यस्तोसम्म हुन्छ लडाकु शिविरमा

७-असार-२०६६,आइतवार
Image

राज्यकोषबाट सुविधा उपलब्ध गराई क्यान्टोनमेन्टमा राखिएका छापामारहरूलाई माओवादीले एकलौटी रूपमा गरिरहेको परिचालन रोक्न नयाँ सरकारले आफ्नो काम प्रारम्भसँगै केही निर्णय गरेको छ।
तर ती निर्णयको परिणाम पनि अहिलेसम्म उपलब्धिमूलक हुनसकेको छैन। क्यान्टोनमेन्टमा दर्ता भएका १९ हजार ६ सय तीन छापामारको तलबभत्ताबापत मासिक पाँच हजार रुपैयाँका दरले पूर्ववर्ती सरकारले आफ्नै पार्टी माओवादीलाई एकमुष्ठ रकम उपलब्ध गराउँदै आएको थियो। यो रकम खाने बस्ने खर्चबाहेक हो। माओवादीले राज्यले उपलब्ध गराएको पाँच हजारमध्ये दुई हजार रुपैयाँ कटाएर छापामारलाई तीन हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। जुन रकम हतियार खरिदका लागि प्रयोग गर्ने गरिएको कुरा पार्टी अध्यक्ष प्रचण्डको चर्चित भिडियो टेपमा समेत उल्लेख छ। छापामारप्रति भएको शोषण रोक्न नयाँ सरकारले प्रत्येक छापामारको बैंक खाता खोल्ने र तलबभत्ताबापतको मासिक पाँच हजार रुपैयाँ उनीहरूको नाममा रहेको खातामा सिधै जम्मा गरिदिने निर्णय सरकारले गरेको थियो।
सोही निर्णयअनुसार सरकारले छापामारको व्यक्तिगत खातामा रकम निकासा गर्न थालेको छ। तर छापामारहरूले भने आफ्नै बैंक खातामा रहेको रकम आफूखुसी भुक्तानी लिन पाइरहेका छ्रैनन्। छापामारलाई एकुमष्ठ हस्ताक्षर गर्न लगाएर डिभिजन
कमान्डरहरूले नै रकम भुक्तानी लिने र विगतमा जस्तै दुई हजार कटाएर छापामारको हातमा तीन हजार रकम हालिदिने गरेका छन्। बिहान र बेलुकाको दुई छाकबाहेक आफ्नो सम्पूर्ण खर्च त्यही तीन हजार रुपैयाँबाट चलाउनु परेकोमा छापामारहरू निराश छन्। दिउँसोको खाजा र बिहानको चियासमेत माओवादी नेताका आफन्तद्वारा क्यान्टोनमेन्ट नजिक खोलिएका पसलमा बाहेक अन्यत्र खान छापामारलाई प्रतिबन्ध छ। यस्ता पसलहरूको भाउ बजार भाउभन्दा २५ देखि ५० प्रतिशतसम्म महँगो रहेको बताइन्छ। यसैगरी, पिटी डे्रस र युनिफर्मबाहेक सम्पूर्ण लत्ताकपडा एवं जुत्ता चप्पल पनि आफ्नो हातमा पर्ने तीन हजार रुपैयाँबाटै खरिद गर्न बाध्य पारिएकोमा छापामार चिन्तित छन्। यस्ता आउट डे्रस खरिदमा पनि कमान्डरले कमिसन लिने गरेको गुनासो छापामारहरूको छ। ३० रुपैयाँ पर्ने कटुलाई ७० रुपैयाँ लिने गरिएको, ९० रुपैयाँको भेस्टलाई एक सय ५० रुपैयाँ लिने गरिएको र तीन ५० को ज्याकेटलाई सात सय ५० रुपैयाँ लिने गरिएको छापामारहरू बताउँछन्।
गत हिउँदमा जाडोका लागि ज्याकेट खरिद गर्न प्रत्येक छापामारसँग पाँच सयका दरले उठाइए पनि राज्यकोषबाट छुट्टै रकम निकास गरी ज्याकेट खरिद गरियो, तर त्यो पाँच सय रकम छापामारले फिर्ता पाएनन्। समाचार स्रोतका अनुसार करिब १० हजार थान ज्याकेट खरिद गर्ने सम्झौताका लागि डिभिजन कमान्डरहरूका साथ एकजना केन्द्रीय नेता आफैं महाबौद्धका व्यापारी चन्द्रलाल (सीएल) श्रेष्ठकहाँ पुगेका थिए। प्रतिथान तीन सय ५० रुपैयाँ बजार मूल्य पर्ने उक्त ज्याकेट सात सय ५० रुपैयाँमा खरिद गर्ने सम्झौता हुँदै गर्दा उनले ती व्यापारीसँग सोधेका थिए– रकम भुक्तानी सरकारले गरिहाल्छ, बिल चाहिँ नौ सय ५० रुपैयाँसम्मको बनाए हुँदैन? माओवादीले छापामारका लागि बन्दोबस्तीका सामान खरिद गर्दा कोटेसन एवं टेन्डर प्रक्रिया अपनाउने कुरा त परै जाओस्, भ्याट बिलसमेत नक्कली बनाउने गरिएको स्रोतको भनाइ छ।
माओवादी क्यान्टोनमेन्टमा १९ हजार ६ सय छापामार दर्ता गरिए पनि त्यहाँभित्र बसोबास गर्नेहरूको संख्या ११ हजारभन्दा बढी छैन। तर माओवादी १९ हजारकै नाममा तलब भत्ता, रासन, युनिफर्म एवं बन्दोबस्तीका सामानबापत राज्यकोषबाट मासिक करोडौं रुपैयाँ लिने गरेको छ। एकातिर पार्टीले अपनाएको यस्तो रवैया र अर्कोतिर समायोजन प्रक्रिया जटिल बन्दै गएको महसुस हुन थालेपछि छापामारहरू तनावपूर्ण मानसिकतामा छन्। केही दिनअघि आत्महत्या गरेका इलाम चुलाचुलीस्थित प्रथम डिभिजनका २१ वर्षे छापामार आफ्नो भविष्य असुरक्षित नरहेको चिन्ताका कारण विक्षिप्त बनेका थिए।
९ कक्षामा पढ्दै गरेका उनलाई समायोजनपछि राष्ट्रिय सेनामा भर्ती हुन पाउँछौं भनेर माओवादीले २०६३ असारमा आफ्नो क्यान्टोनमेन्टमा प्रवेश गराएका थिए। जनयुद्धमा लडेको अनुभव भएकालाई वाईसीएलमा समावेश गर्ने र क्यान्टोनमेन्टमा नयाँ छापामार भर्ना गर्ने रणनीतिअनुरूप माओवादीले जनमुक्ति सेनाको संख्या ३० हजार पुर्यारएको थियो। जुन कुराको खुलासा प्रचण्डले आफ्नो चर्चित भिडियो टेपमा समेत गरेका छन्। तर अहिले माओवादीका लागि २०६३ जेठपछि भर्ना गरिएका नयाँ छापामारहरू घाँडो बनेका छन्। ‘अब तिमीहरू छिट्टै नेपाली सेनामा समायोजन हुँदैछौं,’ भन्दै थामथुम पारेर राखिएको छ। मुलुकको परिस्थिति बदलिइसकेको बुझेका छापामारहरूले माओवादीको विश्वास गर्नै छाडेका छन्। तर क्यान्टोनमेन्ट छाडेर पनि अब कहाँ जाने? कुनै विकल्प नभएका कारण उनीहरू मानसिकरूपले समेत विक्षिप्त बनेका हुन्। अव्यवस्थित बसाइ र गुणस्तरहीन खानपानका कारण शारीरिक रूपमा बिरामी हुने छापामारको संख्या पनि ह्वात्तै बढेको छ। मानसिक विक्षिप्त र बिरामी छापामारका लागि व्यवस्थापन गर्न माओवादीले काठमाडौंको कपनस्थित साततले भन्ने ठाउँमा एउटा शिविर स्थापना गरेको छ। ती बिरामीलाई विभिन्न अस्पताल लगिने गरिएको छ। माओवादी पार्टीको आफ्नै स्वामित्वमा बालाजुमा खोलिएको जनमैत्री अस्पतालमा भने बिरामी छापामारलाई लगिने गरेको छैन। व्यवस्थापन र चिकित्सकबीचको विवादका कारण स्तरीय सेवा दिन नसकिरहेको जनमैत्री अस्पतालमा उपचारका लागि माओवादी नेताहरू कमै जाने गर्दछन् भने सर्वसाधरण पनि माओवादी सन्त्रासका कारण अस्पताल जाँदैनन्। नेपाल प्रहरीका पूर्वडीएसपी रवीन्द्र राजभण्डारीलाई डाइरेक्टर बनाइएपछि जनमैत्री अस्पतालका चिकित्सकहरूले हीनताबोध गरेका छन्।
माओवादी छापामारका लागि उपलब्ध गराइएको राज्यकोष व्यवस्थापनको जिम्मेवारी हेडर्क्वाटर प्रचण्डद्वारा डिपुटी कमान्डर जनार्दन शर्मा प्रभाकरलाई दिइएपछि अर्को डिपुटी कमान्डर चन्द्रप्रसाद खनाल बलदेव असन्तुष्ट देखिएका छन्। डिपुटी कमान्डरद्वय प्रभाकर र बलदेवबीच पछिल्लो समयमा मनमुटाव निकै बढेको समाचार स्रोतले जनाएको छ। जनमुक्ति सेनामा मात्र होइन, पार्टीको संलग्नतामा भएका सबै व्यावसायिक काममा प्रभाकर हाबी भएको गुनासो बलदेवको छ। हेडर्क्वाटर प्रचण्डद्वारा तस्करहरूसँग डिल गर्ने जिम्मेवारी पाएका प्रभाकरले दीपक मलहोत्रासँगको सहकार्यमा आयत निर्यात व्यवसायमा समेतमा हात हालेका छन्। वामदेव गौतमका सुन तस्करी पार्टनर मलहोत्रालाई प्रभाकरको नजिक पुर्या इदिने भूमिका खेलेका कृष्ण केसीसमेत असन्तुष्ट छन्। माओवादी नेताहरूलाई तस्कर एवं केही प्रहरी अधिकृत र सैनिक अधिकृतसँग सम्पर्क बढाइदिने काम गरेका मालेबाट आएका एकजना नेताले गरेका हुन्। प्रहरीबाट सूचना लिनका लागि तत्कालीन एसएसपी दीपक रञ्जित र सेनाबाट सूचना लिन तोरणजंगबहादुर सिंहपछिका एकजना जर्नेलसँग प्रभाकरको चिनजान गराएका थिए। तर अहिले प्रभाकर आफैं सक्षम भएका छन्। गिरिजाप्रसाद कोइरालाका गतिविधिबारे सूचना लिनका लागि दीपक मलहोत्राका भाइ र कोइरालाका सुरक्षा गार्ड पार्टनरसीप रहेको एक आयत निर्यात फर्म खोलिएको छ। सई पदका ती सुरक्षा गार्ड गुल्मी निवासी हुन्। प्रभाकरसँगको सम्पर्कपछि मलहोत्राले माओवादीको एबीसी टेलिभिजनलाई ३६ लाख रुपैयाँ प्रदान गरेका थिए। प्रभाकर र मलहोत्राले व्यापारिक कारोबारको एउटा स्टोर नयाँ बानेश्वर चोक नजिकैको कार्यालयमा खासा व्यापारी एवं रक्तचन्दन तस्करहरूको जमघट हुने गरेको प्रहरीलाई थाहा छ। श्रीखण्ड र रक्तचन्दनको नमुना राखिएको उक्त स्टोर प्रहरीले पनि देखेको नदेखै गरेको छ। अर्थाेपार्जनमा दत्तचित्त भएर हेडक्वार्टर प्रचण्डको मन जितेका प्रभाकरसँग क्यान्टोनमेन्टका छापामार एवं कमान्डरहरू पनि बेखुसी छैनन्। प्रत्येक कमान्डरहरू दुई–तीन महिनामा एकपटक काठमाडौं आउने र श्रीमतीलाई गहना, साडी तथा आफन्तका लागि सामान किन्न एक लाख रुपैयाँसम्म खर्च गर्ने गरेको माओवादी स्रोत बताउँछ। त्यसैगरी क्यान्टोनमेन्टमा पठन–पाठनका लागि शिक्षक तथा पार्टीकै मुखपत्र भए पनि पत्रपत्रिकाको व्यवस्था, खेलकुदको व्यवस्था गरिएकोमा यसको श्रेय पनि प्रभाकरले पाएका छन्।

— Tarun

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: