इलाम र झापामा सीमा मिचिएको ठहर

सरकारको एक संयुक्त टोलीले इलाम र झापामा भारतीय पक्षबाट सीमा मिचिएको ठहर गरेको छ । गृह मन्त्रालय र नापी विभागबाट खटिएको संयुक्त टोलीले यस्तो ठहर गरेको हो । गृह मन्त्रालयले सीमा मिचिएको स्थलगत अध्ययन प्रतिवेदन संलग्न राखी परराष्ट्र मन्त्रालयलाई नेपालस्थित भारतीय दूतावाससँग कूटनीतिक पहल गर्न पत्राचारसमेत गरेको छ । ‘हाम्रो स्थलगत अध्ययन टोलीले ती दुई जिल्लामा भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा मिचिएको निष्कर्ष निकालेको छ । मिचिएको भूमि फिर्ता गराउन र समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने काम परराष्ट्र मन्त्रालयको हो,’ गृहका एक उच्च अधिकृतले भने । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गृह र नापीको संयुक्त टोलीको प्रतिवेदन अध्ययनपछि नेपालस्थित भारतीय दूतावासमा पत्राचार गरिसकिएको छ । सीमासँग सम्बन्धित संवेदनशील विषय भएकाले परराष्ट्रले गम्भीर ध्यानाकर्षणसहित हालै दूतावासलाई पत्रसमेत लेखेको स्रोतले बतायो ।

परराष्ट्र मन्त्रालयका एक अधिकृतका अनुसार दुई मुलुकसँग सम्बन्धित विषयमा नेपाली पक्षबाट एकतर्फी छानबिन गरी प्रतिवेदन तयार पारेको भन्दै भारतीय दूतावासले उल्टै मौखिक रूपमा आपत्ति जनाएको थियो ।

संयुक्त टोलीले गृहसचिवमार्फत परराष्ट्र मन्त्रालयमा पेस गरेको प्रतिवेदनमा इलामका ६ स्थानमा सीमा अतिक्रमण भएको उल्लेख छ । सीमा स्तम्भ नम्बर ७३ -पुरानो २६) देखि केही उत्तरतर्फ दुईवटा घरहरू दसगजामा साविकदेखि नै अतिक्रमण हुने गरी भारतीय पक्षबाट निर्माण भएको जनाएको छ ।

‘यो विवरण दुई मुलुकको संयुक्त प्राविधिक कमिटीको रेकर्डमा समेत परेको छ । घरदेखि केही उत्तरमा निर्मित जवाहर नवोदित विद्यालयको खेल मैदान र पर्खाल पनि दसगजामै पर्न गएको छ,’ परराष्ट्रस्रोतबाट कान्तिपुरलाई प्राप्त गोप्य प्रतिवेदनमा उल्लेख छ । इलामकै पशुपतिनगरको सीमा स्तम्भ नम्बर ७१/६ मा निर्मित भारतीय सीमा प्रहरीको चेकपोस्ट पनि दसगजाभित्र परेको प्रतिवेदनमा छ । हिले क्षेत्रमा सीमा स्तम्भ नम्बर ७१/२१ र ७१/२३ बीचको नभेटिएको ७१/२२ नम्बरको सीमा स्तम्भ पनि भारतीय सीमा सुरक्षा बलले रातारात गाडेको जनाइएको छ ।

सीमा स्तम्भ नम्बर ७१/१० देखि उत्तरको भिरालो जमिनमा भारतीय सीमा सुरक्षा बलले गाडेका ९० मध्ये ६० वटा पोल पनि दसगजाभित्र परेको अध्ययन टोलीको ठहर छ । पुल खोला क्षेत्र सीमा स्तम्भ नम्बर ७०/२ र ७०/३ को बीचमा भारतीय सीमा सुरक्षा बलले सीमा मिचेर करिब एक सय मिटर लामो अस्थायी क्याम्पसमेत निर्माण गरेको जनाइएको छ । साथै दसगजामा चिहानहरू बनाएको र भारतीयहरूले घरसमेत निर्माण गरेको प्रतिवेदनमा छ ।

यसैगरी माने भन्ज्याङमा सडकको दायाँबायाँ दुवैतर्फ दसगजा मिची दुई सय मिटर जतिमा घरहरू निर्माण भएको जनाइएको छ । गृहका सीमा शाखाका उपसचिव सुधीरकुमार शाह र नापी विभागका अधिकृत कुमार कार्कीसहितको टोलीले स्थलगत अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो । इलामको टोलीमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत पदमप्रसाद भट्टराई, पशुपतिनगर इलाका प्रहरी कार्यालयका निरीक्षक मोहनकुमार शेर्पा, सीमा प्रशासन कार्यालय, पशुपतिनगरका शाखा अधिकृत यज्ञप्रसाद निरौला, पशुपतिनगर सीमा प्रमुख सोनाम छिरिङ लामा र राष्ट्रिय अनुसन्धानका नरेन्द्र नेम्वाङ सहभागी थिए ।

यसैगरी झापाको सीमा स्तम्भ नम्बर १३३/६ देखि पश्चिम उत्तरमा करिब ३० मिटर नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बलका तत्कालीन सहायक कमान्डर पंकज डंगवालको निर्देशनमा आठवटा बाँसका भाटाहरू जमिनमाथि चार फिट देखिने गरी गाडेर एकतर्फी सीमा कायम गरेको प्रतिवेदनमा जनाइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: