शिविरमा छापामारको शोषण

करिब तीन वर्षदेखि अस्थायी शिविरमा बसेर कष्टकर जीवन बिताइरहेका माओवादीका लडाकुमाथि आफ्नै कमान्डरहरुबाट गम्भीर खेलवाड हुन थालेको छ। राजधानी लगायतका सुविधासम्पन्न सहरमा फ्ल्याट भाडामा लिएर मोजमस्ती गर्दै आएका कमान्डरहरुले छापामारमाथि भने अमानवीय व्यवहार गरिरहेका छन्। युद्धकालमा ‘वर्ग मुक्ति र समानता’ को नारामा जीवनलाई दाउमा राखेर युद्ध लडेका लडाकुहरुमाथि अहिले आफ्नै कमान्डरहरुबाट चरम शोषण भएपछि विद्रोह गर्ने स्थितिमा पुगेका छन् लडाकुहरु। स्रोतका अनुसार धेरैजसो शिविरबाट त दर्जनौं लडाकुहरुले एकल विद्रोह गरिसकेका छन्। तर पनि कमान्डरहरुको ज्यादती नघटेपछि सामूहिक विद्रोह गर्ने चेतावनी समेत दिएका छन् उनीहरुले नेतृत्वलाई। असार अन्तिम हप्ता मात्र सातैवटा डिभिजनका ५० भन्दा सदस्यहरुले सामूहिक विद्रोह गरी साउन १ गते मातृका यादवले नेतृत्व नेकपा माओवादीमा प्रवेश गरेका थिए। त्यसयता पनि शिविरभित्रको ज्यादती सहन नसकेर लडाकुहरु विरक्तिरहेको प्रमाण दृष्टिले फेला पारेको छ।
दोस्रो डिभिजनअर्न्तगत महोत्तरीको खयरमारामा रहेको रामवृक्ष स्मृति वि्रगेड मातहतका वटालियन कमान्डर कुमार राई ‘सुमन’ को ज्यादतिविरुद्ध बटालियन सहायक कमान्डरलगायत समग्र सैन्यपंक्तिले विद्रोह बोलेपछि केही समय पहिले उनलाई कार्वाही गरिएको छ। त्यही डिभिजनअर्न्तगत उदयपुरको वेलसोतमा रहेको विशाल–कुमार स्मृति ब्रिगेडमा पनि ब्रिगेड सहायक कमान्डर सुरविरलगायतका कमान्डरहरुले सास्ती दिएको भन्दै लडाकुहरुले विद्रोह गर्ने संकेत दिएका थिए। तर, घटनालाई रातारात सामसुम गरेर सेलाउने काम गरिएको छ। सुरविरलाई अहिले लडाकुहरुले ‘मात्तिएको रागो’ को उपमा दिएका छन्। स्रोतका अनुसार दोस्रो डिभिजन एउटा उदाहरण मात्र हो। यस्तो ज्यादति सबै डिभिजनमा हुने गरेको छ। त्यस्तै छापामारमाथि सबैभन्दा चर्को शोषण तेस्रो, चौथो र पाचौं डिभिजनमा भइरहेको छ। तेस्रो डिभिजनमा त पूर्व डिभिजन कमाण्डर कालीबहादुर खाम ‘विविध’ कै नेतृत्वमा लडाकु माथि चरम शोषण गरिएको थियो। उनको यो कदमको तिव्र विरोध भएपछि पाचौं डिभिजनमा सरुवा गरिएको छ। त्यहाँ पुगेर पनि उनले पुरानै चरित्र देखाएको छापामारहरुले दृष्टिलाई बताएका छन्। शिविरका लडाकुहरुको रकम बाहिर नजाओस् भनेर शिविर आसापासमा लडाकुहरुकै स्वामित्वमा सामूहिक पसल सञ्चालन गरिएको छ। तर त्यो पसलको आम्दानी सबैलाई बाँडने गरिएको छैन्। कमान्डरहरुले मात्र आफुखुसी खर्च गर्ने गरेका छन्।
शान्ति प्रक्रियाबाट नेताहरु कुर्सीको उपल्लो ओहदामा पुगे यता चरम शोषण र उपेक्षा गरेको रहस्य खुलेपछि केही लडाकुहरुमा त ‘डिप्रेशन’ समेत देखिएको छ। डिप्रेशन देखिएका लडाकुहरुलाई राजधानी एवं अन्य सुविधा सम्पन्न स्थानहरुमा ल्याएर मनोसामाजिक वेत्ताबाट ‘काउन्सिलिङ’ दिन लगाइएको छ। स्रोतका अनुसार यसरी डिप्रेशन भएका केही लडाकुहरुलाई भने सुरुमै सामान्य चेक जाँच गरी अस्पतालको कडा औषधि सेवन गर्न दिइएको थियो। तर, त्यो औषधिले उनीहरुमा गम्भीर ‘साइडइफेक्ट’ पनि देखिएको छ। स्रोतका अनुसार शिविरभित्र यति ठूलो बेथिति छ कि, कमान्डरहरुलाई मनलागी र छापामारहरुलाई भने सास्ती नै सास्ती छ। एकाधबाहेक वि्रगेड कमान्डरभन्दा उपल्लो तहका कमान्डरहरु प्रायशः कोही पनि शिविरमा बस्ने गरेका छैनन्।
रोल्पाको दहवनमा रहेको पाचौं डिभिजनबाट काम विशेषले राजधानीमा आएका एक कमान्डरका भनाइमा लडाकुहरुका नाममा सरकारले दिने गरेको मासिक पाँच हजार रकम पनि लडाकुको हातमा सबै पुग्न गरेको छैन्। उनका अनुसार जिल्लामा खटेका वाईसीएललाई पठाउने भनी मासिक दुई हजार रकम कटाउने गरिएको छ। यसरी कटाइएको रकम वाईसीएलको हात्तमा पनि पुग्न सकेकोे छैन्। यसका अलवा मेस खर्च अपुगका नाममा समेत रकम कटाउने गरिएको छ। तर, त्यसको हिसाब पारदर्शी ढंगले देखाउने गरिएको छैन्। जबकि दैनिक मेस खर्चवापत सरकारले नै राजधानीबाट शिविर रहेको दूरी अनुसार दैनिक ७० रुपैयाँदेखि १ सय १० रुपैयाँ रकम उपलब्ध गराउँदै आएको छ। सरकारले उपलब्ध गराएको यो रकमले मेस खर्च पुगेन भनेर मासिक पाँच हजारबाट कटाउने गरिएको हो। स्रोतका शब्दमा सरकारले उपलब्ध गराएको रकम पर्याप्त हुँदाहुँदै मेश सञ्चालन गर्न कटाइएको रकम कमान्डरले खल्तीमा हाल्ने गरेका छन्।
शिविरमा बसेका लडाकुबाट वाईसीएलको नाममा रकम कटाउने गरिएको भए पनि त्यो रकम कतिपय स्थानका वाईसीएलले नपाएपछि जनसेनाका कमान्डर र वाईसीएलका इन्चार्जहरुबीच विवाद सिर्जना भएको छ। वाईसीएलले यो कुरा कमान्डरसमक्ष राखिसकेको सुत्रको भनाइ छ। ‘हामीलाई दिने भनेर शिविरमा रहेका साथीहरुबाट मासिक दुई हजार रकम काटिदो रहेछ। तर, हामीलाई एक रुपैयाँ पनि आएको छैन्। जनमुक्ति सेनाका कमान्डर बनेका साथीहरुको बेथिति कहेर के साध्य?’ वाईसीएलका एक जिल्ला संयोजक बताउँछन्। तल्लो स्तरका लडाकुका आफन्त शिविरमा गएर एक/दुई दिन बसेमा पनि मेस खर्च भनेर तलबबाट रकम कटाउने गरिएको छ। यस विपरित कमान्डरहरुका आठ/दश जनै परिवार महिना दिन गएर बसे भने पनि उनीहरुको लागि मेस खर्च कटाउने गरिएको छैन्। अस्थाई शिविर खडा भएको केही समयसम्म कमान्डर/सदस्यहरुको एउटै मेस थियो। पछिल्लो समयमा सेनामा समायोजन हुने भन्दै मेस फरक–फरक स्थापना गरिएको छ। स्रोतका अनुसार वटालियन कमान्डर भन्दा माथिका सदस्यहरुको मेसमा एकदम राम्रो खाना/खाजा पाक्ने गरेको छ। तल्ला तहका लडाकुको खानामा भने कमान्डरहरुले ध्यानै दिने गरेका छैनन्।
लडाकु शिविरमा तिन वटा ‘र्या ङ्क’ छ। पहिलो र्या ङ्क डेपुटी कमान्डर र डिभिजन कमान्डरहरुको हो। उनीहरुले मस्तीको जीवन बिताइरहेका छन्। दोस्रो र्या ङ्क वि्रगेड कमान्डर र बटालिएन कमान्डरसम्मको छ। उनीहरुको सान पनि हेर्न लायक नै छ। कम्पनी कमान्डरभन्दा तलका सदस्यहरुको हालत भने दयनिय छ। माथिल्लोस्तरका कमाण्डरहरु सेनाका जर्नेल जस्तै कहिलेकहीँ शिविर निरीक्षणमा जाने गर्दछन्। ‘क्रान्तिकारी आर्दश’का ठूला–ठूला गुडडी हाँकेर फर्कन्छन्। ‘सुरु–सुरुमा हाम्रा कमान्डरहरु हाम्रो सेनामा नेपाली सेनामा जस्तो विभेद हुनेछैन भन्दथे। हामी पनि उनीहरुका कुरा पत्याउथ्यौं। अहिले आएर हेर्दा त्यो कुरा त रामकृष्ण ढकाल बोलको गित यो त सब भन्ने कुरा न हो जस्तै लाग्न थालेकोे छ’, तेस्रो डिभिजनका एक बटालियन कमान्डर दुखेसो पोख्छन्। उनको बुझाइमा माओवादी सेनाका कमान्डर र नेपाली सेनाका कमान्डरमा सायदै भिन्नता छैन। आक्कल–झुक्कल शिबिरमा पुग्ने कमाण्डरहरुले हुवस्की, वियर लगेर क्याम्पमा मस्ती गर्ने गर्दछन्। तर तल्ला तहका लडाकृुहरुले कहिले काँही बाहिरबाट मादक पदार्थ खाएर गएको सुइको पाएमा निर्मम यातना दिने गरिएको छ। ‘सरकारले हामी तल्ला तहका सदस्य देखि डेपुटी कमाण्डरसम्म सबैलाइ समान तलब दिने गरेको छ। हामी भने दुई/चार सय जोगाएर घर पठाउन समेत सक्दैनौ। उति नै तलब खाने कमाण्डरहरुको गोजीमा भने कहिल्यै पैसा टुटदैन्। उनीहरु नै मस्ती गरिरहेका हुन्छन्। यो शोषण नभए के हो त?’– पहिलो डिभिजनका एक सेक्सन कमाण्डरले गुनासो राखे। शिबिर भित्र यस्ता ज्यादतीहरु पराकाष्ठमा पुगेपछि लडाकुहरुले कुनै पनि बेला विद्रोह गर्न सक्ने सुइँको माओवादी शीर्ष नेतृत्व समेत पाइसकेको छ। यही सुइको पाएपछि केही समयअघि डिभिजन, बिग्रेड कमान्डरहरुको सरुवा गरिएको थियो। तर, पनि लडाकुमाथिको शोषण घटन सकेको छैन्। भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकबाट कार्यकर्ता व्यावस्थापन र शुद्धिकरणको एजेण्डा अघि सारेर लडाकुलाई थामथुम पार्न खोजिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: