अधिकार बिवादले निगम संकटमा

1234548बेलुका डुब्न लागेको सूर्यास्त’ जस्तै आर्थिक रुपमा कमजोर र जहाज नभएर दिनप्रतिदिन आफनो सेवालाई घटाउँदै गएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायूसेवा निगम फेरि एक पटक कार्यकारी अधिकारको बिबादमा नराम्ररी तानिएको छ।

निगममा कार्यरत कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक केबी लिम्बु को बीचमा तीव्ररुपमा मनमुटाव भएर बोलचाल समेत छैन।
काण्डैकाण्डले सधँैभरि चर्चामा रहने निगममा यस पटक नयाँ किसिमको बिवाद बढेपछि यसको भविष्य नै अन्योलमा परेको निगममा कार्यरत कर्मचारीहरु बताउँछन्। निगममा कार्यकारी अधिकार कसमा निहित हुने भन्ने विषयमा चर्को बिवाद बढेपछि निगमको जहाज किन्ने योजना प्रभावित हुने खतरा बढेको छ। यसका साथै निगममा कार्यरत विभागीय प्रमुखलाई हरेक दिन कार्यकारी अध्यक्ष र महाप्रबन्धकबाट फरक–फरक किसिमको निर्देशनपत्र जारी भएपछि कुन पदाधिकारीको निर्देशन मान्ने भन्ने विषयमा अन्यौलता बढेको छ।
गत भदौ ५ गते सर्वोच्च अदालतबाट कार्यकारी अधिकारसहित पुनः आफनो पक्षमा अन्तरिम आदेश जारी भएको भन्दै महाप्रबन्धक केबी लिम्बूले तत्कालै सम्पूर्ण विभागीय प्रमुखहरुलाई आफनो निर्देशन अनुसार काम गर्न परिपत्र जारी गरेका थिए। तर आइतबार निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले महाप्रबन्धक केबी लिम्बूसँग कुनै कार्यकारी अधिकार नभएको र आफू सरकारबाट कार्यकारी अधिकारसहितको अध्यक्ष पदमा नियुक्त भएकाले आफनो निर्देशनमा रहेर सबै बिभागीय प्रमुखहरुले काम गर्नुपर्ने परिपत्र जारी गरेका छन्। सोही दिन महाप्रबन्धक लिम्बूले फेरि एक आन्तरिक परिपत्र जारी गर्दै निगमका सबै विभागीय प्रमुखहरुले आफनो निर्देशनअनुसार काम गर्नु भनेका छन्। निगमका दुवै हाकिमहरुले यसरी परिपत्र जारी गरेपछि विभागीय प्रमुख कोही लिम्बूको पक्षमा लागेका छन् भने कोही कार्यकारी अध्यक्ष कंसाकारको पक्षमा लागेका छन्। कंसाकारले आइतबार गरेको परिपत्रमा कार्यकारी अध्यक्ष र महाप्रबन्धक पद फरक–फरक पद भएको र नियम कानुनभन्दा बाहिर गएर कामकार्वाही गरेमा महाप्रबन्धक लिम्बूमाथि कार्वाही गर्ने उल्लेख गरेका छन्। यस्तै महाप्रबन्धक लिम्बूले नेवानिको ऐनमा कार्यकारी अध्यक्षको प्रावधान नै नरहेको र आफू कुनै पनि हालतमा कार्यकारी अध्यक्ष अन्तर्गत काम नगर्ने बताउँदै आएका छन्। लिम्बूलाई पर्यटन मन्त्रालयमा सरुवा गर्ने निर्णयसमेत लिम्बूले मानेका छैनन्।
सरकारले करिब एक महिना अघि निगमको कार्यकारी अध्यक्षमा सुगतरत्न कंसाकारलाई नियुक्त गरेको थियो। यस्तै सर्वोच्च अदालतको गत जेठ १८ गतेेको फैसलाबाट कार्यकारी अधिकारसहित केबी लिम्बू महाप्रबन्धक पदमा पुनर्बहाली भएका थिए। यतिखेर कार्यकारी अधिकारका बारेमा दुवै जनाले आफूमा निहित भएको दाबी गर्दै एकअर्काको निर्देशन नमान्न कर्मचारीलाई दिनहुँ ‘सर्कुलर’ जारी गर्न थालेपछि निगमको दैनिक कार्यमा समेत नराम्रो प्रभाव पर्न थालेको छ।

सबैभन्दा यो बिवादको प्रभाव जहाज किन्ने विषयमा पनि परिरहेको छ। सरकारले निगमलाई दुई वटा ‘वाइडबडी’ जहाज खरिदका लागि ग्यारेण्टी बसिदिने निर्णय गत वर्ष नै गरेको थियो। तर निगमले यस कार्यका लागि हालसम्म आन्तरिक रुपमा एक समितिको गठन गरेर प्रतिवेदन बुझाउने बाहेक अन्य कुनै प्रक्रियागत काम अघि बढाउन सकेको छैन। जहाज खरिदका लागि निगमलाई कर्मचारी सञ्चय कोषले १० अर्ब ऋण दिने सम्झौता पनि गरिसकेको छ।
निगममा हाल अन्तराष्ट्रिय उडानका लागि जम्मा दुई वटा जहाज छन्। जसमध्ये एउटा जहाज हाल इन्जिन बिगे्रको कारणले ‘ग्राउण्डेड’ अवस्थामा रहेको छ। निगमको अन्तराष्ट्रिय सबै उडानमा यसको नराम्रोसँग प्रभाव परेको छ। एउटै जहाजले मात्रै अन्तराष्ट्रिय उडान गरिरहेका कारण सबै सेक्टरमा निगमले उडान तालिकामा ब्यापक कटौती गरेको छ।
यसैबीच सोमबार नेपाल वायुसेवा निगम कर्मचारी युनियन, कर्मचारी संघ र संगठनका प्रतिनिधिहरुको एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री शरदसिंह भण्डारीलाई भेटी निगमको वर्तमान बिवादलाई तत्काल नै साम्य पार्न दबाब दिएका छन्। प्रतिनिधिमण्डलको भेटघाटका क्रममा मन्त्री भण्डारीले एकातिर सरकारको निर्णय र अदालतको निर्णय भएकोले यसको संयमतापूर्वक समाधानका लागि आफु लागिपरेको बताए।

— Drishti Weekly

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: