टुकीदेखि अस्मितासम्म लुट्छन् उनीहरु

‘हामीलाई नेपाल हाम्रो देश त हो भनेर शंका लाग्न थालेको छ । नेपाली नागरिकता र नेपाली स्कुलबाहेक हामीलाई नेपालबाट कुनै सेवा-सुविधा प्राप्त छैन ।’

मेरो नाम अस्मिता नेपाली हो । दाङ,राजपुर-९ मा मेरो घर छ । म र मेरो छोरा रमेश ६५ सालको दसैँतिर किनमेल गर्न भारतको सिर्सिया बजार गएका थियौँ । किनमेल गरेर आमाछोरा घर फर्किंदै थियौँ । बाटोमा घना जंगल पर्छ । त्यस जंगलमा मुखमा रुमाल बाँधेका तीनजना भारतीय डाँकाले हामीलाई भेट्टाए । एउटाले मलाई समात्यो । मैले फुत्किने प्रयास गरेँ । अर्कोले पनि मलाई समात्यो । र, तेस्रोले मेरो छोरा रमेशलाई समात्यो । आमाछोरा दुवैले चिच्याएर गुहार माग्यौँ । हामीलाइ केही नगर, भएको सबै लैजाऊ भन्यौँ । उनीहरूले मेरो १२ वर्षको कलिलो छोरालाई लात, मुक्का हान्न थाले । र, उसलाई कुटीकुटी मारिदिए ।

मेरो छोरालाई मारेपछि मलाई कुट्न थाले । म बेहोस भएर लडेछु । त्यसको भोलिपल्ट मलाई गाउँलेले घरमा ल्याए छन् । तीन दिनपछि मेरो होस खुल्यो । डाँकाहरूले मेरो अस्मिता लुटेछन् । म छोरो कहाँ गएछ भनेर घरीघरी बोलाउँदोरहेछु । म बौलाहीजस्ती भएकी रहेछु ।

एक महिनापछि मात्रै मलाई बल्ल सम्झना भयो- पापीहरूले मेरो छोरालाई मारिसकेको कुरो । तीन महिनासम्म घरभित्रै रोएर बसेँ । पछि छिमेकीहरूले यस्तो अपहत्ते गर्न हुन्न भनेपछि यसो भित्र-बाहिर गर्न थालेँ ।

त्यसको चार महिनापछि एकदिन तिनै डाँकाले तेरो लोग्नेलाई मार्न आएको भनेर मेरो घर घेरा हाले । मेरा श्रीमान्लाई कुटे । फेरि मेरो अस्मिता लुट्न खोजेका थिए । गाउँलेले थाहा पाएर सामूहिक प्रतिकार गरेपछि उनीहरू भागे ।

त्यसपछि भारतमा सामान लिन जाँदा ठूलो समूह बनाएर मात्र जाने गरेका छौँ । मेरो घटना हुनु एक साताअघि छिमेकी हरिबहादुर हरिजनकी श्रीमती देवीलाई पनि तीनजनाले भारतको सिर्सिया बजारबाट जबरजस्ती बसमा हालेर लगेका थिए । यस्ता घटना त कति भए कति ! सिर्सिया प्रहरीमा उजुरी गर्नु हाम्रो बाध्यता हो । नेपालमा प्रहरी नै थिएन । गएको पुसबाट मात्रै बसेको हो यहाँ प्रहरी । भारतमा घटना भएका कारण कुनै पनि उजुरी नेपालमा दिएका छैनाँ । सिर्सिया प्रहरीबाट सुनुवाइ भएको सुनेका छैनौँ । छिमेकी गाउँका रणबहादुर विकका दुई छोरी दुई वर्षदेखि बेपत्ता छन् । अहिलेसम्म सिर्सिया प्रहरीले भेट्टाए/नभेट्टाएको जानकारी दिएको छैन । देवीको अपहरण गर्नेलाई प्रहरीले भेट्टाएको सुनियो, तर कारबाही भए/नभएको केही थाहा छैन । देवी चार छोराछोरीकी आमा हुन् । यस्ता घटनाको बयान गरी साध्य छैन । हामीलाई नेपाल हाम्रो देश त हो ? भनेर शंका लाग्न थालेको छ । नेपाली नागरिकता र नेपाली स्कुलबाहेक हामीलाई नेपालबाट कुनै सेवा-सुविधा प्राप्त छैन ।

भैसाही नाकाकी कृष्णा विक एक महिनाअघि बेपत्ता भएको सुनेकी छु । अपहरणमा परेर दुई/चार दिनपछि घर आउने महिला धेरै छन् यहाँ । ११ जना महिलाको समूहलाई घना जंगलमा रोकेर १५ तोला सुन र केही नगद लुटेको भर्खरजस्तै लाग्छ । लुटिनु र कुटाइ खानु त सामान्य हो । बलात्कारका घटनाले पो हामी महिलालाई निकै असुरक्षित गराएको छ । सातजनाको इज्जत लुटेको मलाई थाहा छ । थाहा नपाएका त कति हो कति । बाख्रा, कुखुरा मात्र होइन टुकीसमेत लुटेर लैजान्छन् उनीहरू ।

अहिले हामी सुरक्षा खोज्दै दाङ, सतबरियाको कर्री सामुदायिक वनमा बसेका छौँ । हामीलाई सुरक्षा चाहियो । सरकारले अझै सुनेको छैन । हामीलाई न्याय चाहियो । यौनपिपासु र डाँकाहरूलाई कानुनको कठघरामा ल्याएर हाम्रो मरेको मनलाई केही राहत दिनुपर्‍यो । त्यो ठाउँ (राजपुर) नर्क हो । बिन्ती ! हामीलाई त्यहाँ नफर्काइयोस् । म फेरि ती अपराधीबाट अस्मिता गुमाउन चाहन्नँ ।

प्रशासनले हाम्रो चित्कार सुनिदिनुपर्‍यो । बाख्रा, कुखुरा मात्र होइन टुकीसमेत लुटेर लैजान्छन् उनीहरू । नेपालको बजार गर्ने र राम्रोसँग खेती-किसानी गरेर जीविका चलाउने वातावरण बनाइदिनुपर्‍यो, मिलाइदिनुपर्‍यो । हामीलाई वनमा बस्ने मन छैन । वनबाट पनि धपाउन लागेको सुनेकी छु । म फेरि लुटिन त्यहाँ जान्नँ । राम्ररी बस्ने वातावरण मिलाइदिनुपर्‍यो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: