भारतीय फौज राख्न हिसिलाको ल्याप्चे,नागरिकता काण्डमा को को नांगिए

काठमाडौं। एकीकृत नेकपा माओवादीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वको सरकारलाई भारतका कठपुतली भनेर आरोप लगाइरहेका बेला माओवादीले नेपालमा भारतीय फौजलाई वैधानिक रुपमा परेड खेल्न पाउने बाटो खोलिदिएको खुलासा भएको छ।आफ्नै प्रधानमन्त्रीत्वकालमा आफ्नै पार्टीकी नेतृ हिसिला यमीले गरेको मन्त्रीस्तरीय निर्णयबाट भएको राष्ट्रघात सच्याउन माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह गरेपछि यो रहस्यको पर्दा खुलेको हो। माओवादी नेतृले देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा इण्डियन एयरलाइन्सको सुरक्षाको नाममा  भारतीय सेना राख्न अनुमती दिने निर्णय गरेको  रहस्योद्घाटन भएको छ।  प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमण गएका बेला भारतीय अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षा फौज राख्ने सहमति भएको आशय पर्यटनमन्त्री शरदसिह भण्डारी समक्ष ब्यक्त गरेपछि नेपाली टोली भरंग भएको थियो। यद्यपि, यो चर्चा प्रधानमन्त्री नेपाल भारत जानुभन्दा अघि नेपाल निवास कोटेश्वरमा भएको प्रचण्ड तथा प्रधानमन्त्री माधव नेपालबीचको  वार्ताकै क्रममा पनि चलेको स्रोतले जनाएको छ। यति ठूलो राष्ट्रघाती काम भने अरू कसैले नभएर माओवादी पोलिटब्यूरो सदस्य हिसिला यमीले आफू पर्यटन तथा नागरिक उड्डयन मन्त्री हँुदा गरेको कुरा प्रकाशमा आइसकेको छ । तत्कालीन पर्यटन मन्त्री हिसिला यमीले नेपालको राष्ट्रिय सुरक्षालाई ठाडै चुनौती दिनेगरी भारतीय सुरक्षाकर्मीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको अति संवेदनशील क्षेत्रमा निर्बाध प्रवेश गर्ने र यात्रुको सुरक्षा जाँच गर्ने अनुमति दिएको खुलासाले देशभक्त नेपालीलाई आक्रोशित  बनाएको छ।

कसरी खुल्यो रहस्य
भारतीय सरकारको मागबमोजिम इन्डियन एयरलाइन्सलाई यस्तो सुविधा उपलब्ध गराउने निर्णय यमीले चार महिनाअघि गरेको रहस्योद्घाटन भएको हो। यो निर्णयले भारतीय एयर मार्शल नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको अति संवेदनशील क्षेत्र (स्टेरराइज्ड जोन) मा प्रवेश गर्ने र नेपालबाट एयर इन्डिया हुँदै भारत जाने यात्रुको जाँच गर्ने अधिकार दिएको छ। हवाई उड्ययन विज्ञहरूका अनुसार, यो निर्णयले नेपालका सुरक्षाकर्मीको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ। विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरू भरपर्दो सुरक्षा दिन सक्षम छैनन् भन्ने गलत सन्देश यसले दिनेछ। साथै, सिंगो नेपालको सुरक्षा अवस्था अत्यन्तै नाजुक छ र विमानस्थलामा अब विदेशी सुरक्षाकर्मी आवश्यक भइसक्यो भन्ने अत्यन्तै ठूलो भ्रम पनि यसले पार्न सक्छ। यसले कालान्तरमा नेपालको राष्ट्रिय सुरक्षा भुटानीकरण हुनेगरी भारतीय फौजलाई नेपाल प्रवेश गर्न मार्गप्रशस्त गर्ने विज्ञहरूले बताएका छन्। आफूहरूलाई सबैभन्दा बढी राष्ट्रवादी भनेर नथाक्ने माओवादी पार्टीकै तत्कालीन मन्त्रीको यो गम्भीर राष्ट्रियताविरोधी निर्णयको मन्त्रालयका अधिकारी र केही हवाईविज्ञले असहमति प्रकट गरेको पनि थाहा  भएको छ । उनीहरूको असहमति, विरोध र सुझावको बेवास्ता गर्दै यमीले राष्ट्रघाती निर्णय गरेको कुरा अहिले मात्र बाहिर आएको छ ।
इन्डियन एयरलाइन्सलाई गोप्य पत्र
मन्त्रीको निर्णयलाई कार्यान्वयन गराउने जिम्मा पाएको नेपाल  नागरिक उड्डयन प्राधिकरणले स्टान्डर्ड अपरेसन प्रोसिडियुर (एसओपी) समेत तयार पारेर इन्डियन एयरलाइन्सलाई उपलब्ध गराएको स्रोतले जनाएको छ। समाचारमा बताइएअनुसार, एसओपीले भारतीय सुरक्षाकर्मी नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा कसरी प्रवेश गर्छ, कहाँ बस्छ, कतिजना बस्छन्, कहाँ बसेर यात्रुको जाँच गर्छन् भन्ने कुराको व्याख्या गरेको हुन्छ। सूत्रका अनुसार नेपाली टोलीले भारतीयलाई बुझाएको एसओपीअनुसार भारतीय दुईदेखि तीनजनासम्म सुरक्षाकर्मी नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको अति संवेदनशील क्षेत्र हुँदै भित्र धावनमार्ग (टरम्याक) मा प्रवेश गर्नेछन्। अनि इन्डियन एयरलाइन्सको नजिकै यात्रुलाई लामबद्ध हुन भन्नेछन्। त्यसपछि यात्रुको पालैपालो सुरक्षा जाँच गर्नेछन्। र, त्यस्तो सुरक्षा जाँच उनीहरूले एक्सरे मेसिनले गर्नेछन्। खासमा एक्सरे मेसिन प्रयोग गर्न दिनु भनेको सुरक्षा व्यवस्था अझै कमजोर बनाउनु हो भन्ने पनि  सुरक्षाविज्ञहरूको धारणा छ। किनकि, मेसिनले भन्दा हातले गरेको सुरक्षा जाँच बढी भरपर्दो र विश्वासिलो मानिन्छ।

नेपाली भूमिमा भारतीय फौज
त्यो एक्सरे मेसिन भारतीय सुरक्षाकर्मीले प्रयोग गर्नेछन्। नेपाली विमानस्थलबाट पास लिएपछि ती भारतीय सुरक्षाकर्मी नेपालको विमानस्थलको अत्यन्तै संवेदनशील क्षेत्रमा निर्बाध प्रवेश (अनरेस्टिक्टेड मुभिलिटी) गर्नेछन्। तिनीहरूलाई केही छेकबार हुनेछैन। यात्रुको जाँच सकेपछि त्यो एक्सरे मेसिन लिएर ती सुरक्षाकर्मी भर्यानङबाट ओर्लेर नेपाली भूमिलाई कुल्चँदै, शानकासाथ नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहने उनीहरूको कार्यालयमा गएर बस्नेछन्। एसओपीले पनि त्यही  कुरा उल्लेख गरेको थाहा भएको छ। जब विमानस्थलको अत्यन्तै संवेदनशील क्षेत्रबाट मेसिन बोकेर निर्बाध आवतजावत गर्न पाउने अनुमति प्राप्त भएपछि जहाँ बसेर यात्रुको चेक गरे पनि कुरा उही हो। चाहे त्यो भर्यािङमा बसेर जाँच गरियोस् वा भुइँमा बसेर। के हाम्रो सुरक्षा प्रणाली विश्वास गर्नै नसक्ने भएको हो त? के हाम्रा सुरक्षाकर्मीले यात्रु जाँच गर्दा बन्दुक बोकेर जहाजभित्र प्रवेश गर्न दिएका छन् र? यति गम्भीर राष्ट्रिय सुरक्षाको विषयमा हिसिला यमीले स्वविववेकले निर्णय गरेकी हुन् कि माओवादीको नीति हो? यसको जवाफ माओवादी नेतृत्वले नदिएकाम माओवादी दलप्रति नै प्रश्न खडा भएको छ ।
के–के हुन्छ अब?
एसओपीले इन्डियन एयरलाइन्सका एकभन्दा बढी सुरक्षाकर्मी राख्न दिने निर्णय गरेको कुरा समाचर सूत्र बताउछ। एसओपीका अनुसार एकजना भारतीय सुरक्षाकर्मीले एकपटकमा २० मिनेटसम्म यात्रुको जाँच गर्नेछन्। त्यसपछि अर्को भारतीय सुरक्षाकर्मीले यात्रुलाई मेसिनको सहायताले जाँच्नेछ। यसले के संकेत गर्छ भने हाम्रो विमानस्थलमा एकभन्दा बढी भारतीय सुरक्षाकर्मी रहनेछन्। एसओपीका अनुसार, त्यसरी नेपालको विमानस्थलमा बस्ने भारतीय एयरलाइन्समा सुरक्षाकर्मी सामान्य तालिम लिएका हुनेछैनन्। ती त अत्यन्तै बृहत् सुरक्षा तालिम लिएका र विशेषेज्ञता हासिल गरेका एयर फोर्सका सुरक्षाकर्मी हुनेछन्।
विज्ञहरूका अनुसार नेपालको विमानस्थलमा भारतीय सुरक्षाकर्मी राख्न दिने निर्णय तीन–चार किसिमले गलत छ। पहिलो, यसले नेपालको सुरक्षा प्रणालीलाई  नै चुनौती दिन्छ। दोस्रो, यसले नेपाल राष्ट्रको सम्प्रभुता र सार्वभौमतामाथि प्रश्नचिह्न खडा गर्छ। तेस्रो, यसले मेसिन बोकेर विमानस्थल भित्र–बाहिर ओहोरदोहोर गर्ने भारतीय सुरक्षाकर्मीले आफूलाई  चित्त नबुझेका अरू एयरलाइन्सविरुद्ध कुनै किसिमको षड्यन्त्र रच्न उत्प्रेरित गर्छ। र चौथो, यसले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अरु अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पनि यस्तै सुरक्षाकर्मीको ब्यवस्थाको माग राखी आफ्ना सुरक्षाकर्मी विमानस्थलमा राख्न पाउनुपर्योम भन्ने माग राख्न प्रेरित गर्छ। आफ्नै नेतृबाट यति ठूलो राष्ट्रघात भएको खबर माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला थाहा पाए कि पाएनन्? यो कुरा सार्वजनिक भएको छैन। यो अर्को गम्भीर रहस्यको विषय बनेको छ।

नागरिकता विवादमा को को नांगिए
काठमाडौं। नेपाली हुनुको परिचय दिने ‘नागरिकता’ प्रदान गरिने व्यवस्था नयाँ संविधानमा कस्तो होला? आमनेपाली चासो राखिरहेका बेला केही राजनीतिक दल तथा नेता नेपालको राष्ट्रियतामाथि नै खतरा पर्ने नयाँ व्यवस्थाको वकालतमा लागेका छन्। नागरिकतासम्बन्धी व्यवस्था गर्ने ‘मौलिक अधिकार तथा राज्यका नीति निर्देशक सिद्धान्त’ समितिका नेताहरू खुला सीमाको फाइदा पुग्नेगरी नेपालमा जनसंख्या भित्र्याउने व्यवस्थाको पक्षमा लागेको समितिका एक सदस्यले जानकारी दिए। समितिको उपसमितिअन्तर्गतको ड्राफ्ट समितिमा विवादले चर्को रुप लिइरहेको छ। कस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिने भन्ने विषयमा विवाद भएको हो। अंगीकृत नागरिकता प्रदान गर्ने व्यवस्था हुनुपर्ने पक्षमा नेपाली कांग्रेस र मधेशवादी दलले अडान राखेकै कारण समितिको बैठकसमेत बस्न सकेको छैन। नेकपा एमाओवादी र एमाले ‘अंगीकृत नागरिकता’ को व्यवस्था विशिष्ट प्रकृतिको हुनुपर्ने पक्षमा छन्। खुला सीमाका कारण भारतीय नागरिकले अंगीकृत नागरिकता लिने क्रम तीव्र बनेपछि राष्ट्रियतालाई ख्याल गरी एमाओवादी, एमाले त्यस्तो निर्णयमा पुगेको समितिकी सदस्य उषाकला राई बताउँछिन्। नागरिकताको नयाँ व्यवस्था समानता र राष्ट्रियताको सिद्धान्तका आधारमा गर्ने समितिमा सहमति छ। अन्तरिम संविधानमा उल्लेख गरिएको अंगीकृत नागरिकतासम्बन्धी व्यवस्थाको समेत विपक्षमा एमाले, माओवादी देखिएका छन्। अन्तरिम संविधानमा महिलाले विदेशीसँग विवाह गरेमा विदेशी पुरुषले नागरिकता नपाउने तर पुरुषले विदेशी महिलासँग विवाह गरेमा महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था छ। जसले गर्दा नेपालमा करिब तीन लाख वैवाहिक अंगीकृत नागरिकता पाएको गृह मन्त्रालयले तथ्यांक उक्त ड्राफ्ट समितिलाई उपलब्ध गराइसकेको छ। यसरी विवाहको नाममा प्रतिदिन विदेशी नागरिक भित्र्याउँदै गए देश एकदिन ‘फिजी’ बन्ने टिप्पणी पनि समितिभित्र हुन  थालेको छ। यसरी विदेशी महिला नेपाल भित्रिने हो भने नेपालका महिलाको अवसर गुम्ने पनि महिला सभासद्को तर्क छ। राष्ट्रिय राजनीतिमा पर्ने प्रभाव र तिनको भूमिकामाथि पनि समितिका कतिपय सदस्यले टिप्पणी गरेका छन्। समितिमा अंगीकृत नागरिकताको पक्षमा मधेशवादी दलसँगै कांग्रेसका रमेश लेखक, गगन थापा, कुमार राई, उर्मिला थापा, डिना उपाध्यायलगायत छन्। त्यसकै पक्षमा एमालेका प्रदीप ज्ञवाली, वृन्दा पाण्डे छन्।
त्यसो त, एमालेका अन्य सदस्य यसको विपक्षमा उभिएपछि एमालेका सदस्यबीच नै विवाद भएको थियो। जीटीजेडको आर्थिक सहयोगमा एक महिनाअगाडि ‘गोदावरी रिसोर्ट’ मा बैठक बस्न पुगेका समिति सदस्यबीचमा यही विषयमा झन्डै हात हालाहाल भएको थियो। सहभागी सदस्यका अनुसार रमेश लेखक र एमालेका प्रदीप ज्ञवाली विदेशीलाई अंगीकृत नागरिकता दिने पक्षमा खरो रुपमा उत्रिएका थिए। माओवादीका सीपी गजुरेल, त्यसको विपक्षमा उभिएपछि विवाद चर्किएको बताईन्छ । गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिई दोहोरो नागरिकताको माग भइरहेका बेला दोहोरो नागरिकता हुन नहुनेमा पनि एमाले, एमाओवादीका सभासद् एकमत भएका छन्। उनीहरूलाई परिचयपत्र व्यवस्थासम्म गर्न सकिने चर्चा चलेको छ। विवादकै कारण विगत १५–१६ दिनदेखि समितिको बैठक बस्न सकेको छैन भने भदौ ७ गते बस्ने भनिएको बैठक पनि बस्न सकेन।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: