नयाँ नेपालको नयाँ पत्रकारिता

KUNDA DIXIT

कुन चाहिँ पेशा सबैभन्दा बढी बदनाम छ भनेर केही वर्षगाडि अमेरिकामा एउटा मत-सर्वेक्षण गरेका थिए रे । नैतिक हिसाबले सबैभन्दा कमजोर मानिने A new media for a new Nepalवकिल रहेछन् । तर कानुन व्यवसायीहरूपछि सबैभन्दा अलोकप्रिय पत्रकारहरू नै परे ।

शायद नेपालमा पत्रकारहरू त्यति बदनाम नै भइसकेका छैनन् होला, तर हाम्रो सामूहिक चरित्र पनि त्यति आशाजनक छ भन्न सकिँदैन । हाम्रा पाठकहरूले हामी धेरैलाई गैरजिम्मेवार, घमण्डी, अरूलाई नगन्ने, नकारात्मक सोच राख्ने र भ्रष्ट भन्न रुचाउँछन् ।

यसो किन भयो ? यसलाई कसरी बदल्ने ? पत्रकार, पत्रिका र पत्रकारिता पढाउनेले के गर्नुपर्छ ? केही चाहिँ गर्नै पर्छ, किनभने हामीलाई थाहा छ, मिडिया बलिया भए मात्रै हाम्रो देशको लोकतन्त्रको जग बलियो हुन्छ । व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता एउटै सिक्काका दुई पाटा हुन् । प्रेस स्वतन्त्रता पत्रकारहरूको मात्र अधिकारको विषय होइन, हामी पत्रकारहरूले त जनताको सुसूचित हुने अधिकारलाई रक्षा मात्र गरेका हौं । हामीले त्यो अधिकार जति इमानदारी साथ पालना गर्छौ । त्यतिकै जनताको शासनलाई बलियो बनाउँछ र मिडियाकै विश्वसनीयता पनि बढ्छ । लोकतन्त्र बलियो भए मात्र विकास, न्याय र शान्तिलाई टेवा पुग्छ ।

स्वतन्त्र पत्रकारितालाई तीनतिरबाट प्रहार भएको अनुभव हामीमाझ छ । सत्ता पक्षबाट त पञ्चायतकालमा प्रजातन्त्रलाई जस्तै प्रेसमाथि पनि अङ्कुश लगाइएको थियो । तर २०४६ सालको प्रजातन्त्रको पुर्नर्बहालीपछि पनि सरकारी समाचारमाध्यमलाई प्रोपोगाण्डाको यन्त्रको रूपमा प्रयोग भयो । राजा ज्ञानेन्द्रको १९ माघको ‘कु’ पछि त झन् हुन्ताको मारमा परेर मिडिया ङ्याँकियो । सिपाहीहरू नै न्यूजरुमभित्र छिरेको यो नेपाली इतिहासमै पहिलो पटक होला । माओवादीहरू निर्वाचित भएर सरकारमा आउँदा पनि नेपालका राष्ट्रियस्तरका पत्रिकाहरू भौतिक कारबाहीमा परे जसरी पहिले जिल्लाका पत्रकारहरू परेका थिए । तर मिडियाले अर्का किसिमको सेन्सरसीप पनि भोग्नुपरको छ, त्यो हो अत्यधिक व्यापारीकरणबाट पत्रपत्रिका, टिभी र रेडियोमा आउने विकृति । धेरै वर्षम्मको प्रजातन्त्र र प्रेस स्वतन्त्रताको अभ्यास भएका मुलुकहरू (जस्तै भारत र अमेरिका) पनि अति-व्यापारीकरणको प्रभावबाट बचेका छैनन् । तेस्रो चुनौती भनेको सेल्फ-सेन्सरसीप हो, जुन अहिले नेपालको मिडियामा व्यापक छ भन्नर्पर्छ । अहिलेको सङ्क्रमणकालमा दण्डहीनताको प्रकोप र विधिको शासन फितलो छ र राजनीतिक तरलताले सरकारविहीन अवस्था छ । यस्तो बेलामा पत्रकारहरू नै निशाना बनेका छन् । राजनीतिको अपराधीकरण र अपराधीहरूको राजनीतिकरणले गर्दा पत्रकारहरूलाई कसले मार्‍यो, अपहरण गर्‍यो, धम्क्यायो भन्न सक्ने अवस्था नहुँदा पत्रकारहरूले व्यक्तिगत सुरक्षाको लागि नै सबै तथ्य सम्प्रेषण गर्न चाहँदैनन् । पेशागत जोखिमले समाज नै ग्रस्त भएको बेला यो मिडियालाई मात्र खतरा बढेको पक्कै होइन, तर पत्रकारहरू फ्रन्टलाइनमा परेका चाहिँ हुन् ।

यस्तो परिस्थितिमा हामीले कसरी पत्रकारितालाई बचाउने र राष्ट्रको चौथो अङ्गको रूपमा खडा गर्ने – सङ्क्रमणकालमा राष्ट्रका अरू तीन अङ्गहरू (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) कमजोर हुन्छन्, त्यसबेला मिडियाको भूमिका अझै महत्त्वपुर्ण हुन्छ । तर यस्तै बेला मिडियामा बढी व्यापारीकरण देखियो, सेल्फ-सेन्सरसीप भयो अथवा पत्रकारहरूलाई तालिम पुगेन र स्तरहीन र सनसनीपुर्ण सामग्री मात्र सम्प्रेषण हुन थाल्यो भने लोकतन्त्र नै धरापमा पर्न सक्छ । विकासको सट्टा विनास ल्याउँछ  ।

अहिले हाम्रो जस्तो मुलुकमा एउटा नयाँखालको पत्रकारिताको खाँचो छ । पश्चिमा मुलुकहरूका मिडिया-नियमहरू हामीकहाँ सबै सान्दर्भिक हुँदैनन् । तर पुर्वी एसियामा देखिने प्रेसमाथिको दमन र सरकारको गुणगान मात्रै गर्ने मिडिया पनि हामीले भोगिसक्यौँ र त्यो पनि चाहिएको छैन ।

यो नयाँखालको पत्रकारिता कस्तो हुनुपर्ला ? अहिलेको युद्धपछिको समाजमा त पहिले देशलाई हिंसा र द्वन्द्वबाट मुक्त गर्ने खालको रिपोर्टिङ चाहिएको छ । सङ्क्रमणकालमा जहिले पनि र जहाँ पनि समाधानमूलक पत्रकारिता चाहिन्छ, विकसित र राजनीतिक स्थिरता भएको देशको जस्तो पत्रकारिता हामीकहाँ प्रत्युत्पादक हुन्छन् । झगडियाहरूको मात्र समाचार बन्ने, जसले बढी उग्र कुरा गर्‍यो, जसले बढी करायो, उप्रियो, उसैको कुरा हेडलाइन हुने हो भने हामीकहाँ राजनीतिका झगडा र खिचातानीको कहिल्यै अन्त्य हुँदैन । पत्रकारले मात्र गरेर नेताहरू झगडा गर्न पक्कै छाड्दैनन्, तर अहिले पत्रकारिताले त्यस्तैलाई प्राथमिकता दिएकाले गर्दा मिडिया नै यो समस्या बनेको चाहिँ हो ।

अहिले नेपाली पत्रकारिताको चुनौती र दायित्व जनतालाई नकारात्मक सोच र नैरास्यताबाट माथि उठाउनु र शासक वर्ग र नीतिनिर्माताहरूलाई उत्तरदायी र जिम्मेवारीबोध गराउनु हो । हालका पत्रकारहरूलाई बदल्न गाह्रो होला तर भावी पुस्तालाई हामीले उच्चस्तरको मिडिया र सञ्चारको पढाइ र पत्रकारिताको तालिम दिलाउनुपर्छ ।

अहिले नेपालमा पत्रकारिता “कसरी” गर्ने मात्र होइन कि पत्रकारिता “किन” गर्ने भन्ने कुरा मिडिया पाठ्यक्रममा चाहिएको छ । मलाई पूरा विश्वास छ कि यसले नेपालमा पत्रकारिताको पठनपाठनको प्रवृत्तिले एउटा नयाँ आयाममा प्रवेश गर्नेछ र यसले लोकतन्त्र र समृद्धि पनि ल्याउने छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: