी बुद्धमा रमाउने सदाबहार राष्ट्रहरुसम्मलाई बिश्वकपले एकै ठाउंमा जुटाइ दिएको छ । ‘कमनिष्ठा’ दक्षिण कोरियाहुदै ‘कम्युनिष्ट’ उत्तर कोरिया समेत एउटै मैदानमा लात्ती बजार्दैछन् । म त भन्छु- यो खेलको नाम फुटबल हैन ‘जुटबल’ राख्नु पर्दथ्यो ।

‘जुटबल’लाई किन ‘फुटबल’ भनिएको होला- तर्कका उत्पादकहरु नयां नयां माल निकाल्लान् । कोही भन्लान्- यो न फुटबल हो, नत ‘जुटबल’ ! यो त ‘लुटबल’ हो ! सबैजना फुटबल हेर्न टिभीमा टांसिइरहेको बेला उता सबै सामान चोर फटाहाहरुबाट लुटिएकाहरुलाई यो तर्क पनि ठिकै लाग्दो हो । सनकी खेलाडीको कुटाइ खाएर मैदानमै ढलेका रेफ्रीहरुले यो खेल फुटबल हैन यो त ‘कुटबल’ रहेछ भनेपछि ‘हो’ ‘हो’ भन्न करै लाग्यो । बल खेलेर भ्यात्ते जिउपनि सिन्काजस्तो स्लिम बनाउनेहरुले के को फुटबल, यो ‘गुडबल’ रहेछ भन्दाखेरी पनि मान्नै पर्यो । मैदानमै खेलाडीले खेलाडीलाई गोरु चुटाइ चुटेको देख्दा ‘चुटबल’ पो रहेछ भन्ने त सबैलाई लागी हाल्दछ !

मनपर्दो खेल हेर्न छुटाउनेहरुका नजरमा यो ‘छुटबल’ होला, आधाखेलमै निदाउंनेहरुहरुका लागि ‘टुटबल’ होला ! खेलै मन नपराउनेहरु ‘ऊंटबल’ भन्लान्, ब्रेन बिग्रएकाहरु ‘सुटबल’ भन्लान् र मैदानमै आतंक मच्चाउंदा होलान् ! अगाडीको फुट, छुट, जुट, चुट,आदीमा गनगन भएपनि पछाडीका ‘बल’मा भने सबैको बिचार मिलेको देखिन्छ । तर बल भएरमात्रै हुदैन, त्यसमा हावाको बुद्धीपनि भर्नुपर्छ । बलमा बुद्धी भयो भने संसारलाई एक ठाउंमा ल्याउन सकिँदो रहेछ भन्ने कुरा विश्वकपले विश्वास दिलायो त !

मेरो गौरवखाली खप्पर पार्टीको ठम्याइ छ- कैलेकाहीं क्रिकेटको बल फुट्न सक्छ- बरु त्यसलाई ‘फुटबल’ भनौं । बलजत्रो हांडी फुटाउने खेलपनि एकखाले ‘फुटबल’ नै हो । किक र काता प्रहारले खेलाडीका बलजत्रा खप्परहरु फुटेको देख्दा मलाई त ‘जुडो करांते’पनी फुटबलजस्तो लाग्छ ! मुख्य फुट्बल त राजनैतिक शक्तिहरु हुन जसले समाजलाई टुटाउने र फुटाउने गर्दछन ।

अत:संसार जुटेर खेलिरहेको, हेरिरहेको ‘जुटबल’ लाई ‘फुटबल’ भन्नु चाँही अर्थ न बर्थ गोबिन्द गाई भुंडीमा मुसा घांटीमा टाईजस्तो भयो । कि कसो !!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: