जताततै आतंक

imageकाठमाडौं, १८ फागुन : सामाजिक सुरक्षा कमजोर हुँदै जाँदा देशमा जताततै आतङ्क मच्चिएको छ । आक्रमण र धम्कीले जनकपुरदेखि काठमाडौंसम्मका उद्यमी र सञ्चारकर्मी त्रसित छन् भने नेपालगन्जका व्यवसायीले देशै छाड्ने अवस्था आएको छ ।
करिब चार साताअघि महाराजगन्जस्थित राष्ट्रपति निवासमा उपरराष्ट्रपतिले सपथ लिइरहेका बेला दुई सय मिटर तल लाजिम्पाटमा मारिएका सञ्चारउद्यमी जमिम शाहको हत्याका योजनाकार अहिलेसम्म पक्राउ परेका छैनन् । हत्याको विषयमा लगातार समाचार लेखेको आरोप लगाउँदै नयाँ पत्रिका सम्वाददाता मनोज घर्तीमगरलाई मंगलबार ज्यान मार्ने धम्की आएको छ । घटनाका मतियार सइ प्रकाश क्षेत्रीको बयानमा आधारित ‘डिस्को जाने लतमा जमिम हत्यामा सहयोग गरेँ,’ शीर्षकको कभरस्टोरी मंगलबार नयाँ पत्रिकामा प्रकाशित छ । मंगलबार बिहान १०ः३० बजे मोबाइलबाट मोबाइलमै फोन गरी मनोजलाई पनि जमिमलाई जस्तै मार्ने धम्की आएको थियो । -३ पेजमा पनि)
त्यस्तै चार साताअघि सञ्चारउद्यमी जमिम शाहलाई गोली हानी मारिएकै क्षेत्र काठमाडौंको लाजिम्पाटमा मंगलबार मेडिकल व्यवसायी डा. नागेन्द्र पम्पाटीमाथि गोली प्रहार भएको छ । गोकर्णमा गल्फ खेलेर र्फकंदै गर्दा लाजिम्पाट सांगि्रला होटलपछाडि रहेको आफ्नै निवासको गेटबाहिर उनीमाथि गोली प्रहार भएको थियो ।
तर, चालकले गाडी भगाएकाले पम्पाटीको ज्यान भने जोगिएको छ । उनी चढेको बा६च ९९९९ नम्बरको ल्यान्डरोभर गाडीको सिसा भने गोली लागेर फुटेको छ ।
भरतपुर मेडिकल कलेजका अध्यक्ष भारतीय नागरिक पम्पाटीमाथि साँझ ६ः१० बजे गोली प्रहार भएको थियो । घटनास्थलमा अनुसन्धानका लागि खटिएका एसपी शेरबहादुर बस्नेतका अनुसार पम्पाटीलाई हानेको गोली उनको घरको भित्तामा पनि लागेको छ ।
गल्फका सौखिन पम्पाटी कहिले विमानस्थल त कहिले गोकर्ण जान्थे । पारिवारिक स्रोतका अनुसार मंगलबार दिनभर गोकर्णमा गल्फ खेलेर उनी साँझ घर र्फकंदै थिए । तर, घरको गेटभित्र पस्दानपस्दै उनीमाथि गोली प्रहार भएको हो ।
घर र्फकंदा पम्पाटी गाडीको पछिल्लो सिटमा निदाइरहेका थिए । आक्रमणकारीले पेस्तोल निकालेको देखेपछि चालकले पम्पाटीलाई चिच्याएर जगाएका थिए । ‘मैले कसैले पेस्तोल निकाल्यो सर ! भन्नासाथ उहाँ -पम्पाटी) ले गाडी कुदाउन आदेश दिनुभयो । मैले गाडी कुदाएर बचाएँ,’ चालक राम गुरुङले भने ।
‘गोली पम्पाटीलाई लागेन, उनी सुरक्षित छन्,’ एसपी बस्नेतले भने । कालो पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएपछि प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट थुपै्र मोटरसाइकल नियन्त्रणमा लिएको थियो । तर, आक्रमणकारी भने पक्राउ परेका छैनन् । घटनास्थलबाट दुई सय मिटर दूरीमै प्रहरी विट भए पनि प्रहरी भने उद्धारका लागि आधा घन्टापछि मात्र पुगेको थियो । गोली चलेलगत्तै स्थानीय वासिन्दाले प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर पनि जानकारी गराएका थिए ।
पम्पाटीमाथि गोली कसले र किन हानेको हो भन्नेबारे अहिलेसम्म केही नखुलेको एसपी बस्नेतले नयाँ पत्रिकालाई बताए । ‘घटनाबारे हामीले अनुसन्धान गरिरहेका छौँ, विभिन्न स्थानबाट शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने काम भइरहेको छ,’ उनले भने ‘कसले किन उनलाई गोली हानेको हो भन्नेबारे अहिल्यै केही भन्न सक्ने अवस्था छैन ।’
उता पम्पाटीले भने प्रहरीले चाहेको भए आक्रमणकारीलाई तत्कालै पक्रन सक्ने दाबी गरेका छन् । ‘लाजिम्पाटजस्तो संवेदनशील क्षेत्रमा पटकपटक यस्ता घटना भएका छन्, तर प्रहरीले दोषीलाई पक्रने जाँगरै देखाएको छैन,’ उनले नयाँ पत्रिकासित भने ।

हत्याको जिम्मेवारी लिँदै थप धम्की

जनकपुर/ सञ्चारव्यवसायी अरुणकुमार सिंहानियाको हत्याको जिम्मेवारी तराई जनतान्त्रिक पार्टी मधेसले लिएको छ ।
जनकपुरमा मंगलबार पत्रकाररूसित सो समूहका अध्यक्ष अर्जुन सिंहले निर्धक्क हत्याको जिम्मेवारी मात्र लिएनन्, थप दुई जना सञ्चारकर्मीको हत्या गर्ने धम्की पनि दिए । उनले रेडियो टुडे र जनकपुर टुडेका सम्पादक तथा बिबिसी रेडियोका प्रतिनिधि र अर्का रेडियो टुडेका शेयरधनीको नाम लिएका थिए ।
यता, सिंघानियाको हत्याले सुरक्षानिकायमाथि प्रश्न उठेको स्थानीय नेता, उद्योगी व्यवसायी तथा बुद्धिजीवीले बताएका छन् । दिनदिनै भइहरहेका आपराधिक घटना राज्यले नियन्त्रण गर्न नसके तराईमा सञ्चारक्षेत्र समाप्त हुने उनीहरूले चेतावनी दिए । नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले सिंघानियाको हत्याले तराईको सुरक्षा अवस्थाको पोल खोलेको बताए । ‘राज्यले सुरक्षा व्यवस्था सुदृढ गर्नेतर्फ छिटो ध्यान नदिए तराईको अवस्था अझ भयावह हुनेछ,’ उनले भने ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्यामप्रसाद साहले असुरक्षाका कारण लगानीकर्ता र व्यवसायी विस्थापित हुन बाध्य बन्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द्र झाले सिंघानियाको हत्या सम्पूर्ण प्रेसजगत्माथिको आक्रमण भएको धारणा राखे । उनले हत्यारालाई कारबाही गराउन नेपाल पत्रकार महासंघ आन्दोलनमा जानेसमेत चेतावनी दिए ।
सञ्चारउद्यमी सिंघानियाको हत्याको विरोधमा सोमबार जनकपुर बजार बन्द थियो । एक दशकदेखि जनकपुर टुडे दैनिक पत्रिका सञ्चालन गर्दै आएका सिंहानिया मिल्स एरियास्थित केयर मेडिकल सेन्टरनामक नर्सिङ होमका सञ्चालक तथा मारवाडी सेवा समिति, जनकपुरका अध्यक्षसमेत थिए ।
आफन्तको घरमा होलीपर्व मनाएर घर फर्किरहेका सिंघानियामाथि आइतबार साँझ करिब सवा ६ बजे मोटरसाइकलमा आएका हतियारधारीहरूले गोली हानी हत्या गरेका थिए । नेपाल पत्रकार महासंघ धनुषा र जनकपुर उद्योग वाणिज्य संघ हत्याराको कारबाहीको माग गर्दै आन्दोलित भएका छन् ।
यसैबीच, सिंघानियाको मंगलबार बेलुका हिन्दू परम्पराअनुसार अन्त्येष्टी गरिएको छ । सिंघानियालाई छोरा राहुलले दागबत्ती दिए । राहुल मंगलबार दिउँसो दिल्लीबाट जनकपुर आएका थिए । अन्त्येष्टी गर्नुअघि सिंघानिया घरमा मंगलबार सञ्चारकर्मी र सर्वसाधारणको ठूलो भीड लागे
पनि प्रहरीको उपस्थिति भने
देखिएको थिएन ।

पेस्तोलको कक तानिएन, म बचेँ ः डा. पम्पाटी
म दक्षिण भारतको नागरिक, अमेरिकाबाट म्यानेजमेन्टमा पीएच्डी गरेपछि नेपाल आएको हुँ । सन् १९९३ मा भरतपुर मेडिकल कलेज स्थापना भएका केही समयदेखि नै म सञ्चालक समितिको अध्यक्ष छु ।
काठमाडौं लाजिम्पाटमा मेरो डेरा छ । म धेरैजसो काठमाडौं बस्छु । आवश्यक परे भरतपुर -चितवन) जान्छु, र्फकन्छु ।
काठमाडौंमा गल्फ खेल्न कहिले एअरपोर्ट जान्छु, कहिले आर्मीको गल्फ कोर्स -गुहेश्वरी) त कहिले गोकर्ण जान्छु ।
मंगलबार म गोकर्ण गएको थिएँ । करिब दुई बजेदेखि पाँच बजेसम्म गल्फ खेलियो ।
गल्फ खेलेर थाकेपछि म घर र्फकंदै थिएँ । गोकर्णबाट चावहिल, गौशाला, मैतिदेवी, दरबारमार्ग हुँदै लाजिम्पाटतर्फ मेरो गाडी गुडिरहेको थियो । रामु
-चालक) ले गाडी चलाइरहेको थियो । म पछाडिको सिटमा थिएँ । म थाकेको थिएँ, अर्धनिद्रामा आराम गरिरहेको थिएँ ।
गाडी लाजिम्पाटस्थित सांगि्रला होटलबाट भित्र छिरेर रानीबारीतिर अघि बढिसकेको रहेछ । रामुले मेरो डेराको गेट खोल्न हर्न पनि मारिसकेको थियो । तर, गेट खुल्नअघि नै गोली चल्यो । म झस्किएँ ।
म पछाडिको सिटमा थिएँ, गोली पनि पछाडिको सिटमै सोझ्याएरै प्रहार भयो । मैले रामुलाई भने, ‘भागो, भागो ।’
रामुले गेट खुल्ने ‘इन्तजार’ गरेन । गेट पार गरेर अगाडि भगायो । तर, अगाडि पुग्दा बाटो जाम थियो । गाडी अघि बढ्न सकेन । गाडी फेरि ‘ब्याक’ भयो । त्यतिन्जेलसम्म पनि आक्रमणकारीहरू मोटरसाइकलमै थिए । उनीहरूले मोटरसाइकलबाटै गाडीतर्फ सोझ्याएर पेस्तोलको ‘कक’ तानिरहेका थिए । तर, कक तानिएन । मोटरसाइकलको पछिल्लो सिटमा बसेको आक्रमणकारीले पटकपटक ‘कक’ तानिरहेको थियो । तर, उनीहरूको दुर्भाग्य, मेरो सौभाग्य, ‘कक’ तानिएन, गोली चलेन, मेरो ज्यान बच्यो । तपाईंलाई अन्तर्वाता दिन पाएँ ।

गोली चलेपछि होस हवासै उड्यो

— राम गुरुङ, पम्पाटीका चालक
‘तपाई मलाई केही पनि नसोध्नोस् । मान्छेको अगाडि जब अचानक गोली चल्छ, भाग्नुपर्छ । भागियो, तब ज्यान बच्यो । ज्यान त बचेको छ, अब के कुरा गर्नु ? कुरा जे गर्नु छ, भोलिपर्सि गरौँला । अहिले फोन राख्नोस्, है त । ल धन्यवाद ।’
लाजिम्पाटमा आफ्ना ‘साहु’ नागेन्द्र पम्पाटीलाई निशाना बनाएर गोली चलेपछि उनका चालक राम गुरुङ आतंकित थिए । डराएका गुरुङले नयाँपत्रिकासित कुरा गर्नै मानेनन् । तर, नयाँ पत्रिका सम्वाददाताले उनको व्यवसाय र आइपरेको भवितव्यबारे धेरै सम्झाइबुझाइ गरेपछि उनी कुरा गर्न तयार भए । त्यसपछि उनले खोलेको विवरण प्रस्तुत छः
मेरो नाम राम गुरुङ हो । मैले पम्पाटीसरलाई चिनेको १५/१६ वर्ष भयो, उहाँ भरतपुर मेडिकल कलेजको अध्यक्ष हुनुहुन्छ । उहाँलाई काठमाडौं घुमाउने र कहिलेकाहीँ चितवन लग्ने काम मेरो हो ।
उहाँको सौख गल्फ खेल्ने हो । कहिले एअरपोर्ट, कहिले आर्मीको गल्फ कोर्स गुहेश्वरी त कहिले गोकर्ण जानुहुन्छ । मंगलबार उहाँले गोकर्ण लैजान भन्नुभयो । ल्यान्डरोभर गाडीमा मैले उहाँलाई गोकर्ण पुर्‍याएँ । उहाँलाई गल्फ कोर्सको गेटमा छाडेँ, कोसँग गल्फ खेल्नुभो कुन्नि, पाँच बजेतिर बाहिर निस्कनुभयो । हामी उहाँको घरतिर लाग्यौँ ।
गौशालाबाट कालोपुल, नागपोखरी, दरबारमार्ग घुमेर हामी लाजिम्पाट जाँदै थियौँ । सांगि्रला होटल ‘क्रस’ गरेर रानीबारी नझर्दै पम्पाटी सरको डेरा छ । हामी उहाँको डेराको गेटमै पुगेका थियौँ, ‘अपोजिट साइड’ बाट मोटरसाइलमा दुईजना आइरहेका थिए । उनीहरूले गाडीको पछिल्लो सिटमा बसेका पम्पाटीसरलाई निशाना बनाएर ‘फायरिङ’ गरे ।
गोली चल्यो, त्यस्तो स्थिति कहिल्यै भोगिएको थिएन, होसहवासै उड्यो । के गर्ने, कसो गर्ने ? सरले गाडी भगाउन भन्नुभयो । मैले रानीबारीतिर भगाएँ । तर, अगाडि जाम रहेछ । गाडी फेरि ‘ब्याक’ गरेँ । पछाडि तिनै आक्रमणकारीहरू तयारी अवस्थामा रहेछन् । उनीहरू पेस्तोल सोभ\mयाइरहेका थिए । तर, उनीहरुको पेस्तोलले काम गरेन, गोली चलेन । हामी बच्यौँ ।

असुरक्षाले देश छाड्दै व्यवसायी
ठाकुरसिंह थारू/नयाँ पत्रिका
रूपैडिहा -भारत), १८ फागुन

फिरौती बुझाइसक्दा पनि अपहरित छोरा फिर्ता पाउन नसकेर हतास बनेका नेपालगन्जका व्यवसायी कृष्णमुरारी रस्तोगी अन्ततः देश छाडी भारत पलायन भएका छन् । आठ महिनाअघि अपहरित छोराको रिहाइका लागि उनले सात लाख रुपैयाँ फिरौती बुझाएका थिए ।
नेपालमा सुरक्षा ग्यारेन्टी नभएको महसुस गरी रस्तोगीले सपरिवार विदेशिने निर्णय गरेका हुन् । उनले नेपालगन्जको कपडा पसल बेचिसकेका छन् भने जग्गा बिक्रीका लागि सूचना प्रकाशित गरेका छन् । ‘देशको माया छ, तर यहाँ बस्नसक्ने अवस्था रहेन,’ रस्तोगीले भने, ‘आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हो भने जहाँ बसे पनि भयो ।’
नेपालगन्ज्ा, त्रिभुवनचोकनिवासी रस्तोगीका एक मात्र छोरा गौरवकृष्ण गत असार ७ गते अज्ञात व्यक्तिहरूको अपहरणमा परेका थिए । अपहरणकारीको मागबमोजिम उनले सात लाख रुपैयाँ फिरौती बुझाए, तर रिहाइ त परै जावस् छोराको अवस्थासम्म थाहा पाउन सकेनन् । छोराको खोजीका लागि सबैतिर धाए पनि कसैले गम्भीर चासो नदिएको उनको गुनासो छ ।
रस्तोगीले गृहमन्त्री भीम रावल, उपप्रधानमन्त्री विजय गच्छदार, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, कांग्रेसकै कार्यवाहक सभापति सुशील कोइराला, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्त ठाकुरलगायत नेता तथा मानवअधिकारवादीलाई भेटेका थिए । तर, सबैबाट आश्वासनबाहेक केही नपाएको उनले बताए ।
त्यति मात्रै होइन, उनले छोराको अवस्था थाहा पाउनेलाई २ लाख इनाम दिने घोषणा गर्दै ६ महिनासम्म स्थानीय पत्रपत्रिकामा विज्ञापनसमेत दिएका थिए । तर, त्यसबाट पनि केही सफलता मिलेन । ‘अब केही उपाय रहेन,’ उनले निराशापूर्वक भने, ‘यहाँ बसेर थप दुःख झेल्न चाहन्नँ ।’
रस्तोगीले नेपालमा कुनै पनि व्यवसायीको सुरक्षा नभएको समेत ठोकुवा गरे । प्रहरीको निस्त्रिmयताका कारण अपराधिहरू फरार हुन सफल भएको उनको भनाइ छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: