नेपाल भारतसँग छुट्टिँदैछ

नेपाल अब पहिलेजस्तो छैन। यो अब क्रमशः भारतसँग छुट्टिने जमर्को गर्दैछ, नेपालविद् मानिने भारतीय बुद्धिजीवी डा. एस. डी. मुनी भन्नुहुन्छ। एसियाली अनुसन्धान केन्द्र सिनासको आयोजनामा गत हप्ता यहाँ भएको सार्कसम्बन्धी विशेष गोष्ठीमा भाग लिन यहाँ आउनुभएको उहाँले दुई दशकअघि नेपालको विदेश नीतिबारे विद्यावारिधि गर्नुभएको छ। नेपालको विषयमा उहाँले लेख्नुभएका पुस्तक र आलेखहरु निकै चर्चित भएका छन्। हाल उहाँ जवाहरलाल नेहरु विश्वविद्यालयमा दक्षिण एसिया विषयक प्राध्यापक हुनुहन्छ, तर भनिन्छ, भारतीय सरकारले नेपालसम्बन्धी नीति निर्माण गर्दा प्रायः उहाँको पनि राय लिने गर्दछ।
गत हप्ता डा. मुनीले नेपाल भारतबीचको वर्तमान राजनीतिक सम्बन्धबारे आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो– हुन त दुबै देशबीच कुनै राजनीतिक समस्या छैन, तर आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धको तुलनामा राजनीतिक सम्बन्ध त्यति घनिष्ट भएजस्तो लाग्दैन। १९६० मा यहाँ राजनीतिक परिवर्तन भएर पञ्चायत व्यवस्थाको शुरुआत भएदेखि नै नेपाल आफूलाई भारतबाट बढी स्वतन्त्र पार्न खोजिरहेछ। नेपाल एउटा स्वतन्त्र राष्ट्र हो भन्ने कुरामा शंका छैन, तर यसरी बढी स्वतन्त्र पार्ने वा भारतसँग टाढिन खोज्ने नीतिले गर्दा दुई देशबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध पनि प्रभावित भएको छ।
० तर, भारतमा अझै यस्ता मान्छे छन्, जो अखण्ड भारतको कल्पना गर्छन्, र नेपाल भारतकै अंग हो भन्ठान्छन्।

तपाई पनि यस्तै ठान्नु त हुन्न?
हैन, हैन म यस्तो सोच्दिन। र, मलाई के लाग्छ भने नेपाललाई भारतकै अंग ठान्ने मान्छे भारतमा ज्यादै थोरै छन्। विचार स्पष्ट नभएका केही मान्छेहरु हरेक देशमा हुन्छन्। यो त्यस्तै हो। नेपालमा पनि केही मान्छेहरु होलान्, जो भारतप्रति अर्कै खाले दृष्टिकोण राख्छन्। नेपाल भारतकै अंग हो भन्नेहरुप्रति मेरो कुनै सहानुभूति छैन।

० नेपालले सधैं भारतप्रति विश्वास राखी आएको छ, र आफू सानो देश भएर पनि भारतसँगको आफ्नो सीमानासमेत खुल्ला छोडी दिएको छ। तर, भारतले भने बाटो बनाउनेजस्ता साना–साना कुरामा समेत हस्तक्षेप गरेर ठूला दाजुको जस्तो व्यवहार वा दादागिरी गरिरहेको देखिन्छ।

भारतले यसो गर्नु ठीक हो भन्ने ठान्नुहुन्छ?

भारतले नेपालमा यसो गरेको होलाजस्तो मलाई लाग्दैन। तपाईले ठूल्दाजुजस्तो भन्नुभयो। ठूल्दाजु भन्नुको तपाईको आसय बिग ब्रदर भन्ने होला। हेर्नुस्, बिग ब्रदर भन्ने शब्द हाम्रो होइन, यो पश्चिमी संस्कृतिको उपज हो। बिग ब्रदर त्यस्तोलाई भनिन्छ, जसले अरुमाथि आँखा गाड्छ, जसले अरुलाई थिच्न खोज्छ। भारतले आफूलाई ठूल्दाजु सम्भि्कन सक्छ, तर बिग ब्रदर हैन। ठूल्दाजु, जसले सानो भाइलाई माया गर्छ, सहयोग गर्छ, अगाडि बढ्न मद्दत पुर्या्उँछ, यस्तो सम्बन्ध होला। तर, बिग ब्रदरजस्तो वा दादागिरी गर्ने प्रकारको नीति भारतको भएजस्तो मलाई लाग्दैन, र त्यस्तो हुनु पनि हुँदैन। तपाईले सडक निर्माण आदिमा हस्तक्षेप भएको कुरा उठाउनुभयो। यो के हो भने, कुनै पनि परिवार ज्यादा नजिक छन् भने, दुई भाइ टाँस्सिएर बसेका छन् भने, दुई मित्र अत्यन्त घनिष्ट छन् भने यस्ता सानातिना समस्या र ठाकठुक परिरहन्छन्, ठाकठुक पर्ने नै नजिक जो छ, त्यहीँसँग हो। तर, आपसमा सानोतिनो किचलो उत्पन्न हुँदैमा त्यसलाई ठूलो प्रश्न बनाउनु हुँदैन। समस्याको समाधान खोज्नुपर्छ, ताकि भविष्यमा फेरि त्यस्ता घटना नहुन्।

० नेपालको शुभचिन्तक भएर भन्नुस् त, नेपाल भारतबीचको १९५० को सन्धीलाई फेर्नु आवश्यक छ कि छैन?
यस्ता मान्छे पनि छन्, जो भन्छन्, खुला सीमा भएकोले नेपाललाई प्रशस्त राजनीतिक फाइदा भएको छ। उनीहरुको तर्क छ : नेपालमा बेरोजगारी र गरिबीको समस्या ज्यादै चर्को छ, र खुल्ला सीमाना भएकोले पहाडतिरका गरिब नागरिक र बेरोजगारहरु ठूलो संख्यामा भारत गएर काम गरिरहेका छन्। यसले गर्दा सरकारप्रतिको असन्तोष र आक्रोश कम भएको छ। यदि उनीहरुले भारतमा काम पाएनन्, र भारतमा बस्ने सबै नेपालीले नेपालमै काम खोज्नुपर्ने स्थिति आयो भने यहाँको सरकारले त्यो भार थाम्न सक्ने छैन, सरकार र यो व्यवस्था नै थला पर्नेछ। त्यस्तै, भारतमा पनि यस्ता व्यक्ति छन्, जो नेपाललाई १९५० को सन्धीले बढी छुट दिएको मन पराउँदैनन्, र समान सम्बन्ध हुनुपर्छ भन्छन्। १९५० को सन्धीले नेपाललाई साँच्चै नै धेरै सुविधा दिएको छ। जस्तै, नेपाली नागरिक भारतमा जग्गा किनेर, घर बनाएर बस्न सक्छन्, बसिरहेका छन्, तर नेपाल भारतीय नागरिकलाई यो सुविधा दिन बाध्य छैन। नेपालीहरु भारतमा जागिर खान पाउँछन्।

विश्वविद्यालयहरुमा नेपालीहरु छन्, तर के मैले यहाँ जागिर खान चाहें भने त्रि. वि. वि. ले दिन्छ?
यस्ता थुप्रै प्रावधान छन्। यदि सन्धी फेर्ने नै हो र अरु देशहरुसँगकै जस्तो सम्बन्ध राख्ने हो भने नेपाली नागरिक र सरकारले हाल पाई आएका यस्ता सुविधा पनि फेरिन वा गुम्न सक्छन्। त्यस सन्धीमा केही जटिलता र समस्या पनि अवश्य छन्, तर फाइदा लिने हो भने केही जटिलता र समस्या त बेहोर्नै पर्छ नि। त्यसकारण, सबै पक्ष विचार गरेर मात्र सन्धी फेर्ने कुरा गर्नु ठीक होला। यदि नेपाल चाहन्छ भने भारतलाई कुनै आपत्ति होला भन्ने मलाई लाग्दैन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: