माओवादी नेतृत्वमा मात्रै क्रान्ति सम्भव छ – डा. बाबुराम भट्टराई, उपाध्यक्ष, एकीकृत नेकपा (माओवादी)एवम् अध्यक्ष, संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल

Baburam-Bhattarai१२ बुँदे सहमतिमार्फत् सुरू भएको सहमतीय राजनीति संवैधानिक समितिको सभापतिको निर्वाचनसम्म आइपुग्दा लगभग अन्त्य भएको जस्तो देखिएको छ ? के अन्त्य भएको हो ?
सबै चिज दुनियाँमा गतिशील हुन्छ, त्यसैले सहमति सम्झौतालाई पनि नवीकरण गर्दै अगाडि बढाउँदै जानुपर्छ । एउटा सहमतिले सधैंलाई पुग्छ भन्ने होइन । १२ बुँदेले हामीलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्यायो । त्यसपछि अगाडि जानका निम्ति नयाँ ढङ्गको सहमति आवश्यक छ । घटनाक्रमले त्यसको पुष्टि पनि गरेको छ । संवैधानिक समितिको सभापतिको निर्वाचनसम्म आइपुग्दा सहमतिको अन्त्य भएको कुरा केही हदसम्म सही हो ।
सहमतिको बाधक को हो ?
वर्गीय रूपले नै भन्ने हो, राजनीतिक शक्तिको हिसाबले भन्दा संसदवादी शक्ति र त्यसमा पनि काङ्ग्रेस र एमालेको एउटा हिस्सा नै हो, जसले राजतन्त्रको अन्त्यपछि पनि राजतन्त्रकै अवशेष बिउँताउने कोसिस गरिरहेको छ ।
यसले संविधान निर्माणमा कस्तो असर पार्छ ?
यथास्थितिवादी शक्तिहरू अग्रगमनलाई नै रोक्ने ढङ्गले अगाडि आएका कारणले अग्रगामी शक्तिको नेतृत्वमा विभिन्न शक्तिहरूको साझा दस्तावेजको संविधान बनाउन यसले केही अवरोध सिर्जना गरेको छ । राम्रो संविधान बन्छ कि बन्दैन भन्ने एउटा गम्भीर प्रश्न अगाडि आएको छ । हाम्रो पार्टीको स्पष्ट अडान अहिले पनि अग्रगमनमुखी नयाँ संविधान बनाएर अगाडि जान सकिन्छ भन्ने हो तर त्यसका लागि १२ बुँदेभन्दा अझ उच्चस्तरको सहमति गर्न आवश्यक छ ।
सङ्घीय जनगणतन्त्रात्मक सङ्घीयता बन्ने सम्भावना टरेको हो त ?
होइन, अहिलेको आवश्यकता जनताको सङ्घीय गणतन्त्रको सारतत्व बोकेको संविधान निर्माण गर्ने भन्ने हो तर अहिले जसरी २०४७ सालको संविधान निर्माणमा भूमिका खेलेको मानिसलाई  अगाडि सारे, त्यसले त्यो संविधान राजतन्त्र मात्र झिकेको पश्चगामी यथास्थितिवादी संविधान बन्ने सम्भावना छ । त्यो नेपाली जनतालाई कदापी स्वीकार्य हुन सक्दैन । त्यसले राष्ट्रको हित पनि गर्दैन ।
तपाईंहरुले भनेजस्तो नयाँ संविधान नबनेको खण्डमा त्यस पछाडिको अवस्था के हुन्छ ?
यो प्रश्न धेरै गम्भीर छ । संविधानसभामा माओवादीले निर्णायक अग्रता हासिल गरिसकेपछि हिजोका संसदवादी शक्तिहरू हच्किए उनीहरू मात्रै होइन, विदेशी शक्तिहरू पनि झस्किए । उनीहरूले माओवादी नेतृत्वलाई कमजोर पानर्, एक्ल्याउने कोसिस गरे । त्यसैको परिणामस्वरूप उनीहरूले संविधानमा संशोधन गरेर बहुमतीय पद्धति ल्याए । त्यतिबेलादेखि नै सहमतीय प्रणालीको लगभग अन्त्य गरियो । र, अग्रगमनकारी शक्तिलाई घेराबन्दीमा राख्ने दिशामा राजनीति गयो । खासगरी वैशाख २० मा राष्ट्रपतिमार्फत् \’कु\’को मञ्चन गरेपछि र यो समितिको निर्वाचनसम्म आइपुग्दा त्यो झन् पुष्टि भएको छ । देश तीव्रगतिमा पश्चगमनतिर गइरहेको छ भन्ने प्रमाणित भएको छ । त्यसलाई रोक्नका निम्ति संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल गठन गरिएको हो । हामीलाई लाग्छ, व्यापक जनताको प्रतिरोधले मात्रै त्यो प्रतिगमनलाई रोक्न सकिन्छ ।
कतिपयले मोर्चालाई सरकारमा जाने भर्‍याङ भन्छन् यो मोर्चाको मुख्य लक्ष्य के हो ?
सरकार त हाम्रा लागि अग्रगमनको हतियार मात्रै हो । यति अग्रगमनको सहायक बन्ने भयो भने सरकारमा रहने हो, बाधक बन्दा सरकार छाड्ने हो । माओवादीका लागि सरकारको कुर्सी प्यारो हुन्थ्यो भने वैशाख २१ गते हामीले राजीनामा गर्ने थिएनौं । र, कटवाललाई कारबाही पनि गर्ने थिएनौं । तर, हामी बहुसङ्ख्यक जनताका पक्षमा र जनविरोधीहरूको विपक्षमा थियौं । त्यसैले कटवाललाई कारबाही गर्‍यौं । कसैसँग नझुकेर जनताको विश्वासमा आन्दोलनमा गयौं ।
अग्रगमनलाई बाधक बन्ने अवस्थासम्म हामी सरकारमा जान चाहन्नौं यो माओवादीको स्पष्ट अडान हो । जहाँसम्म मोर्चाको कुरा छ, त्यसको मुख्य लक्ष्य भनेको नै राष्ट्रपतिको असंवैधानिक कदम खारेज गरेर नागरिक सर्वोच्चता कायम गर्नु र यो कठपुतली सरकारलाई अपदस्त गरी संयुक्त राष्ट्रिय सरकार बनाउनु हो ।
जनताले बुझ्ने भाषामा नागरिक सर्वोच्चता भनेको के हो ?
राज्यसत्ताको प्रमुख शक्ति सेना, जननिर्वाचित प्रतिनिधि संस्थाको मातहत रहने भन्ने कुरा नै नागरिक सर्वोच्चता हो । ऊ जनताको प्रत्यक्ष निगरानी र नियन्त्रणमा हुनुपर्छ । व्यवहारिक रूपमै नागरिकहरूको सर्वोच्चता कायम गर्ने कुरा नै नागरिक सर्वोच्चता हो । नागरिक सर्वोच्चता मुख्य निर्धारण विन्दु भनेको सेना, नागरिक सरकारको अकुण्ठित निगरानीमा छ कि छैन भन्ने हो  ।
मोर्चाको तत्कालीन र दीर्घकालीन लक्ष्य ?
तत्कालीन रूपले हामीले अगाडि सारेका पैंतालीस बुँदे मागहरू प्राप्त गर्नु हो । त्यतिमात्र नभएर नागरिक सर्वोच्चता कायम गर्नु र संयुक्त सरकार निर्माण गर्नु हो भने दीर्घकालका निम्ति आम जनताको निगरानी र हस्तक्षेपमा राज्यसत्ता नआइन्जेलसम्म सङ्घर्षरत रहनु हो । माओवादी सरकार बनिसकेपछि पनि त्यसलाई जननियन्त्रित बनाउन र जनजीविकाका सवालमा निरन्तर लाग्ने काम यसको हुन्छ ।
१२ वर्ष अगाडि तपाईंहरुले ४० सूत्रीय माग राखेर जनयुद्ध गर्नुभएकोमा अहिले आउँदा पनि माग घट्नुको बदला झन् बढेको देखियो किन यस्तो भयो ?
त्यतिबेला देशमा राजतन्त्रको छत्रछायामा संसदीय व्यवस्था लागु गरिएको थियो । त्यसले जनतालाई वास्तविक जनतन्त्र प्रत्याभूत गराउन सकेको थिएन । त्यसविरुद्ध सङ्घर्ष गर्ने क्रममा ४० बुँदे आएको थियो । अहिले राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको छ । तर, सारतत्वका रूपमा लोकतन्त्र बहुसङ्ख्यक जनताको हित गर्ने गरी जनताको गणतन्त्र बन्न सकेको छैन । त्यसको संरक्षण गर्ने गरी राष्ट्रिय गणतन्त्र पनि बन्न सकेको छैन । जाति, क्षेत्रको मुक्तिको बाहक हुनेगरी सङ्घीय गणतन्त्र बन्न सकेको छैन । त्यसकारण अहिलेको ४५ बुँदे माग गणतन्त्रलाई जनताको सङ्घीय गणतन्त्र बनाउनका लागि अगाडि सारिएको हो । छोटकरीमा भन्दा ४० सूत्रीय माग लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्न थियो र अहिलेको ४५ बुँदे माग जनताको सङ्घीय गणतन्त्र प्राप्त गर्न हो ।
यहाँहरूले राजनीतिक क्रान्ति पूरा भएको र देश आर्थिक क्रान्तिमा गएको बताउनुभएको थियो । फेरि अहिले अर्को आन्दोलनको कुरा गरेर नयाँ राजनीतिक क्रान्ति गर्न खोज्नुभएको हो ?
हामीले क्रान्ति पूरा भएको कहिल्यै भनेका छैनौं । हामी निरन्तर क्रान्तिमा विश्वास गछौ । संविधानसभाको निर्वाचनपछि राजतन्त्रको उन्मूलन हुनु एउटा महत्त्वपूर्ण परिवर्तन हो । त्यो एकखालको राजनीतिक क्रान्ति नै थियो । त्यो पूर्ण क्रान्ति थिएन । राजनीतिक, आर्थिक, सांस्कृतिक क्रान्ति अन्तरसम्बन्धित हुन्छन् । एउटा मात्र पूरा भएर क्रान्ति पूरा हुँदैन । वर्गविहीन समाज नबन्दासम्म क्रान्ति जारी रहन्छ ।
अहिलेको सन्दर्भमा नेपाली क्रान्तिको चरित्र कस्तो हुन्छ ?
हामी अहिले सामन्तबाट पुँजीवादको सङ्क्रमणकालमा छौं । सामन्तवादको नाइके राजतन्त्रको अन्त्य हुँदैमा सामन्तवादका सम्पूर्ण आधारहरू खत्तम भइसकेका छैनन् । अहिले पनि सामन्तवादविरोधी पुँजीवादी जनवादी क्रान्ति नै नेपाली क्रान्तिको चरित्र हो । साम्राज्यवादी युगमा पुँजीवादी जनवादी क्रान्ति समाजवाद उन्मूख हुन सकेन भने त्यो पूरा हुँदैन ।
एक सन्दर्भमा तपाईंले अहिलेको विश्व स्टालिनवादभन्दा टा्रटस्कीवादतिर ढल्किएको बताउनुभएको थियो, त्यसका आधारहरू के हुन् ?
अहिलेको अन्तर्राष्ट्रिय विश्व साम्राज्यवादी भूमण्डलीकृत भएको छ । लेनिनका पालामा युरोप र अमेरिकामा बढी थियो भने अहिले विश्वभरि फैलिएको छ । त्यसकारण लेनिनको पालाभन्दा अहिलेको विश्व धेरै नै परिवर्तित भइसकेको छ । त्यसैले क्रान्ति सम्पन्न गर्दा विश्पव्यापी वर्गसङ्घर्षलाई केन्द्रमा राखेर हेर्नुपर्छ भन्ने अर्थमा त्यो विषय उठाएको हुँ । स्टालिनले एउटै देशमा मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ, अन्तर्राष्ट्रियको महत्त्व त्यति हुँदैन भन्ने कुरामा जोड दिनुभयो भने ट्राटस्कीले विश्वव्यापी रूपमा क्रान्ति हुनुपर्छ भनेर अलि तन्काए । ती दुवै अतिवाद थिए । अहिले हामी भिन्न ठाउँमा आइपुगेका छौं । त्यसैले लेनिनले भनेजस्तै कुनै देशमा अन्तर्राष्ट्रिय शक्तिलाई बढी हेर्नुपर्छ भन्नुभएको थियो । त्यसलाई अलि जोड दिएर अन्तर्राष्ट्रिय भूमिकालाई अलि महत्त्व दिन खोजिएको हो । तर, स्टालिनभन्दा ट्राटस्की बढी सही थिए भन्ने मेरो आसय होइन ।
कतिपयले त्यसैकारणले माओवादी विद्रोहमा जान डराइरहेका छन् भन्दै छन् नि ?
ट्राटस्की छन् विश्वभरि झन् एकैपटक क्रान्ति गर्नुपर्छ भन्थे । उनले क्रान्ति गर्न सकिदैन भन्दैनथे । मान्छेहरूले दक्षिणपन्थी र क्रान्ति गर्न पछाडि हटेको भन्ने कोणबाट पनि बुझ्दछन् तर त्यस्तो होइन । मैले भन्न खोजेको कुरा क्रान्ति सम्भव छ तर त्यसका निम्ति विश्वव्यापी वातावरणलाई ध्यान दिँदै हाम्रो क्रान्तिलाई अन्तर्राष्ट्रिय रूपमा जोडेर लानुपर्छ भन्ने हो ।
त्यसैले अहिले क्रान्ति गर्दा सम्पूर्ण रूपले विश्वव्यापी दृष्टिकोण राखेर योजना बनाउनुपर्छ भन्ने कुरामा म दृढ छु । त्यसमा कसैसँग पनि बहस गर्न तयार छु ।
नेपालले विश्व क्रान्तिको नेतृत्व गर्नु सम्भव छ कि छैन ?
जहाँ असमानता र उत्पीडिन छ, त्यस देशमा क्रान्ति गर्न सम्भव छ । साम्राज्यवादको कडी कमजोर भएकै ठाउँमा पहिले विष्फोट हुन्छ र क्रान्ति सम्पन्न हुन्छ भन्ने लेनिनवादी मान्यता हो । त्यस हिसाबले दक्षिणी गोलार्द्धका देश त्यसमा पनि नेपालले विश्व क्रान्तिका नेतृत्वकारी भूमिका खेल्न सक्छ भन्ने कुरा हाम्रो पार्टीको धारणा हो ।
नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य चुनौती के हो ?
कम्युनिस्ट मुख्य आन्दोलन वैचारिक नै हुन्छ । मालेमावादका आधारभूत सिद्धान्तलाई ठीक ढङ्गले ग्रहण गर्न नसक्नु मुख्य चुनौती हो या त संशोधनवादी ढङ्गले मूलभूत सिद्धान्तलाई नै परित्याग गर्ने, सिर्जनशीलताको विशुद्ध व्यवहारवाद र अनुभववादमा फस्ने दक्षिणपन्थी प्रवृत्ति या त मालेमावादको रक्षा गर्ने नाममा त्यसलाई यान्त्रिक र जड तरिकाले पकडेर बस्ने जडसूत्रीय संशोधनवादी प्रवृत्ति । यी दुई प्रवृत्ति नै नेपाली कम्युनिस्ट आन्दोलनका मुख्य बाधक हुन् । तीमध्ये एमालेले कथित बहुदलीय जनवादका नाममा मालेमावादका आधारभूत सिद्धान्तलाई परित्याग गरेकाले त्यसखालको दक्षिणपन्थी संशोधनवादी प्रवृत्ति नै धेरै घातक छ भन्ने कुरा आम रूपमा सही हो । माओवादी आन्दोलनभित्रकै कुरा गर्ने हो भने माओवादी विचारलाई सिर्जनशील ढङ्गले विकास गर्नुपर्छ भन्ने कुरा ध्यान दिन नसक्नु यान्त्रिकतावादी सङ्कीर्ण जडसूत्रीय चिन्तन पनि कम हानिकारक छैन ।
अहिले नेपाली क्रान्ति सम्पन्न हुनसक्ने आधारहरु के-के छन् ?
यसका मुख्य आधार भनेको पुरानो प्रतिक्रियावादी उत्पादन प्रणाली हो त्यो पुरानै रूपमा टिक्न सक्ने अवस्थामा छैन । किनभने सामन्तवादका आधार धेरै भत्कादै गएका छन् । त्यसका आधारमा उभिएको राज्य संरचना ज्यादै जर्जर छ । त्यो टिक्न सक्दैन, त्यसैले नयाँ ढङ्गले पुनर्संरचना गर्नु अपरिहार्यजस्तो भएको छ । त्यसैले आन्तरिक रूपमा त्यो नै प्रधान पक्ष हो । बाहृय रूपमा सुगौली सन्धिलगायतका सन्धिहरूमार्फत नेपालमा जसरी थिचोमिचो हुँदै आइरहेको छ, त्यसको अन्त्य गर्नका लागि नेपाली जनतामा विकास हुँदै गएको देशभक्तिको भावना निकै उचाईंमा पुगेको छ । त्यसकारणले नेपालमा सम्पन्न हुने प्रवल सम्भावना छ ।
त्यसमा तपाईं विश्वास गर्नुहुन्छ ?
हो म विश्वास गर्छु । किन कि संविधानसभाको विषयमा कुरा गर्दा, गणतन्त्रको कुरा गर्दा अनौठो मान्थे मान्छेहरू । तर, हामी रणनीतिक लक्षमा दृढ हुँदै कार्यनीतिक र व्यवहारिक रूपमा लचिलोपन प्रदर्शन गर्दै आयौं त्यसले गर्दा यो सफलता हासिल भएको छ । त्यसैले अब पनि रणनीतिक दृढता र कार्यनीतिक लचकतालाई ठीक ढङ्गले समायोजन गर्न सक्यौं भने हामी क्रान्ति गर्न, रक्षा गर्न र विकास गर्न सक्छौं । रणनीतिक दृढतालाई छोड्यो भने पनि क्रान्ति हुँदैन, कार्यनीतिक लचकतालाई बिस्यो भने पनि क्रान्ति हुँदैन । हामी नेपालमा माओवादीकै नेतृत्वमा क्रान्ति सम्भव देख्दछौं ।
कटवालमाथिको कारबाही के हो त लचकता कि दृढता ?
त्यो लचकता होइन, राजनीतिक दृढता थियो । त्यसका राज्यको पुनर्संरचनाको प्रश्न जोडिएको थियो । नेपाली राज्यसत्तामा लामो समयदेखि सामन्तवाद राजतन्त्र र त्यो प्रति बफादार रहेको सेना थियो, त्यसलाई लोकतन्त्रीकरण नगरेसम्म नेपालको राज्यले अग्रगामी परिवर्तन पाउन सक्ने थिएन । यो कुरालाई ठीकसँग बुझेर नै हामीले कटवाल गरेका हौं । त्यसो नगरेको भए हाम्रो दृढता हुने थिएन । त्यसले हामीले अर्को प्रकारको  भड्कावमा लैजाने थियो ।
माओवादी बाहिर रहादा राष्ट्रियताको कुरा गर्ने र सत्ता गइसकेपछि बिर्सने गरेको आरोप छ नि ?
त्यसो गथ्र्यो भने माओवादीले अहिले सरकार पनि छाड्दैनथ्यो र यो ढङ्गले आन्दोलनमा पनि जाँदैनथ्यो । सरकारमा रहादा र बाहिर रहादा पनि राष्ट्रियता र जनतन्त्र र जनजीविकाका पक्षमा माओवादी छ । सरकारमा भएको बेला कतिपय सङ्घर्षहरू कूटनीतिक ढङ्गले चलिरहेको हुन्छ, जो सडक देखाउन आवश्यक पनि हुँदैन । त्यसकारण सरकारमा रहेको बेला कूटनीतिक पहलकदमी हुन्छ । तर, सरकारमा बाहिर रहेको बेला कूटनीतिक पहलको पक्ष गौण हुन्छ र सडकबाटै त्यस्ता कुराहरूको अभिव्यक्ति दिनुपर्ने हुन्छ । त्यसले गर्दा मान्छेमा केही भ्रम रहन गएको हो र माओवादीले राष्ट्रियता र देशभक्तिपूर्ण अडान कहिल्यै छोडेको पनि छैन र छाड्ने पनि छैन ।
तपाईंहरुले सुरु गर्नुभएको आन्दोलनले सार्थकता पाउला ?
आन्दोलनले सार्थकता पाउँछ, पाउँछ । किन कि हामीले देश र जनताका अहिलेका अत्यावश्यक मागहरूलाई उठाएका छौं ।
पटकपटकका आन्दोलनबाट उपलब्धिविहीन बनेका जनताहरु फेरि आन्दोलनमा आउँछन् भन्ने विश्वास गर्नुहुन्छ ?
जबसम्म बहुसख्यक जनताको मुक्ति हुँदैन र वर्ग, जाति, क्षेत्र, लिङ्गका समुदाय उत्पीडनमा परिरहन्छन्, तबसम्म यो समुदाय आन्दोलित भइरहन्छ । क्रान्ति भनेको एक दिन एक रातमा पूरा हुने प्रक्रिया होइन, त्यसो भएको हुनाले जनताले धैर्यताका साथ आन्दोलनमा साथ दिँदै आएका पनि छन् र आमूल परिवर्तनको प्रक्रिया पूरा नहुँदासम्म जनता आन्दोलनमा उत्रन्छन् भन्ने हामीलाई विश्वास छ ।
तपाईंहरु यो सरकारलाई कठपुतली भनिरहनुभएको छ, यसको आयु कति छ जस्तो लाग्छ ?
यो सरकार आफ्नो खुट्टामा उभिएकै होइन । यो पानीमा जरा नभएको तैरिने विरुवाजस्तो हो । यो कुनै पनि बेला सानो तरङ्गबाट पनि ढल्छ । यसबारे हामीमा कुनै भ्रम छैन । मुख्य कुरा यो सरकार ढलेपछि अग्रगमनमा लान सकिन्छ भन्ने प्रश्न मुख्य हो । पश्चगामी शक्तिहरूले एकजुट हुने र फेरि पछाडि र्फकने अवस्था नआओस् भन्नेमा हामी सचेत छौं । त्यसकारण हामीले बडो सचेत ढङ्गले यो सरकारको अन्त्य सँगसँगै अग्रगमनको प्रक्रिया पनि सुनिश्चित गर्न हामीले चाहिरहेका छौं । त्यसकारणले माओवादीले यो आन्दोलन फरक ढङ्गले चलाइरहेको हो । वास्तवमा यो सरकार ढल्छ, ढल्नुपर्छ र छिट्टै ढल्छ भन्ने कुनै विवाद छैन । राष्ट्रिय संयुक्त सरकार निर्माण हुने र शान्ति र संविधानले पूर्णता पाउने अवस्थामा यो सरकार ढल्छ र माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्छ ।
त्यसका लागि कति पर्खनु पर्ला ?
आम जनतालाई ती कुरा कति छिट्टो बुझाउन सक्छौं र आन्दोलित गर्न सक्छौं भन्ने कुरामा भर पर्छ । जति जनतालाई छिट्टो बुझाउन सक्यो र आन्दोलनलाई देशव्यापी पार्न सक्यो, त्यति छिट्टै त्यो दिन आउन सक्छ ।
त्यसो गर्दा शान्ति भड्किदैन ?
बहुसंख्यक जनतालाई अहिले पनि शान्ति छैन, त्यसकारण बहुसङ्ख्यक जनतालाई शान्ति दिन केही मुठ्ठभिर तत्त्वको शान्ति त खल्बलिन्छ नै । त्यसकारण धेरैको शान्तिका लागि थोरैलाई अशान्ति हुनु हामी अन्यथा मान्दैनौं ।
एमालेभित्रको विवादलाईर् कसरी हेर्नुहुन्छ ?
एमालेभित्रको विवाद वैचारिक होइन । यो त निहीत व्यक्तिगत र गुटगत स्वार्थका लागि भएकाले त्यसले खासै अर्थ राख्दैन यो सरल शब्दमा भन्दा लोग्नेस्वास्नीको झगडाजस्तो हो ।
आन्दोलनलाई अगाडि बढाउने क्रममा तपाईंहरुले स्थानीय सत्तामा हस्तक्षेप बढाउने भन्नुभएको छ त्यो कस्तो हो ?
हो हामीले स्थानीय सत्तामा संविधानसभाको निर्वाचनमा जनताले दिएको मतका आधारमा समानुपातिक प्रतिनिधित्व गराउने कुरा गरेका छौं तर अहिले काङ्ग्रेस र एमालेले एकलौटी रूपमा रकम बाँड्ने र योजनाका नाममा खाने जुन प्रक्रिया चलाएका छन्, हामीले त्यसको भण्डाफोर गर्ने र त्यसखालका गतिविधिमाथि पूर्णतः बन्देज गराउनेसम्मको योजना ल्याएका छौं । जनताले नै उनीहरूको एकलौटी अधिनाकत्वलाई तोड्नेछन् ।
त्यसको साथै जनताका दैनिक जनजीवन र जनजीविकासँग सम्बन्धित विषयहरूमा जनताको प्रत्यक्ष निगरानी र हस्तक्षेपलाई बढाउने कुरा गरिएको छ ।
मिडियाको भूमिका कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?
अहिलेको लोकतान्त्रिक र सामन्तवाद साम्राज्यवादविरोधी आन्दोलनमा मिडियाको महत्त्वपूर्ण हुन्छ । आम मिडियाकर्मीहरू जनता र राष्ट्रको पक्षधर हुँदाहुँदै पनि मिडिया जबसम्म मुठ्ठभिर पुँजीपतिहरूको हातमा रहन्छ, ठूला घरानाहरूको नियन्त्रणमा रहन्छ, त्यतिबेलासम्म यो स्वतन्त्र बन्न सक्दैन र जनतालाई सही ढङ्गले सुसूचीत गर्न सक्दैन । त्यसैले मिडियाकर्मीले पनि आफ्नो मुक्तिका निम्ति ठूला घरानाहरूको नियन्त्रणबाट आम जनताको नियन्त्रण र पहुँचमा कसरी पुग्ने भन्ने सोच्नुपर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: