माओवादीले पूर्वका आठ जिल्लालाई अलगअलग दुई स्वायत्त गणराज्य घोषणा

एकीकृत माओवादीले पूर्वका आठ जिल्लालाई अलगअलग दुई स्वायत्त गणराज्य घोषणा गरेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत माओवादीले कोचिला र लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरेको हो ।यसअघि दोस्रो चरणको आन्दोलनका बेला गणराज्य घोषणा गर्ने कार्यक्रम तय भए पनि कूटनीतिज्ञको आग्रहमा माओवादीले सो कार्यक्रम स्थगित गरेको थियो । त्यसबेला सत्तारुढ दलले पनि संविधानसभाको अवमूल्यन भएको भन्दै गणराज्य घोषणाको विरोध गरेका थिए ।चौतर्फी विरोध हुँदाहुँदै पनि माओवादीले शुक्रबार झापाको बिर्तामोडमा कोचिला र तेह्रथुमको म्याङलुङमा लिम्बुवान स्वायत्त गणराज्य घोषणा गरेको छ । कोचिलामा झापा, मोरङ र सुनसरी गरी तीन जिल्ला समेटिएका छन् । लिम्बुवान स्वायत्त गणराज्यअन्तर्गत धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम परेका छन् ।

सशस्त्र आन्दोलनकालमा माओवादीले झापा, मोरङ र सुनसरीलाई ‘कोचिला प्रदेश’ नामकरण गर्दै संगठन विस्तार गरेको थियो । यी तीन जिल्लामा कोचहरूको संख्या करिब तीन लाख छ । कोचमा राजवंशी, धानुक, गनगाईं, ताजपुरियालगायतका जाति पर्छन् ।

झापाको बिर्तामोडमा आयोजित घोषणासभामा संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोचिला स्वायत्त गणराज्यको घोषणा गरे । घोषणासभालाई सम्बोधन गर्दै उनले स्वायत्त राज्य घोषणासँगै मुलुकमा एकात्मक शासनसत्ताको अन्त्य भएको बताए । उनले स्वायत्त गणराज्य घोषणा गरिरहँदा भिक्षुहरूले शान्तिमन्त्र वाचन गरेका थिए । एकैपटक १५ वटा दीप प्रज्ज्वलन गरिएको थियो । त्यसलाई माओवादीले जातीय एकताको प्रतीक भनेको छ । विभिन्न जातजातिले एकैपटक सामूहिक रूपमा झाँकी प्रस्तुत गरेका थिए ।

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्दै माओवादीले स्वायत्त गणराज्य घोषणा गरेको हो । गणराज्य प्रमुखको जिम्मेवारी माओवादी नेता पूर्णसिंह राजवंशीलाई दिइएको छ । द्वन्द्वकालमा कोचिला मुक्ति मोर्चाका अध्यक्ष रहेका राजवंशी झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् हुन् । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै आदिवासी समुदायका राजवंशीले संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । उनी ०५७ देखि माओवादीमा आबद्ध छन् ।

माओवादीले स्वायत्त गणराज्य घोषणा गरिरहँदा संघीय लिम्बुवान राज्यपरिषद्ले भने कोचिला चाहिँदैन, लिम्बुवान टुक्र्याउन पाइँदैन भन्दै नाराबाजी गरेको थियो । परिषद्ले शुक्रबारै बिर्तामोडमा विरोधसभाको आयोजना गरेर माओवादीको कोचिला र लिम्बुवान स्वायत्त गणराज्य घोषणाप्रति असहमति जनाएको छ । माओवादीको कार्यक्रमस्थलभन्दा पाँच सय मिटर उत्तर परिषद्ले सभाको आयोजना गरेको थियो । अरुणपूर्वका नौ जिल्लालाई परिषद्ले स्वायत्त लिम्बुवान राज्य घोषणाको माग गर्दै आएको छ ।

दुवै पक्षको कार्यक्रम एकै स्थानमा तय भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । कार्यक्रमस्थलवरिपरि करिब पाँच सय प्रहरीले सुरक्षा दिएका थिए । माओवादी र लिम्बुवानले सयौँको संख्यामा आ-आफ्नै युवादस्तालाई सुरक्षाका लागि परिचालन गरेका थिए । कार्यक्रमस्थलमा एक हजार पाँच सय वाइसिएल कार्यकर्ता परिचालन गरिएको माओवादीले जनाएको छ । कार्यक्रम वाइसिएलको बाक्लो सुरक्षा घेराबीच भएको थियो । माओवादीले शुक्रबारै तेह्रथुममा लिम्बुवान गणराज्य घोषणा गरेको छ । राज्यप्रमुखको जिम्मेवारी श्रीप्रसाद जबेगूले पाएका छन् । माओवादी केन्द्रीय सदस्य सुरेश आलेमगरले तेह्रथुममा लिम्बुवान स्वायत्त गणराज्यको घोषणा गरेका थिए ।


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: