नेपालमा भारतीय तथा अरु खुफियाको छायाँ युद्ध

हरेक पटक नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा जस्तै यस पटक पनि भारतका समाचार च्यानलमा नेपालसम्बन्धी प्रसस्तै समाचार बजिरहेका छन्।
समाचार च्यानलहरुले ‘जुँगाको लडाईं आएका’ ‘आईएसआई’ र ‘रअ’ को निगरानीमा नेपाललाई राखेको स्पष्ट गराएका छन्। यी दुई गुप्तचरी संस्था दक्षिण एसियाका लागि मुख्य अशान्तिका कारण हुन्। दुबैले नेपाली भूमिलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेका छन्। ‘रअ’ का अनुसार अहिले नेपालमा आईएसआईका लागि काम गर्ने नेपालीभाषीको संस्था निकै बढेको छ। ‘भारतमा हुने जति पनि गैरकानुनी गतिविधि नेपाली भूमिमा बसेर योजना बनाएर गराइन्छ, र नेपाल आईएसआईको क्रिडास्थल बनिरहेको छ।’ ‘रअ’ले साउनको दोस्रो साता यस्तै प्रकृतिको गोप्य प्रतिवेदन विभिन्न माध्यमबाट लिक गरायो, र पछि नेपाल प्रहरी र नेपाली सेनासमेतलाई ‘रिफरेन्स’ भन्दै दियो। जतिबेला नेपाली भूमिमा केही अलकायदा सम्बद्ध सदस्य पक्राउ परेका थिए, र सेनालाई अमेरिकी गुप्तचर संस्था ‘सिआईए’ले अलकायदासम्बन्धी गोप्य सूचना आदान–प्रदान गरिरहेको थियो। त्यही समयमा भारतीय गुप्तचर संस्थाले नेपाली सुरक्षा अड्डालाई बेग्लै रिपोर्ट लिक गरायो। जसअनुसार यसपटक रअको मुख्य निसाना बनाइए– युनुस अन्सारी। अन्सारीसहित रअले ३७ जनाको नाम, घर, ठेगाना, टेलिफोन नम्बरहरु र आईएसआईबाट ल्याएको पैसाको समेत विवरण लिक गरायो। अहिले ‘रअ’ले प्रधानमन्त्री, प्रधानसेनापति, प्रहरी प्रमुखसमेतलाई पठाएको संक्षिप्त प्रतिवेदनमा मजिद भनिने पाकिस्तानी नागरिकले ९८५१००९९५१ नम्बरको मोबाइल प्रयोग गरेर अवैध धन्दा गरिरहेको छ। उनको मुख्य काम नक्कली भारुको कारोबार गर्नु हो। उनको जालोमा १६ जना पाकिस्तानी र २१ जना नेपाली नागरिक छन्। उनीपछि पाकिस्तानी नागरिक गुलाम सिंहले यो धन्दा सम्हाल्छन्। जसमा होटल अशोकाका वेटर मुकार अहमददेखि पाकिस्तानी दूतावासका कर्मचारीसमेतको नाम छ। नेपाली सुरक्षा अधिकारीले यो लिस्ट पाएलगत्तैउनीहरुमाथि निगरानी थालेको छ। वीरगञ्ज स्थायी घर भएका अन्सारीले दाउद इब्राहिम र छोटे राजनबाट ६० करोड रुपैयाँ लिएर नेपालमा नेसनल टेलिभिजन लन्च गरिरहेको र उनले आईएसआईका लागि काम गर्ने एजेन्ट भएको नोट ‘रअ’ले बुझाएको गोप्य प्रतिवेदनमा उल्लेख छ। अन्सारीसहितको यो नयाँ नेटवर्कले वीरगन्ज तथा काठमाडौंमा बसेर नक्कली भारु छाप्ने तथा हतियार ओसारपसार गर्ने गरेकोसमेत ‘रअ’को दाबी छ। ‘रअ’ले लिक गराएको रिपोर्टलाई आधार मानेर भारतका सबै समाचार च्यानलले प्रधानमन्त्री नेपालको दिल्ली यात्रा चलिरहँदा यसैलाई मात्र चर्काए, र प्रधानमन्त्री नेपालको भ्रमणसम्बन्धी दृश्य सामग्री प्रसारण गर्दै गरेनन्।
‘रअ’का अनुसार अन्सारीको मातहतमा रहेको नेपाली खुफिया एजेन्टले पाकिस्तानी दूतावास र दूतावासका अधिकारीको प्रत्यक्ष निगरानीमा रहेर वीरगन्ज नाका हुँदै नक्कली भारु, डलर तथा लागू औषधको कारोबार गरिरहेका छन्। अन्सारीको वीरगन्जस्थित घरमा स्वचालित हतियारसमेत राखिएको छ। भारतीय समाचार च्यानल आजतक र इन्डिया न्युजले यो साता यस्तै समाचार प्रसारण गर्योर। अनि, नेपाली सुरक्षा अधिकारी आईएसआई सम्बद्ध कास्मिरी नागरिकको सूची उतार्न कस्सिएर लागे। तर, पनि आईएसआईका एजेन्ट भनिएका कसैले पनि प्रसारित समाचारलाई लिएर आपत्ति जनाएका छैनन्।
के हो आईएसआई र रअ?
सन् १९६८ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको पालामा भारतका गुप्तचर गुरु आ.एन. काले रअको परिकल्पना गरेका थिए। रअको मुख्यालय नयाँदिल्लीको नेहरु रंगशालासँगै लोधी रोडमा रहेको छ। यो गुप्तचर संस्था पूर्णरुपमा भारतका प्रधानमन्त्रीप्रति जवाफदेही रहन्छ। यो संस्थामा सधैं विशेषज्ञ जासुसका रुपमा जागिरे छन् भने विश्वका अधिकांश मुलुुकमा दशौं हजार एजेन्ट छन्। भारत सरकारले यो संस्थाको वार्षिक खर्च विवरणको कहिल्यै परीक्षण गर्दैन, र अनुसन्धान प्रयोजनका लागि एभिएसन रिसर्च सेन्टरका नामबाट सरकारले १२ वटा हेलिकोप्टर दिएको छ, हवाई जासुसीका लागि। पाकिस्तानबाट बंगलादेशलाई अलग पार्ने तथा सिक्किमलाई भारतमा मिलाउने काममा रअले सफलता पाएपछि यसको महत्व अरु बढेको हो। तर, आईएसआई को जन्म भने १९४८ मा नै भएको हो। वेलायती मूलका तत्कालीन उपप्रधानसेनापति मेजर जनरल आर काधोम यसका संस्थापक हुन्। फिल्ड मार्सल अयुव खाँ पाकिस्तानमा राष्ट्रपति भएपछि आईएसआईलाई स्वतन्त्र जासुसी स्ंस्थाको रुपमा शक्तिशाली बनाइए पनि यो संस्था बढी धार्मिक युद्ध र आतंकपूर्ण गतिविधिमा संलग्न रहँदै आएको देखिन्छ।
पटक पटक नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्ने ढंगले प्रतिवेदन निकाल्ने र प्रतिष्ठित व्यक्तिहरुलाई समेत विवादमा मुछ्ने रअको नियत रहेको देखिन्छ। अनि, आइएसआईले पनि भारतसँगको रिसइबी साँध्न नेपाली आकाश तथा भूमि दुरुपयोग गर्दै आएको छ। यसअघि २०५७ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला पनि यसैगरी नेपालमा दुई खुफिया संस्थाको स्वार्थ बाझिएको थियो, र रअले कथित गोप्य प्रतिवेदन भन्दै इन्डिया टुडेमा लिक गरायो। त्यसबेला दाउद तथा आईएसआईका एजेन्टका रुपमा जमिम साहदेखि सूर्यबहादुर थापा, वामदेव गौतम, खुमबहादुर खड्का, विजय गच्छदार, जागृत भेटवाल, वीरबहादुर ठगुना, सुशिल कोइराला, दीपक मलहोत्रा, प्रकाश टिन्डेवालसहित एक सय ४३ जनाको नाम आईएसआईको एजेन्टका रुपमा दर्ता नै गरायो। जब यो रिपोर्ट इन्डिया टुडेमा समेत छापियो, तब भारतले तत्कालै सुरक्षा सल्ल्ााहकार ब्रजेश मिश्रलाई नेपाल पठाएर आफूलाई रक्षात्मक स्थितिमा राख्यो। तत्कालीन राजा विरेन्द्रलाई पनि भारतले खुब दबाबमा पारेको थियो। त्यसबेला गिरिजाप्रसाद भारत जाने तयारीमा थिए। २०५५ असार १५ मा मारिएका सांसद् मिर्जादिल सादवेगको हत्याको रहस्य खुलेको थिएन। २०५६ पुसमा भएको इन्डियन एअरको विमान अपहरण काण्ड खुलेको थिएन। अनि कथित जैन आयोगको प्रतिवेदन भन्दै भारतीय जनता पार्टी निकट हरिबन्द बवेजाले इन्डिया टुडेमा लेखे, ‘इन्दिरा गान्धीको हत्या नेपालकी रानी ऐश्वर्यको योजनामा गराइएको।’ यसरी, रअको हवाला दिँदै पटक–पटक हरिन्दर बवेजाले नेपालसम्बन्धी विवादपूर्ण समाचार लेखिरहेका बेला ‘मिर्जाको हत्या छोटे राजनबाट’ भन्ने समाचार पनि उनले नै अखबारमा छपाएका थिए, २० जुलाई १९९८ मा।
अहिले लिक गराएको गोप्य रिपोर्टमा पनि कास्मिरी विद्रोहीको संगठन हरकत उल अन्सार समूहको कार्यालय नेपालमा रहेको, विराटनगर, कपिलवस्तु र नेपालगन्जमा रहेका मदरसामा ताब्लिक–ए–जमातका सदस्य सक्रिय रहेको, काठमाडौंको मुख्य चर्चमा ४० जना इस्लामिक कट्टरपन्थी समूहका नेता रहेको जस्ता बुँदा समेटिएको स्रोतको दाबी छ। २५ जना कास्मिरी लडाकु, १० जना शिख लडाकु, ३५ जना लस्कर–ए–तोइबा सम्बद्ध अधिकारी काठमाडौंमा छन् भन्दै रअले नेपालको सुरक्षा अंगलाई झस्काइदिएको छ। यसअघि २०५७ सालका सूचीमा सात जना नेता, १० जना पत्रकार र २८ जना व्यापारी र सुरक्षा अधिकारीको नाम रअले उतारेकोमा अन्ततः ती सबै भारतको निगरानीमा परे, र धेरैजसोको सामाजिक प्रतिष्ठा समाप्त नै भयो।
त्यस लगत्तै, २०६२ असोज ६ गते जर्मनीमा भएको अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ७४ औं सभामा नेपाल प्रहरीका प्रमुख श्यामभक्त थापा सहभागी हुँदा आईएसआई र रअका एजेन्टले तयार पारेको कथित प्रतिवेदनले पनि नेपाललाई अप्ठ्यारो पारेको थियो। अन्डरवर्ल्ड डन दाउद नेपालमा आउने जाने गरेको, नेपालमा दाउदले संगठन बनाएको जस्ता अफवाहका आधारमा थापाले बैठकमा स्पष्टीकरण नै दिनु परेको थियो, जुन तथ्य थापाले आजसम्म खोल्नुभएको छैन। थापा नेपाल फर्के लगत्तै नेपालमा आन्दोलन भयो, र उनलाई सेवाबाट हटाइए पनि। किनकि, १९९८ मा दाउद नेपाल आएको र १९९९ मा उनका भाई नुरा इब्राहिम नेपाल आएर तारे होटल, क्यासिनोमा लगानी गरेको सूचना रअले इन्टरपोललाई दिएको थियो। त्यो रोक्न नसकेको आरोप पनि थापाकै थाप्लोमा आयो।
सन् २००२ को जनवरी १७ मा आईएसआईले नेपालका माओवादीलाई पैसा, हतियार र तालिम दिएकोसम्मका समाचार भारतका अखबारले त्यसै समयमा छापेका थिए। त्यसबेला माओवादी नेतृ हिसिला यमीकी बहिनी तिमिला यमी आफैंले भेटेर पैसा ल्याएकोसम्म समाचार छापिएको थियो। यी र यस्तै गतिविधि छापेर रअले नेपाललाई छाँया मैदान बनाइरहेको छ, र आईएसआईले पनि नेपाली भूमिमा आफ्ना थुप्रै एजेन्ट छाडेको छ, जसले गर्दा यो सञ्जालले नेपालमा अलकायदादेखि सिआईएसम्मका एजेन्टलाई तानेको छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: