भारतलाई चीनको चेतावनी

भारतलाई चीनको चेतावनी: बेइजिङ्ग के गर्न खाज्दै छ?

अरुणाञ्चलको दाबीसहित केही प्रकरणमा भारत लुरुक्क परेर चुप लाग्न विवश बन्यो। चीनको शक्ति र प्रभावका अगाडि केही गर्न वा भन्न सक्ने हैसियत र आँट ऊसंग थिएन, र आज पनि हालत उस्तै छ। – दीपक गजुरेल
चीनले नेपालमा भूमिका र चलखेल बढाउँदै लगेकाले भारत चनाखो भएको छ। आफ्नो सुरक्षामा चीनबाट खतरा बढ्दै गएको महसूस गरी भारत नेपालमा आफ्नो प्रभाव अझ विस्तार गर्न लागिपरेको छ। हिजोआज नेपाली छापाहरुमा यस्ता आसयका खबर तथा विश्लेषण आउने गरेका छन्। सन् १९६२ मा युद्ध लडेका हाम्रा दुई विशाल छिमेकी चीन र भारतबीच झट्ट हेर्दा अहिले सम्बन्ध सामान्य झैँ देखिन्छ। तर स्थिति निकै जटिल तथा संवेदाशील बनेको आभाष विगत् केही समय यता पाउन थालिएको
छ।

चीनको चेतावनी :

नेपाली भूमिमा फ्री तिब्बतको नारा लागिराखेको बेला, दलाई लामाले धर्मशालामा नेपाली सभासद्को टोली लगायत पश्चिमका चर्चित व्यक्तित्वहरुसंग भेट गरिरहेको बेला, चीनका नीति निर्माताहरु चाहिँ भारतलाई रणनीतिक चेतावनी दिइराखेका थिए। र यस्तो चेतावनी परोक्ष रुपमा झन् प्रखर रुपमा आउन थालेको छ।
चाइना इन्ष्टिच्यूट अफ इण्टरनेशनल स्ट्राटेजिक स्टडिज (चाइना आइआइएसएस) नामक ‘थिङ्क ट्याङ्क’ ले भारतलाई एकपछि अर्को धम्की दिएको छ। चाइना आइआइ एस एसडट ओआरजी ठेगाना रहेको सो संस्थाको इण्टरनेट साइटमा हालका केही महिना यता भारत विरुद्ध उत्तेजक लेख तथा बिचारहरु प्रकाशित भैराखेका छन्।

‘भारत सरकारलाई चेतावनी : दुष्ट नबन’ शिर्षकमा गएको अप्रिल महिनामा एउटा लेख प्रकाशित भएको थियो चाइना आइ आइ एस एस डट ओआरजी को उक्त वेब साइटमा। लेख चीनियाँ भाषामा लेखिएको थियो। …भारत आजकाल दुष्ट व्यवहार गर्दैछ। स्थितिको मूल्याङ्कन गलत् ढंगले गर्दैछ। यस्तै बेठीक गतिविधि जारी राख्यौ भने भारत, तिमीले सन् १९६२ को जस्तो स्थितिको सामना गर्नु पर्नेछ, होस् गर,’ उक्त लेखमा भनिएको छ। जोङ्ग झाङ्ग लुई नामक व्यक्तिले लेखेको भनी …बाइलाइन’ प्रकाशित उक्त लेखमा अगाडि भनिएको छ, …भारत अहिले फेरि सन् १९६२ को जस्तो भिडन्तको बाटो हिँड्न खोज्दैछ। भिडन्तको बाटो रोज्नु भनेको भारतका लागि महंगो पथ हो’।

अरुणाचल प्रदेश तथा आसाम क्षेत्रमा केही अघि भारतले थालेको सैनिक सुदृढीकरण र वायु सेनाको अखडा निर्माणको प्रतिक्रिया स्वरुप चीनबाट यस्तो चेतावनी भारतलाई आएको अनुमान एक थरी विश्लेषकको छ।

भारतलाई युद्ध सम्मको धम्कीको भाषा प्रयोग गरी लेख लेख्ने विद्वानको नाम काल्पनिक ठानिएको छ। लेखकको चीनियाँ नाम ‘जोङ्ग झाङ्ग लुई’ को अर्थ ‘चीन रणनीति’ भन्ने लाग्छ। त्यसैले यस्तो बिचार चीनियाँ कम्यूनिष्ट पार्टीका कुनै ठूलै नेताले सार्वजनिक गरेको हुन सक्ने ठम्याइँ भारतीय विश्लेषकहरुको छ।
त्यसो त चीनका अध्ययन वा अनुसन्धान सम्बन्धी कुनै पनि इन्ष्टिच्यूट वा संस्था हामीकहाँको जस्ता होइनन्। त्यस्ता संस्था चीन सरकार र त्यहाँको शासक कम्यूनिष्ट पार्टीको निर्देशनमा हिँड्ने, तथा उनीहरुकै भनाइ गैरसरकारी भान दिने गरी खडा गरिएका हुन्छन्। यो तथ्य जो कोहीलाई थाहा छ।

सन् २००९ को जुन ११ को चीनको सरकारी ‘ग्लोबल टाइम्स’ नामक अखबारले पनि भारतलाई तारो बनाएको छ। ‘भारतको विवेकहीन सैनिक गतिविधि’ शिर्षकमा एउटा लेख सो अखबारले छापेको छ। ‘… भारतको हालको गतिविधिले चीन र भारतबीच भिडन्त निम्त्याउँछ। चीन संग हुने संभाव्य कन्फ्रण्टेशन (भिडन्त) को परिणाम के हुन सक्छ भन्ने कुरालाई भारतले गंभीरतापूर्वक बिचार गरेर मात्र काम गर्नु बुद्धिमानी हुनेछ,’ उक्त लेखमा भनिएको छ।

चीन जान लागेको भारतीय खेलाडीको टोलीमा रहेका अरुणाचल प्रदेश निवासी खेलाडीलाई नयाँ दिल्लीस्थित चीनियाँ राजदूताबासले भिसा दिएन। ‘अरुणाचल क्षेत्र चीनको भूभाग हो। चीनियाँ भूमिमा बसोबास गर्नेका लागि चीन जान भिसा चाहिँदैन’ भन्ने जवाफ केही समय अघि सो दूताबासले दिएको थियो। भारतीयहरुको मथिङ्गल त्यसैबेला खल्बलिएको थियो।

अर्को एउटा घटनाले त दिल्लीका शासकहरुको सातो उडाइदियो। सन् २००८ मा भारतका प्रधानमन्त्रीले अरुणाचल प्रदेशको भ्रमण गर्ने कार्यक्रम बन्यो। चीनले ‘विवादित भूमिमा तिम्रो भ्रमण किन?’ भन्ने प्रश्न गर्‍यो। चीनको यो चेतावनी पछि भारत सरकार आफ्ना प्रधानमन्त्रीको अरुणाचल भ्रमण रोक्न बाध्य भयो।

अरुणाचलमा भारतले गर्न लागेको जलविद्युत विकास आयोजनामा एशियाली विकास बैँकले सहयोग गर्ने सन्दर्भ आउँदा चीनले गरेको विरोध पनि यही सन्दर्भमा हेर्नु उचित हुन्छ।

यी सबै प्रकरणमा भारत नराम्रोसंग अपमानित भएपनि ऊ लुरुक्क परेर चुप लाग्न विवश बन्यो। चीनको शक्ति र प्रभावका अगाडि केही गर्न वा भन्न सक्ने हैसियत र आँट ऊसंग थिएन, र आज पनि हालत उस्तै छ। अरुणाचल प्रदेशलाई चीनले विवादास्पद भूमि मान्दै आएको छ भने भारत सो भूभागलाई आफ्नो प्रान्त दावी गर्छ।

नेपालको स्थान?

सोझो हेर्दा चीन भारतसंग रिसाउनुको कारण अरुणाचल प्रदेशको विषय हो भन्ने देखिन्छ। तर कारण यो एउटा मात्र होइन। नेपाली भूमिबाट चीन विरोधी गतिविधि बढेको, दलाई लामाले बढी चलमल गर्न थालेको, नेपालमा चीन विरोधीहरु प्रोत्साहित भएको जस्ता पक्षलाई चीनियाँहरुले अत्यन्तै गंभीर रुपमा लिएका छन्।

चीनियाँ कम्यूनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उप–मन्त्री ली होङ्ग चाईले २००९ फेब्रअरीमा, नेपाल भ्रमणमा रहेका बेला भनेका कुरा पनि संझना गर्नु यहाँनेर उपयुक्त हुन्छ। …कुनै पनि विदेशी शक्तिले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न चाल्ने कुनै पनि प्रकारको कदमको हामी प्रतिकार गर्छौँ,’ भनेका थिए चाईले त्यसबेला। उनले थप यसो पनि भनेका थिए, ‘चीनको परम्परागत् तथा प्राचीन मित्र नेपालको आन्तरिक मामलामा हस्तक्षेप हामी सहने छैनौँ’।

१२ बुँदे दिल्ली संझौतादेखि यताका समयमा नेपालको आन्तरिक राजनीतिमा भारतको प्रत्यक्ष हस्तक्षेप त अब गोप्य कूटनीतिको विषय नै रहेन, सबै कुरा पारदर्शी भएर बाहिर आएकै छन्। चीनले अहिले भारतलाई दिइराखेको चेतावनी र धम्कीलाई यस सन्दर्भमा समेत जोडेर हेर्नु उपयुक्त हुन्छ।

नेपालको आन्तरिक राजनीति दिन प्रतिदिन दिशाहीन तथा अन्योलग्रस्त बन्दै गएको छ। चीनको प्रभाव नेपालमा बढ्यो भनेर भारतीयहरु चिन्ता व्यक्त गर्दैछन्। ठीक यसैबेला चीनले भारतमाथि रणनीतिक दबाव बढाउँदै लगेको छ।

विगत्लाई हेर्दा चीन भारत सम्बन्ध वा शत्रुतामा नेपालको भूमिका वा नेपालको सन्दर्भ कहिँकतै जोडिएको पाइन्न। तर घटनाहरुको सिलसिला र त्यसबाट आएको परिणाम, खास गरी १९६० र त्यसपछिका दशकहरुको स्थिति विश्लेषण गर्दा तस्बिर जटिल तथा अनौठो देखिन्छ।

यस परिप्रेक्षमा यी प्रसंग पनि स्मरण गर्नु ठीकै होला: सन् १९६१ को अक्टुबरमा कोदारी राजमार्ग निर्माण गर्ने संझौतामा पेकिङ्ग (अहिले बेइजिङ्ग) मा हस्ताक्षर भयो। लगत्तै भारतले नेपाल विरुद्ध नाकाबन्दी गर्‍यो। त्यसको केही समय पछि चीनले भारतमाथि आक्रमण गरी युद्ध शुरु गर्‍यो। युद्ध शुरु भएको लगत्तै भारतले नेपालमाथिको नाकाबन्दी हटायो। १९६२ मा भएको चीन भारत युद्ध पछिका झण्डै तीन दशक नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका लगभग शून्य रह्यो।

भारतीयहरु के भन्दैछन्?

तही रुपमा हेर्दा चीनले भारतमाथि दबाब बढाउनुको कारण विवादित अरुणाचल प्रदेश हो। तर भारतीय विशेषज्ञ र विश्लेषकहरुले चीनको अहिलेको रणनीतिलाई वृहत्त परिप्रेक्षमा हेरेको पाइन्छ। सरकार बाहिरका केही विश्लेषकहरुले नीति निर्माताहरुलाई सजग गराइराखेका छन्।

नयाँ दिल्ली स्थित इन्ष्टिच्यूट अफ डिफेन्स स्टडिज याण्ड एनालिसिस (आइडिएसएस) ले भारत सरकारलाई सतर्क हुन आग्रह गरेको छ। सो इन्ष्टिच्यूटकी सह–प्राध्यापक अबन्ती भट्टाचार्यले सोही संस्थाको रणनीतिक विश्लेषणमा मे १८, २००९ मा यस्तो सल्लाह दिएकी छनः…… भारतले दक्षिण एशियामा आफ्नो प्रभाव रक्षा गर्न विदेश नीति कार्यान्वयनको रणनीतिमा गंभीर पुनरावलोकन गर्नु जरुरी छ’।

चीनले सिक्किमको ‘फिङ्गर एरिया’ भनिने २.१ वर्ग किलोमिटर भूभागमा दुई वर्ष अघि आफ्नो स्वामित्व दावी गरेदेखि, सिक्किम भारतमा विलय गरिएकोमा चीनले अहिले सम्म औपचारिक रुपमा मान्यता नदिएको विषयलाई भारतीयहरुले गंभीरतापूर्वक हेर्न थालेका छन्।

भारतीय भूमिमा बसेर चीन विरुद्ध अवाञ्छित गतिविधि गर्दै आएका दलाई लामालाई अब नियन्त्रण गर्नु पर्छ भन्ने सुझाव पति भारतीय रणनीतिकारहरुले दिएका छन्। आइडिएसएसका प्राध्यापक पी. स्तोबद्नले भारत सरकारलाई यस्तो सुझाव दिएका छन्, ‘दलाई लामाले अब हार स्वीकार गरी ल्हासा फर्कनु उचित हुन्छ। लामाका समस्याको समाधान नयाँ दिल्ली र पश्चिमा राजधानीहरुमा होइन, बेइजिङ्गमा छ भनेर भारत सरकारले पनि बुझाउनु पर्छ’।

दक्षिण एशियामा प्रभाव बिस्तार गर्ने रणनीतिमा रहेको बेइजिङ्गको विगत्को कार्यशैली विश्लेषण गर्दा चीनले चाहेको के हो भन्ने सम्म अनुमान गर्न सकिन्छ। तर के गर्न खोजेको हो र कसरी गर्ने हो भन्ने अनुमान लगाउन निकै गाह्रो छ। एउटा पक्ष चाहिँ प्रष्ट छ, चीन आक्रामक भएर आएको छ र त्यो कुरा भारतका शासकहरुले राम्ररी बुझे जस्तो देखिन्छ।

तर महत्वपूर्ण प्रश्न भनेको ‘कुरा बुझ्नु’ मात्र होइन। स्थितिको विश्लेषण सही समयमा, ठीक ढंगले गर्न सक्नु आवश्यक हुन्छ। यदि त्यसो गरिएन भने चेन यीले सन् १९६२ मा भनेको जस्तो स्थिति नआउला भन्न सकिन्न, दक्षिण एशियामा। …आसाममा ब्रेकफाष्ट खाएर, दिल्लीमा लञ्च खाने, अनि डिनर खान कन्याकुमारी पुग्ने’ चेन यीको त्यसबेलाको यस्तै हुँकारको गन्ध अहिले बेइजिङ्गबाट आइराखेको छ।

दक्षिण एशियाको राजनीतिक नक्शा बितेका ६२ वर्षमा चौथो पटक परिवर्तन हुन लागेको त होइन भन्ने आशंकालाई पनि बल मिलेको छ, यो समग्र परिदृश्यले।

(गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुन्।)


Advertisements

2 Responses to “भारतलाई चीनको चेतावनी”

  1. B.Gautam Says:

    yasto kuraa saathmaa liyer nepal laai vaaratiya panjaa baat mukta garaaunu parchha.

    Like

  2. resham Says:

    bharat bisdarbadi phataha ho ra satya kahile pani lukdain itihasha sachai cha bharat neplko lagi chimeki dusman ho

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: