निष्कष o

imageकाठमाडौं, १९ असार

सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको एक साताको समयमा तेस्रो रातिसम्म पनि दलहरू सामान्य सहमतिमा पनि पुगेका छैनन् । यसबीचमा भएका बैठक प्रमुख राजनीतिक दलहरूको पुरानै अडानका कारण विनानिष्कर्ष टुंगिएका छन् ।

राष्ट्रपति डा. रामवरण यादवले एक साताभित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न राजनीतिक दलहरूलाई १७ असारमा आह्वान गरेका थिए । शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन वर्तमान सत्तारुढ गठबन्धन असफल भएको भन्दै माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बनाउन अरू दलहरूलाई आग्रह गरेको छ । तर, कांग्रेसले आफ्नै नेतृत्वमा दाबी गरेको छ । एमालेले भने जसको नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा सरकार बनाउने नीति लिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको सरकारको राजीनामापछि आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाउन गृहकार्य सुरु गरेको माओवादीले शनिबार कांग्रेस, एमाले र फोरमसँग छुट्टाछुट्टै छलफल गरेको थियो । प्रधानमन्त्रीको राजीनामालगत्तै माओवादीले राष्ट्रिय संयुक्त सरकार बनाउन छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा. बाबुराम भट्टराई सदस्य रहेको कार्यदल बनाएको थियो ।

माओवादी लडाकुको व्यवस्थापनको टुंगो नलागेसम्म माओवादीलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिन नहुने कांग्रेस र एमालेको अडान छ । प्रचण्डनिवास नयाँबजारमा भएको एमाले र माओवादीका शीर्ष नेताहरूको बैठकमा माओवादी नागरिक पार्टीमा रूपान्तरित नभएसम्म उसको नेतृत्वमा सरकार बन्न नसक्ने एमालेको अडान थियो भने माओवादीले ठूलो पार्टी भएकाले सहमतिको सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी दोहोर्‍याएको थियो ।

शिविरभित्र रहेका माओवादी लडाकु समायोजन, व्यवस्थापन, कब्जा सम्पत्ति फिर्ता, वाइसिएललाई ब्यारेकबाट हटाउनुपर्ने र यसअघि भएका अन्य सहमतिको कार्यान्वयन नगरेसम्म माओवादी नेतृत्वमा सरकार बनाउन दलहरूबीच सहमति जुट्न नसक्ने एमाले नेताहरूले अडान प्रस्तुत गरेका थिए । ‘राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्नेमा दुवै दल सहमत छौँ,’ एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘तर, शान्ति र संविधानसँग गाँसिएका विषयमा माओवादी स्पष्ट नभएसम्म अहिलेकै अवस्थामा उसको नेतृत्व कठिन छ ।’

माओवादीले भर्खरै राजीनामा दिएको सरकार पनि एमाले नेतृत्वकै भएकाले पुनः एमालेकै नेतृत्वमा सरकार दाबी नगर्न र संसद्को सबैभन्दा ठूलो पार्टी माओवादी नेतृत्वमा सरकार निर्माणका लागि सहयोग गर्न एमालेसँग आग्रह गरेको थियो । ‘एमालेले नेतृत्व गरेको सरकार भर्खरै गएको हो, फेरि एमालेकै नेतृत्वमा सरकार बन्न सक्दैन,’ माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने, ‘संसद्को सबैभन्दा ठूलो पार्टी भएको नाताले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व माओवादीले गर्नुपर्छ ।’

अपराह्न कांग्रेस संसदीय दलको कार्यालयमा माओवादी र कांग्रेसबीच छलफल भएको थियो । कांग्रेसले शान्तिप्रक्रियासम्बन्धी काम पूरा नभएको भन्दै भावी सरकारको नेतृत्व आफूले गर्ने दाबी गरेपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

‘राष्ट्रिय सरकार निर्माणका विषयमा हामी सहमत भएका छौँ,’ माओवादी नेता प्रकाशले बैठकपछि भने, ‘तर तीनबुँदे सहमतिको पहिलो बुँदाको कार्यान्वयनबारे थप छलफल गर्नुपर्ने भयो, पार्टीभित्र थप छलफल गरेर एउटा खाकासहित पुनः छलफलमा जुट्छौँ ।’

कांग्रेसले १४ जेठको सहमतिका दोस्रो र तेस्रो बुँदा कार्यान्वयन भएकाले पहिलो बुँदा कार्यान्वयन हुनुपर्ने माग राखेको छ । ‘तीनबँुदे सहमतिको पहिलो बुँदा कार्यान्वयनबारे सहमति बनेपछि मात्र माओवादी नेतृत्वको सरकार निर्माणबारे छलफल गर्न सकिन्छ,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘शान्तिप्रक्रिया र संविधान प्रमुख कुरा हुन्, सरकार प्रधान कुरा होइन ।’

बैठकमा कांग्रेसले लडाकुको संख्या तोक्नुपर्ने अडान राखेपछि माओवादीले संख्या किटान गर्न नसक्ने बताएको थियो । स्रोतका अनुसार कांग्रेससँगको बैठकमा माओवादीले अयोग्य भनिएका लडाकुलाई घर पठाइसकेको, बाँकी रहेका लडाकुहरू योग्य रहेको भन्दै उनीहरूलाई वर्गीकरण गरेर समायोजन गराउनुपर्ने आफ्नो अडान राखेको थियो ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले माओवादीको सहभागिताविना संविधान पनि नबन्ने र शान्तिप्रक्रिया पनि नटुंगिने भन्दै माधव नेपालको ठाउँमा व्यक्तिमात्र परिवर्तन भएर नहुने बताएको स्रोतले बतायो । ‘यही गठबन्धनबाट शान्ति र संविधान पूरा हुदैन, सरकार गठन भए पनि दुई/तीन महिनाभन्दा टिक्दैन,’ स्रोतले प्रचण्डले बैठकमा भनेको कुरा उद्धृत गर्दै भन्यो, ‘माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन र सबै काम पूरा गरौँ ।’

ठूला दलहरू कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा विवाद देखिएपछि बैठकहरू विनानिष्कर्ष टुंगिएका छन् । तर, माओवादीसँग भएको छलफलमा भने फोरम नेताहरूले माओवादी मधेसका मुद्दामा सकारात्मक भएको भन्दै माओवादी नेतृत्व स्वीकार गर्ने बताएका छन् ।

माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनका फोरम नेतासँग छलफल गरेको थियो । फोरम संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा परिवर्तन चाहने शक्तिहरू एकजुट भएर सरकार गठन गर्नुपर्ने विषयमा छलफल भएको फोरम प्रवक्ता रत्नेश्वरलाल कायस्थले जानकारी दिए । फोरम सहअध्यक्ष जेपी गुप्ताले माओवादी मधेसका मुद्दामा सकारात्मक भएको भन्दै माओवादी नेतृत्वमा विवाद नभएको बताए ।

यसअघि नौ साना दलले संविधानसभाको ठूलो दलका नाताले माओवादीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न सुझाब दिएका छन् । ‘राष्ट्रिय सार्वभौमिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, सामाजिक न्याय, शान्ति र संविधान आफूहरूका साझा राष्ट्रिय अभीष्ट भएको’ भन्दै माओवादीसहितका १० दलले मोर्चा निर्माण गरेका छन् । खतरामा परेको संविधानसभा, गणतन्त्र र धर्मनिरपेक्षतालाई जोगाउन यस्तो मोर्चा निर्माण गरिएको दाबी गर्दै भविष्यमा न्यूनतम साझा कार्यक्रम तय गरेर अगाडि बढ्ने उनीहरूको योजना छ । मोर्चाले राष्ट्रपतिले दिएको समयसीमाभित्र राष्ट्रिय सरकार निर्माणका लागि संयुक्त प्रयास थाल्ने निर्णय लिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: