कसरी उडायो त सपना सबै हुरीले…

image

केपी ढुंगाना/नयाँ पत्रिका

काठमाडौं, १ असोज

गृह राज्यमन्त्री रिजवान अन्सारीको स्वकीय सचिवको नक्कली परिचयपत्र बनाएको अभियोग लागेका उमानाथ खतिवडाले गृह राज्यमन्त्री अन्सारीका लागि दसैंअगाडि घर किनिदिने सर्तमा मन्त्रालयबाटै कार्ड पाएको दाबी गरेका छन् । गृह राज्यमन्त्रीकै आदेशअनुसार पैसा संकलन गर्दा पक्राउ परेपछि आफूलाई धोका भएको गुनासो उनले गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई नक्कली परिचयपत्र बोकेको अभियोगमा मुद्दा चलाएको छ । तर, गृह राज्यमन्त्रीका सञ्चार सल्लाहकार राजेन्द्र अर्यालले पनि खतिवडालाई कार्ड बनाइदिएको तत्कालै स्विकारेका थिए । खतिवडा पक्राउ परेको घटना पर्दाफास हुनासाथ अर्यालले नयाँ पत्रिकासँग भनेका थिए, ‘उसलाई सिंहदरबारभित्र छिर्नका लागि मात्र कार्ड बनाइदिएको हो, अरू काममा प्रयोग गरेछ, त्यसैले पक्राउ पर्‍यो ।’ तर, सिंहदरबार छिर्नका लागि सर्वसाधारणले नागरिकता देखाउनुपर्छ भने खतिवडाका लागि स्वकीय सचिवको पद दिएर कार्ड किन दिइयो भन्नेबारेमा गृह राज्यमन्त्रीका सहयोगीहरूले केही पनि बताएका छैनन् ।

खतिवडाको कार्डमा गृह मन्त्रालयका उपसचिव किरण कार्कीले हस्ताक्षर गरेका छन् । कार्कीले पनि खतिवडाका लागि सिंहदरबार प्रवेशको गेटपास मात्र बनाइदिएको भनेर प्रहरीलाई जानकारी दिएका छन् ।

प्रहरीले किर्तेको अभियोगमा खतिवडाविरुद्ध अदालतमा मुद्दा दायर गर्दा उनको कार्डमा हस्ताक्षर गर्ने गृहका उपसचिव कार्की फेला परेनन् भनेर मिसिलमा लेखेको छ । तर, कार्की अहिले पनि उपसचिवको रूपमा गृह मन्त्रालयमा कार्यरत छन् । गृह मन्त्रालयमै कार्यरत कर्मचारी फेला परेनन् भनेर प्रहरीले गृह राज्यमन्त्रीलाई बचाउन खोजेको र उनको आदेशमा चलेको सर्वसाधारण

(आफू) लाई फसाउन खोजेको खतिवडाले बताए ।

धरौटीमा रिहा भएका खतिवडाले नयाँ पत्रिका कार्यालयमा आएर पक्राउ पर्नुअगाडिसम्म गरेको सबै कामको विवरण देखाउँदै क्यासिनोहरूमा डिल गरेर आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउने र उनीहरूसँग पैसा लिने योजनासमेत बनाएको बताए । ‘होटल हायात र मल्ल होटलको क्यासिनोमा केही मान्छे नियुक्त गर्ने कुरा मिलिसकेको थियो । तर, त्यही वेला म पक्राउ परेँ,’ खतिवडाले बताए ।

खतिवडाले प्रहरी जवानमा भर्ना गरिदिन्छु भन्दै रामकाजी बान्तवासँग ४० हजार लिएको पनि स्वीकार गरे, यसका लागि गृह राज्यमन्त्रीबाट स्वीकृति लिएको पनि उनले बताए ।

त्यस्तै, अपहरणको अभियोगमा डिल्लीबजार कारागारमा रहेका प्रह्लाद महतको ज्यान मुद्दाको फाइल ‘फरवार्ड’ गराएर एक लाख लिएको, गृह राज्यमन्त्रीको खर्चका लागि प्रहरी जवान डम्बरबहादुर पालसँग २० हजार लिएको पनि उनले स्विकारे ।

गृह मन्त्रालयले तीनवटा दमकल किन्ने तयारी गरेपछि दमकल खरिदमा पाँच प्रतिशत कमिसनको कुरा मिलाउन गृह राज्यमन्त्रीले आफूलाई जिम्मा दिएको उनले दाबी गरे । उनले भने, ‘दमकल किन्दा हामीलाई पाँच प्रतिशत कमिसन चाहिन्छ भनेर गृह राज्यमन्त्रीले कुरा मिलाउन भने, निर्देशनअनुसार पोखरेल थरका एक व्यापारीसँग कुरा मिलिसकेको थियो, तर पूरा गर्न सकिनँ ।’

गृह राज्यमन्त्रीको स्वकीय सचिवको हैसियतमा आफूले महानगरीय प्रहरी वृत्त बौद्ध, सोह्रखुट्टे, दरबारमार्ग, सातदोबाटो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी प्रधान कार्यालयका उच्च प्रहरी अधिकृतहरूसँग पटक-पटक आर्थिक लेनदेनबारे छलफल गरेको उनले दाबी गरे । खतिवडाले भने, ‘मैले आफैं नक्कली कार्ड बनाएको भए अरूलाई ठग्न जान्थेँ, प्रहरीका हाकिमहरूसँग गएर गृह मन्त्रालयको बारेमा छलफल गर्ने आँट कसरी गर्थेँ ?’

गृह मन्त्रालयको परिचयपत्रसहित नयाँ पत्रिकाको कार्यालयमा आएका खतिवडाले भने, ‘म गृह राज्यमन्त्रीको स्वकीय सचिवको हैसियतमा दैनिक गृह मन्त्रालय आवत-जावत गरिरहेको थिएँ, गृह राज्यमन्त्रीको सचिवालयमा बस्थेँ,’ उनले भने, ‘मन्त्रालयको गाडी प्रयोग गरेर प्रहरीका उच्चतहका हाकिमदेखि गृह मन्त्रालयका हाकिमहरूलाई भेटेर खरिद-बिक्रीको डिल गर्थेँ, तर पक्राउ परेपछि बद्नाम हुने डरले मलाई एक्लो सिकार बनाइयो ।’

गृह राज्यमन्त्री अन्सारीले आफूलाई सेवा-सुविधा नतोकी उपत्यकाको प्रहरी एकाइहरूबाट पैसा उठाउने र गृह मन्त्रालयले गर्ने खरिद-बिक्रीको डिल गर्ने जिम्मा दिएको उनको दाबी छ । ‘अन्सारीले मलाई महिनामा तीन लाख जम्मा गर्नुपर्ने निर्देशनसहित प्रहरीको सरुवा, बढुवा र विदेश भ्रमणका विषयमा डिल गर्ने जिम्मा दिएका थिए,’ उनले भने, ‘गृह मन्त्रालयले खरिद गर्ने सामग्रीमा कमिसनको कुरा मिलाउने जिम्मा पनि मेरै थियो ।’

दसैंअगाडिसम्ममा ३० लाख रकम संकलन गरी गृह राज्यमन्त्रीको नाममा काठमाडौंमा घर किन्ने योजना बनाएर काम गरिरहेको उनको दाबी छ । एमाले जिल्ला कमिटी सर्लाहीका सचिव रेवती पन्तसमेत सो योजनामा सक्रिय रहेको उनले दाबी गरे ।

घर किनिदिने योजना थियोः खतिवडा

झापामा बसेर अनेरास्ववियुमार्फत विद्यार्थी राजनीतिमा सक्रिय थिएँ । उता सर्लाहीमा पनि राजनीतिक गतिविधिमा हिँड्ने भएकाले त्यहाँ पनि मेरो राम्रो पहिचान बनिसकेको थियो । दोस्रो जनआन्दोलनको सफलतासँगै प्रतिनिधिसभा पुनस्र्थापना भएपछि संसद्मा सबै पार्टीबाट सांसद थपिए । एमालेको कोटामा परेको १० जनामा रिजवान अन्सारी सांसद नियुक्त भएपछि उनको र मेरो चिनजान भएको हो ।

अन्सारी सांसद नियुक्त भएपछि सर्लाही जिल्ला कमिटीका तत्कालीन उपसचिव रेवती पन्तसँगै काठमाडौंको अनामनगरमा रहेको उनको डेरामा गएर मैले बधाई दिएँ । त्यसपछि एमाले पार्टी मुख्यालय बल्खुमा फाट्टफुट्ट भेट हुन्थ्यो । संविधानसभा निर्वाचनको मिति तोकिएलगत्तै एमालेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा अन्सारी पनि परे । अनामनगरको कोठामा गएर उनलाई बधाई दिएँ । त्यहीवेला उनको र मेरो विशेष चिनजान भएको हो ।

उनी सर्लाहीबाट समानुपातिकमा परे । सर्लाही क्षेत्र नम्बर २ मा मेरो पनि राम्रो परिचय थियो । एक दिन उनको कोठामा चिया खाँदै चुनावी रणनीतिको बारेमा छलफल भयो । जिल्लाको बारेमा मैले विस्तृत बताएपछि उनले आफ्नो चुनावी प्रचारमा सँगै हिँड्न मलाई आग्रह गरे । उनले ‘म मुस्लिम समुदायको व्यक्ति हुँ, सभासद् भएर पार्टी सरकारमा गयो भने मन्त्री हुने चान्स बढी छ, अहिले सहयोग गर, मन्त्री भएपछि मिलेर काम गरौँला’ भने ।

उनको प्रस्ताव ठीकै लाग्यो । म उनीसँगै सर्लाही गएँ । अनि झापा जिल्लामा रहेको मेरो पार्टी सदस्यता पनि सर्लाहीमा सारेँ । म उनीसँगै २० दिन सर्लाहीमा चुनाव प्रचारमा हिँडे । सर्लाहीको एक सय गाविसमध्ये ८० वटा गाविसमा म उनीसितै गएको थिएँ ।

मेहनतअनुसार उनी समानुपातिकमा छनोट पनि भए । समानुपातिकबाट सभासद् भएपछि पनि उनले ‘तपाईं डिल गर्न सिपालु हुनुहुन्छ, मिलेर काम गर्नुपर्छ है’ भनेका थिए । एमाले माओवादी नेतृत्वको सरकारमा गए पनि उनी मन्त्री भएनन् । तर पनि फाट्टफुट्ट भेटघाट भइरहन्थ्यो ।

माओवादी नेतृत्वको सरकार ढल्यो । उनी अब चैं मन्त्री हुन्छु भन्दै थिए । उनी मुस्लिम संगठनको उपाध्यक्ष पनि हुन् । त्यसैले मन्त्री बन्न एमाले निकट मुस्लिम संगठनबाट प्रेसर गराइरहेका थिए ।

म झापामै थिएँ । उनी राज्यमन्त्रीमा नियुक्त भएको समाचार सुनेँ । म काठमाडौं फर्किंदै थिएँ, उनले शपथ लिइरहेका थिए । काठमाडौं आएलगत्तै उनलाई भेट्न अनामनगरमा रहेको उनको कोठामा गएँ । उनले पुरानै शैलीमा ‘म मधेसबाट आएको मान्छे, मेरो साथमा चलाख मान्छे त्यति छैनन्, अब मिलेर काम गर्नुपर्छ’ भने ।

उनी त्यही दिन डेरा छोडेर पुल्चोक क्वाटरमा सरे । बेलुका क्वाटरमा उनीसित म, सर्लाहीका पार्टीसचिव पन्त, पत्रकार राजेन्द्र अर्याल बसेर छलफल गर्‍यौँ । उनले मलाई स्वकीय सचिव बनाउने बताए । उनी आफैंले ‘यो सरकार कति समय टिक्ने हो थाहा छैन, पछि चुनाव लड्न जिल्ला जाँदा पनि पैसा चाहिन्छ नै । त्यसैले बद्नाम नहुनेगरी पैसा कमाउनुपर्छ, मिलेर काम गरौँ’ भन्ने प्रस्ताव ल्याए ।

महिनाको तीन लाख मैले उठाउने योजना बन्यो, अरूले अरू जिम्मा पाए । मैले उठाएको पैसाबाट गृह राज्यमन्त्री अन्सारीका लागि काठमाडौंमा घर किन्ने सहमति भएको थियो । उनको योजनाअनुसार ३० लाखजति उठाएपछि किस्तामा घर किन्ने योजनासमेत बनेको थियो । उनले मन्त्री पद सकिएपछि क्वाटरबाट बाहिरिँदा आफ्नै घरमा बस्नुपर्‍यो भनेका थिए ।

छलफलबाट मलाई काठमाडौंका प्रहरी एकाइहरू र क्यासिनो हेर्ने जिम्मा दिइयो । उनले प्रहरीको सरुवा, बढुवाको सूची बनाउने, विदेश जाने प्रहरीसँग डिल गर्ने अनि क्यासिनोमा गएर व्यवस्थापनसँग पैसा र आफ्ना मान्छेहरूलाई जागिर लगाउने काम गर्न भनेका थिए । उनले तत्काल निजी सचिव किरण कार्कीलाई बोलाएर मेरो स्वकीय सचिवको कार्ड बनाइदिन निर्देशन दिए । निर्देशनअनुसार उनले पनि कार्ड बनाइदिए ।

स्वकीय सचिवमा नियुक्त भएपछि म दिनभर मन्त्रालयमा हुन्थेँ । सचिवालयमा छलफल गरेर कता जाने भन्ने टुंगो लागेपछि सचिवालयमा रहेको गाडी लिएर हिँड्थेँ । हायात होटलमा केही मान्छेलाई काम लगाउने योजना थियो ।

यसबीचमा बौद्ध वृत्तमा गएँ । त्यहाँका परियार थरका डिएसपीले हुन्छ भनेका थिए । पहिलो भेटमै पैसाको कुरा गर्नुभएन । यसो सहयोग गर्नुपर्छ है भनेको थिएँ । उनी बढुवाप्रति चासो देखाइरहेका थिए ।

छलफलअनुसार नै महानगरीय प्रहरी अपराध महाशाखा, सोह्रखुट्टे, सातदोबाटो, दरबारमार्ग हिँडिरहेको थिएँ । प्रहरी प्रधान कार्यालयमा धेरैपटक गृह राज्यमन्त्रीको स्वकीय सचिवको हैसियतमा त्यहाँका डिआइजी, एसएसपीहरूसँग छलफल पनि गरेको थिएँ । प्रायः सबैतिरबाट हामीलाई परेको वेला सहयोग गर्नुपर्छ, सकेको सहयोग गरिहाल्छौँ नि भनेका थिए । प्रहरीसँग कुरा गर्दा उनीहरू प्रायः सरुवा-बढुवाको बढी कुरा गर्थे । पहिलो भेट भएकाले पहिला नै पैसाको कुरा गर्न मिलेन । तर, उनीहरू सहयोग लिन-दिन तयार थिए ।

होटल मल्ल गएर त्यहाँको व्यवस्थापनसँग कुरा गरेँ । त्यहाँको क्यासिनोमा केही मान्छे राख्ने योजना थियो । होटल व्यवस्थापनले सकारात्मक जवाफ दिएको थियो । यहीबीचमा गृहले तीनवटा दमकल किन्ने तयारी गरेको थियो । त्यसको डिलको जिम्मा पनि मलाई नै दिइयो । पोखरेल थरका एक व्यापारीसँग पाँच प्रतिशत कमिसन दिने सर्तमा छलफल अगाडि बढाएको थिएँ ।

यसबीचमा प्रहरी जवानमा भर्ना गरिदिन एकजना युवा रामकाजी बान्तवासँग ४० हजार रुपैयाँ लिएका थियौँ । त्यो सचिवालयको काममा खर्च भयो । डम्बरबहादुर पाल भन्ने एक जवानलाई पनि बढुवा गराइदिने भनेर गृह राज्यमन्त्रीका लागि २० हजार पैसा उठायौँ । सर्लाहीका डिल्ली अधिकारीले असई भर्नाका लागि भनेर तीन लाख जति उठाएका थिए ।

प्रह्लाद महतको नाममा बौद्ध वृत्तमा ज्यान मुद्दाको केस थियो । अपहरणको अभियोगमा डिल्लीबजार कारागारमा रहेका उनको फाइल अदालतमा आइसकेको थिएन । पौडेल थरको एक वकिलले फाइल फरवार्ड गराउन सक्छौ भने पैसा आउँछ भने । मैले एक लाख दिने भए सक्छु भनेँ । कुरा मिल्यो । त्यसवेला बौद्धमा ओम राना डिएसपी थिए । राना फाइल अदालत पठाउन तयार भए । एक लाखमध्ये वकिलले ३० हजार र रानाले ३० हजार लिए । ४० हजार हामीले पायौँ, फाइल पनि अघि बढ्यो ।

यसैगरी दसैं अगाडिसम्ममा ३० लाखजति उठाउने योजना थियो । त्यहीअनुसार सबैतिर काम पनि भइरहेको थियो । २७ असारमा सचिवालयको गाडीमा सिंहदरबार गेटमा उत्रिएको मात्र थिएँ, झ्याप्पै कसैले पक्राउ गर्‍यो । पछि थाहा भयो, प्रहरी रहेछन् । उनीहरूले हनुमानढोकामा ल्याएर किर्तेमा मुद्दा चलाए । धरौटीमा छुटेको छु, अब के हुन्छ थाहा छैन

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: