किन नाच्छन् माओवादी ?

mao_863566360नेत्र पन्थी
स्थान: माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर । कार्यक्रम थियो, केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन । क्यामेरा ‘अन’ थिए, कलम र नोटबुक झिकेर पत्रकारहरू प्रश्नको सूची बनाउँदै थिए । नेताहरूले कतिखेर आसनग्रहण गर्लान् र सम्मेलन सुरु होला भनेर पर्खेका पत्रकार त्यतिखेर जिल्ल परे, जब माओवादी नेतृत्व मञ्चमै नाच्न थाल्यो ।

तर, यो यस्तो पहिलो नृत्य भने थिएन । केन्द्रीय समितिको हरेकजसो पूर्ण बैठकपछि माओवादी नेताको सामूहिक नृत्य देख्न पाइन्छ । प्रश्न उठ्ने नै भयो, विचारमा रुढ मानिएका, दस वर्ष लामो सशस्त्र युद्ध गरेका र सामान्यतः निरस भाषा र प्रस्तुति भएका माओवादी नेतालाई नाच्न भने यति धेरै मन लाग्ने कारण के होला ?

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो महत्त्वपूर्ण केन्द्रीय समितिको बैठकमा नाच्नु पार्टीको परम्पराजस्तै भएको बताउँछन् । ‘वैचारिक, कार्यनीतिक, राजनीतिक र सांगठनिक रूपमा पार्टी एकता नयाँ उच्ााइमा पुगेको वेला माहोल नै त्यस्तै हुन्छ,’ प्रचण्ड भन्छन्, ‘खास-खास अवस्थामा बैठकपछि भएका त्यस्ता कार्यक्रमले पार्टीको जीवन्तता देखाउँछ ।’

माओवादी नेतृत्व तहमा रहेर सांस्कृतिक र सांगीतिक कमान्ड सम्हाल्ने नेताहरू त भइहाले नै अन्य नेताहरू पनि नाचगान भनेपछि हुरुक्कै हुन्छन् । महत्त्वपूर्ण बैठकहरूपछि पार्टी अध्यक्ष प्रचण्डसहित मोहन वैद्य किरण, रामबहादुर थापा बादल, सिपी गजुरेल ‘गौरव’, पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा र नन्दकिशोर पुन ‘पासाङ’ संगीतको तालमा नाच्न हौसिने नेताहरूमा पर्छन् । ‘त्यो माहोलले हामीलाई मात्र होइन हाम्रा समर्थकलाई पनि ऊर्जाशील बनाउन सघाउँछ,’ नेता जनार्दन शर्मा प्रभाकर भन्छन्, ‘को-को नाच्न हौसिन्छन् भन्नु भन्दा पनि हामी किन नाच्छौँ भन्ने कुराको अर्थ रहन्छ ।’

माओवादी नेताहरू हरेक बैठकमा कुनै न कुनै ‘इस्यु’मा आइपर्ने तीव्र बहस र मतविभाजनको तिक्ततालाई यस्तो माहोलले बिट मार्ने दाबीसमेत गर्छन् । ‘हामी तिखो र इमोसनल गीत गाउँछौँ,’ कलाकार झंकार भन्छन्, ‘हाम्रा गीतले उद्वेलित पार्छ, भावना जगाउँछ, त्यसैले पनि नेताहरू नाच्न अग्रसर हुन्छन् । बैठकका अन्त्यमा भने यसले कतिपय तीता कुराको बिट मार्ने काम गर्छ ।’

पार्टीको रणनीतिक कार्यदिशा तय र पदीय प्रणाली विषयकेन्दि्रत पेरिसडाँडा बैठकपछि मात्र होइन, माओवादी नेताहरू स्टेजमै यसरी पटक-पटक नाचेका छन् । गत जेठमा मात्रै पुराना कलाकार जेबी टुहुरेसहित कलाकारको एक समूह एमालेबाट माओवादी प्रवेश गर्ने कार्यक्रममा पनि माओवादी उच्च तप्काका नेता प्रज्ञाभवनमा नाचेको देखियो । त्यो कार्यक्रममा अध्यक्ष प्रचण्डको छेउमा रहेर वरिष्ठ नेता किरणले कम्मर मर्काउन भ्याए । नृत्य-कौशलका हिसाबले किरणभन्दा प्रचण्ड लयमा नाच्छन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नाच क्रान्तिकारी आशावादको अभिव्यक्ति भएको बताउँछन् । ‘नाच एकताको अभिव्यक्ति पनि हो । म यसलाई अरू ढंगले व्यक्त गर्छु अरू साथीले नाचेर गर्छन्,’ नेता भट्टराईले भने । उनी स्कुल पढ्दा नाच्न अस्वीकार गरेकाले एकपटक शिक्षकले पिटेकोसमेत स्मरण गर्छन् ।

माओवादी नेतृत्व सामूहिक रूपमा नाचेको अर्को बैठक खरिपाटी बैठक पनि हो । ०६५ पुसमा सम्पन्न खरिपाटी भेलापछि सामना परिवारको ‘जाऊँ साथी सँगै जाऊँ, विद्रोहमा जाऔँ’ बोलको गीतमा नेताहरू नाचेका थिए । यो भेलामा किरण र प्रचण्डका अलग-अलग प्रतिवेदन दर्ता भएका थिए । बहस पनि चर्कै देखियो भेलामा । अन्त्यमा भेलाले दुवै प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बनाएको थियो । आफ्नो राजनीतिक यात्रामा एकपटक मात्र नाचेको बताउने माओवादी नेता लोकेन्द्र विष्टले भने, ‘म त्यही खरिपाटी भेलामा नाचेँ । अघिपछि नाच्न भनेपछि लाज लाग्थ्यो तर त्यहाँ रहर लागेर आयो ।’

पेरिसडाँडा, प्रज्ञाभवन र खरिपाटीमा जस्तै ०६४ भदौमा बालाजुमा सम्पन्न पाँचौँ विस्तारिक बैठकपछि आफूहरूले धक फुकाएर नाचेको स्मरण गर्छन् माओवादी नेताहरू । यो बैठकमा जीवनशैली र आचरण बिगि्रँदै गयो भनेर पार्टीनेतृत्वको खुब आलोचना भएको थियो । आलोचनालाई मध्यनजर राख्दै माओवादी नेतृत्वले ‘क्रान्तिको स्पिरिटबाट दायाँबायाँ नगर्ने वाचा गरेका थिए यो बैठकमा । ‘यस्तै वाचासहित नाचिएको थियो त्यहाँ,’ कलाकार माइला लामा स्मरण गर्छन्, ‘मलाई लाग्छ अरू कार्यक्रमले जस्तै त्यसले पनि हामीलाई एक भएको, बलियो भएको देखायो ।’

नाच्न भनेपछि हुरुक्कै हुने नेतामा पर्छन् पासाङ । ०४७ देखि ०५२ सम्म दाङमा क्याम्पस पढ्दा सांस्कृतिक फाँटमै बसेर काम गरेका पासाङ आफू अधिकांश कार्यक्रम र बैठकमा नाचेको स्मरण सुनाउँछन् । भन्छन्, ‘माहोल नै त्यस्तै हुन्छ, ननाची मनै मान्दैन ।’

शान्तिप्रक्रियामा आएलगत्तै माओवादीले ०६३ माघमा चितवनमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । देशभरका प्रतिनिधि थिए त्यहाँ । ‘त्यो कार्यक्रमको समापनमा पनि सबै नाचेका थिए, त्यो दृश्य बिर्सनै सकिन्न,’ संगीतकर्मी खुसीराम पाखि्रन भन्छन्, ‘माघको जाडोमा पनि तात्यो चितवन ।’

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो यस्ता बैठक र कार्यक्रममा नछुटाई नाच्छन् । तर, उनी ननाचेको वा नाच्न नसकेको बैठक थियो ०६२ असोज/कात्तिकमा सम्पन्न चुनवाङ बैठक । युद्धका सहिद र घाइतेसम्बन्धी अपेरा देखाइएको सो बैठकको एउटा भागमा माओवादी नेता धुरुधुरु रोएका थिए । तर, एकछिनपछि वातावरण अलिक पृथक भयो । नेता खुल्दै गए । मञ्चमा पनि क्रान्तिकारी भावका गीत बजाइए । कतिपय नेताहरू नाच्न सुरु गरे । तर, प्रचण्ड भने त्यहाँ नाचेनन् ।

त्यस्तै, ०६१ सालको फुन्टिवाङ बैठकको समापनमा पनि माओवादी नेताहरूले नाचगान गरेका थिए । ‘त्यो बैठकमा सबैभन्दा बढी पासाङ कामरेड नाच्नु भो, उहाँको नृत्यलाई सबैले सह्राएका थिए,’ पोलिटब्युरो सदस्य राम कार्कीले स्मरण सुनाए ।

युद्धकालमा माओवादी केन्द्रीयस्तरका बैठक भारतमा समेत बसे । तर, नेपालमा जस्तो भारतमा बसेका बैठकमा नाचगान नभएको माओवादी नेताहरूको अनुभव छ । ‘भारतमा बसेका बैठक निकै गोप्य हुन्थे, त्यहाँ नाचगान गर्ने वातावरण नै थिएन,’ पोलिटब्युरो सदस्य कार्कीले थपे, ‘नेपालमा बसेका बैठकमा नेपालीपन हुन्थ्यो, राग आउँथ्यो ।’

संगीतकर्मी पाखि्रन पनि भूमिगतकालमा पिटी खेल्ने जनसेनाका कमान्डर नाचगानमा पनि अगाडि आउने गरेको स्मरण सुनाउँछन् । भूमिगतकालदेखि नै नेता प्रभाकर र बलदेवलाई माओवादीभित्र नाच्न सिपालु नेताका रूपमा चिनिँदै आइएको छ ।

माओवादी नेताहरू युद्धभित्र पनि मनोरञ्जन हुने अनुभव सुनाउँछन् र नाचगानलाई क्रान्तिभित्रको स्वाभाविक प्रक्रियाका रूपमा लिन्छन् । माओवादी नेतृत्वको सरकारमा शान्तिमन्त्री बनेको नेता प्रभाकरको ठम्याइ छ, ‘राजनीति भनेको निरस जीवन होइन, त्यसमा आवेग, विवेक, मनोरञ्जन, आक्रोश, पीडा, खुसी, कष्ट, हर्ष सबै हुन्छ क्रान्तिको राजनीतिमा ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: