गुलामको पनि गुलामी

नारायणप्रसाद पौडेल

जब माओवादी आन्दोलन चर्कन थाल्यो, तबदेखि सत्ता र भत्तामा डुबेका नेता कुर्लंदै भन्न थाले- राष्ट्रपतिको कदमबारे सदनमा छलफल गरिँदैन, सडकबाट सरकार बन्न पनि दिइँदैन । सडकमा रोएर, कराएर सरकारको नेतृत्व गर्न पाइँदैन । सदनमा ३०१ संख्या पुर्‍याऊ, आफ़्नो नेतृत्वमा सरकार बनाऊ !निर्वाचनमा जाँदा हारेका नेताले त्यसो भन्नुलाई नाजायज मान्न सकिन्न । अब उनीहरू सडकमा कहिल्यै जाँदैनन्, जनतालाई पनि चिन्दैनन् । जब सडकमा थिए- उनीहरू इमानदार र जनताका प्यारा थिए । जनताको प्यारो हुनु र सत्तासुख भोग्नु एउटै होइनरहेछ भन्ने बुझेपछि उनीहरू जनताबाट टाढिए । जनताबाट जति टाढिँदै गए उति सामन्तवाद र साम्राज्यवादका पि्रयपात्र हुँदै गए । अहिले तिनीहरू महलमा बस्छन्, पजेरोमा गुड्छन्, जहाजमा उड्छन् । हिजो राजाको खुट्टा ढोगेर, बिन्तीपत्र हालेर, भेटी चढाएर सरकारमा जान्थे, मन्त्री-प्रधानमन्त्री बन्थे । त्यसरी सरकारमा जाने गरेकाहरू आज विदेशी मालिकको दर्शन गर्छन्, दान-दक्षिणा चढाउँछन् र आशीर्वाद पाउँछन् । उसले लगाइदिएको भागअनुसार सत्ता र भत्ताको बिलो समाउँछन् । त्यसरी सरकारमा जानेहरूले राष्ट्रपति कदमबारे सदनमा छलफल गरिँदैन र सडकबाट सरकार पनि बन्दैन भन्नुलाई अन्यथा मान्न सकिन्न । उनीहरू साँच्चै बोलेका हुन् ।
साँच्चै हो, उनीहरू जनताकहाँ गएर कहिलै रुँदैनन् पनि । जनताकहाँ गएर रुँदा उनीहरूको इज्जत जान्छ । उनीहरू त जनतालाई रैती मान्छन् । जनताहरू पो हाम्रो महलमा आएर रुनुपर्छ, हामीलाई मालिक मान्नुपर्छ, जदौ गर्नुपर्छ भन्ने ठान्छन् । जनमतले सत्ता र भत्ता नपाएर घिटिघिटी भएपछि विदेशी मालिककहाँ गएर छाती पिटिपिटी रुन्छन् । उनीहरूको रुवाइ हेरेर मालिकले पालो लगाइदिन्छ । त्यसैका लागि दिल्ली-दौड चल्छ । दौडमा अगाडि पर्नेले अगाडि पालो पाउँछ, पछाडि पर्नेले पछाडि । अहिले पनि दिल्ली-दौडको प्रतियोगिता जारी छ । यसमा कसले उछिन्ला, कसले पालो पाउला ? तपाईहरू आफ़ै अनुमान गर्न सक्नुहुन्छ ।
हो, त्यसरी सरकारमा जानेहरूलाई बहुमत पुर्‍याउन कुनै कठिनाइ पर्दैन । उतैबाट तीन सय एक पुर्‍याएर आउँछन्, नभए पार्टी पनि फुटाउँछन् । मन्त्रालय टुक्रा-टुक्रा पारेर भाग लगाउनु, राष्ट्रको ढुकुटी बाँडेर सिध्याउनु, देश कंगाल बनाउनु उनीहरूको सदाचार हो । त्यो हिजोदेखि आजसम्म गर्दै आएको काम पनि हो । त्यस्तालाई कुनै लोकलाज र डर हुँदैन । उनीहरूले जित्न पनि पर्दैन, नजिते पनि मन्त्री-प्रधानमन्त्री पाउँछन् । उनीहरूको भोग्ने र दिने लोकतन्त्र त्यही हो !
भन्दा नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भन्ने, धन्दाचाहिँ भारतको प्रान्तीय सरकारभन्दा पनि तलको अवस्थाको गर्ने ! त्यसैले उत्तरी छिमेकीले पनि दुत्कार्न थालेछ । नत्र नेपालका प्रधानमन्त्री कात्तिक ६ देखि चीन-भ्रमणबाट फर्किसकेका हुन्थे । चीनमा कम्युनिस्ट शासन छ, यहाँको प्रधानमन्त्रीले पनि आफूलाई कम्युनिस्ट नै भएको दाबा गर्छन् । तर, पत्याउनुपर्नेले पत्याएनन् । चिनियाँहरूले नेपाली प्रधानमन्त्रीलाई तिमी मुख्यमन्त्री कि प्रधानमन्त्री भनेर भ्रमणको मिति रद्द गरेका हुन् भन्ने चर्चा यत्रतत्र चलेको छ । यो चर्चामा कति सत्यता छ, त्यो त भ्रमणमा जान खुट्टा उचालेर बसेकालाई थाहा होला ।
चर्चा छ, प्रधानमन्त्रीका सल्लाहकार चीन गएर, बिन्ती बिसाएर, छिट्टै निम्ता दिन, प्रधानमन्त्रीकै रूपमा भ्रमण गर्ने मौका मिलाइदिन रोइ-कराइ गरेर फर्किसके अरे । चीनले उसको रोदन अझै सुनेको छैन अरे । आप\mनै देशको सडकमा र आप\mनै जनतासँग नरुने, नगुहार्ने तर विदेशी सडक र गल्लीमा रुने, दूतावासमा गएर बिन्तीपत्र चढाउनेहरूको पुकार अब चीनले कहिले सुन्छ र भ्रमणको मौका मिलाइदिन्छ, त्यो पनि हेर्नै बाँकी छ । चर्चा छ, दिल्ली-दौडमा गएर र्फकेकाहरूले माधव नेपाललाई प्रधानमन्त्रीका रूपमा चीन जाने मौका नदिने र आफँै टीका लगाउने सम्भावना छ रे ! अब प्रक्रिया पुर्‍याउन मात्र बाँकी छ रे !
हुन त अहिलेको यो सरकार नेपाली जनता र शुभचिन्तक राष्ट्र एवं संयुक्त राष्ट्रसंघमा पनि नराम्रोगरी नांगिएको छ, त्यसैले पूरै बांगिएको छ । अनमिन र संयुक्त राष्ट्रसंघका महासचिवलाई समेत यसले माओवादी देख्न थालेको छ । त्यसैले नेपालभित्र चलिरहेको शान्तिपूर्ण माओवादी आन्दोलनलाई दबाउने योजना बनाउँदै छ । यस्तो सरकारको आदेश नेपालका सुरक्षाकर्मीले मान्नैपर्छ भन्ने बाध्यता के छ ? जनताद्वारा पराजितले निर्वाचितलाई दबाउने हो भने त्यसले कस्तो सन्देश देला, कस्तो नतिजा निकाल्ला ? यस्ता विषयमा नेपालको सुरक्षा निकाय पक्कै पनि अनभिज्ञ नहोला !
किनिएर बनाइएको बहुमत जनता मार्ने लाइसेन्स -प्रमाणपत्र) हुन सक्दैन । विदेशीको इसारामा बनेको बहुमत जनअनुमोदित बन्न सक्दैन । तथाकथित बहुमतको डंका पिटेर देश लुट्न पाइँदैन । प्राविधिक बहुमतका नाउँमा देश बेच्न पाइँदैन । यति कुरा नेपालका सुरक्षाकर्मीलाई राम्ररी थाहा छ । सुरक्षाकर्मीको बर्दी पहिरिँदैमा गुलामको पनि गुलाम बन्नुपर्छ भन्ने केही छैन । नेपाली माटोको माया र स्वाभिमानले नेपालका देशभक्त सुरक्षाकर्मीको मन भित्र-भित्रै कति पोलेको होला ?
अहिले सत्तामा रहेकाहरू यो देशलाई पहिलेदेखि लुट्दै आएका अनुभवी र दक्ष दलहरू हुन् । हिजो यिनका काला कर्तुतले नै नेपाली जनतालाई हतियार उठाउन बाध्य पारेका थिए । यिनैको कुशासनबाट मुक्ति पाउन दसवर्षे युद्ध र उन्नाइसदिने जनआन्दोलन भएको थियो । यिनलाई संविधानसभाको निर्वाचनमा जनताले मतदानबाट हराएर सजाय पनि दिइसकेका थिए । जनताले सजाय दिएकालाई काँधमाथि बोकेर सुरक्षाकर्मीले किन आफ्नो निकायलाई कलंकित पार्ने ? फेरि, किन बदनामी कमाउने ? यस्तो विचार-विमर्श वा छलफल त्यहाँभित्रका जवान र अधिकृतका बीचमा पनि अवश्य हुन्छ होला नि !
सचेत सुरक्षा निकायका प्रमुखहरूले पनि भन्न सक्छन्- ‘हामी जनताले चुनेका नेताको आदेश मान्छौँ, जनताले सजाय दिएका नेताको आदेश मान्दैनौँ । त्यो जनमतको कदर हो । लोकतन्त्रप्रतिको हाम्रो आदर र सम्मान पनि हो । देश र जनताप्रतिको जिम्मेवारी हो ।’ अति भएपछि यस्तो समाचार सुन्ने दिन पनि नआउला भन्न सकिन्न ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: