बालुवाको ढिस्कोकोले पुरिएर पाँच जनाको मृत्यु दर्जनौ घाईते

दुवाकोट भक्तपुरकी गंगा बास्तोलाले एकैछिनअघि भलाकुसारी भएकालाई बालुवाखानीको खाल्टोबाट मृत झिकेको देख्नुपर्žयो। नजिकैको खेतमा काम गरिररहेकी उनी त्यो दुखद घटनाकी प्रत्यक्षदर्शी भइन्। ‘केहीबेरअघि मात्रै उनीहरूले मलाई के छ दिदी भनेका थिए ,देख्दादेख्दै बालुवाको थुप्रो खस्न थाल्यो।’ कोही चिच्याउँदै भाग्न थाले, कोही पुरिए। बास्तोलाले आत्तिएर कराउन थालेपछि क्रमशः वरपरका मानिस जम्मा भएका थिए।अवैध रूपमा सञ्चालित खानीबाट झिकेर थुपारिएको बालुवाले किचेर ढिस्कोमूनि काम गरिरहेका पाँच जनाको बुधबार बिहान मृत्यु भएको छ। दुवाकोट -५ मा रहेको बालुवाखानीमा बिहान साढे ६ बजे भएको दुर्घटनामा तीन बालुवा बोक्ने ट्रकका कामदार र दुई मजदूरको मृत्यु भएको हो।दुर्घटनामा तीन घाइते भएका छन्। उनीहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। झन्डै ३० जना काममा व्यस्त रहेको बेला करिब १ सय ४० मिटर अग्लो बालुवाको थुप्रो भासिएको थियो। त्यसले करिब १० फिट र ६ फिट गहिरा दुई खाल्टामा काम गरिरेका कामदार पुरिएको बाँस्तोलाले बताइन्।

मृत्यु हुनेमा दोलखाका कृष्णप्रसाद फुयाँल (३०) दावा शेर्पा (४५), रोहित घिमिरे (२८), रामेछापका फुर्वा तामाङ, काभ्रेकी चञ्चली थिङ छन्। फुयाँल र घिमिरे बा२ख ४०३३ नम्बरको ट्रकका खलासी हुन् भने तामाङ बा२ख ५८३२ नम्बरको ट्रकका खलासी हुन्। घाइतेमा शिखरडाँडा काभ्रेका रामबहादुर लामा, देवी लामा र नगरकोटकी अस्मिता लामा छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विमल ढकालले बताए। ढिस्कोमा पुरिएकालाई ३ सयभन्दा बढी स्थानीय र सशस्त्र प्रहरी टोलीले उद्धार गरेको थियो। खाल्टोबाट शव निकाल्न चार घन्टा लागेको थियो। घाइते भएका आधामात्रै पुरिएका थिए। शव निकाल्न डोजरको प्रयोग गरिएको थियो।

दुई वर्षअघि दुवाकोट-६ मा यस्तै दुर्घटना हुँदा एक जनाको मृत्यु र थुपै घाइते भएका थिए। त्यसबेलाका घाइतेमध्येका एक सिताराम गौतम बुधबार बिहान बालुवाखानीनजिकै खेतको डिलमा बसेर गहभरि आँसु पारिरहेका थिए। दुर्घटनापछि उनले ९ महिनासम्म अस्पतालमा बसेर उपचार गराए। तर, अहिले पनि उनको कम्मरतलको भाग राम्रोसँग चल्दैन। घटनामा मृत्यु भएका फुयाँल र घिमिरे उनका आफन्त हुन्। उनले भने, ‘उनीहरू मरे, तर मलाई बाँच्न कति गार्žहो भइरहेको छ।’

ढिस्को भत्किएपछि बालुवा बोक्दै गरेका र पन्छाउँदै गरेका छेउछाउका कामदार भागेका थिए । ‘बालुवा बोकेर घोप्ट्याउन जाँदै थिएँ, एक्कासी ढिस्को खस्यो,’ घटनामा परी भक्तपुर अस्पतालमा उपचार गराइरहेकी अस्मिता लामाले भनिन्, ‘ढिस्कोको अलि टाढा भएका भागे, बीचमा रहेका पुरिए।’

करिब सात महिनादेखि सञ्चालित खानी अवैध भएको प्रहरीले जनाएको छ। निकाल्ने क्रममा माथिल्लो भागमा बालुवा बाँकी नै भएकाले अरू बालुवा दक्षिणतिर थुपार्न थालिएको थियो।
मृत्यु भएका र घाइतेमध्ये अधिकांश सोही क्षेत्रमा परिवारैसहित बस्दै आएका थिए। परिवारका कमाउने सदस्यको मृत्यु भएपछि बालबच्चाको भरणपोषणमा असर पर्ने घाइते बताउँछन्। स्थानीयले अवैध बालुवाखानी बन्द गर्न र मृतकका परिवार र घाइतेलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

पर्ति जग्गामा रहेको बालुवाखानी स्थानीय सरोज थापाले बिनाअनुमाति सञ्चालन गरेको स्थानीयले बताए। उनीहरूले यसबारे प्रहरीलाई उजुरी गर्दा पनि कुनै कारबाही नभएको बताए। ‘उसले (थापा) प्रहरीलाई पैसा खुवाएर चलाएको सार्वजनिक रूपमै बताउने गरेको छ,’ नाम बताउन नचाहने स्थानीयले भने। महानगरीय प्रहरी प्रभाग भक्तपुरका प्रहरी निरीक्षक बलराम विष्टले घटनाबारे छानबिन भइरहेको बताए। ‘खतराको संकेत हुदाँ पनि केही हुँदैन भन्दै कामदार लगाइएको रहेछ, त्यसले गर्दा पनि गम्भीर लापरवाही देखिएको छ,’ उनले भने।

उपत्यकामा अवैध रूपमा सञ्चालन हुँदै आएका बालुवाखानीले बुधबार फेरि पाँच मजदुरको ज्यान लिएको छ। उपत्यकाका विभिन्न नदी, खोला र खानीबाट बालुवा झिक्दा यसअघि थुप्रै मजदुर मृत्युको मुखमा परेका छन्। प्रहरी, जिविस कर्मचारी र ठेकेदारको मिलेमतोमा अवैध बालुवा व्यापार सञ्चालन हुँदै आएको छ।

भक्तपुरको दुवाकोटमा भएको खानी दुर्घटना नयाँ नभई निरन्तर दोहोरिँदै आएको आकस्मिकतामात्रै हो। कम्मरसम्म बालुवाको थुप्रोले पुरिएर पनि बाँच्न सफल २६ वर्षीया देवी लामालाई भेट्न साँझपख गोठाटार पुग्दा यसअघि यही गाउँमा मात्रै कम्तीमा दुई मजदुरको खानीबाट बालुवा झिक्दाझिक्दै मृत्यु भएको थाहा भयो।

एक वर्षअघि गोठाटारको जम्मुडाँडामा सञ्चालित खानीबाट बालुवा झिक्ने क्रममा ट्रक चालक मोहन लामाको ज्यान गएको थियो। त्यसअघि गोठाटारकै अर्को खानीभित्र बालुवाको ढिस्को खस्दा ढाड भाँचिएका लाल तामाङको उपचार गर्दागर्दै मृत्यु भएको थियो।

उपत्यकाका विभिन्न खोला र खानीबाट बालुवा झिक्ने काम गर्न खासगरी काभ्रे, नुवाकोट र दोलखाजस्ता नजिकका जिल्लाबाट गरिब मानिस आउँछन्। ठेकेदारले उनीहरूलाई बढी पैसा कमाउने लोभमा सुरक्षाका आधारभूत उपकरणबिनै खानीमा पसाउँछन्। यसैले प्रत्येक वर्ष थुप्रै खानी मजदूरले ज्यान गुमाउनु परेको छ।

ठाउँ-ठाउँमा अवैध रूपले खानी सञ्चालन भएको र मजदूरलाई अत्यन्तै थोरै ज्याला दिएर सुरक्षाको निश्चित मापदण्डबिनै काममा लगाउने गरेको छर्लंग हुँदाहुँदै पनि स्थानीय निकाय र प्रहरी प्रशासनले चासो दिएका छैनन्। किनकि, उपत्यकाको अवैध बालुवा व्यापार दादाहरूको मात्र नभई कर्मचारी र प्रहरीको पनि नियमित आयस्रोत हो।

उपत्यकामा वार्षिक करोडौ रुपैयाँको बालुवा कारोबार हुने गरेको छ। गत वर्ष काठमाडौं जिल्ला विकास समितिले मात्र बालुवाबाटै डेढ करोड रुपैयाँ राजस्व उठाएको थियो। ऐनमा खानीबाट बालुवा झिकेर बजारमा बेच्न लैजाँदा सानाखाले ट्रकले ३ सय २० र ठूलाखाले ट्रकले ५ सय ३० रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था छ।

बजारमा ठूलाखाले ट्रकको बालुवालाई करिब ८ हजार र सानोखाले ट्रकको बालुवालाई करिब ५ हजार रुपैयाँ पर्छ। जिविसले उठाउने राजस्व र बजार मूल्यको औसत निकालेर हिसाब गर्दा काठमाडौंमा मात्रै २० करोड रुपैयाँ बराबरको बालुवा कारोबार हुने देखिन्छ।

भक्तपुरमा पनि लगभग यही परिमाणमा बालुवा कारोबार हुन्छ। भक्तपुर जिल्ला विकास समितिले २२ बालुवा खानीका लागि अनुमतिपत्र दिएको छ। काठमाडौंमा २७ वटा बालुवा खानी छन्। तर, यो वैध व्यापारको मात्रै हिसाब हो। ‘अवैध व्यापारको पनि हिसाब गर्दा बालुवाको कारोबारले झण्डै एक अर्ब रुपैयाँ नाघ्छ,’ स्थानीय विकास मन्त्रालयका एक अधिकारीले नागरिकसँग भने।

एक पूर्व स्थानीय विकास अधिकारीको भनाइमा बालुवा व्यापारमा मुख्य रूपले तीन अवस्थामा भ्रष्टाचार हुन्छ। पहिलो, ठेकेदारले अनुमति लिएको क्षेत्रभन्दा बाहिर गएर बालुवा झिक्छ। दोस्रो, अनुमति पाएको परिमाणभन्दा बढी बालुवा लैजान्छ। तेस्रो, हरेक ट्रकवापत तिर्नुपर्ने राजस्व तिर्दैन। ‘यी तीन अवस्थामा ठेकेदार, प्रहरी र कर्मचारीको मिलेमतो हुन्छ,’ ती अधिकारीले भने।

अनुमतिपत्रमा उल्लेख गरिएको क्षेत्रभन्दा बाहिर जाने, तोकिएभन्दा बढी बालुवा झिक्ने र राजस्व छल्ने ठेकेदारलाई समात्न जिविसले प्रहरीलाई अनुरोध गर्छ। तर, प्रहरीले यस्ता ठेकेदारलाई समात्नुको सट्टा उनीहरुसँग ‘कुरा मिलाई’ पैसा खान्छ। यसमा प्रायः जिविसकै कर्मचारीको समेत मिलेमतो हुने गरेको छ।

‘कहिँलेकाहीँ जिविस आफैंले पहल गरी ट्रक समात्छ,’ ती अधिकारीले भने, ‘तर, यस्तो ट्रकको मालिक कुनै शक्तिशाली प्रहरी अधिकारी र नेता भइदिन्छन्।’ एकपटक आफूले ट्रक समातेको १५ मिनेटभित्रै एक वरिष्ठ प्रहरी अधिकारीको फोन आएको उनी बताउँछन्। ‘मसँग ट्रक छाड्नुको विकल्प थिएन,’ उनी भन्छन्।

बालुवाको अवैध व्यापारमा गुण्डागर्दीमा लागेका मानिसको पनि संलग्नता पाइन्छ। ‘डन’का रूपमा चिनिएका दीपक मनाङे र चत्रे्क मिलनको एउटा महत्वपूर्ण आयस्रोत यही अवैध कारोबार भएको तथ्य छिपेको छैन। अन्य साना ‘डन’ पनि बालुवा व्यापारमा संलग्न छन्।

तर, महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी उपरीक्षक नवराज सिलवाल अहिले बालुवा व्यापार मनाङे र चत्रे्कको पञ्जामा नरहेको बताउँछन्। ‘अहिले सबै डन पक्राउ परिसकेका छन्, उनीहरूको हातमा बालुवा व्यापार छैन,’ सिलवाल भन्छन्, ‘बरु, गुण्डागर्दीकै भरमा ठेक्का हात पार्ने सिण्डिकेट यो व्यापारमा छ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: