संसदीय ढाँचाको संविधान निर्माण गरिएमा एमाले र काँग्रेससमेत ज्ञानेन्द्रको हालत बनाइदिने प्रकाशको चेतावनी

एकीकृत नेकपा माओवादीले पोखरामा बिहीबार जनसभा सम्पन्न गरेको छ। राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको पक्षमा आन्दोलनरत् प्रमुख प्रतिपक्षी दल माओवादीले पूर्वघोषित देशब्यापी जनसभाअन्तर्गत पोखराको अमरसिंहचौरमा जनसभा गरेको हो। जनसभालाई सम्बोधन गर्दै माओवादीका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले २२ दलीय गठबन्धनले माओवादीलाई घेराबन्दीमा पारेर मुलुकमा संसदीय ब्यवस्था लागू गर्न खोजेको आरोप लगाए। उनले संसदीय ढाँचाको संविधान निर्माण गरिएमा एमाले र काँग्रेससमेत पूर्वराजा ज्ञानेन्द्रको हविगत बनाइदिने चेतावनीसमेत दिए।

ज्ञानेन्द्रले संविधानसभा नचाहेर राजतन्त्र गुमाएजस्तै जनसंविधान निर्माण गर्न नदिए काँग्रेस र एमालेको पनि सोही हविगत भोग्नेछन–उनको चेतावनी थियो। माओवादीलाई घेराबन्दीमा पारेर २२ दलहरुले राष्ट्रपति शासन लाद्न खोजेको समेत बताउँदै उनले चेतावनी दिए यसो भए देशमा ठूलो रक्तपात मच्चिनेछ।राष्ट्रिय स्वाधिनता र मुलुकको अखण्डताका लागि माओवादी लडिरहने र अहिलेको सरकारलाई तत्काल हटाएर माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने उनको दाबी थियो।
माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन पूर्णरुपमा समायोजन नगरेसम्म संविधान बन्न नसक्ने समेत उनले सम्बोधनका क्रममा ठोकुवा गरे।

जनसभामा पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले विदेशी शक्तिहरुको चलखेलमा लागेर अन्य दलहरुले जनआन्दोलनबाट प्राप्त उपलब्धीको दुरुपयोग भएको आरोप लगाए। विदेशी शक्तिहरुको सामु घुँडा नटेकेकै कारण माओवादीको सरकार ढलेको स्वीकार्दै उनले राष्ट्रपतिको बिरुद्धमा लागेका दलहरुलाई समेटेर छिट्टै राष्ट्रिय सरकार बनाउने बताए। जनसभामा पार्टीका केन्द्रीय सदस्य लेखराज भट्ट, सभासद् खिमलाल देवकोटा, तमुवान राज्य समितिका इञ्चार्ज हितराज पाण्डे उत्तमलगायतले वर्तमान सरकारको कार्यशैलीको निन्दा गर्दै नागरिक सर्वोच्चता कायम नभएसम्म माओवादीले आन्दोलन नरोक्ने बताए।

जनसभापूर्व माओवादीका विभिन्न जनवर्गीय संगठनहरुले पोखरा र लेखनाथका विभिन्न ठाउँ ठाउँबाट जुलुस प्रदर्शन गरेका थिए। जनसभामा सहभागी हुन कास्कीसहित छिमेकी जिल्लाहरु तनहू, स्याङ्जा, पर्वत, पाल्पा, बाग्लुङ, म्याग्दी, रुपन्देही, लमजुङ, गोरखाबाट समेत दर्जनौ संख्यामा बसमार्फत् कार्यकर्ताहरु पोखरा ओसारिएको थियो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: