विस्फोटक ज्वालामुखीमाथि दुइटा नेपाल

नयाँ पत्रिकामा छापिएको यो लेख निकै रोचक लाग्यो त्यसैले यहाँ पनि प्रस्तुत गरेको छु।


हिटलरी जर्मनीमा गोयबल्स एउटा थियो, हाम्रोमा एक बगाल गोयबल्सको जायजन्म भएको छ । तर, चित्रको सुखद पाटो पनि छ । गोयबल्सहरू आपनो वास्तविक अन्तर्यसहित सतहमा प्रकट भएका छन् । र, उत्पीडन र अज्ञानको क्लेसकारक निद्राबाट ब्युँझेर मनुष्यत्वको खोजीमा निस्केका नागरिकले तिनलाई राम्ररी चिन्ने औसर पाएका छन् ।

वैशाख २४ गते राजधानीमा दुई पृथक् नेपाल देखिए । एउटा नेपाल वसन्तपुर डबलीमा, अर्को नेपाल सडकैभरि । वसन्तपुरको नेपाल बडो उत्सवी मुद्रामा थियो, सडकको नेपालले छातीमुनि भक्भकी उम्लिरहेको ज्वालामुखीको लाभा बोकेको थियो । वसन्तपुरको नेपाल सुकिलो, समृद्ध र हंसमुख थियो, सडकको नेपाल मैलो, अभागवग्रस्त र क्रुद्ध थियो । वसन्तपुरको नेपालले देशमा एउटै मात्र समस्या भएको उद्घोष गर्‍यो । त्यो हो, बन्द र हडताल । सडकको नेपालले देश राजनीतिक, आर्थिक र सामाजिक समस्याले आक्रान्त भएको उद्घोष गर्‍यो र समस्याको गाँठो फुकाउन शान्ति र संविधानको टुंगो लगाऊ भनी राजनीतिक अभिकर्ताहरूलाई गगनभेदी गर्जनका साथ पुकारा गर्‍यो ।

वसन्तपुरको नेपालमा हास्यरसको प्रधानता थियो, सडकको नेपालमा वीररस र रौद्ररस प्रवाहित भएको थियो । मगनमस्त वसन्तपुरको शान्तिमेलामा भद्रभलादमीहरू को-को होलान् भनी जान्न मलाई खसखस लाग्यो । र, काँचको पर्दाको छेवैमा उभिएर मैले गौड गरी नियालेँ । त्यहाँ शेरबहादुर देउवाका काँधमा बन्दुक राखेर शान्तिको सुतीखेती गर्न फौजी संकटकाल लागू गरिँदा र तानाशाह ज्ञानेन्द्रले संकटकाललाई झनै कठोर बनाउँदा हषर्ातिरेकले उत्सवी दीप प्रज्वलन गर्नेहरूको बाहुल्य थियो । त्यहाँ जो थिए, ती धेरैजसोले संविधानसभाको आयोजनविरुद्ध जेहाद छेडेका थिए, शिशुकै स्वरूपमा भए पनि राजतन्त्रको बीउ जोगाइराख्न हत्ते हालेका थिए, धर्मनिरपेक्षताविरुद्ध बज्रमुक्का उजाएका थिए र संघीयता र समावेशीताको हदैसम्म खिल्ली उडाएका थिए । यथास्थिति तिनको पि्रय आदर्श थियो, जसमा तिनलाई लाभ थियो, सुरक्षा थियो र थियो चैन पनि । ती आफूलाई, फगत आफूलाई र मात्र आफूलाई नेपालको अधिपति, भूपति, सम्पत्तिपति र संस्कृतिपति अब्बल नेपाली ठान्थे । त्यसैले तिनका दृष्टिमा पुरानो नेपाल शान्ति, सहिष्णुता र सद्भावले टनाटन भरिएको थियो ।

वसन्तपुरको नेपालका भद्रभलादमी वक्ताहरूले सगौरव आप\mनो चिनारीको खुलासा गरे । म न कुनै दलको न त कुनै पक्षको । म शान्तिवादी, म अहिंसावादी । म स्वतन्त्र, म निष्पक्ष, म कञ्चन, म निष्कलंक । म त फगत नेपालको नेपाली । कठोर यथार्थ के हो भने राजनीतिमा उग्र ध्रुवीकरण छ, भीषण द्वन्द्व छ र द्वन्द्वको आगो दिनप्रतिदिन उर्लंदो छ । तर, स्वतन्त्र र निष्पक्ष एवं दलमुक्त र पक्षमुक्त भलादमीहरूले द्वन्द्वको एक पक्षतिर औँला ठड्याए र अर्को पक्षलाई रक्षाकवच प्रदान गरे । राष्ट्रिय संयुक्त सरकार, शान्ति र संविधानको दाबीको ध्वजा बोकेर जनसागरसहित सडकमा उत्रिएको प्रतिपक्षलाई कटाक्ष गर्दै तिनले ‘बन्द’ बन्द गर्न आग्रह गरे । तर, सत्ता गठबन्धनलाई देशलाई यथास्थितिको कैदी बनाउने हठ बन्द गर्न तिनले किटानीसाथ बिन्ती चढाउनु आवश्यक ठानेनन् । फगत अमूर्त भाषामा तिमीहरू नजुध, मिल, सहमति गर भने । तैपनि, ती स्वतन्त्र, ती निष्पक्ष, ती कञ्चन, ती निष्कलंक !

स्वतन्त्र, निष्पक्ष, कञ्चन र निष्कलंक नागरिकहरूको मनोरञ्जक शान्तिमेला तुरिनु के थियो, त्यसको चिनारीको गुप्त पाटो प्रकट भइहाल्यो । सडकमा उन्मादी जुलुस निस्क्यो । र, त्यसले आन्दोलनकारी जनगणलाई आतंककारी घोषित गर्‍यो र तिनका माउ नेतालाई फाँसी दिइयोस् भनी आततायी नारा लगायो । नारा लगाउनेहरूमा दुई ठूला शासक दलका चिनिएका युवा थिए । सडकमा सशस्त्र विद्रोह र निःशस्त्र आन्दोलनको कष्टकर यात्रा छिचोलेर आएका गरिब र वञ्चित, दमित र अपहेलित, परित्यक्त र सीमान्तकृत नागरिकको बाहुल्य थियो । ती अकथनीय कष्ट र बलिदानमार्फत आफूले उठाएका परिवतर्नका मुद्दाहरू बीचैमा अलपत्र पर्न लागेका देखेर चिन्तित थिए, सन्तप्त थिए । त्यसैले त ती शासकहरूलाई सुनाउन राजधानी आएका थिए— हेर, यो देशमा हामी पनि छौँ । हाम्रा परिवर्तनका सपना र आकांक्षाहरूमाथि खेलबाड गर्न खोज्ने कसैलाई पनि हामी माफी दिनेछैनौँ । जो हाम्रो भाग्य लेखिने संविधान बनाउने बाटाको तगारो बन्छ, त्यसलाई निर्ममतासाथ लतारेर हामी अघि बढ्नेछौँ ।

बन्द-हडताल सडकबाट पन्छिएको छ । र, अहिले वसन्तपुरको नेपाल हुनुसम्म हषिर्त र पुलकित छ । बडो आत्मगौरवका साथ यो भन्दो छ— हाम्रा ओजस्वी र तेजस्वी वाणीहरूको डरले थुरथुर काम्दै बन्द-हडतालले सडकबाट कुलेलम ठोक्यो । र, यो यसो पनि भन्दो छ— नागरिक प्रतिकारको प्रहारले मूच्छिर्त हुँदै बन्द-हडताल सडकबाट अलप भयो । भद्रलोकको जित भयो, नागरिक प्रतिकारको गौरव स्थापित भयो । अब शान्ति भयो, अब अमनचैन छायो । सडकछापहरू पराजित भए, हामी भद्रजन विजयी भयौँ । दुःखदायी र विनाशकारी बन्द-हडताल सदाका लागि खारेज भयो ! स्मरण रहोस्, कथित नागरिक प्रतिकारको अन्तर्कथा उति सुन्दर छैन । प्रतिकारको अग्रपंक्तिमा दुई ठूला शासक दलका युवा नेता-नेत्री खडा भएका थिए । हिंसाको क्रीडामा कतैकतै त ती दलका विधायकहरूसमेत नग्न भेषमा उत्रिएका थिए । खर्चबर्च सरकारको, प्रेरणा सरकारको, उक्साहट सरकारको, हतियार सरकारको र हिंसाकर्मी जोदाहाहरू पनि सरकारकै । तैपनि, कतिपय महाजनका मिडियामा भनियो— यो बन्द-हडतालबाट आहत नागरिकहरूको स्वस्फूर्त प्रतिकार हो । यो नागरिक तहबाटै बन्द-हडतालको तेजोबध गर्ने ऐतिहासिक कीर्तिमान हो । हिटलरी जर्मनीमा गोयबल्स एउटा थियो, हाम्रोमा एक बगाल गोयबल्सहरूको जायजन्म भएको छ । तर, चित्रको सुखद पाटो पनि छ । गोयबल्सहरू आप\mनो वास्तविक अन्तर्यसहित सतहमा प्रकट भएका छन् । र, उत्पीडन र अज्ञानको क्लेसकारक निद्राबाट ब्युँझेर मनुष्यत्वको खोजीमा निस्केका नागरिकले तिनलाई राम्ररी चिन्ने औसर पाएका छन् ।

आन्दोलन सकियो । आन्दोलनकर्मीहरू घर फर्के । तर, राजनीतिक समस्याको गाँठो भने ज्युँका त्युँ छ । इतिहास यथास्थितिको माखेसाङ्लोमा अड्किएको छ । खाली हात नफर्किने कसम खाएर जागरुक र जुझारु नागरिकहरू भेलसरि उर्लिंदै राजधानी आएका थिए, ती खाली हात घर फर्केका छन् । बालुवाटार दरबार, सिंहदरबार र वसन्तपुरको नेपालबाट ती लाञ्छित भएर, अपमानित भएर, आहत छातीमा सन्ताप र क्षोभको आगो लिएर फर्केका छन् । तिनका छातीमुनि उम्लिरहेको लाभा पनि तीसँगै फर्किएको छ । जो राजधानी आएका थिए, ती कतै विदेशबाट आएका होइनन् । ती अर्को कुनै ग्रहबाट आएका पनि होइनन् । ती राजधानीका सडक-सडकमा आप\mना कुण्ठित सपनाहरूको बिस्कुन लाएर फर्केका छन् । तिनले आपना सुन्दर सपनाहरू बिर्सनेछैनन् । कुनै दिन आप\mना सपनाहरूको बिस्कुन उठाउन ती फेरि त्यसरी नै, सके अझ त्योभन्दा विशाल जनसागर, त्योभन्दा तीव्र आवेग, त्योभन्दा उच्च आक्रोश र त्योभन्दा दृढ संकल्प लिएर आउनेछन् । त्यो जनसागरको उत्ताल प्रवाहमा लतारिँदै को-को, कता पुग्ने हुन्, इतिहासको बाटो छेकेर लतारिने योग्यता पुगेका खलपात्रहरूसमेतलाई थाहापत्तो छैन । जब थाहा हुन्छ, त्यसवेला ढिलो भइसकेको हुनेछ । र, पश्चात्ताप गर्ने समय पनि हुनेछैन ।

शोषक शासकहरूका नजरमा सदैव दोयम दर्जामा पर्ने गरेका राजधानीबाहिरका विपन्न, उपेक्षित र वञ्चित नागरिकहरू बालुवाटार दरबारका टोपीधारी राजाबाट लाञ्छित र अपमानित हुनु कुनै अचम्म होइन । तर, शान्तिमेलाका आयोजनकर्मी उद्यमीहरू पनि तिनबाट लाञ्छित र अपमानित भए । ती लोकलाजले डोरिएर बालुवाटार दरबार पुगे । वसन्तपुरको शान्तिमेलामा द्वन्द्वका दुई पक्षलाई हाराहारी सम्बोधन गर्न चुकेकामा सके तिनलाई किञ्चित ग्लानि, पश्चात्ताप र विषादको अनुभूति भयो होला । र, ढिलै भए पनि आप\mनो नागरिक दायित्व निर्वाह गर्न ती बालुवाटार दरबार पुगे । तिनले दरबारको द्वार टेकेका मात्र के थिए, टोपीधारी साना राजाले तिनको सातो लिए । बरा हाम्रा उद्यमी बन्धुहरू सडकबाट ऊ पन्छियो, राजनीतिक द्वन्द्वलाई निकास दिन हजुर गद्दीबाट ओर्लिस्योस् भनी नम्र निवेदन गर्न बालुवाटार दरबार गएका थिए । ती भीख माग्न गएका थिएनन्, गतिहीन राजनीतिको निकास माग्न गएका थिए । तर, टोपीधारी राजाले तिनलाई निरीह भिखारीलाई भै”m थर्काए । भने— चन्दा दिएर सर्पलाई दूध ख्वाउने तिमीहरू, त्यसलाई पाल्ने र पोस्ने, हौस्याउने र पुस्ट्याउने तिमीहरू, अनि त्यो सडकमा उपि्दा मैले राजीनामा दिनुपर्ने ?

कुरा स्पष्ट छ, टोपीधारी राजाहरू गणतन्त्र र संघीयता, समावेशिता र धर्मनिरपेक्षतासम्बन्धी जनजनका अधुरा सपनाको शैशवकालमै बध गर्न उद्यत छन् । तर, सजिलो छैन । नेपालको सामाजिक मानचित्रभरि मनुष्यत्वको खोजीमा उठेका नागरिकका छातीमा असन्तोष र आक्रोशको लाभा विस्फोटको घडी कुरिबसेको छ । लाग्छ, त्यो घडी आसन्न छ । जब त्यो विस्फोट हुन्छ, सबै कुराको यथोचित फैसला हुनेछ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: