प्रचण्ड, बाबुरामहरू! जाऊ बागद्वार नुहाएर आऊ -मधुसूदन पाण्डेय

उकाली चढ्नुपर्ने पाइलाहरू ओराली लाग्न थाले भने, ओराली झर्नुपर्ने पाइलाहरू उकाली चढ्न थाले भने, पुलमाथि हिँड्नुपर्ने मान्छे पुलमुनि हिँड्न थाले भने, लहलह धान झुल्ने खेतमा तुच्छ कोदो रोप्न थालियो भने धर्तीमाता कति रोलिन्, देख्ने सुन्नेहरूले कति खिसी गर्लान्। अमूल्य समय व्यर्थमा खेर फाल्दा राष्ट्रले कत्रो मूल्य चुकाउनुपर्ला? सुमार्ग छाडी कुमार्गमा लागियो भने, चाँडै सुतेर अबेरमा उठ्न थालियोे भने, न योग छ, न अभ्यास छ, आलस्यमा दिन बिताउन थालेपछि त्यस्ताबाट राष्ट्रले के अपेक्षा गर्ने? हिजो हामी वीरेन्द्रले एसियाली मापदण्डका कुरा गर्दा पनि उनका कुरालाई ठट्टा गरेर उडायौ। बीपीले समाजवादका कुरा गर्दा पनि त्यसैगरी उडायौं। तिनै कुरा आज प्रचण्ड र बाबुरामहरू फलाकी रहेका छन्।हामी खित्का छाडी हाँसिरहेका छौ। नहाँसौ पनि कसरी जबकी यी बबुराहरूसँग। त्यसका लागि न मार्गचित्र छ, न शान्तिका लागि समर्पण। यिनीहरू त यतिबेला आफ्ना उकाली चढ्नुपर्ने पाइलालाई ओराली झार्दैछन्। पुलमाथि हिँड्नुपर्ने बेलामा पुलमुनि हिँड्दै छन्। लहलह धान झुल्ने खेतमा तुच्छ कोदो फलाउने अभ्यासमा छन्। सुमार्गमा हिँड्नुपर्ने बेलामा कुमार्ग समातेका छन्। त्यसैको परिणाम यिनीहरू आत्महत्या गरेर मरेका, हृदयघात भएर मरेका, गाडीले किचेर मरेका, काठ तस्करी गर्दा मारिएका, पार्टीगत दुश्मनीका कारण मारिएका र मृत्युको प्रकृति नै नखुलेकालाई पनि पार्टीको झन्डा ओढाइ सहिद घोषणा गर्न सरकारमाथि दबाब दिइरहेका छन्। विगतमा माथि उल्लेख भएकै प्रकृतिका मृतकलाई पनि सहिद घोषणा गरिसकिएको छ र भविष्यमा पनि त्यस्ता सहिद हाम्रा खेतबारी, पाखापखेरा, सडक, गोरेटामा फल्ने नै छन्।
मैले त पढेको थिएँ, बिनापरिश्रम बोटमा लटरम्म फल फल्दैन। बिनामेहनत कुलोमा पानी उक्लिँदैन। पाखुरा नबजारी चमेलीबाट बास्नासमेत आउँदैन। परिश्रमबिना तोरीबाट तेल निस्किँदैन, तर ती भनाइहरू पनि बेकार रहेछन्। प्रचण्ड र बाबुरामहरू परिश्रमबिना बोटमा फल फलाउने प्रयास गरिरहेका छन्। बिनामेहनत कुलोमा पानी चढाउने प्रयासमा छन्। पाखुरै नबजारी चमेलीको फूलबाट वास्ना निकाल्दैछन्। तोरीको गेडाबाट तेल निकाल्ने धृष्टता गर्दैछन्। यी पंक्तिहरू पढ्दा एकथरि पाठकलाई लाग्नेछ कि यो स्तम्भकार पूर्वाग्रहद्वारा पीडित छ र स्तम्भ एकपक्षीय छ, तर हैन, पाठकवृन्द त्यो कदापि हैन। प्रचण्ड र बाबुरामकै कारण हामी आज ६ सय एकलाई सभासद् मान्न बाध्य भएका छौं। उनीहरूले दुई सय, दुई सय पाँच, दुई सय ४० जति गराउँ भनेको भए पनि हुनसक्थ्यो त्यतिबेला, तर समानुपतिक हठकै कारण त्यति ठूलो आकार ग्रहण गरेको हो। यो कुरा सबैलाई थाहै छ। हाम्रो भाग्यमा सहनुबाहेक अर्थोक लेखेकै रहेनछ, त्यसैले त ६ सय एकको गह्रौ भारी बोकिरहेका छौं। भारी जतिसुकै गह्रांै भए पनि त्यसले आफूले पाएको म्यान्डेटअनुसार अनि आफैंले निर्धारण गरेको सभ्य तालिकाअनुसार काम पनि गर्दै गएको भए धन्यवादै दिन्थ्यौं हामी, तर ती सबै यतिबेला पुलमाथिबाट हैन, पुलमुनिबाट हिँडिरहेका छन्। लहलह धान फल्ने खेतमा तुच्छ कोदो रोपिरहेका छन्। यसलाई हामी के भनेर बुझौं? सुमार्ग या कुमार्ग? अग्रगमन भनेर बुझौं या पश्चगमन? उनीहरूप्रति हामी आशावादी हुने या निराश? रोगको लक्षण हेर्दा त लाग्दैन कि सुमार्गमा छन्। अग्रगमनमा छन्। आशा गर्ने ठाउँ छैन। दिनहुँ सदन अवरुद्ध छ।
दिनहुँ सडक संघर्ष छ। दिनहुँ सरकार गिराउने एकसूत्रीय बकवास छ। दिनहुँ वाईसीएल अराजकता छ।  दिनहुँ नेताहरूका धम्कीपूर्ण भाषण छन्, दिनहुँ धमास दिन्छन्, युद्धबाट आएका शक्ति हौं भनेर। हामी पनि भन्छौं, सारा मानव जाति युद्धबाटै आएको हो। फरक यति छ कि प्रचण्ड–बाबुरामको युद्धले हिंसा जन्मायो भने हाम्रो युद्धले हिंसा अन्त्यको सन्देश दिइरहेको छ। बुद्धको युद्धले त सारा संसारैभरि शान्तिको बिगुल फुकिरहेको छ। उनीहरू र हाम्रो युद्धका बीच हामी विजयी भयौं। उनीहरू पराजित भए। बन्दुक थन्कियो, ब्यालेटले विजय प्राप्त गर्यो । अंगुलीमालहरू प्रचण्ड र बाबुराम भए। प्रधानमन्त्री र अर्थमन्त्री भए। बन्दुकले जित्न नसकेकाहरूलाई ब्यालेटले विजयी बनायो र यहाँसम्म ल्याइपुर्यातयो। अबको टडकारो प्रश्न हो–’विजयलाई पराजयतर्फ ढल्कने या त्यो हैसियतलाई यथास्थितिमा राख्ने?’ रोगका लक्षणहरू हेर्दा लाग्दैन कि उनीहरू विजयलाई यथास्थितिमा राख्न सफल हुनेछन्। विजय–पराजय, उत्थान, यी सबै प्रकृतिका शाश्वत नियम हुन्। उनीहरूका यतिबेलाका उद्ण्डता, बन्दुक उठाउने धम्की, तेस्रो जनआन्दोलनको तयारी, सरकार ढाली आफू सरकारमा जाने उद्घोष, राष्ट्रपति र प्रधानमन्त्रीको आतिथ्यमा हुन गइरहेका कार्यक्रममा ढुंगामुढा, कालोझन्डा प्रदर्शन, हूलइज्जत आदिले त के संकेत  गर्दैछ भने उनीहरू पराजयतर्फ उन्मुख छन्।
दोस्रो जनआन्दोलनलाई सफल आन्दोलन नमानी तेस्रो जनआन्दोलनको तयारी गर्नु भनेको प्रतिक्रान्तिको जन्म दिनु हो। बागमती जतिसुकै प्रदूषित भए पनि त्यसको मुहान बागद्वारलाई प्रदूषित गर्ने क्षमता कुनै पनि माइकालालमा छैन। यो भनाइमाथि विश्वास लाग्दैन भने पाँच घन्टा पैदल हिँडेर पुगे हुन्छ बागद्वार, प्रजातन्त्र पनि त्यही बागद्वार जस्तै हो। प्रजातन्त्रका महारथीहरू प्रदूषित होलान् र भएका पनि छन्, तर प्रजातन्त्र प्रदूषित भएको एउटा प्रमाण छ कतै? अंगुलीमालले पनि बुद्धमाथि आक्रमण गर्ने प्रयास गरेकै हो, तर अन्ततः उनकै चेला बन्यो। पापकर्मबाट मुक्ति पायो। हो, नेपालको प्रजातन्त्रलाई प्रदूषित पार्ने काम अरु कोहीबाट नभई गिरिजाप्रसादबाटै भएको हो र यो पनि सत्य हो कि प्रजातन्त्र नै मास्छौं भनी बन्दुक भिरेर जंगल पसेकाहरूलाई प्रजातन्त्रको सुन्दर रूप मतपत्रमा ल्याउने काम पनि गिरिजाप्रसादबाटै भएको हो। त्यसैले प्रचण्ड–बाबुराम कमरेडहरू अब छोड बम, बारुद र बन्दुकका कुरा। कन्टेनरको बन्दुकलाई कन्टेनरमै रहन देऊ। फेरि त्यसैको सिरानी हाल्ने हैन, बरु मान्छेको विश्वासको सिरानी हाल। बागमती अपवित्र छ, त्यो सत्य हो। त्यसैले जाऊ बागद्वार गएर शुद्ध भएर आऊ। सारा नेपालीको आस्थामा ठेस नपुर्याऊऊ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: