कमरेडमध्ये सबभन्दा धनी को?

एकीकृत माओवादीले तामझामपूर्ण प्रचारका साथ अगाडि सारेको १५ बुँदे आचारसंहिताको पार्टीभित्रैबाट विरोध हुन थालेको छ। केन्द्रीय सदस्यहरूसित लिखित सुझाब मागिएको, तर सबैले त्यस्तो सुझाब नै दिन नभ्याउँदै जबर्जस्ती आचारसंहिता लादिएको एक केन्द्रीय सदस्यले जनआस्थालाई बताएका छन् ।
यस्तो आचारसंहिता कार्यान्वयन हुन नसक्ने ती नेताले ठोकुवासमेत गरेका छन्।
नाम नखोल्ने सर्तमा ती केन्द्रीय सदस्यले भने, ‘हामीलाई सुझाब दिनोस् भनियो, पछि एकैचोटि सचिवालयबाट ल्याएर ह्वात्तै सार्वजनिक गरियो, यसबारे केन्द्रीय सदस्यहरूलाई पर्याप्त छलफल नै गर्न दिइएन।’ व्यक्तिका बारेमा आचारसंहिता तोक्नुभन्दा पहिले पार्टीले कस्तो ठाउँबाट चन्दा उठाउन हुने र कस्तो ठाउँबाट नहुने भन्ने कुरा निर्धारण हुनुपर्ने उनले बताए। भ्रष्ट संघसंस्था एवं व्यवसायीबाट पार्टीले कर उठाउने गरेकोप्रति आचारसंहिताले केही नबोलेको उनको तर्क छ।
माओवादीद्वारा जारी आचारसंहिताको आठौँ नम्बर बँुदामा केन्द्रीय सदस्यले आफ्नो कार्यक्षेत्रबाहेक राजधानीमा डेरा लिन नपाइने उल्लेख छ, तर ती केन्द्रीय सदस्य भन्छन्, ‘टाठा–बाठा सबै नेताका काठमाडौंमा डेरा छन्, हामीले कहिलेकाहीँ आउँदा कहाँ बस्ने?’ सभासद्को डेरामा बस्न उर्दी गरिएको बताउँदै उनले भने, ‘सभासद् पनि ग्रिपमा बस्दैनन्, पार्टीले उनीहरूको आवास व्यवस्था गरेको छैन, सभासद्लाई कता खोज्दै हिँड्ने?’ पार्टीलाई दुई/तीन लाख रूपैयाँ बुझाएर मासिक ५०/६० हजार खर्च गरी हिँड्ने नेताबाट यो आचारसंहिता कार्यान्वयन हुन नसक्ने उनको दाबी छ।
स्थायी समिति सदस्यले एकजना सहयोगी र एकजना ड्राइभर राख्न पाउने अनि पोलिटब्युरो सदस्यले एकजना सहयोगीमात्रै राख्न पाउने अनि केन्द्रीय सदस्यले त्यो पनि राख्न नपाउने प्रावधान विभेदपूर्ण रहेको ती असन्तुष्ट माओवादी नेताले जनआस्थालाई बताए। ‘स्थायी समिति सदस्य र पोलिटब्युरो पनि केन्द्रीय सदस्य नै हुन्, उनीहरूलाई किन बढी सुविधा? केन्द्रीय सदस्य अशक्त रहेछ र स्थायी समिति सदस्य तन्दुरुस्त छ भने के हुन्छ? उनले भने, ‘कार्यालयको अनुमति लिएर गाडी प्रयोग गर्न पाउने भन्ने बँुदा नं. ११ को व्यवस्था ‘हाकिमको इच्छा’ भनेजस्तै तजबिजी कुरा हो, यसले नेतृत्वको चाकडी गर्नेहरूलाई सुविधा उपभोग गर्न कुनै बाधा पार्दैन।’
त्यसैगरी, नेताका एकाघरका सदस्यले अनिवार्य रूपमा पार्टीमा लाग्नुपर्ने भन्ने आचारसंहिताको १४ नम्बरमा उल्लिखित प्रवधान पनि सही नभएको उनले बताए। ‘कार्ल मार्क्सले साम्यवादी समाजलाई एउटै डुँडमा खाना खाने एनिमल फार्म बनाउन खोजेका होइनन्। आफ्ना परिवारका सदस्यलाई जबर्जस्ती पार्टीमा कोच्नु उनीहरूको स्वतन्त्रताविरुद्ध हुन्छ।’ त्यसैगरी प्रायः सबै केन्द्रीय नेताका छोराछोरीले राजधानीका राम्रै शिक्षण संस्थामा पढिरहेको जानकारी गराउँदै उनले भने, ‘कसैको छुट्टै खेतीपाती छैन, पार्टीकै कमाइले राम्रा–राम्रा स्कुलमा पढाइराखेका छन्।’
सम्पत्ति पार्टीकरण हल्ला मात्रै
आचारसंहितामा केन्द्रीय नेताको सम्पत्ति पार्टीकरण गर्ने भनिएकोप्रति व्यंग्य गर्दै ती नेताले जनआस्थासित भने, ‘एकताकेन्द्र नबन्दैको ३५ सदस्यीय समितिका नेताहरूले त सम्पत्ति बुझाएको स्थिति छैन भने अब कसरी यो सम्भव छ? एकताकेन्द्रबाट आउने सबैको २/४ बिघा खेत छ।’
त्यसो त तत्कालीन नेकपा माओवादीका ३५ केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरेको वर्षाैं बितिसक्दा पनि त्यो सम्पत्ति पार्टीकरण भएको छैन। माओवादीमा आफैँलाई क्रान्तिकारी धारको दाबी गर्ने र जनताका छोराछोरी युद्धमा मरे पनि आफ्ना छोराछोरी युरोप पठाउने नेता सीपी गजुरेल (गौरव) को सिन्धुलीको ढुंगेबास र मोरङको विराटनगरमा घडेरी रहेको विवरण उनैले पार्टीलाई बुझाएका छन्। उनको घर भने सिन्धुलीको खयरमारामा छ। त्यसैगरी, प्रचण्डनिकट जनार्दन शर्मा प्रभाकर, जो जनसेनाका डेपुटी हुन्, उनको पनि निजी सम्पत्तिमा घुनपुत्लो लागेको छैन। शर्माले पार्टीलाई बुझाएको विवरणअनुसार उनीसित सात लाखको जग्गा, १० लाखको सरसामान र एक लाखको सुन छ। मन्त्री भइसकेपछि जनमैत्री अस्पताल र मुनलाइट टेलिभिजनमा नातेदारमार्फत लगानी भित्र्याएको आरोप उनीमाथि लाग्दै आएको छ।
चुनावका वेला माओवादी नेताहरूले आफूसित व्यक्तिगत सम्पत्ति नभएको दाबी गरेका थिए। तर, पैंतीसैजना केन्द्रीय नेताहरूसित निजी सम्पत्ति अझै छँदै छ। प्रचण्ड र उनकी श्रीमतीको चितवनमा एक कठ्ठा सात धुर जग्गा रहेको छ। लेनिनले सुनलाई साम्यवादमा चर्पी बनाउन प्रयोग गरिन्छ भने पनि प्रचण्ड परिवारसित प्रधानमन्त्री बन्नुपूर्व नै दुई तोला सुन रहेको तथ्यांक सार्वजनिक भइसकेको छ। मोहन वैद्यसँग अझैसम्म घडेरी छ। बाबुराम, बादल, दिवाकर, कृष्ण महराको अझै पनि निजी सम्पत्ति यथावत् छ। देव गुरुङ, अग्नि सापकोटा, हितमान शाक्य, पासाङ, कुलबहादुर केसी (सोनाम), शक्ति बस्नेत, हेमन्त प्रकाश ओलीलगायत कसैको पनि निजी सम्पत्ति पार्टीकरण भएको छैन। क्रान्तिकारी नेता विप्लवसित १० कठ्ठा राम्रोखालको खेत अझैसम्म छँदै छ। पार्टी प्रवक्ता दीनानाथ शर्माले बाग्लुङको पुर्ख्याैली सम्पत्ति पार्टीलाई बुझाएका छैनन्।
भूमिसुधार आयोगको अध्यक्ष बनेका केन्द्रीय नेता हरिबोल गजुरेल (शीतलकुमार) त झन् सामन्ती उत्पादन सम्बन्धमै छन् भन्दा पनि हुन्छ। जाग्गा जसको जोत उसको पोतको नारा दिई हिँड्ने गजुरेलले आफ्ना नामको एक बिघा तीन कठ्ठा जग्गा यतिवेला उनले आफैँ जोतेका छैनन्। उनीसित थप दुईवटा घर र तीन कठ्ठा घडेरीबाहेक अलग्गै जग्गा छ। अर्का क्रान्तिकारी नेता हरिभक्त कँडेलले बैंकबाट लिएको एक लाख १५ हजार र विभिन्न व्यक्तिबाट लिएको दुई लाख ९० हजार रुपैयाँ लोकतन्त्र आउँदासम्म तिरेको रेकर्ड छैन। बैंकमा धितो राखेकोबाहेक उनीसित अर्काे पनि घडेरी छ। बाठा कँडेलले पार्टीलाई चार लाख ऋणसहितको सम्पत्ति विवरण बुझाएका छन्। अर्का चतुर माओवादी नेता राम कार्की त झन् माओवादीभित्रका सबैभन्दा धनी नेता हुन्। उनले पार्टीलाई विगतमा बुझाएको विवरणअनुसार उनीसित २० लाखको जग्गा र १६ लाखका सरसामान मात्रै छन्। पार्टीले आचारसंहिता जारी गरेपछि भारतमा रहेकी श्रीमतीलाई पनि उनले माओवादी बनाउनुपर्ने भएको छ। पार्टीले आचारसंहितामा छोराछोरी विदेशमा पढाउन नपाउने भनेको छ, तर कार्कीका छोराछोरी इन्डियामा अध्ययनरत छन्।
हाल कायम रहेका एक सय ३७ केन्द्रीय सदस्यको सम्पत्ति पार्टीलाई बुझाउने हो र सर्वहाराकरण गर्ने हो भने पहिले यो काम प्रचण्डबाटै सुरु गरिनुपर्ने र पूर्वमाओवादीका नेताको पार्टीकरण गरेपछि मात्रै एकताकेन्द्रबाट आएकाहरूलाई गर्न सकिने ती नेताको तर्क छ। अन्यथा यो आचारसंहिता कार्यान्वयन नहुने र कार्यकर्ता एवं जनताका आँखामा छारो हालेको जस्तो मात्रै हुने उनले बताए। अगुवा एवं पुराना माओवादी नेताकै त यो हालत छ भने नवमाओवादीले कसरी सम्पत्ति पार्टीलाई बुझाउने? उनले प्रश्न गरे।

Advertisements

2 Responses to “कमरेडमध्ये सबभन्दा धनी को?”

  1. B.Gautam Says:

    lekh yaar nama nabataune shartmaa yeso vanyo vaner lekhyo pugyo yasari ta naam nabataune sartamaa madhab nepal le sud ko khutaa michi michi gari PM payeko vaner samachaar lekhi diye ni vo ni hoina?

    Like

  2. संगम Says:

    yo yar ma gautam ko kura ma sahamath 6u kina name na batayako hola hai party la karbhai garcha bhanara ho la ni .that’s stupied man.

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: