भारतको साथ बिना नै सरकार ढाल्दिने योजना

लामो समय नचल्ने भनी अनुमान गरिएको प्रधानमन्त्री माधवकुमार नेपालको सरकारले बिस्तारै जरा गाड्न खोजेपछि सरकारविरोधी कित्तामा निराशा, कुण्ठा र आक्रोश पैदा हुन थालेको छ।सरकार बिस्तारै सफल हुँदै जानसक्ने स्थिति देखिएपछि त्यसबाट सबैभन्दा आहत प्रमुख विपक्षी दल एनेकपा माओवादी हुन पुगेको ठानिएको छ। माधव नेपालको नेतृत्वलाई खिल्ली उडाउँदै माओवादीले सरकारलाई अलोकप्रिय र कमजोर तुल्याउन हतारिएर गरेको प्रयास समय लम्बिँदै जाँदा निरर्थक हुन पुगेको छ। माओवादीको इच्छाविपरीत दिन प्रतिदिन सरकार बलियो हुँदै गएको महसुस गर्न थालिएको छ। प्रधानमन्त्री नेपालको छिमेकी मित्रराष्ट्र भारत भ्रमण (अगष्ट १८) पश्चात् वर्तमान सरकारले नयाँ गति र दिशा प्राप्त गर्न सक्ने अनुमान राजनीतिक विश्लेषकहरूको छ। तर, नेपालको लोकतन्त्र, शान्ति र विकासका लागि भारतले पुर्या्उन सक्ने सहयोगलाई माओवादीले सकारात्मक रूपमा लिने स्थिति अहिलेसम्म देखिएको छैन। वर्तमान सरकारमार्फत हुने सबैखाले सहयोगलाई माओवादीले आफूहरूविरुद्धको कदमका रूपमा बुझ्ने र ग्रहण गर्ने गरेको छ। माधव नेपाल सरकारलाई भारतको कठपुतलीका रूपमा प्रचारप्रसार गर्दै आएको माओवादीले भारतसँग बिग्रिएको आफ्नो सम्बन्ध सुधार गर्न गरेको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन। भारतसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउन नसकेपछि माओवादी भित्रभित्रै भारतसँग कुँडिएको र सरकारसँग चिढिएको छ। जतिसुकै प्रयास गर्दा पनि भारत तत्कालै नपग्लिने देखिएपछि माओवादीले चीनसँगको भित्री गठबन्धनलाई उच्च महत्व दिएको छ। माओवादी नेतृत्वको सरकार विस्थापित भएर माधव नेपालको नेतृत्वमा नयाँ गठबन्धनको सरकार गठन भएयता नेपालमा चीनविरोधी गतिविधि बढेको ठान्ने चाइनाले पनि माओवादीसँगको मित्रतालाई उच्च प्राथमिकता दिएको छ। पछिल्ला दिनहरूमा चीनसँगको सम्पर्क, सम्बन्ध र मित्रता कसिलो बन्दै गएपछि माओवादीले वर्तमान सरकारविरुद्ध अलिक कठोर किसिमले जाइलाग्ने सोच बनाएको छ। प्रधानमन्त्री नेपालको भारत भ्रमण सफल भएमा वर्तमान सरकार झन् सुदृढ हुने र त्यसरी सरकार सुदृढ
भएमा त्यसको प्रतिकूल प्रभाव आफ्नो राजनीतिक भविष्यलाई पर्ने देखिएपछि सङ्घर्षका माध्यमबाट सरकारलाई हायलकायल पार्ने र सकियो भने प्रधानमन्त्रीकै भ्रमणसमेत तत्काल नहुने परिस्थिति माओवादीले सिर्जना गर्न खोजेको बुझिएको छ। सङ्घर्षका नाममा अनेक प्रकारका व्यवधान खडा गरेर प्रधानमन्त्रीको भारत भ्रमणमा रोक लगाउने र कदाचित भ्रमण रोक्न नसकिए पनि भारतसँग कुनै प्रकारको सन्धि–सम्झौता हुन नदिन भयङ्कर दबाब सिर्जना गर्ने रणनीति माओवादीले बनाएको छ।
माओवादीहरू मूल राजनीतिक प्रवाहमा सामेल हुन नचाहेको, बरु आफ्नै राजनीतिक गन्तव्य र अभियानलाई नै मूल प्रवाह बनाउन चाहेको, लोकतन्त्रको पक्षमा आउन नचाहेको, बरु संविधानसभा, राज्यसत्ता र आफ्नो वैधानिक हैसियतलाई प्रयोग गरी जनगणतन्त्र स्थापनाको रणनीतिमा लागेको आरोप खेपिरहेको माओवादीले केन्द्रीय समितिको लामो बैठकपश्चात् हाकाहाकी ‘जनगणतन्त्रमा जाने’ रणनीति सार्वजनिक गरेको छ। ‘जनविद्रोह गर्ने’, ‘सङ्घर्षमा उत्रने’, ‘माओवादी सेनाको प्रमुख प्रचण्ड बन्ने’ र ‘संविधानसभामार्फत जनसंविधान निर्माण गरी जनगणतन्त्रमा जाने’ जस्ता निर्णय सार्वजनिक गरेर माओवादीले कसलाई तर्साउन खोजेको हो स्पष्ट हुन सकेको छैन। तर, यही घोषणाका कारण माओवादीप्रति अन्तर्राष्ट्रिय समुदाय र लोकतन्त्र पक्षधर सबैलाई सशङ्कित र सचेत तुल्याएको छ। जुन विषयलाई लिएर माओवादीप्रति आशङ्का थियो त्यही विषयमा माओवादी खुलस्त रूपमा प्रस्तुत भएपछि माओवादी कार्यकर्ताहरू उत्साही हुने परिस्थिति बनेको भए पनि अन्तर्राष्ट्रिय रूपमा प्रचण्ड र उहाँको पार्टीले जुन विश्वास हासिल गर्दै थियो त्यसमा भने पूर्णविराम लाग्ने स्थिति बनेको छ। यसरी माओवादीले आफूलाई अनुमान र आशाविपरीत उग्र क्रान्तिकारी धारमा अघि बढाउने निर्णय गर्नु संयोग मात्र नभई नियोजित चालबाजीका रूपमा लिइएको छ। माओवादीले यत्रो ‘साहस’ गर्नुका पछाडि छिमेकी राष्ट्र चाइनाको ‘पे्ररणा’ हुनसक्ने अनुमान पनि विश्लेषकहरूले गरेका छन्।
यसरी माओवादीले आफूलाई सैद्धान्तिक रूपमा क्रान्तिकारी धारमै राख्ने निर्णय गरेको भए पनि वर्तमान सत्ता गठबन्धनलाई तोडेर आफू हावी हुने गरी नयाँ सत्ता गठबन्धन बनाउने योजना पनि तर्जुमा गरिरहेको छ। माओवादीले त्यसनिम्ति एमालेको झलनाथ खनाल खेमालाई उपयोग गर्ने र काङ्गे्रसलाई वर्तमान गठबन्धनबाट छुट्याउने खेल खेलेको छ। त्यसनिम्ति नेपाली काङ्गे्रसका सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउने चाल चलेको बताइन्छ। माधव नेपालको सरकारलाई सहज रूपमा चल्न नदिई ठप्प बनाउने र सङ्घर्षका माध्यमबाट नेपालको सरकारलाई विस्थापित गरेपछि भारतको चाहनाविपरीतको गठबन्धन निर्माण गरेर कोइरालाको नेतृत्वमा सरकार बनाउने रणनीति माओवादीले बनाएको बुझिन्छ। राष्ट्रवादीहरूको गठबन्धनका नाममा कोइरालाको नेतृत्वमा सरकार बनाउने र त्यसो भएमा आफ्नो स्थिति सुदृढ बन्छ भन्ने विश्वास माओवादीले लिएको छ। माओवादीले यस्तो चाहनालाई कार्यान्वयन गराउन गिरिजाप्रसाद कोइरालाको छेउछाउमा सधैं बसिरहने आफ्नो पुरानो मित्र झापाका कृष्ण सिटौलालाई पुनः प्रयोग गर्न थालेको चर्चा काङ्गे्रसभित्र चल्न थालेको छ। गिरिजाप्रसाद कोइरालासमेत ‘राष्ट्रवादी गठबन्धन’को पक्षमा रहनुभएकोले माओवादीको इच्छा साकार हुनसक्ने अनुमान एकथरी राजनीतिक विश्लेषकहरूले गरेका छन्। तर, तत्कालै माओवादीको चाहनाबमोजिमको गठबन्धन तयार हुने स्थिति भने देखिँदैन। काङ्गे्रस नेतृत्वको ठूलो हिस्सा माओवादीसँग सत्ता साझेदारी गर्ने मानसिकतामा नरहेको हुँदा कोइरालाले चाहेकै भरमा सजिलै वर्तमान गठबन्धन टुट्ने विश्वास गर्न सकिँदैन। माओवादी जनगणतन्त्रको पक्षमा घोषित रूपमै उभिएपछि काङ्गे्रस पार्टी नराम्रोसँग झस्किएको छ।
वर्तमान सत्ता गठबन्धन कायम रहेको अवस्थामा माओवादीले चाहेजस्तो संविधान निर्माण हुन नसक्ने भएकोले माओवादीका निम्ति सत्तामा आफ्नो सहभागिता अत्यावश्यक बन्न गएको छ। त्यसैगरी जसरी भए पनि माधव नेपाल नेतृत्वको सरकार ढाल्नु माओवादीको प्रमुख उद्देश्य बनेको छ। दलहरूबीच वर्तमानमा उत्पन्न तनाव र मनमुटाव शिथिल नभएमा मुलुकमा द्वन्द्व चर्किने र शान्ति स्थापना प्रक्रिया फेरि धरापमा पर्ने सम्भावना बढेको छ।

— Ghatana Ra Bichar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: