सभासद्ले विधवालाई सडकमै लतारे

image

नेपालगन्ज, १९ माघ

आफूविरुद्ध उजुरी दिएको झोकमा सभासद् बदशाह कुर्मीले असहाय विधवा निर्मला कुर्मीलाई मंगलबार सार्वजनिक स्थानमै लछारपछार र कुटपिट गरेका छन् । स्थानीय मानवअधिकारकर्मीहरू पनि सो दृश्यका प्रत्यक्षदर्शी थिए, जसले टुलुटुलु हेर्नबाहेक केही गर्न सकेनन् ।

मंगलबार नेपालगन्ज आएका सभासद् कुर्मी न्याय पाउने आसमा जिल्ला प्रशासन कार्यालय धाइरहेकी निर्मलालाई खोज्न चार-पाँचजनाको समूह नै लिएर हिँडेका थिए । साँझ ४ बजे भृकुटीनगरको प्रभात बोर्डिङ स्कुलनजिकै उनलाई देखेपछि कुर्मीले सिकार भेटेझैँ झम्टे । उनले निर्मलामाथि जाइलाग्दै कुटपिट मात्र गरेनन्, अपहरण शैलीमा घिच्याएर आफ्नै घर पुर्‍याए । प्रहरी गएर निर्मलाको उद्धार त गर्‍यो, तर सभासद्लाई छुने आँट गरेन ।

निर्मलाको घर, लालपुर्जा र नागरिकता तीन महिनादेखि सभासद् कुर्मीले कब्जामा लिँदै आएका छन् । सो समाचार नयाँ पत्रिकाले प्रकाशित गरेपछि राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय, नेपालगन्जले जानकारीका लागि उनलाई मंगलबार बोलाएको थियो । आयोगका अधिकृत मोहन जोसीले सभासद् कुर्मीलाई बयानका लागि बोलाइएको पुष्टि गरे ।

तर, कुर्मीले घटनाबारे आयोगलाई जानकारी दिनुको साटो निर्मलामाथि सार्वजनिक स्थलमै रिस पोखेका हुन् । निर्मलासँगै रहेका स्थानीयवासी रामजनअली मुकेरीले घटनाबारे अधिकारवादीलाई सूचना दिएका थिए । लगत्तै नेपालगन्जका केही अधिकारवादी घटनास्थल पुगेका थिए ।

प्रत्यक्षदर्शी मुकेरीले सभासद्को नेतृत्वमा आएको चार/पाँचजनाको समूहले निर्मलालाई लछारपछार र कुटपिट गरेको बताए । ‘भृकुटीनगरबाट खेतमा घिसार्दै लगे,’ उनले भने ।

अधिकारवादीको दबाबपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीर शाहीलाई सभासद् कुर्मीका घरमा पठाएका थिए । अधिकारवादीहरू सभासद्को घर परसपुर पुगिसकेपछि मात्र प्रहरी पुगेको थियो । बेलुकी करिब साढे ६ बजे निर्मलालाई उद्धार गरी नेपालगन्ज ल्याइएको जानकारी बैदवारले दिएका छन् ।

प्रहरीले यस घटनालाई सामान्य भनेको छ । सभासद् र निर्मलाबीच पारिवारिक विवाद भएको भन्दै यसलाई मुद्दा नबनाउन प्रहरीले सञ्चारकर्मीलाई आग्रह गरेको थियो ।

सभासद्ले निर्मलालाई लछारपछार गरेको प्रत्यक्ष देख्ने राष्ट्रिय महिला अधिकार मञ्चकी महासचिव रुबी खान र मुस्लिम समाज विकास चेतना केन्द्रका मोहम्मद शेर बागवानले प्रहरीले सभासद् कुर्मीलाई बचाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । शेर बागवानले एक महिनाअघि निर्मलाले आफ्नो कार्यालयमा उजुरी दिएको बताउँदै प्रहरी र प्रशासनले न्यायका लागि कुनै पहल नगरेको आरोप लगाए । ‘सभासद्लाई प्रहरीले बचाउने प्रयास गरिरहेको छ,’ उनले भने ।

निर्मलाको लालपुर्जा र नागरिकता खोसेर लिएका सभासद्ले उनको घरसमेत मान्छे लगाएर नियन्त्रणमा लिएका थिए । निर्मलाले त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय, बाँकेमा उजुरी दिएकी थिइन् । आफ्ना श्रीमान् र दुई छोराको मृत्युपछि सभासद्ले दुःख दिन थालेको निर्मलाले बताएकी छिन् । श्रीमान् र छोराहरूका नाममा रहेको पाँच बिघा जग्गा सभासद् कुर्मीले हात पार्न खाजेको उनको आरोप छ । निर्मलाको घरमा सभासद्ले राखेका मानिसले उनलाई घरबाटै निकालेका थिए ।

यही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय, बाँकेले स्थानीय सन्तोष कुर्मी, अमरलाल कुर्मी र भारतीय नागरिक मुनिम कुर्मीलाई प्रशासनमा झिकाएको थियो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: