एउटा सुन्दर जीवन

imageयस दुनियाँमा जम्मा आठवटा आश्चर्य छन् भनिन्छ । चीनको पर्खाल, बेबिलोनको झुल्ने बगैँचा आदि । समुद्रमुनिको दुनियाँ जति अनौठो छ, अन्तरीक्षका आश्चर्य भिन्नै छन् । यसै मानव समाजमा छन् कतिपय आश्चर्य, जो शारीरिक अवस्थामा अति कमजोर छन्, तर मानसिकता र इच्छाशक्तिका हिसाबले संसारमै उत्कृष्ट स्थान बनाएका छन् । समयको इतिहास लेखेर खगोल अनुसन्धानमा बेजोड योगदान गर्ने स्टिफन हकिन्स एक आश्चर्य हुन् भने हाम्रै धनकुटेली युवती झमक घिमिरेको इच्छाशक्ति अर्को आश्चर्य हो ।

खुट्टाको सहायताले घिस्रेर हिँड्ने, मुखबाट कुनै स्पष्ट आवाज निकाल्न नसक्ने एउटी लेखिका आफ्ना सबै काम आफैँ गर्दै थिइन् । खुट्टाले नै साहित्य लेख्ने उनले दुई खुट्टाको सहायताले खाना खाइन् । घिसि्रँदै बाथरुमको ढोकामा पुगेकी उनी त्यसैको आड लागेर खुट्टाले नै दाँत माझ्न थालिन् । खुट्टाले जग समातिन्, मुख कुल्ला गरिन्, र हामीसामु आएर अन्तर्वार्ता दिन तयार भइन् । सन्चै हुनुहुन्छ ? हाम्रो पहिलो प्रश्न फुत्केपछि उनले खुट्टाको औँलाले च्याप्प कलम समातिन्, त्यसमाथि कुर्कुच्चो राखिन् र ती खुट्टा बिस्तारै कापीमा सल्बलाउन थाले । र, ती खुट्टाले सुन्दर अक्षरमा लेखिन्, ‘सन्चै छु । जसोतसो बाँचिएकै छ ।’ वास्तवमा जसले झमकका गतिविधि अवलोकन गर्ने मौका पाउँछ, ऊ आश्चर्यमै पर्छ ।

० ० ०

सानो अनुहारमा चस्माको प|mेमभित्रको सानै आँखा चम्किला देखिएका छन् । झमकको खुट्टा कापीमा सल्बलाइरहेका छन् । तर यस्तो लाग्छ, उनको मनले अर्कै यात्रा गरिरहेको छ । झर्कोलाग्दो जीवन र शारीरिक अवस्थाले थोपरिदिएको कष्ट र बाध्यतालाई आफ्नो कडा इच्छाशक्तिले दमन गर्छिन् उनी । तीस वर्षदेखि यस धर्तीमा बाँचिरहे पनि उनलाई यो जिन्दगी मन पर्दैन । कतिपय मानिस यस्तो अवस्थासँग तर्सेर जिन्दगीबाटै सन्न्यास लिन्छन् । तर झमक भने त्यसरी भाग्दिनन्, कडा संघर्ष गर्छिन् । भन्छिन्, ‘यो विवश जिन्दगी बाँच्नुको लत लागिसकेको छ ।’

कहिलेकाहीँ यो जिन्दगी बुढेसकालको समयजस्तै गह्रुँगो लाग्छ रे उनलाई । ‘म धेरैपटक रोएको छु आफ्नै जिन्दगी देखेर,’ झमकलेे भनिन्, ‘भयानक कष्ट र पीडाभित्र पलपल छट्पटिएर बाँचँे म ।’ भर्खरै प्रकाशित झमकको किताब ‘जीवन काँडा कि फूल’मा एक ठाउँमा उनले लेखेकी छिन्, ‘एउटा बोझिलो जीवन जसरी भए पनि बाँचेँभन्दा अहिले बिरलै मान्छेले पत्याउलान् । सत्य एकदमै तितो हुन्छ, वास्तविकता पनि उत्तिकै खल्लो । कहिलेकाहीँ स्मृतिका पानाहरू पल्टाएर हर्दा म स्वयंले धेरैपटक आँसु चुहाएकी छु । हुन पनि म कत्ति अभागी, भाग्यरेखा कोरिएर आमाको गर्भबाट भुइँमा खसेकी रहिछु ।’

उनको आत्मवृत्तान्त पढ्दा थाहा हुन्छ, उनको जीवन विवशता जस्तो, एउटा झर्कोलाग्दो समय-रेखाबीच गुजि्रयो ।

यो जिन्दगी कस्तो लाग्यो झमकलाई ? प्रश्न सुनेर केही छिन घोरिएकी झमकका खुट्टाले बिस्तारै कलम समाए र लेखे, ‘समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा समय बाँचेको हुन्न । हामी जिन्दगीलाई विभिन्न रूपमा अथ्र्याउँछौं र जिन्दगीको खोजीमा लाग्छौँ । जिन्दगी यहीँ कतै छ । यसकै लागि मानिस धेरैखाले जोखिम उठाउँछन् । तर, जिन्दगी कतै फेला पर्दैन ।’ यति लेखिसकेपछि टक्क अडिएकी झमकले दिक्क मानेजसरी हामीलाई हेरिन् र फेरि लेखिन्, ‘भयो यो जिन्दगीको कुरै नगरौँ ।’

घाम ढल्ने वेला अथवा जुनेली रातमा कतै टाढा, डाँडामाथि देखिने अग्ला रूख वा वनस्पतिका आकार, पर्वतका आकार, कुनै वस्तु वा व्यक्तिका आकार एकदम अस्पष्ट हुन्छन् । झमकले देखेको जिन्दगी पनि यस्तै हो- अस्पष्ट र किरिङमिरिङ रेखाजस्तो । उनी स्वयंको अनुभव यस्तो रहेछ ।

० ० ०

झमकले सानैमा थाहा पाइन्- आफ्ना धेरै अङ्ग चल्दैनन्, हात चल्दैन, ओठ चल्दैन । सबै अंग छन् । तर, तिनले काम गर्दैनन् । यो थाहा पाउँदा झमकको दिन निकै कहालीलाग्दा थिए । थाहा पाउनुभन्दा अघि परिवार र समाजले यो देखेर ती सानी नानीप्रति अभिव्यक्त गरेका धारणा र विचार, देखाएका व्यवहारले झमकलाई झन् दुःखी बनायो । ‘घृणा, निराशा, जलन र अव्यक्त छटपटीले निकै रोएँ,’ उनले भनिन् । ती सबै कुरा झमकबाहेक कसले अनुभव गर्न सक्छ र ? झमकको गाउँमा अन्धविश्वास, अभाव, गरिबी अग्लो पहाड भएर उभिएको थियो । त्यसलाई छेडेर आफू बाहिर निस्कन नसक्दाको स्थिति, त्यो अन्योल, छटपटी र अन्धकार सम्झँदा झमकलाई अहिले पनि कहाली लाग्छ ।

झमकका बुबा घरको फलैँचामा रामायण पढ्थे । झमक पुस्तामा घिसि्रँदै बल्ल-बल्ल फलैँचामा उक्लिन्थिन् र बाबुको काखमा लुटुपटु गर्न पुग्थिन् । बाबुले पढ्दै गरेका रामायणका ठुल्ठूला अक्षर साह्रै गौरसँग हेर्थिन् । उनलाई बिस्तारै लाग्न थाल्यो- ‘यी अक्षरहरू मैले पनि पढ्न पाए ?’

१७ वर्षको उमेर भइसकेपछि झमकले एक्कासि त्यो आफ्नो जीवनमा लागेको कालो बादल छेडिन् र उज्यालोमा आइन् । तर, एक्लै । नितान्त आफ्नै प्रयासले । उनको जीवनको त्यो संघर्ष अकल्पनीय छ । उनको जीवन भोगाइ कोही पनि आममानिससँग मेल खाँदैन ।

उनले एक्कासि अक्षर लेख्न थालिन् । कसरी ? जीवन काँडा कि फूलमा एक ठाउँमा उनले लेखेकी छिन्- अहिले सम्भिइरहेकी छु, मैले त्यस पलको हर्ष कसैसँग बाँड्न सकिनँ । तर, मैले जिन्दगीमा पहिलो अक्षर भुइमै भए पनि लेख्न जानेकी थिएँ, मनमनै भए पनि उच्चारण गर्न जानेकी थिएँ । म यति खुसी भएकी थिएँ, मैले पटक-पटक धुलो उडाएर लेखेकी थिएँ ‘क’ । किनभने मैले यही अक्षर चिन्नको लागि पटक-पटक सिन्का भाँचेँ, धुलोमा औँला धसारेर कलिला छाला उप्काएँ । त्यति मात्र होइन, बिहानको शीत बटुकामा थापेर त्यसमा औँला चोबलेर, ढुंगामा रगटेर अक्षर लेख्दा रगत छरछरी बगाएकी थिएँ ।’

‘त्यसवेलासम्म म सबैको आँखामा काँढासरी बसेकी थिएँ । मेरो जन्म एउटा श्रापजस्तो थियो,’ उनले भनिन्, ‘जीवन किन बाँच्नु जस्तो पनि लाग्थ्यो ।’

‘तर, जब लेख्न सिकेँ, खुला आँगन मेरो नोटबुक बन्यो । साना-साना ढुंगा, माटो र मेरा औँलाहरू मेरो पेन्सिल र इरेजर बने,’ झमक सम्भिन्छिन्, ‘त्यसवेला मैले मेरो जिन्दगीमा नयाँ रंग थपिएको देखेँ ।’ त्यसपछि उनको कलम कहिल्यै रोकिएन । कविता र निबन्ध गरेर उनका दस पुस्तक प्रकाशित छन् ।

उनका जीवनका यी भोगाइ एनी सलिभान र हेलेन केलरसँग मिल्छन्, जसका बारेमा विश्वमा सयौँ कृति लेखिएका छन् । उनको जीवनकथाले केही वर्षअघिको चर्चित भारतीय फिल्म ब्ल्याक सम्झाउँछ ।

पुस्तकको एक ठाउँमा झमकले आफूलाई अरूले दिएको उपमा भीरफूल, सुनगाभा आदि उल्लेख गरेकी छिन् । झमक जीवनपथमा धेरैपटक आफू चढ्दै, लड्दै, साह्रै निराश हुँदै, फेरि होस सम्हाल्दै यो उज्यालोमा आइपुगेकी हुन् । उनको जीवनयात्रा एउटा कठिन संघर्षपथ लाग्छ ।

० ० ०

कुरा झमकको जीवन-संघर्षको भइरहेछ । संवादमा ‘भगवान्’ निस्कियो । सानोमा उनको नचल्ने शरीर देखेर मान्छे उनलाई साक्षात सरस्वतीको रूप ठानेर भेटी चढाएर ढोग्थेँ, फलफूल ल्याएर चढाउँथेँ, कसैले यो साक्षात भगवान्को रूप भन्थे । ‘म उनीहरूलाई विनम्रतापूर्वक भन्थेँ- म कुनै देउताको रूप होइन, म मान्छे भएरै बाँच्न चाहन्छु,’ उनले सुनाइन्, ‘साँच्चै मैले कहिल्यै भगवान्को स्वरूप देखेकी छैन । तर, आफैँलाई देउताको स्वरूप भनेर पुजिँदा आफैँलाई अचम्म लाग्यो । देउता भन्ने चीज मान्छे आफैँले कल्पना गरेर सृष्टि गरेको रहेछ ।’

उनी ‘भगवान्को अस्तित्व’लाई अस्वीकार गर्छिन् । ‘भगवान् भन्ने नै हुँदैन,’ उनी भन्छिन्, ‘त्यो मान्छेको मनमा गढेर बसेको विश्वास मात्र हो ।’ यो बहस गरिनसक्नुको विषय हो । पार पाउन नसकिने विषय हो । पश्चिमाहरूको एउटा भनाइ छ- ईर्श्वर, नैतिकता र सत्यको विषयमा नपस्नू, तिमी पार पाउन सक्ने छैनौ ।

तर, झमक मानिसले मान्ने धर्मप्रति भने सहिष्णु रहिछन् । ‘समाजमा वैचारिक अनेकता र विविधता हुन्छ,’ उनले भनिन्, ‘मलाई संस्कृतिको गहिरो प्रेम छ । तर, तीभित्र हुर्किरहेको विकार मन पर्दैन ।’

उनी भगवान्का तस्बिर देखेर सधैँ एउटै प्रश्न गर्थिन् रे- ध्यानमग्न बसेका महम्मद, क्रसमा झुन्डयाइएका येशु, शिष्यहरूलाई ज्ञान दिइरहेका बुद्ध या गोपिनीहरूसँग नाचिरहेका कृष्ण साह्रै सुन्दर छन् । कहिलेकाहीँ उनको मनमा प्रश्न उठ्थ्यो-देउताहरू किन कुरूप हुन नसकेका होलान् ?’ ‘मान्छेले देउताको रूपको कहिल्यै नराम्रो कल्पना गर्नै सकेन,’ उनले भनिन्, ‘सकोस् पनि कसरी उसलाई देउतैले सृष्टि गरेको भन्ने सानैदेखि सिकाइएको छ ।’ तर, उनले यी प्रश्नको उत्तर पाएकी छैनन्- एउटा देउता मान्नेले अर्को देउता मान्ने मान्छेसँग किन झगडा गर्छ ? त्यसो भए मान्छेले देउताको नाममा किन झगडा गर्छ ? कहिलेकाहीँ यी प्रश्न सोचेर उनी घन्टौँ टोलाउँछिन् र निष्कर्ष निकाल्छिन्- यो संसार विचित्रको छ ।

० ० ०

बितेको ६ महिनादेखि काठमाडौँमै बसिरहेकी यी साहित्यकारलाई काठमाडौँको ट्राफिक जाम मन पर्दैन । त्यसैले, उनी पढेरै बसिरहेकी भेटिन्छिन् । लेख्ने, पढ्ने वा एक्लै बस्ने जोस चलेका वेला धुम्धुम्ती बसि मात्रै रहन्छिन् । उनलाई त्यसै-त्यसै कल्पनामा हराउन मन लाग्छ । चर्को संगीत मन पर्दैन । उनी कुनै सम्झनामा खुसी हुन्छिन् त कुनै सम्झनामा दुःखी । प्रश्न सुनेर पुलकित भएका वेला उनको अनुहारमा मोहक मुस्कान देखिन्छ । अनुहारको कान्ति बढेको देखिन्छ ।

यी कवयित्री कहिले मौनतामा कुनै पूर्वसमयको सयर गरिरहन्छिन् मनबाटै । कहिले गफ गरिरहेकी हुन्छिन्, दिमागसँग । उनी केही सोध्छिन् मनलाई, मनले त्यसको जवाफ दिन्छ । आफ्नै मनसँग मात्रै गफ गरिरहने कवि, कहिले लाग्छ, निकै एकांकी स्वभावकी छिन् । तर, उनलाई लाग्छ- कहिल्यै झुटो नबोली, इमानदारीपूर्वक, सत्यको बाटोमा हिँडिरहयो भने मनसँग गहिरो गरी साक्षात्कार हुन सक्छ ।

० ० ०

०६३ मा बेमौसमका आस्थाहरूको प्रकाशनपछि तीन/चार वर्षसम्म उनले कडा साधना गरिन् र जीवन काँडा कि फूल निस्कन सम्भव भयो । त्यसयता देश र गणतन्त्रले जत्ति नै उतार-चढाव झमकले पनि आफ्नो जीवनमा भोगिन् । ‘हरेक बिहान नयाँ सूर्यसँगै नयाँ योजना बनाउँथेँ,’ उनले भनिन् । दिन, महिना र वर्षहरू बित्दै जाँदा योजना र रहरहरू पनि थपिँदै जान्छन् । ‘प्रत्येक वर्ष किनारा लाग्न नपाउँदै नयाँ वर्षमा गर्ने कामका योजना, रहर र सपनाका बारेमा सोच्थेँ,’ झमकले भनिन्, ‘मलाई सधैँ लेख्नु थियो र पढ्नु थियो । त्यसैले वर्षहरू बितेकोमा शोकगीत होइन डायरीमा उत्साह र जोस लेख्थेँ ।’

आफूले चाहेको, सोचेको कुरा नहँुदा वा लेख्न नसक्दा रिस कत्तिको उठ्थ्यो ? ‘रिस उठ्थ्यो, मैले भनेको कुरा नहुँदा,’ उनले भनिन् । झमकलाई लाग्छ, आफूलाई जस्तै सबै युवालाई रिस उठ्छ । अनि सबै युवामा प|mस्टे्रसन पनि हुन्छ । ‘आजको युवापुस्ता खुब प|mस्टे्रसनमा छ । देश, काल र परिस्थितिले उसलाई प|mस्टेट बनाइरहेको छ,’ युवाबारे उनले सुस्तरी लेखिन् ।

० ० ०

झमकलाई लाग्छ, उनी पनि जिन्दगी खोज्न यो लेखाइको दौडमा सामेल छिन् । तर, हिँड्दाहिँड्दै धेरै कुरा छुट्दै जान्छन्-धेरै घुम्तीहरू । आफन्तका मायाहरू । जति दौडे पनि ‘जिन्दगीको सन्तुष्टि’ फेला पर्दैन भन्ने उनलाई लाग्छ । तर दौडनु बाध्यता हो, एककिसिमले उनी दौडिरहेकी छन्, तर उनका प्रतिस्पर्धी कोही छैन । उनी स्वयं एक हुन्- जसको अर्को अवतार कतै देखिँदैन ।

उनी सपना देख्छिन् । तर, सपनाबारे भन्दिनन् । ‘मैले देख्ने सपनाका बारेमा मौन रहन्छु,’ उनले भनिन् । तर, उनले देख्ने गरेको सपनामा पनि जिन्दगी छैन रे । ‘निराश हामी जिन्दगी खोज्दै विदेसिन्छौँ, यताउता भौँतारिन्छौँ,’ उनी थोरै भावुक बनिन्, ‘कतारको तरकारी बारीमा जिन्दगी खोज्न जान्छौँ, भेडीगोठमा जिन्दगी खोज्छौँ । हामी अधीर छौँ । के अमेरिका जानेहरूले खोजेजस्तो जिन्दगी भेट्टाए त ?’ जीवन र सास फेर्नुलाई हामीले एउटै ठानेछौँ । बाँच्नुको अर्थ नमर्नु होइन भनेर पनि बुझेनछौं । पाउन्ड, डलरको मूल्यांकनको परिभाषामा समेटिएछौँ । कति अवमूल्यन भएछ जिन्दगीको ?

झमकको अशक्तताले देखाउँछ- उनको जीवन अरूले बाँचेकोभन्दा नितान्त फरक छ र कष्टमय पनि । उनीभित्र मनोरम कल्पना, महत्त्वाकांक्षा र सुन्दर भविष्य पनि छ । झमक अशक्तताको भीषण राक्षसविरुद्ध लडिन् र लडाइँलाई नै जीवन मूल्य स्विकारिन् ।

रुसोले भनेका छन्- हामीसँग गरिएको एउटा उपहास हो जिन्दगी । कति ठूलो षड्यन्त्र भएको रहेछ हामीसँग कि जीवन नै उपहासमा परिणत हुन्छ ।

शारीरिक अपांगताका सिकार बन्ने सबै कहाँ झमककुमारी हुन सक्छन् र ? उनको जीवनी हेर्दा लाग्छ, संसार भोग त्यसैले गर्न सक्छ, जसले इच्छाशक्तिले कष्टहरूको दमन गर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: