१५ हजार राँगा बलि दिइयो, बोकाको बलि दिन सुरु

बारा, मङ्सिर १०। विश्वमै सबैभन्दा धेरै बलि दिइने शक्ति पीठका रुपमा विख्यात गढीमाई मेलामा आज बिहानैदेखि बोकाको बलि दिन सुरु गरिएको छ। यसअघि हिजो चौरमा छाडिएका १५ हजार राँगालाई ३ सय जना बुच्चरहरुमार्फत जहाँ जस्तो अवस्थामा जुन भेट्यो छप्काइएको थियो।
ऐतिहासिक र धार्मिक शक्तिपीठ गढीमाई मन्दिरका मूल पुजारी मङ्गल चौधरीले धार्मिक तथा धामी दुःख कछडियाले तान्त्रिक विधिअनुसार मङ्सिर शुल्क सप्तमी अर्थात् सोमबार मध्यरातमा पूजाअर्चना गरेर पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुले भाकल गरेको राँगाको बलि दिने कार्य बिहानदेखि सुरु भएको थियो। बोका र अन्य पशुपक्षीको बलि भने आज अष्टमीदेखि त्रयोदशीसम्म दिइने छ। यस वर्ष मेलामा झण्डै १८ हजार राँगा बलि दिइने अनुमान गरिएको भए पनि १५ हजारमात्र बलि दिइएको व्यवस्थापन उपसमितिका संयोजक धीरज महतोले बताउनुभयो।
सोमबार मध्यरात सबैभन्दा पहिले गढीमाई मन्दिरमा मूल पुजारीले लिपपोत गरेर विधिवत्रुपमा पूजाअर्चना गरी गढीमाईलाई रिझाउँछन् अनि माईको मूर्तिमा पाँच वर्षसम्मको पूजाअर्चना एकै पटक गर्छन्, मूल पुजारी मङ्गल चौधरीले भन्नुभयो– पूजाका लागि प्रत्येक वर्ष गाउँभरिमा नै सबैभन्दा पहिले लगाइएको धानबालीबाट प्राप्त धान शुद्धताका साथ राखेर गढीमाईको मेला परेको वर्ष कुटेर निकालिएको चामलको खीर बनाई प्रसादस्वरुप माईलाई अर्पण गरिन्छ र त्यसपछि दुइवटा हाँसको अण्डालाई बलि दिएर पूजाअर्चना गरेपछि मात्र धामी कछडियाले तान्त्रिक विधिअनुसार पूजा सुरु गर्छन्।
धामी कछडियाले तान्त्रिक विधिअनुसार माईको पूजाआर्चना गरेपछि गढीमाईको पूजाका लागि राखिएको दियो (बत्ती) आफैं बल्छ र त्यसपछि धामी कछडियाले आफ्नो शरीरका महत्वपूर्ण पाँच अङ्ग निधार, आँखाको माथिको भाग, जिब्रो, छाती र दाहिने तिघ्राको रगत दिई नरबलिको परम्परालाई कायम राखेको स्थानीय बासिन्दाको भनाइ छ।
धामी कछडियाले पूजा गरेपछि कुभिण्डो र सेतो मुसाको बलि दिइन्छ। सेतो मुसो पनि कहींबाट आइपुग्छ भन्ने जनधारणा रहे पनि अचेल जङ्गलबाट समातेर ल्याउने गरेको बताइन्छ।
त्यसपछि पाठो, बोको, सुँगुर र राँगाको बलि दिने गरिन्छ। पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुलाई बलि चढाउने अनुरोध गर्ने प्रचलन रहेको स्थानीय बासिन्दा बताउँछन्।
यो मेलाको विशेषता नै बत्ती आफैं बलेपछि बलि दिन सुरु गरिन्छ र बत्ती निभेपछि बलि दिन बन्द गरिन्छ।
त्यसबेलासम्म बलिदिन नसकेका राँगाको कान काटेर छाड्ने प्रचलन छ।
मेलामा बनारस (भारत)का डुमराजाको राँगो बलिका लागि ल्याउने गरिन्छ, जुन सबैका लागि आकर्षणका केन्द्र हुने गर्छ।
गढीमाईको मूल मन्दिरमा बलि नदिएर त्यसको नजिकै अर्थात् करिब ७५ मिटर पूर्व रहेको ब्रह्मस्थानमा राखिएको लिङ्गोमा बलि दिने गरिन्छ। राँगाको बलिचाहिं सप्तमीका दिनमात्र दिइन्छ भने बोका र अन्य पशुपक्षीको बलि अष्टमीदेखि त्रयोदशीसम्म दिइने गरिन्छ।
मेलाका अवसरमा भाकल गरिएका बलि दिन नसक्नेले मकर सङ्क्रान्ति र फागुको दिन पनि बलि दिनसक्ने छुट रहेको बताइन्छ।
पहिले पूजाका क्रममा गढीमाई मन्दिरको वर्गाकार परिधिलाई मन्त्रद्वारा अक्षता छरेर मूल पुजारीद्वारा घेराबन्दी गरिन्छ। यसले गर्दा मेलामा कुनै प्रकारको अनिष्टको संभावना नरहनेे लोकमान्यता छ।
गढीमाई वीरगन्जबाट १७ किलोमिटर पूर्व र बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब सात किलोमिटर टाढा पसाहाखोला नजिक पर्छ।
धार्मिक आस्थाको केन्द्रका रुपमा मात्र नभई पर्यटकीय स्थलका रुपमा समेत आकर्षणको केन्द्र बन्दै गएको गढीमाई मन्दिरमा आजभोलि प्रत्येक दिन दर्शनार्थीको घुइँचो लाग्ने थालेको छ।
आफ्नो मनोकामना पुरा हुने विश्वासका साथ माईको दर्शनका लागि आउने श्रद्धालुको वीरगन्जदेखि नै लर्को थियो।
मेलामा पछिल्लो वर्ष ७० लाखभन्दा बढी दर्शनार्थीले गढीमाईको पूजाअर्चना र दर्शन गरेको तथ्याङ्क छ। यस वर्ष करिब ८० लाखदेखि एक करोड मानिस मेला भर्न आउने तथा ४० हजारभन्दा बढी पशुपक्षीको बलि चढ्ने अनुमान मेला मूल आयोजक समितिले गरेको छ। एक महिनासम्म मेला लागे पनि मुख्य दिन बरियारपुरमा गढीमाईको पूजाअर्चना र दर्शन गर्न आउने श्रद्धालु भक्तजन आजमात्र करिब ५० लाखभन्दा बढी ओर्लिएको अनुमान मेला समितिको छ।
गढीमाईमा हजारौं पशुपक्षीको बलि चढाइएपनि तथा त्यहाँको चौर रगतै रगतले टम्म भएपनि त्यहाँ झिँगा देखिंदैन। यसलाई श्रद्धालु भक्तजनले गढीमाईको शक्तिका रुपमा लिन्छन्।
बलि दिएको राँगाको टाउकालाई ब्रह्मस्थान नजिकैको चौरमा खाल्डो खनी गाडिन्छ। मेलामा ज्यादै घुइँचोले गर्दा कलैयाबाट बरियारपुर जाने बाटोमा पर्ने पसाहा नदी पार गर्नासाथ बलि दिन थालिन्छ।
गढीमाई र यसका मेलाबारे विभिन्न किंवदन्ती पाइन्छन्। किंवदन्तीअनुसार मकवानपुरका सेनराजाहरूको अन्तिम समयमा तत्कालीन बाराको फतेपुर सेमरी गाउँको एक आदिवासी भगवान् चौधरी सेन राजाको राजस्व प्रशासनको चपेटामा परी मकवानपुरगढीमा थुनामा कैद गरिएका थिए।
उनी माईका भक्त थिए। एक दिन राति सपनामा मकवानपुरगढीकी माईले चौधरीलाई भनिन् – ‘तिमी मलाई यहाँबाट अन्यन्त्र लैजाऊ।’ चौधरीले जवाफ दिए – ‘म त स्वयं हथकडी र नेलमा बाँधिएको छु। म कसरी हजुरलाई कतै लान सक्छु र?’
माईले भनिन् – ‘तिमी त्यसको चिन्ता नगर’। रात परेपछि माईको प्रतापले हथकडी र नेलबाट चौधरी मुक्त भए, जेलको ढोका आफैं खुल्यो।
जेलका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मस्त निद्रामा थिए। भगवान् चौधरीले जेलबाट बाहिर निस्केर माईलाई बोकी पहाड, जङ्गल छिचोल्दै बरियारपुरमा पुग्दा उज्यालो भइसकेको थियो। त्यसपछि भगवान चौधरीले माईलाई त्यहीं स्थापना गरे। त्यसैबेलादेखि गढीमाईको पूजाअर्चना र बलिदान दिने प्रचलन सुरु भएको इतिहास छ।
उक्त समयदेखि नै भगवान चौधरीका सन्तानले आजसम्म नबिराई गढीमाईका मूल पुजारीका रुपमा पूजाअर्चना गर्दै आएका छन्।
शिव सिंहको पालादेखि गढीमाईको मेला प्रारम्भ भएको अनुमान गरिन्छ।
गढीमाई मेलाका अवसरमा मान्छेको सहभागिताले यसलाई नेपाली कुम्भमेला पनि भन्ने गरिन्छ। गढीमाई मेला मूल समितिका अध्यक्ष एवम् सभासद् शिवचन्द्र कुशवाहा भन्नुहुन्छ –’धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व प्राप्त गरेको गढीमाईलाई विश्व सम्पदाको सूचीमा राखेर सोहीअनुरुप विकास गर्नसक्नुपर्छ।’
उहाँले विश्वप्रसिद्ध यस मेलामा आउने दर्शनार्थीको सुविधाका लागि सडक, सुरक्षा, ट्राफिक, पानी, बत्ती र सञ्चारलगायतका विविध सुविधा पर्याप्तमात्रमा नभएको गुनासो मेला हेर्न आउने दर्शानार्थीको छ।
मेलामा सर्कस, थिएटर, ठूला तथा मझौला झुला, मौतको कुँआ र ब्रेक डान्सलगायत विभिन्न मनोरन्जनात्मक सामग्री राखिएका छन्।
Back to Top

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: